सरोनीको ‘डेभ्लिन्स चक्र'
काठमाडौंः नेभिल सरोनीको कृति ‘डेभ्लिन्स चक्र' शुक्रबार राजधानीमा विमोचन भएको छ । लेखक सरोनीले विमोचन गरेको अंग्रेजी भाषाको यो पुस्तक नेपालसँग सम्बन्धित तेस्रो कृति हो । यसअघि उनले ‘काउन्सिल इन द क्लाउडस्' र ‘द धर्म एक्पेडिन्ट' पाठकसामु ल्याएका थिए । सन् १९९२ मा बेलायतकी रानी एलिजावेथको वकिलका रूपमा काम गरेका उनले विमोचन कार्यक्रममा भने, ‘यो कृतिमा चीन र भारतबीचको तनावको विषय पनि समावेश छ ।'
नेपाललाई भ्रष्टाचारले गाँजेको बताउँदै उनले जतिसक्दो चाँडो मुक्त हुनुपर्ने धारण राखे । डेभ्लिन्स चक्रमा देखिएको मुख्य पात्र आइल्यान्डबाट आएको हुन्छ । नेपालमा उसको माया बस्छ । तर उसलाई चीनले अनेक दुःख दिएर जीवनलाई अत्यासलाग्दो बनाएको प्रसंग कृतिमा उल्लेख गरेको लेखकको भनाइ छ ।
बज्र बुक्सले प्रकाशन गरेको करिब तीन सय पृष्ठको कृतिमा उनले नेपाल, भारत र चीनका विभिन्न स्थानलाई डेटलाइन बनाएर लेखेका छन् । नेपालको जिरीखोला हाइड्रोपावरमा कार्यरत उनले नेपालकी विमला देवानसँग विवाह गरेका थिए । देवानको भने निधन भइसकेको छ ।