डोनाल्ड ट्रम्प र मोदी
यो साता विश्वमा दुइटा घटना अत्यधिक चर्चामा रहे । एउटा अमेरिकाको ४५ औं राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको विजय र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कालो धन बाहिर ल्याउने सन्दर्भमा पाँच सय र हजारका नोटमाथि लगाइएको प्रतिबन्ध । डोनाल्ड ट्रम्पले अमेरिकालगायत अन्य देशका मिडियापण्डित र सञ्चार विशेषज्ञलाई समेत जिल्ल पार्दै उनीहरूको अनुमानविपरीत विजय प्राप्त गरे ।
कसैले पत्याएका थिएनन् ट्रम्पले जित्छन् भनेर । आफ्नो पति आठ वर्ष राष्ट्रपति पदमा रहँदा ह्वाइट हाउसको गतिविधि र कार्यबारे अनुभव हासिल गरेकी, आफैं विदेशमन्त्री भएर काम गरेको अनुभव सँगालेकी कूटनीतिक र विश्व राजनीतिमै भूमिका खेलेकी हिलारी क्लिन्टनलाई न्युयोर्कका एक धनी व्यापारीले यसरी चुनावमा पछार्लान् भन्ने कसैले सोचेका थिएनन् । ट्रम्प धनी छन् । यिनका विश्वभरि नै थुप्रै कम्पनी छन् । न्युयोर्कका अर्बपति यी व्यापारीले राजनीतिक, प्रशासनिक कुनै पनि क्षेत्रमा काम गरेको अनुभव छैन ।
चुनावताका आएका उनका नारा मुसलमानहरूलाई अमेरिका छिर्न दिन्न, आप्रवासीलाई रोक्ने काम गर्छुदेखि उनले महिलाहरूमाथि गर्ने गरेका टिप्पणी, मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल ठड्याउने जस्ता ट्रम्प भनाइहरूको संसारभरि नै आलोचना भएको थियो । अमेरिकी मिडियाले केही युवतीलाई टेलिभिजनमा बोलाएर ट्रम्पको महिलाविरोधी गतिविधिको सामग्रीसमेत प्रसारित गरेका थिए । ती सबै विरोध र आरोप चिर्दै उनी अमेरिकाको राष्ट्रपति भए । यो सबैको लागि अप्रत्यासित घटना बन्न पुग्यो । उनी संसारकै शक्तिशाली राष्ट्रपति भए ।
ट्रम्प एकको साहसी र सोझो कुरा गर्ने र आफ्नो भनाइमा सदा अडिग रहने प्रवृत्ति नै उनको जित हो । उनका प्रशंसकहरू भन्छन्- उनी कुरा चपाउँदैनन् । धेरैजसो उनी जहिले पनि सत्य बोल्छन् । आज विश्वमै र खासगरी अमेरिका र युरोपमा आतंकवादको नांगो नाच हुँदा पनि केही नबोल्ने र बैठक र विज्ञप्ति मात्र निकाल्ने नेताहरूलाई उनले आतंकवादी मुसलमानलाई अमेरिका छिर्न नदिने जस्ता खतरनाक र डरलाग्दा कुरा भन्ने साहस गरेका छन् ।
ट्रम्प आतंककारी मुसलमान (आईएस) को लागि एउटा ठूलै चेतावनी हुन् । उनको यो भनाइपछि आतंककारी मुसलमानको मुटुमा ढ्याङ्ग्रो ठोकेको हुनुपर्छ । पत्रकारलगायत विरोधीको घाँटी रेटेर हत्या गरेको मिडियो प्रदर्शन गर्नेहरूलाई पनि अब निश्चय पनि डर लागेको हुन सक्छ । नभन्दै यी आतंककारीकै कारण सुन्दर र शान्त युरोप र अन्य देशमा मानिसहरू सधैं त्रसित भएर बस्नुपर्ने भएको छ । कुन बेला कहाँ लुकेर यिनीहरूले प्रहार गर्छन् भनेर अहिले पनि त्रसित भएर बस्नुपर्ने अवस्था छ युरोपमा । यति सुन्दर युरोपलाई यिनले वीभत्स र कुरूप बनाउनेछन्, कसैले यिनलाई नरोके ।
चुनावताका हिलारीमाथि कटाक्ष गरेका ट्रम्पले विजय हासिल गरेपछि उनलाई एक कर्मठ नारीको संज्ञा दिए । हिलारीले यो अवस्थासम्म आइपुग्न थुप्रै कठिनाइ भोग्नुपरेको पनि उल्लेख गरेर विपक्षीलाई पनि साथ लिएर हिँड्ने संकेत दिएका छन् । ट्रम्पको भनाइ छ- हामी डेमोक्र्याट रिपब्लिकन जे भए पनि एउटै राष्ट्रका हौं, मिलेर यो देशको विकास गर्नुपर्छ । म सबै अमेरिकनको राष्ट्रपति हुँ भन्ने अभिव्यक्ति दिए र एउटा राम्रो अवसरको प्रारम्भको संकेत गरेका छन् । हामी जे भए पनि हामी आफ्नो गौरवशाली राष्ट्र अमेरिकाका हौं भन्ने भावना पनि व्यक्त गरेका छन् । शिष्ट र सभ्य अमेरिकीको यो विशेषता नै मान्नुपर्छ ।
चुनावताका विपक्षीविरुद्ध आक्रामक, आप्रवासीप्रति असहिष्णु, राष्ट्रिय नीतिप्रति उनी निराश देखिन्थे । उनका प्रतिद्वन्द्वी हिलारीलाई धेरै अमेरिकी भ्रष्टाचारी र कहिल्यै विश्वासिलो कुरा नगर्ने नेताका रूपमा आलोचना गर्छन् । क्लिन्टनमाथि क्लिन्टन फाउन्डेसन नामक संस्था गठन गरेर त्यसमा जम्मा भएको रकम आफ्नै व्यक्तिगत प्रयोजनमा खर्च गरेको जस्ता आरोप पनि लगाएको थियो । तर क्लिन्टनले यस्तो आरोपको कुनै विश्वसनीय खण्डन गरेको पनि देखिएन । जित र पराजयका लागि एकले अर्कोमाथि आक्षेप लगाउने र विभिन्न दोषारोपण गर्ने पूर्वेली शैली त्यहाँ देखिएन ।
चुनाव अभियानताका व्यक्त गरेका एकअर्काविरुद्धको तीक्ततालाई चटक्कै बिर्सेर ट्रम्पले आफूलाई विदेशमन्त्री क्लिन्टनले फोनमा बधाई दिएको उल्लेख गर्नु र ट्रम्पले आफ्नो विजयी भाषणमा हिलारीको योगदानको प्रशंसा गर्नु र एकले अर्कोलाई सहयोग गर्ने आश्वासन दिनु अमेरिकी चुनावको राम्रो पक्ष देखिएको छ ।
आगामी जनवरी २० मा शपथग्रहण गरेपछि ट्रम्पको कार्यकाल प्रारम्भ हुन्छ । अमेरिकी स्रोतका अनुसार उनले आफूले गर्ने कामको सूची तयार गरिसकेका छन् । उनको मुख्य उद्देश्य अमेरिकीहरूलाई रोजगारको प्रबन्ध गर्ने, अनावश्यक आप्रवासमाथि अंकुश लगाउने र आर्थिक वृद्धिदर जस्ता कार्यक्रम रहेको अनुमान गर्नु सकिन्छ । अहिले विश्व हिंसा र उग्रवादको मारबाट ग्रस्त छ, ट्रम्पले यी समस्यालाई कसरी सम्बोधन गर्छन् र विश्व शान्तिमा यसबाट कस्तो प्रभाव पर्छ ।
आगामी दिनमा देखिने नै छ । तर निश्चित छ, अमेरिकाको विदेश नीतिमा व्यापक परिवर्तन आउने अनुमान छ । कांग्रेस र प्रतिनिधिसभा दुवैमा रिपब्लिकनको पकड देखिए पनि ट्रम्पका नाराबाट रिसाएकाहरूबाट उनलाई कत्तिको सहयोग हुन्छ र अन्तर्राष्ट्रिय राजनीतिमा ट्रम्प कसरी र कहाँ रहन्छन् भन्ने कुराले ट्रम्पको भविष्य निर्धारण गर्नेछ । ट्रम्पलाई सम्पूर्ण नेपालीको बधाई छ ।
अर्को घटना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छ । एक वर्षअघि अत्यधिक बहुमतबाट कांग्रेस आईलाई कुचो लगाएर सत्तामा आएका नरेन्द्र मोदी पनि ट्रम्पजस्तै खरो र दरो देखिएका छन् । उनले आफू प्रधानमन्त्री भएलगत्तै भारतको कालो धन विदेशबाट ल्याएर आफ्ना जनतालाई बाँड्ने जस्तो अपत्यारिलो कुरा गरेका थिए, जसलाई भारतका विपक्षी दल र नेताले हाँसोमा उडाउने गर्थे ।
तर यो हप्ता उनले पनि अप्रत्यासित रूपमा कालो धन बाहिर ल्याउने उद्देश्यले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाइदिए र उनी आफैं टेलिभिजनको पर्दामा देखिएर यो घोषणा गरेका हुन् । उनको भनाइ छ- एउटा त कालोधनको यकिन गर्ने, अर्को नक्कली नोटको प्रवाह ठप्प पार्ने हाम्रो उद्देश्य हो । एक अपुष्ट तथ्यांकअनुसार अहिले भारतीय पाँच सय र हजारका ८६ प्रतिशत नोट बाहिर छन् । त्यसलाई कसरी भित्र्याउने भन्ने नै मोदी सरकारको लक्ष्य छ । उनले भारतीय जनतालाई पुरानो नोट साट्ने पर्याप्त समय पनि दिएका छन् । पचास दिनभित्र केन्द्रीय बैंक या डाक घर गएर साँट्न सक्ने प्रबन्ध पनि गरिएको छ ।
मूल कुरोको लक्ष्य भनेको पाकिस्तान नै हो । पाकिस्तानबाट छापिएर अर्बौं रुपैयाँको नक्कली भारु दक्षिण एसियाली मुलुकमा भित्रिने गरेको छ । नेपालमा पनि धेरै नक्कली भारु आउँछ । कैयौंपटक यस्ता कारोबार गर्नेहरू समातिएका पनि छन् र जेलमा पनि छन् । नेपाल भएर यस्ता नोट मलेसिया, श्रीलंका, बंगलादेश पनि छिर्छन् भन्ने भारतको भनाइ छ । यसले निश्चित रूपमा भारतीय अर्थतन्त्रमा ठूलो प्रभाव पारेको हुन सक्छ ।
अहिले विश्व हिंसा र उग्रवादको मारबाट ग्रस्त छ, ट्रम्पले यी समस्यालाई कसरी सम्बोधन गर्छन् र विश्व शान्तिमा यसबाट कस्तो प्रभाव पर्छ । आगामी दिनमा देखिने नै छ ।
यसपटक भने नयाँ प्रकाशित पाँच सय र दुई हजार दरका भारतीय नयाँ नोटमा अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको छ । यी नयाँ नोटलाई नक्कली नोटका रूपमा छाप्न सकिँदैन भनिन्छ । जसले गर्दा यस्तो नक्कली नोटको कारोबार गर्नेहरूले सरकारलाई झुक्याउन सक्दैनन् । अहिले प्रविधिको यस्तो विकास भइसकेको अवस्थामा यसलाई प्रयोगमा ल्याउन सके नक्कली नोट प्रकरण पनि समाप्त भएर जानेछ ।
अर्को सबैभन्दा महत्त्वपूर्ण पक्ष गोपनीयतालाई पनि लिन सकिन्छ । भारतले आफ्ना नोट यसरी प्रतिबन्ध लगाउँदैछ र यस्ता नोट प्रकाशमा ल्याउँदै छ भन्ने कुरा यस योजनामा काम गर्ने एकदुईबाहेक कसैलाई थाहा भएन । नेपालमा भए मन्त्रिपरिषद्ले गरेका निर्णय मन्त्री घर नपुग्दै बाटाबाट व्यापारीलाई अथवा आफन्तलाई फोन गर्थे होला । भारतका कसैले पाएनन् ।
यति गोप्य रूपमा काम गर्न सक्नु भारतीय प्रशासनयन्त्र कति विश्वासिलो र भरपर्दो अनि इमानदारी रहेछ भन्ने पनि हो । हामीकहाँ कुनै पनि निर्णय गोप्य हुनै सक्तैन र यति ठूलो कुरो त घोषणा हुनुअघि नै पत्रकारका टेलिफोनमा पुगिसक्छन् । तब न लोकतन्त्र । अर्को कुरा योजना पनि हो । पहिल्यै नोट छापेर ल्याइसकेपछि मात्र सरकरले घोषणा गरेकै दिन राति १२ बजेबाट प्रतिबन्ध लाइएको हो । भारतसितको निकटताका कारण नेपाललाई पनि यसबाट ठूलै असर पर्न सक्छ ।
नेपालमा र खासगरी पूर्वीतराई र सीमा क्षेत्रमा नेपालीभन्दा बढी भारुकै कारोबार हुने गर्छ । पञ्चायतकालमा भार र नेरु सरिबरी चल्ने हुँदा भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएपछि नेपाली रुपैयाँ चल्न थालेको थियो । तर पछि तथाकथित प्रजातन्त्र या लोकतन्त्र आएपछि सरकारले आँखा चिम्लिन थाल्यो र भारु र नेरु सरिबरी चल्न थाले । हाम्रो मौद्रिक नीति त छ, तर यी कुरा नीतिमा भए पनि लागू भएका छैनन् । सायद पूर्वको सीमा क्षेत्रका बजारमा भारु कालो बजारी गर्नेहरू यसबाट प्रभावित भए होलान्, तर सरकारले केही व्यवस्था गर्ला, तर ढिलोचाहिँ हुन सक्छ । हामीकहाँ आफ्नो स्वार्थबाहेक अरू कुरामा निर्णय गर्न कुनै हतार हुँदैन ।