प्रचण्ड निराशाको सारतत्व
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा अगुवा कार्यकर्ताहरूबीच अभिव्यक्त भनाइहरू 'लास्ट पर्यो भने नयाँ क्रान्ति गर्छु', 'दुस्मनले माओवादी नेताहरूलाई बद्नाम गर्ने र मार्ने षड्यन्त्र गरेको छ', 'मिडियाले हामीलाई सघाएन' निकै टीकाटिप्पणी, हाँसो र व्यंग्यका विषय बनेका छन् ।
समाचारमाध्यम तथा सामाजिक सञ्जालहरू रोचक र घोचक टिप्पणीले भरिएका छन् । कतिपयले प्रचण्डको यस किसिमको अभिव्यक्तिलाई 'बाबुरामले अब जनयुद्ध गर्छु' भनेजस्तै हो भनेर टिप्पणी गरका छन् भने कतिपयले प्रचण्डको अभिव्यक्ति कुण्ठा, निराशा र निरीहताको परिणाम र प्रतिबिम्बन हो भनेका छन् । विचार सकिएपछि भावनात्मक आवेग उत्पन्न गरेर कार्यकर्तालाई थामथुम पार्नु तथा आफ्ना कमजोरी र गल्तीहरूलाई ढाकछोप गर्न अरूमाथि आक्रोश पोख्नु स्वाभाविक हो र प्रचण्डले त्यही गरेका छन् ।
प्रचण्ड नेपाल सरकारका प्रधानमन्त्री हुन् र सञ्चार मन्त्रालय पनि उनकै हातमा छ । समग्र सरकारी माध्यमहरू उनकै अधीन छन् । आफू र परिवारको हितका लागि उनले लगानी गरेका अमूकअमूक अनलाइनहरू पनि हरहमेसा उनकै वरिपरि फन्का मारिरहेका हुन्छन् । नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान र रासस हुँदाहुँदै पनि मिडियाले आफूलाई सहयोग गरेनन् भन्नुको अर्थ बुझिनसक्नु छ । सञ्चार मन्त्रालयको ताल्चासाँचो पनि अर्कैको हातमा छ भन्ने अर्थ लाग्छ । यसरी रोइकराई गर्नुपर्ने अवस्था आउला भन्नेमा उनले कहिल्यै ध्यान दिएनन् ।
उनले सिंगो माओवादी आन्दोलन सिध्याउन, राष्ट्रिय स्वाधीनतालाई भारतको पोल्टामा सुम्पिन गरेका कुकुत्यहरू, २५ बुँदेदेखि प्रणव मुखर्जीको भ्रमण सन्दर्भमा गरेका लम्पसारवादी व्यवहारका बारेमा पनि केही बोलेका छैनन् । राष्ट्रियताको पक्षमा लडेका नेपाली जनता किन उनका पछि लागेनन्, किन इमानदार माओवादी कार्यकर्ता उनको पक्षमा उभिएनन् भनेर उनले कहिल्यै सोचेनन्, सोच्नु आवश्यक पनि ठानेनन् ।
आफू उभिएको जमिन भासिएर धेरै तल पुग्दा पनि आफू सगरमाथाको टाउकामै छु भन्ने भ्रम उनमा रहिरह्यो । उनले कार्यकर्तासामु धेरैपटक बाघ र भेडाको बथानको कथा सुनाए । आफू बाघ भएकाले अब भेडाको बथानको पछि नलाग्ने पनि भने । उनी भेडाको पछि त लागेनन्, तर ब्वाँसाहरूको बथानमा मिसिन पुगे । आवश्यकता थियो आत्मसमीक्षाको, परन्तु यसको सट्टा क्रान्तिकारी हुनुको कथा हालेर माओवादका नाममा उनले ठगी धन्धा चलाइरहे । बादशाह नांगै भए पनि राम्रो ! राम्रो ! भन्ने हनुमानहरूबाहेक इमानदार मान्छेहरू अहिले उनका साथमा कोही छैनन् । लगानी गरेवापत हनुमान चालिसा गाउनेहरू पनि हातमा कान्छी नानी पर्न छोडेपछि अर्का नायकहरूको बखान गर्न थाल्नेछन् । उनी उभिएको धरातल यही हो ।
प्रचण्ड आज्ञाकारी सिपाही बनेर ओली सरकार ढाल्न तत्पर भए । कुन उद्देश्य पूरा गर्न उनी प्रधानमन्त्री भएका थिए भन्ने कुरा सबैले बुझ्ने र देख्ने गरी समयले देखाइसकेको छ । अहिले सुगौली सन्धि र सन् १९५० को सन्धिको खारेजीलाई लिएर बहस र छलफलहरू चलिरहेका छन् । नेपाल राष्ट्रको हितविपरीतका सबै सन्धिसम्झौताहरू खारेज गर्नुपर्छ भन्ने जनमतविपरीत प्रचण्डले दिल्ली गएर खतरनाक २५ बुँदे सहमति गरेर नेपाललाई 'भुटानजस्तै सुखी' बनाउने भन्ने भारतीय नेताहरूको मनोकांक्षा पूरा गरिदिएका छन् ।
यस्तो बेला प्रचण्डले प्रशंसा पाउने भनेको भारतीय मिडियाबाट हो, नेपाली जनता र नेपालका सञ्चारमाध्यमबाट होइन । राष्ट्रघात गर्नेहरूलाई नेपाली जनताले साथ दिएको इतिहास छैन र एकाध पालिएकाहरूबाहेक नेपालका सञ्चारमाध्यमले पनि राष्ट्रघात गर्नेहरूको जयगान गाएको इतिहास छैन । माध्यमहरूले साथ दिएनन् भनेर धारे हात लगाउनु अथवा रोइकराइ गर्नुको कुनै अर्थ छैन ।
नेपाली नागरिकता बोकेका भारतीय सत्ताधारी वर्गका दलालहरूलाई अघि सारेर भारतले भूकम्पले थिल्थिलिएका नेपाली जनताविरुद्ध ६ महिनाभन्दा बढी नाकाबन्दी लगाएर राजनीतिक रूपबाट आत्मसमर्पण गराउन खोज्यो र नेपालीलाई भोकभोकै मार्न खोज्यो । अरू कुरा जे–जे भए पनि यस मामिलामा ओली सरकारले दरिलो अडान लियो र नेपाली जनताले साथ पनि दिए । त्यतिबेला चीनले सुखदुःखको साथी र असल छिमेकीको व्यवहार देखाउँदै सहयोगको हात बढायो । यातायात, पारवहन र व्यापारका क्षेत्रका केही महत्त्वपूर्ण सहमति भए । परन्तु, यी सहमतिहरूले ठोस आकार र अन्तिम स्वरूप ग्रहण गर्नुअघि नै नेपाल राजनीतिक र आर्थिक पक्षमा आफ्नो एकाधिकारबाट बाहिर जान पाउँदैन भन्दै भारतले नवऔपनिवेशिकतावादी प्रवृत्ति देखायो, चिनियाँ प्रभाव रोक्ने नाममा षड्यन्त्रका तानाबुना बुन्न थाल्यो ।
ओली सरकारको विघटन यसै षड्यन्त्रको उपज थियो र यसमा पुष्पकमल दाहाल उर्फ प्रचण्ड आवश्यक परे नयाँ लेन्डुपे बन्ने अवतारका साथ 'उदाएका' थिए । चीनसित भएका समझदारी खारेज गर्न र राष्ट्रपति सी जिनपिङको भ्रमण रोक्न अर्थात् चिनियाँ प्रभाव रोक्ने जिम्माका साथ सिंहदरबारको कारिन्दामा पठाइएका प्रचण्डले आखिर स्वामीइच्छा पूरा गरेरै छोडे । २५ बुँदेमा मात्र होइन, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका सन्दर्भमा उनले देखाएको व्यवहारले उनको स्वामीभक्ति अझ राम्रोसित प्रस्टियो । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण रोकियो । यस किसिमको स्थितिमा कसरी नेपाली जनताले प्रचण्डको गुनगान गर्छन् र कसरी यो देशलाई माया गर्ने नेपाली सञ्चारमाध्यमले उनको जयगान बोल्छन् ! फेरि पनि भन्छु राष्ट्रघातीहरू र लम्पसारवादीहरूको गुनगान गाउने विरासत नेपाली जनता र माध्यमहरूको रहेन र रहने पनि छैन ।
भारतसित लम्पसार पर्ने चरणको एउटा अध्यायपछि प्रचण्ड सरकार अहिले खुलेर चीनविरोधी गतिविधिमा लागेको छ । यो सरकार नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकार हो । यसले गरेका कामकारबाही, राम्रानराम्रा सबै कुरामा दुवै पार्टी भागीदार हुन्छन् । आश्चर्यको कुरा के छ भने प्रचण्ड खुलेर भारतसामु लम्पसार परेका छन् र शेरबहादुर देउवा खुलेर चीनविरोधी अभियानमा सरिक छन् । यो गजबको तर, राष्ट्रियता र छिमकीहरूबीचको सम्बन्धका दृष्टिले जटिल मात्र नभएर डरलाग्दो स्थिति पनि हो ।
चीनसित भएका समझदारी खारेज गर्न र राष्ट्रपति सी जिनपिङको भ्रमण रोक्न अर्थात् चिनियाँ प्रभाव रोक्ने जिम्माका साथ सिंहदरबारको कारिन्दामा पठाइएका प्रचण्डले आखिर स्वामीइच्छा पूरा गरेरै छोडे । २५ बुँदेमा मात्र होइन, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका सन्दर्भमा उनले देखाएको व्यवहारले उनको स्वामीभक्ति अझ राम्रोसित प्रस्टियो ।
चीनका सम्बन्धमा नेपालको आधारभूत नीतिविपरीत देउवा गोवा पुगेर दलाई लामाको सरकारसित कुम जोड्दै स्वरमा स्वर मिलाए । देउवा सामान्य नागरिक अथवा 'स्वतन्त्र मानअधिकारवादी' पात्र होइनन् । उनी सत्ता गठबन्धनको प्रमुख पार्टीका नेता र पूर्व प्रधानमन्त्री पनि हुन् । यस्तो संवेदनशील विषयमा उनको अलिकति पनि गम्भीरता देखिएन । काठमाडौंमा ताइवानको झन्डा फहराएर कार्यक्रम गरियो, कूटनीतिक मर्यादाविपरीत मन्त्री विमलेन्द्र निधिले चिनियाँ प्रतिनिधिमण्डलसित भेट गर्न समय दिएनन् । एक हिसाबले सरकारले नै खुलारूपमा चीनविरोधी गतिविधि गर्यो । यस्ता सन्दर्भहरूलाई लिएर चीन नेपाल सरकारसामु जसरी प्रस्तुत भयो, कूटनीतिक दृष्टिले यो सामान्य कुरा होइन ।
संविधान संशोधनका नाममा सरकार राष्ट्रियतासम्बन्धी अर्को अपराधमा लागेको छ । अंगीकृत नागरिकलाई राष्ट्रको सर्वोच्च पदमा पुर्याउने षड्यन्त्रमा प्रचण्ड सरकार क्रियाशील छ । यो भनेको मुलुकलाई फिजीकरणतर्फ अग्रसर गराउनु हो । यस प्रकरणले प्रचण्डको पाखण्डपन राम्ररी उदांगिएको छ । यस्तो स्थितिमा सरकार, प्रधानमन्त्री, गठबन्धन पार्टीहरू र तिनका नेताहरूका पक्षमा जनताले ताली पिट्ने कुरै आउँदैन र सञ्चारमाध्यम प्रतिरक्षामा उभिने कुरै आउँदैन । आफू सर्वांग नांगै हिँड्ने अनि टिप्पणीको विषय बनाइयो भनेर कोकोहोलो मच्चाउनुको अर्थ छैन ।
प्रचण्डले 'लास्टै परे क्रान्ति गर्ने' अभिव्यक्ति पनि दिएका छन् । यो साँच्चिकै घतलाग्दो व्यंग्य र टिठलाग्दो अभिव्यक्ति हो । माओवादी जनयुद्धप्रति गद्दारी गरेर र जनमुक्ति सेना दुस्मनलाई बुझाएर तिनका नाममा आएको अकुत सम्पत्ति विदेशी बैंकमा थुपारेर परिवादको रमझममा रमाएका प्रचण्डले कसका विरुद्ध, कसलाई साथ लिएर कस्तो क्रान्ति गर्लान् ? प्रश्न उठ्नु स्वाभाविक छ । उनले कसलाई दुस्मन भनेका हुन्, यो पनि बुझिनसक्नु छ ।
उनी प्रभानमन्त्री हुन्, प्रहरी र सेना उनको सरकारका रक्षक हुन् । राष्ट्रियताका दुस्मनसित लडेर क्रान्ति गर्ने हो भने उनले आफू इमानदार दलाल हुनुको परिचय दिइरहेका छन् । प्रतिक्रियावादी वर्गसित क्रान्ति गर्ने हो भने नेपाली समाजको प्रमुख अन्तर्विरोधको प्रतिनिधित्व गर्ने प्रमुख दलाल शक्तिसित हातेमालो गरेर सरकार चलाइरहेका छन् । उनको क्रान्तिको परिभाषा बुझिनसक्नु छ ।
देशीविदेशी प्रतिक्रियावादीहरूले मुसालाई सिंह बनाएर प्रयोग गर्छन् र स्वार्थ पूरा भएपछि फेरि मुसो बनाउँछन् । प्रचण्ड यस्ता पात्र हुन्, जो शक्ति र साधन पाए भने फासीवादको अभ्यास गर्न पनि पछि पर्दैनन् । अब उनको वर्ग फेरिएको छ । उनका वर्गसखाहरू फेरिएका छन् । यस अर्थमा अब उनले प्रतिक्रियावादी सत्ता र राष्ट्रघातीहरूविरुद्ध लडिरहेका उत्पीडित नेपाली जनता, तिनका पार्टी र नेताहरूविरुद्ध क्रान्ति गर्नेछन् ।
त्यसैले उनका भनाइहरू व्यंग्य र हाँसोको विषय बन्नु स्वाभाविक छ । यो उनमा बढ्दो निराशा र कुण्ठाको अभिव्यक्ति हो । यस्तो बेला मान्छे कि त नित्सेको शरणमा पुग्छ कि त हिटलरको समाजवाद पढ्न थाल्छ । मनोविज्ञानले भन्छ, निराशाले ग्रस्त मान्छेले कि त आत्महत्या गर्छ कि त अपराधको बाटो समात्छ । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता प्रचण्ड क्रान्तिको सिकार नबनोस् भनेर कामना गरौँ । हेरौँ र पर्खौँ पनि, उनले गर्ने क्रान्तिको स्वरूप कस्तो हुन्छ ?