जलवायु परिवर्तनले खाद्यान्न संकट हुने
पेरिसः जलवायु परिवर्तनबाट समाधान समयमै ननिकालिए सन् २०३० भित्र विश्वमा खाद्यान्न संकट भयावह हुने चेतावनी विज्ञहरूले दिएका छन् । विश्वका कूटनीतिज्ञको मोरक्कोको माराकेसमा यसै साता सुरु भएको बहसमा जलवायु परिवर्तनका कारण कृषि क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै तत्काल समाधानको उपाय खोज्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
यस साताको बहसले विश्व कृषिलाई राहत मिल्ने समाधान ल्याउने गरी छलफल गरिएको पनि विज्ञहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनका कारण कृषि क्षेत्र नराम्ररी प्रभावित भए पनि नोभेम्बर ७ देखि नोभेम्बर १८ सम्म हुने छलफलले समस्याको समाधान ल्याउने विज्ञहरूले बताए ।
विज्ञहरूले जलवायु परिवर्तनका कारण हुने खडेरी, बाढी, मरुभूमीकरण, माटोको क्षयीकरणका समस्या बढेको उनीहरूले स्पष्ट पारेका छन् । यस्ता कार्यबाट खाद्यान्न संकट निम्तिएको बताउँदै छिटै भयावह दुर्घटना निम्तिने पनि उनीहरूको भनाइ छ । यसलाई ध्यानमा राखी समाधान खोज्न छलफल केन्द्रित रहने विश्व खाद्य तथा कृषि संस्थाका प्रमुख जोज ग्राजियानोले बताएका छन् ।
जलवायु परिवर्तनका कारण खाद्यान्न संकट आएको तर यसले सबै यसका शिकारीको जमघट गराएको छ । विज्ञहरूले धेरै आश्वासनमात्र दिने नभई खेतीबाट राम्रो फल कसरी प्राप्त गर्ने भनी विशेष निकास निकाल्ने कुरामा आश्वस्त हुन विश्वभरका कृषकलाई विश्वास दिलाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
यस वर्ष अल निनोका कारण ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा समेत प्रभाव पारेको, अपवादमा सोचिने गरेको खडेरी र बाढीका घटना देखिएको र यसले समग्र यस क्षेत्रकै खाद्यान्न व्यवस्थापनमा समस्या निम्त्याएपछि कृषिमा परेको असरमाथि छलफल भएको छ ।
गत महिनामा संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा आगामी दस बाह्र वर्ष वा त्यसपछि विकासोन्मुख राष्ट्रका कृषकहरूले जलवायु परिवर्तनका कारण बढेको तातोका कारण नराम्ररी प्रभावित हुनेछन् । यसको समाधान समयमै ननिकालिए सन् २०३० भित्र खाद्यान्न उत्पादनमा नकारात्मक दबाव सामना गर्नुपर्नेछ । ‘यसको असर विश्वभर नै पर्नेछ । अर्थात् विश्वमा खाद्यान्न संकटको भयावह स्थिति हुनेछ’, उनले भने ।
अर्को कुरा कृषि क्षेत्र ग्रिन हाउस ग्याँस उत्सर्जन गराउनमा विशाल योगदान गर्ने क्षेत्र हो । यसले एक चौथाइ ग्रिन हाउस ग्याँस उत्सर्जन गर्छ र भूमण्डल तताउँदै आएको छ । अन्ततः यसले वातावरण परिवर्तनमा असर गर्छ ।
असरलाई कम गर्न चक्रीय बाली, खडेरी सहनसक्ने बीउ, पानीको प्रयोगमा नियन्त्रण गर्ने किसिमका र खासगरी हिउँदे बालीलाई थप प्राथमिकतामा राख्नुपर्ने हुन्छ । प्रतिवेदनमा अहिले बाँच्नका लागि हामीलाई आवश्यक पर्ने खाद्यान्नको तुलनामा दुई गुणा बढी उपयोग गर्ने बानी रहेको छ ।
अर्थात् एकजनाको लागि २ हजार ३ सय क्यालोरी खाद्यान्न आवश्यक भए पनि सरदर ४ हजार ६ सय क्यालोरी लिने गरेको तथ्यांकले देखाउँछ । यसमा नियन्त्रण गरी भविष्यका लागि सञ्चय गर्नु पनि बुद्धिमानीपूर्ण हुने सम्बद्ध विज्ञहरूको भनाइ छ ।