‘जन्ती पत्रकारिता’
संस्थापक सम्पादक विजयकुरमारसँग तीन वर्ष नेपाल म्यागेजिनमा काम गर्दा ‘न्युजरुम ’मा उहाँ बारम्बार एउटा कुरा दोहोर्याउनु हुन्थ्यो , ‘ जन्ती पत्रकारिता नगर्नू है ।’ एउटै विषयमा उही कुरा दोहोर्याई तेहेर्याई प्रकाशन गर्ने नेपाली पत्रकारि ताको प्रवृत्तिमाथि उहाँ असहमत हुनुहुन्थ्यो । र , सधैं टिमलाई सचेत गराउनुहुन्थ्यो , ‘ लहै लहै पत्रकारिताको अर्थ हुँदैन ।’
गोरखा जिल्लाकी एक गुमनाम किशोरी कुसुम श्रेष्ठ रातारात ‘ सेलिब्रेटी’ भएकी छन् । नामले भन्दा बढी उनी ‘ तरकारीवाली’ भनेर चिनिन्छिन् । तरकारीको भारी बोकेको उनको फोटो एक फोटोग्राफरले फेसबुकमा पोस्ट गरेपछि सामाजिक सञ्जालमा त्यो पोस्ट भाइरल भयो । अनि त्यहीँबाट उनको चर्चा सुरु भयो ।
सामाजिक सञ्जालमा पोस्ट गरेको फोटो , अभिव्यक्तिहरू भाइरल हुने प्रवृत्ति बढ्दै गएको छ । केहीअघि पाकिस्तानी युवकले चिया बेचेर बसेको फोटो भाइरल भयो र उनलाई ‘ चायवाला’ नाम दिइयो । त्यसैलाई सिको गर्दै ‘ तरकारीवाली’ भाइरल भयो । आमसञ्चारको क्षेत्र फराकिलो हुँदै गएको छ । प्रविधिको विकास चरम हुँदै जाँदा सञ्चार क्षेत्रले बहुआयामिक विकास गरेको छ ।
सूचना पाउन र धारणा बनाउन अब एउटै सञ्चार माध्यममा मानिस आश्रित हुन नपर्ने भएको छ । कतिसम्म भने , सामाजिक सञ्जालमार्फत प्रेषित भएका कयौं सूचना, अभिव्यक्ति, फोटोहरू स्वयंमा समाचार का स्रोत भएका छन् । र , हरेक मानिसले सूचना सम्प्रेषण गर्नसक्ने युगको प्रारम्भ भएको छ । तर , सूचना र प्रविधिको क्षेत्रमा आएको यो चरम विकासले केही प्रश्न पनि उब्जाएको छ ।
के सामाजिक सञ्जालमा सम्प्रेषित सूचनामा भर पर्न सकिने अवस्था छ ? त्यस्ता सूचनाको विश्वसनीयता, स्तर र त्यसले पार्नसक्ने नकारात्मक प्रभावलाई नजर अन्दाज गर्न सकिन्छ ? निराशाजनक कुरा त के छ भने , सामाजिक सञ्जालमा ‘ भाइरल’ भएका सामग्री बेच्न मिडियाकर्मीहरू पनि तछाड–मछाड गरिरहेका छन् । ‘ तरकारीवाली’ कै सन्दर्भमा उनले जे जति मिडिया ‘ कभरेज’ पाइन्, के त्यो औचित्यपूर्ण छ ? सामाजिक सञ्जालहरूमै मिडियाले बढी स्थान दिएकामा आलोचना, नकारात्मक टिप्पणी सुरु भइसकेको छ ।
प्रश्न हामी मिडियाकर्मी र मिडियाको स्तरमाथि उठेको छ । भाइरल बनेको तरकारीवालीको समाचारमार्फत हामीले दिन खोजेको के हो ? फोटोमा सुन्दर देखिएकी कुनै किशोरी, जो गाउँले परिवेशमै जन्मे हुर्केकी हुन्, उनले तरकारीको भारी बोक्नु अनौठो सन्दर्भ हो र ? अनि ‘ स्कुप’ छुट्लाझैं गरेर लावालस्कर त्यही विषयको पछाडि दगुर्दा कुन त्यस्तो मानक समाचार कथा बन्न सक्यो ? जुन नेपाली पत्रकारिताले बिर्सने छैन । यहाँनेर सामाजिक सञ्जालको भाइरल ‘ ट्रेन्ड’ हेरेर ‘ टीआर पी’ र पाठक बढाउन मात्र हामी उद्यत भएको देखिन्छौं ।
हरेक मानिसभित्र कथा हुन्छ, त्यसलाई खोतल्ने र प्रस्तुत गर्ने शैली कलात्मक छ भने पठनीय सामग्री उत्पादन हुनसक्छ । ‘ तरकारीवाली’ को हकमा पनि उनी सामाजिक सञ्जालमा भाइरल हुँदै गर्दा समाचार निर्माता हुन सक्छिन् तर मिडियाकर्मीले लाम लागेर उनको जे जति चर्चा गरे , त्यसको औचित्य पुष्टि हुँदैन ।
उनको कथामा न संघर्ष छ, न वेदना न त समाजलाई बताउनै पर्ने कुनै उपलब्धी । के ही त छैन । नर्स बन्ने चाहना पालेकी सोझी केटीलाई चर्चाको चुलीमा चढाएर मिडियाले ‘ मिसगाइड’ गरेको छ । रातारात उनमा कहिल्यै नसोचेको मोडलिङको महत्वकांक्षा जागृत गराउनुमा अरू कसैको होइन, मिडियाकै भूमिका छ । ‘ तरकारीवाली’ चर्चित होउन्, उनको क्षमता विकास हुँदै जाओस् र अहिले बनेको ‘ सेलिब्रे टी’ छविलाई अघि बढाएर जान सकुन् । उनीप्रति कुनै दूराभाव छैन ।
तर , हामी मिडियाकर्मीहरूले चाहिँ आफूसँग भएको शक्तिलाई प्रयोग गर्दैगर्दा केही संवेदनशील र गम्भीर हुनैपर्छ । हामीले मिडिया सामग्री पस्कँदा जिम्मेवारी बोध गर्नैपर्छ । अन्त्यमा, ‘ तरकारीवाली’ सन्दर्भले सामाजिक सञ्जालहरूको प्रभाव विस्तार हुँदै गएको प्रस्ट देखिएको छ । र , मिडियाले चाहेमा समाजमा रातारात मानिसलाई चर्चित बनाउन सक्छ भन्ने कुरा थप पुष्टि भएको छ । तर , हामीसँगै मिडियाकर्मीहरू सतही र लहलहैमै कुदिरहेको अर्को गम्भीर सन्देश पनि यो सन्दर्भले दिन्छ ।
हो , हामी मिडियाकर्मीलाई पाठक, दर्शक, स्रोतालाई चित्त बुझाउने चुनौती छ । नयाँ कोणका सूचना, समाचार , नयाँ अनुहारलाई ल्याउन सके , त्यसले बढी पाठक/स्रोतालाई आकर्षित गर्नसक्छ । तर , त्यस्ता नयाँ कोणका सञ्चार सामग्री पस्कँदै गर्दा त्यसको स्तर र औचित्यतर्फ पनि सजग हुने कि ? सबैले मनन गरौं, ‘ जन्ती पत्रकारिता’लाई निरुत्साहित गर्न सके मात्रै व्यावसायिक पत्रकारिता फस्टाउँछ ।
प्रतिक्रिया दिनुहोस !