सामाजिक विषयको राष्ट्रिय विम्ब

सामाजिक विषयको राष्ट्रिय विम्ब

उपन्यास : इति
लेखक    : उमा सुवेदी
पृष्ठ      : २१९
मूल्य      : ३०० रुपैयाँ
प्रकाशक : अक्षर क्रिएशन्स

बाहुनडाँडीमा एकजना दिदीले भन्नुभयो, ‘यो ठाउँमा बिहेबारी गर्न पनि गाह्रो हुने भयो । हात्तीले दुःख दिने ठाउँमा कसले छोरी दिन्छन् र ?’उमा सुवेदीको दोस्रो उपन्यास ‘इति’ पढिसकेपछि उनले उल्लेख गरेको रचनागर्भबारे फेरि घोत्लिएँ । ‘हो है’ भनी बेवास्ता गरेर हिँडिने त्यो संवादभित्र लुकेको विराट संवेदनालाई उमाले जसरी समाइन्, त्यही नै उपन्यासको बलियो आधार हो । त्यही आधारमा आफ्नो चेतना र शिल्पको प्रयोग गरेर एउटा सुन्दर र बलियो उपन्यास लेखेकी छिन् उनले ।

उपन्यासको कथानक पूर्वी नेपालको एउटा काल्पनिक गाउँ दामाटारमा बुनिएको छ । तर, त्यो गाउँको नाउँमात्रै काल्पनिक हो, परिवेशमा झापाको बुधबारे, बाहुनडाँगी वा त्यसवरिपरिको चित्र आउँछ । त्यहाँको परिवेश मिहीन चित्रण गरेर उनले आफू बुधबारेमा हुर्किएको प्रमाण त दिएकी छिन् नै, उनीभित्रको लेखकले समाइहिँड्ने मसिना संवेदनशीलता पनि व्यक्त गरेकी छिन् ।

दामाटार गाउँको निर्माण र त्यसको विघटन नै उपन्यासको मूल कथ्य हो । कर्णराज नामका व्यक्तिले आवाद गरेको एकलास स्थान कसरी विस्तारै बस्तीमा रुपान्तर भयो ? त्यसको उत्थान र पतनको कसरी हुन पुग्यो ? भन्ने कथा त्यहीँ हुर्किएर भुक्तमान खेपेकी वर्षा नामकी पात्रले वर्णन गरेकी छिन् ।
उपन्यासमा चित्रित दामाटार पूर्वको एउटा गाउँजस्तो लागे पनि त्यहाँको बस्ती विकास प्रक्रिया र निर्माण भएको विविधताले समग्र नेपालकै झल्को दिन्छ । त्यहाँबाट भारततिर हुने सुपारी तस्करी र भारततिरबाट आउने हात्तीले मच्चाउने आतंकमा नेपालको आर्थिक र राजनीतिक संरचनाको बिम्बात्मक सादृश्य खोज्न पनि गाह्रो पर्दैन ।

त्यसैले उपन्यासको विषय सामाजिकजस्तो लागे पनि यो राजनीतिबाट पर छैन । तर, उमाले उपन्यासको समग्र कथानकमा भने राजनीतिलाई उपेक्षा गरेको देखिन्छ । सुरुआतमा छ्यास्स देखिने राजनीतिक प्रसंग त्यसपछि पूरै बिलुप्त छ । सामाजिक, आर्थिक वा सांस्कृतिक संरचनामा राजनीतिले पार्ने प्रत्यक्ष प्रभावलाई उतार्दा राजनीतिक दृष्टिकोणबाट तटस्थ बस्ने प्रयत्नमा लेखक देखिन्छिन् । त्यसो हुँदा उपन्यासले पैदा गर्नसक्ने वैचारिक बिम्ब भने संकुचनमा परेको छ ।

उपन्यासको कथानकमा सामाजिक, सांस्कृतिक र आर्थिक पक्षलाई पर्गेल्ने कुरामा भने उपन्यासकार सचेत देखिन्छिन् । उनी कल्पना र तिलक पात्रमार्फत प्रेमको अर्थशास्त्र र समाजशास्त्र चित्रण गर्छिन् । आर्थिक पक्षले पवित्र प्रेमलाई कसरी कमजोर, अवैध र दुःखपूर्ण बनाउँछ भन्ने कथाले मन उसै पग्लिएर आउँछ ।

त्यसमा पनि आर्थिक र सामाजिक संरचनाको कोपभाजनमा परेको प्रेमबाट पैदा हुने दुःखको मूल भागीदार सँधै महिला हुनुपर्ने वास्तविकताको चित्रणले मस्तिष्कमा प्रहार गर्छ । साथै उपन्यासले रोजगारीका लागि युवाशक्ति विदेश जानुपर्ने बाध्यता र त्यहाँ भोग्नुपर्ने दुःख पनि मार्मिक ढंगले चित्रण गरेको छ । उपन्यासमा उमाले सामाजिक अन्धविस्वास र रुढीलाई शालीन ढंगले भत्काउन मिहिनेत गरेकी छिन् ।

त्यसका लागि उनी विरोध होइन, घटनाक्रमले पुष्टि गर्ने यत्न गर्छिन् । दामाटारमा हात्ती आतंक रोक्न गाउँलेले गरेको प्रयास र त्यसमा राज्यले देखाएको रवैयाले जनताको वास्तविक समस्याप्रति राज्यको उदासिनता प्रष्ट पार्छ । सुपारी तस्करी र त्यसमा संलग्न चिनिकाकाजस्ता पात्र राज्यको संस्थापक संरचना नै तस्कर, दलालहरूको चंगुलमा फसिरहेको छ प्रमाण हो ।

दामाटार विघटन भएर विजयपुर बजार बन्ने प्रक्रियामा दलाल र गलत नियत भएका व्यापारीको सक्रियता देख्दा देश नै उनीहरूको हातमा त जाँदै छैन ? भनेर हरेक नेपाली झसङ्ग हुन्छन् । यसले मानवीय सम्बन्ध र संवेदनाको हत्या गर्ने पूँजीवादी अभ्यासको कुरुप अनुहार सामुन्ने ल्याइदिएको छ ।पहिलो उपन्यास ‘तोदा’ मार्फत नै बलियो प्रभाव छोडेकी उमाले दोस्रो उपन्यासमा आफूलाई अझ बलियो बनाएकी छिन् ।

उनको लेखन–यात्राको कोणबाट त यो तथ्य महत्वपूर्ण छ नै, समग्र महिला लेखन पनि उनको उपस्थितिले समृद्ध बनिरहेको छ । सामाजिक विषयलाई राष्ट्रिय बिम्बमा उनेर प्रस्तुत गर्न उनी सफल छिन् । त्यसैले ‘इति’, ‘महिलालेखन रोनाधोनाबाट माथि उठेको छैन’ भन्नेहरूको लागि पनि गतिलो जवाफ हो ।

उपन्यासको जन्मकथा

उमा  सुवेदी

‘इति’ उपन्यासमा उल्लेखित घटनाक्रम सानैदेखि देखिरहेकै हो । जब तिनको राजनीति, अर्थशास्त्र र समाजशास्त्रलाई बुझें, अनि यो विषयवस्तुप्रति आकृष्ट भएँ । सरसर्ती हेर्दा उपन्यास दामाटार गाउँमा हुने हात्ती आतंक र त्यहाँको समाजमा फस्टाएको तस्करीमा आधारितजस्तो लाग्छ । तर मैले समग्र नेपाली गाउँका समस्यालाई प्रतीकात्मक अर्थ दिएकी हुँ ।

उपन्यास लेख्न करिब तीन वर्ष लाग्यो, बढी समय पुनर्लेखनमै लाग्यो । हात्ती आतंक र सुपारी तस्करीका भित्री कुरा बुझ्न स्थलगत अध्ययन गरेँ ।
कुनै सिद्धान्त या वादको चस्मा लगाएर मैले यो उपन्यास लेखेकी हैन । समाजभित्रका यथार्थ, जसलाई हाम्रो राजनीतिले कति कुरूप बनाएको छ र त्यसले आमजनताको भावनालाई कति आहत बनाइरहेको छ भन्ने भावलाई आफ्नो मथिंगलमा राखेर लेखेकी हुँ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.