सामाजिक विषयको राष्ट्रिय विम्ब
उपन्यास : इति
लेखक : उमा सुवेदी
पृष्ठ : २१९
मूल्य : ३०० रुपैयाँ
प्रकाशक : अक्षर क्रिएशन्स
बाहुनडाँडीमा एकजना दिदीले भन्नुभयो, ‘यो ठाउँमा बिहेबारी गर्न पनि गाह्रो हुने भयो । हात्तीले दुःख दिने ठाउँमा कसले छोरी दिन्छन् र ?’उमा सुवेदीको दोस्रो उपन्यास ‘इति’ पढिसकेपछि उनले उल्लेख गरेको रचनागर्भबारे फेरि घोत्लिएँ । ‘हो है’ भनी बेवास्ता गरेर हिँडिने त्यो संवादभित्र लुकेको विराट संवेदनालाई उमाले जसरी समाइन्, त्यही नै उपन्यासको बलियो आधार हो । त्यही आधारमा आफ्नो चेतना र शिल्पको प्रयोग गरेर एउटा सुन्दर र बलियो उपन्यास लेखेकी छिन् उनले ।
उपन्यासको कथानक पूर्वी नेपालको एउटा काल्पनिक गाउँ दामाटारमा बुनिएको छ । तर, त्यो गाउँको नाउँमात्रै काल्पनिक हो, परिवेशमा झापाको बुधबारे, बाहुनडाँगी वा त्यसवरिपरिको चित्र आउँछ । त्यहाँको परिवेश मिहीन चित्रण गरेर उनले आफू बुधबारेमा हुर्किएको प्रमाण त दिएकी छिन् नै, उनीभित्रको लेखकले समाइहिँड्ने मसिना संवेदनशीलता पनि व्यक्त गरेकी छिन् ।
दामाटार गाउँको निर्माण र त्यसको विघटन नै उपन्यासको मूल कथ्य हो । कर्णराज नामका व्यक्तिले आवाद गरेको एकलास स्थान कसरी विस्तारै बस्तीमा रुपान्तर भयो ? त्यसको उत्थान र पतनको कसरी हुन पुग्यो ? भन्ने कथा त्यहीँ हुर्किएर भुक्तमान खेपेकी वर्षा नामकी पात्रले वर्णन गरेकी छिन् ।
उपन्यासमा चित्रित दामाटार पूर्वको एउटा गाउँजस्तो लागे पनि त्यहाँको बस्ती विकास प्रक्रिया र निर्माण भएको विविधताले समग्र नेपालकै झल्को दिन्छ । त्यहाँबाट भारततिर हुने सुपारी तस्करी र भारततिरबाट आउने हात्तीले मच्चाउने आतंकमा नेपालको आर्थिक र राजनीतिक संरचनाको बिम्बात्मक सादृश्य खोज्न पनि गाह्रो पर्दैन ।
त्यसैले उपन्यासको विषय सामाजिकजस्तो लागे पनि यो राजनीतिबाट पर छैन । तर, उमाले उपन्यासको समग्र कथानकमा भने राजनीतिलाई उपेक्षा गरेको देखिन्छ । सुरुआतमा छ्यास्स देखिने राजनीतिक प्रसंग त्यसपछि पूरै बिलुप्त छ । सामाजिक, आर्थिक वा सांस्कृतिक संरचनामा राजनीतिले पार्ने प्रत्यक्ष प्रभावलाई उतार्दा राजनीतिक दृष्टिकोणबाट तटस्थ बस्ने प्रयत्नमा लेखक देखिन्छिन् । त्यसो हुँदा उपन्यासले पैदा गर्नसक्ने वैचारिक बिम्ब भने संकुचनमा परेको छ ।
उपन्यासको कथानकमा सामाजिक, सांस्कृतिक र आर्थिक पक्षलाई पर्गेल्ने कुरामा भने उपन्यासकार सचेत देखिन्छिन् । उनी कल्पना र तिलक पात्रमार्फत प्रेमको अर्थशास्त्र र समाजशास्त्र चित्रण गर्छिन् । आर्थिक पक्षले पवित्र प्रेमलाई कसरी कमजोर, अवैध र दुःखपूर्ण बनाउँछ भन्ने कथाले मन उसै पग्लिएर आउँछ ।
त्यसमा पनि आर्थिक र सामाजिक संरचनाको कोपभाजनमा परेको प्रेमबाट पैदा हुने दुःखको मूल भागीदार सँधै महिला हुनुपर्ने वास्तविकताको चित्रणले मस्तिष्कमा प्रहार गर्छ । साथै उपन्यासले रोजगारीका लागि युवाशक्ति विदेश जानुपर्ने बाध्यता र त्यहाँ भोग्नुपर्ने दुःख पनि मार्मिक ढंगले चित्रण गरेको छ । उपन्यासमा उमाले सामाजिक अन्धविस्वास र रुढीलाई शालीन ढंगले भत्काउन मिहिनेत गरेकी छिन् ।
त्यसका लागि उनी विरोध होइन, घटनाक्रमले पुष्टि गर्ने यत्न गर्छिन् । दामाटारमा हात्ती आतंक रोक्न गाउँलेले गरेको प्रयास र त्यसमा राज्यले देखाएको रवैयाले जनताको वास्तविक समस्याप्रति राज्यको उदासिनता प्रष्ट पार्छ । सुपारी तस्करी र त्यसमा संलग्न चिनिकाकाजस्ता पात्र राज्यको संस्थापक संरचना नै तस्कर, दलालहरूको चंगुलमा फसिरहेको छ प्रमाण हो ।
दामाटार विघटन भएर विजयपुर बजार बन्ने प्रक्रियामा दलाल र गलत नियत भएका व्यापारीको सक्रियता देख्दा देश नै उनीहरूको हातमा त जाँदै छैन ? भनेर हरेक नेपाली झसङ्ग हुन्छन् । यसले मानवीय सम्बन्ध र संवेदनाको हत्या गर्ने पूँजीवादी अभ्यासको कुरुप अनुहार सामुन्ने ल्याइदिएको छ ।पहिलो उपन्यास ‘तोदा’ मार्फत नै बलियो प्रभाव छोडेकी उमाले दोस्रो उपन्यासमा आफूलाई अझ बलियो बनाएकी छिन् ।
उनको लेखन–यात्राको कोणबाट त यो तथ्य महत्वपूर्ण छ नै, समग्र महिला लेखन पनि उनको उपस्थितिले समृद्ध बनिरहेको छ । सामाजिक विषयलाई राष्ट्रिय बिम्बमा उनेर प्रस्तुत गर्न उनी सफल छिन् । त्यसैले ‘इति’, ‘महिलालेखन रोनाधोनाबाट माथि उठेको छैन’ भन्नेहरूको लागि पनि गतिलो जवाफ हो ।
उपन्यासको जन्मकथा
उमा सुवेदी
‘इति’ उपन्यासमा उल्लेखित घटनाक्रम सानैदेखि देखिरहेकै हो । जब तिनको राजनीति, अर्थशास्त्र र समाजशास्त्रलाई बुझें, अनि यो विषयवस्तुप्रति आकृष्ट भएँ । सरसर्ती हेर्दा उपन्यास दामाटार गाउँमा हुने हात्ती आतंक र त्यहाँको समाजमा फस्टाएको तस्करीमा आधारितजस्तो लाग्छ । तर मैले समग्र नेपाली गाउँका समस्यालाई प्रतीकात्मक अर्थ दिएकी हुँ ।
उपन्यास लेख्न करिब तीन वर्ष लाग्यो, बढी समय पुनर्लेखनमै लाग्यो । हात्ती आतंक र सुपारी तस्करीका भित्री कुरा बुझ्न स्थलगत अध्ययन गरेँ ।
कुनै सिद्धान्त या वादको चस्मा लगाएर मैले यो उपन्यास लेखेकी हैन । समाजभित्रका यथार्थ, जसलाई हाम्रो राजनीतिले कति कुरूप बनाएको छ र त्यसले आमजनताको भावनालाई कति आहत बनाइरहेको छ भन्ने भावलाई आफ्नो मथिंगलमा राखेर लेखेकी हुँ ।
प्रतिक्रिया दिनुहोस !