प्राचीन छिमेकीका नवीन सन्देश
प्रतीक र यथार्थबीचमा गहिरो सम्बन्ध छ । यद्यपि प्रतीक वास्तविकता जस्तो ठोस र मूर्त हुँदैन । तर यसले यथार्थलाई सबल बनाउन एवं नयाँ दिशा प्रदान गर्ने सामथ्र्य राख्छ । जसरी देवीदेवताका मूर्तिले हाम्रो जीवनलाई बल प्रदान गर्दै विषम परिस्थितिमा मार्गदर्शन गर्दछ, त्यसैगरी अमूर्त एवं प्रबल विचारले देश र समाजको धारा परिवर्तन गर्न सक्छ । प्रतीक, अमूर्त र प्रतिबिम्ब प्रायः वास्तविकताभन्दा बढी प्रभावशाली र शक्तिशाली हुने गर्छन् । भनिन्छ-मनले हारे हारिन्छ, मनले जिते जितिन्छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको हालसालै सम्पन्न तीनदिने नेपाल भ्रमणलाई यसै दृष्टिकोणबाट हेर्नु र विचार गर्नु उपयुक्त हुन्छ । राष्ट्रपति मुखर्जीले यो भ्रमणलाई मिसन अफ फ्रेन्डसिपको संज्ञा दिए । सर्वविदितै छ, यी वरिष्ठ एवं अनुभवी राजनेताले वर्तमान नेपाल-भारत सम्बन्धलाई गहिरोसँग बुझेका छन् । मुखर्जी भारत सरकारको उच्च पदहरूमा लामो समयसम्म आसीन रहिसकेका नेता हुन् । विदेशमन्त्रीको रूपमा, करिब दुई दसकअघि महाकाली सन्धिमा नेकपा एमालेको समर्थन प्राप्त गर्न उनी सफल भएका थिए ।
०६२/६३ मा नेपालका माओवादीहरूलाई शान्तिपूर्ण लोकतान्त्रिक धारमा ल्याउन मुखर्जीको महत्त्वपूर्ण योगदान रह्यो । यो फरक विषय हो कि पछिल्लो दस वर्षमा नेपालको वामपन्थी खेमामा अभूतपूर्व उथलपुथल आयो । सत्ता संघर्षले विग्रह पैदा गरायो । अनपेक्षित राजनीतिक गठबन्धन पैदा भयो । परिणमतः वामपन्थी सैद्धान्तिक धार ओझेलमा परेको छ । तर राष्ट्रपति मुखर्जीले नेपालको आन्तरिक राजनीतिक द्वन्द्वलाई नजरअन्दाज गर्दै नेपाल-भारत मैत्रीमा बढेको दूरी कम गर्नेतर्फ ध्यान केन्द्रित गरे ।
नेपालमा नयाँ संविधान घोषणा भएपश्चात् उत्पन्न मधेस आन्दोलन र तराईको भारतीय सीमामा भएको चारमहिने नाकाबन्दीले नेपालमा भारतविरुद्ध आक्रोश एवं असन्तोष छ भन्नेबारे भारत सरकार बेखबर छैन । यद्यपि दुवै पक्षले यस्तो दुर्भाग्यपूर्ण घटनाक्रमलाई आआफ्नो अनुकुलताले व्याख्या गर्दै आएका छन् । तर गाडिएको मुर्दा उखेल्नु सकारात्मक प्रवृत्ति होइन ।
'प्रणव दा से सरी' (प्रणब दा माफी माग्नुस्) जस्ता सन्देश भारतीय राष्ट्रपतिको भ्रमणको दौरान सोसल मिडियामा जोडतोडले प्रवाहित भए । यसले विकृत आत्मतुष्टिबाहेक नेपाल-भारत सम्बन्धमा के लाभ पुर्याउँछ ? त्यस्तै गैरजिम्मेवार तत्त्वहरूले नै यसलाई बुझ्न सक्लान् । हाम्रो लागि यस्ता तत्त्वबाट बच्नु नै श्रेयष्कर हुनेछ ।
नेपाल र भारत जस्ता अभिन्न मित्रराष्ट्रका बीचमा मतभेद यदि मनभेदमा परिवर्तन हुन्छ भने त्यो अत्यन्तै चिन्ताको विषय हुनेछ । यद्यपि आजको वैश्विक परिपाटीमा नेपालले व्यावहारिकता पछ्याउँदै बहुध्रुवीय एवं बहुपक्षीय विदेश नीतिलाई बलियो बनाउन जरुरी छ । तर एउटा प्राचीन छिमेकीसँग भावावेशमा आएर सम्बन्धलाई कमजोर बनाउनु राष्ट्रहितमा हुन सक्दैन । नेपाली अर्थविद्हरूले हाम्रो भौगोलिक क्षमता र सीमा राम्रोसँग बुझेका छन् । त्यसैले उनीहरू दुई देशबीचको सम्बन्धका बारेमा अनर्गल बयानबाजी गर्दैनन् । राष्ट्रिय सार्वभौमिकता एवं सच्चा राष्ट्रहितसँग जोडिएको विदेश नीतिमा विरोधाभास निहित हुनु हँदैन ।
अहिलेको आवश्यकता के हो भने हामीले धेरैभन्दा धेरै राष्ट्रहरूसँग सम्बन्ध अगाडि बढाउनुपर्छ र मात्र एक वा दुई देशसँगको पूर्ण निर्भरता कम गर्नुपर्छ । यसको लागि राजनीतिक दूरदर्शिता एवं क्षमताको आवश्यकता पर्छ । यसका साथै वर्तमान विश्व सम्बन्ध आदानप्रदानको सिद्धान्तमा चलिरहेको छ भन्ने यथार्थलाई पनि स्पष्टसँग बुझ्न जरुरी छ । लाभ मात्रै उठाउने नीति स्थायी एवं दूरगामी हुन सक्दैन । शीतयुद्धकालमा पनि अमेरिका र सोभियत संघका आआफ्ना पिठ्ठु देश थिए ।
तर सबैखाले सहयोगको लागि उनीहरूले केही न केही त्याग गर्नै पर्दथ्यो । आज चीन पनि एउटा महाशक्तिको रूपमा उदाएको छ । चीन आफ्नो प्रभाव क्षेत्र र आर्थिक एवं सैन्य बलको आधारमा विश्वभर अगाडि बढिरहेको छ । तर अन्तर्राष्टिय सम्बन्धको नियम सनातन छ । धर्म खाता खुलेको छैन । केही लिनु छ भने केही दिनु पनि अवश्य पर्छ । हुन सक्छ यो अहिल्यै देखिँदैन ।
यसै परिप्रेक्ष्यमा भारतीय राष्ट्रपति मुखर्जीले स्पष्ट पारे-नेपाल-भारत जस्तो प्रगाढ एवं विविधतापूर्ण साझेदारीमा यदाकदा मतभेद उत्पन्न हुन सक्छन्, यो स्वाभाविक हो । 'दुवै देशका प्रबुद्ध नेतृत्वले नियमित सरसल्लाह, खुला संवाद, आपसी विश्वास र सद्भावका माध्यमबाट यस्ता सम्भावित परिस्थितिलाई परास्त गर्न सकिन्छ', मुखर्जीले भ्रमणको अन्तिम दिन कात्तिक १९ गते 'नेपाल एन्ड इन्डियाः एक्सप्लोरिङ न्यु विस्टाज' विषयक अन्तक्र्रिया समापन समारोहमा भने । यति मात्रै होइन, मुखर्जीले नेपाललाई भारतको आर्थिक प्रगतिबाट अत्यधिक लाभ उठाउन सुझाव दिए ।
दुवै देशका निजी क्षेत्रलाई आपसी सहयोग वृद्धि गर्न उत्प्रेरित गरे । नेपालमा बहुदलीय लोकतन्त्रको प्रगतिको कामना गरे । साथै नेपालको संविधानको विषयमा उनले सर्वसम्मतिको मार्ग अनुसरण गर्न सुझाए । मधेसी नेताहरूसँगको भेटवार्तामा पनि मुखर्जीले विवादित विषयहरूमा सहमतिको बाटो पहिल्याउन आग्रह गरे । आखिरमा नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको गठबन्धन सरकार पनि त सामाजिक समग्रता र सहमतिको खोजी कार्यमा जुटेको छ ।
भारतजस्तो प्राचीन छिमेकीसँग भावावेशमा आएर उससँगको सम्बन्ध कमजोर बनाउनु नेपालको हितमा हुन सक्दैन । यी मुलुकबीचको मतभेद कहिल्यै पनि मनभेदमा परिवर्तन हुनु हुँदैन । यसर्थ नेपालले बहुध्रुवीय एवं बहुपक्षीय विदेश नीति बलियो बनाउन जरुरी छ ।
केही विषयमा अनेक स्तरबाट विरोधको सामना पनि गरिरहेको छ । भारतीय राष्ट्रपतिले केवल यसैमा सुरमा सुर मिलाएका न हुन् ।यस्तो सांकेतिक एवं प्रतीकात्मक भ्रमणमा भारत सरकारले आफ्नो राष्ट्रपतिको माध्यमबाट नेपालमा प्रगति एवं सौहार्दताको सन्देश पठाएको छ । केही ठोस सहायता एवं सहयोगको विषय पनि तय गरिएको छ । यसबारेमा मिडियाहरूले सविस्तार रिपोर्ट गरिसकेका छन् ।
तर हरेक घटनाक्रमका सम्बन्धमा फरक विचार राख्नेहरूको समूह पनि ठूलै छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भन्नुभएको छ, 'नेपालको राजनीतिक मामिलाको समाधानको प्रक्रियामा कोही पनि बाहिरियाको प्रभाव वा दबाब मान्य हुने छैन ।' उहाँको इशारा कोतर्फ थियो, लुकेको छैन । तर बूढापाकाहरू भन्ने गर्छन्, दुस्मनको पनि राम्रो सल्लाह लिनुपर्छ । भगवान् रामले मृतप्राय भइसकेका रावणसमक्ष ज्ञान प्राप्तिको लागि लक्ष्मणलाई पठाएका थिए ।
जनकपुर रामायणको अभिन्न अंग हो । राष्ट्रपति मुखर्जीलाई नेपालको यो पुण्यस्थल भ्रमण गर्ने अवसर प्राप्त भयो । उनको सुझावलाई केवल राजनीतिक कारणले नकार्नु बुद्धिमत्ता होइन । स्मरण रहोस्, मुखर्जीले व्यक्त गरेका मत विगतका महिनामा भारत भ्रमणका दौरान नेपालका प्रधानमन्त्री, मन्त्री, उच्च अधिकारी एवं विशिष्टहरूसँगको भेटमा भएका लामो संवादको परिणाम हो ।