सांस्कृतिक साम्राज्यवादको जालो
देशको राष्ट्रियता, स्वतन्त्रता, अखण्डता अक्षुण्ण राख्न राष्ट्रियताभित्र संस्कृति र संस्कृतिभित्र राष्ट्रियता अन्तर्घुलित बुझ्नुपर्छ । त्यसैले राष्ट्रियताको रक्षा गरी समृद्धिको बाटोमा लम्कन, राष्ट्रिय संस्कृतिको रक्षा गर्नुको विकल्प हुन सक्दैन । मौलिक संस्कृतिको रक्षाविना राष्ट्रियता बलियो हुँदैन र राष्ट्रियताको रक्षाविना मुलुकको रक्षा एवं विकास असम्भव छ । नेपालमा विविधतायुक्त मौलिक राष्ट्रिय सहिष्णु संस्कृति विद्यमान छन् ।
त्यसकारण नेपाली मौलिक सांस्कृतिक पहिचान भनेको विभिन्न वर्ग, क्षेत्र, लिंग र जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, सदाचार, नैतिकता, चाडपर्व, भेषभूषा, रीतिथिति, आचार, विचार, खानपान, कला, साहित्य, संगीत, इतिहास, शिक्षा, चालचलन, श्रम, जीवन संघर्ष, वीरतापूर्ण इतिहास, राष्ट्रिय एकता, राष्ट्रिय झन्डा, राष्ट्रिय प्रतीक, विभूति, मनोरञ्जन, मूर्तिकला, चित्रकला, ललितकला, राजनीति, इतिहास, योग ध्यान, आर्युवेद, लेखन, ग्रामीण बसोवास, कृषि प्रणाली, जल, नदी, ताल, हिमशृंखला, वनजंगल, खानी, हावापानी, वातावरण, प्रकृति, अर्थनीति आदि रक्षा र विकासका प्रश्न हुन् । हामीले यिनको जगेर्ना गर्नु नै राष्ट्र र राष्ट्रियताप्रतिको ठूलो दायित्व हुनेछ ।
संस्कृति मानव समुदायको ऐतिहासिक श्रम संघर्षबाट निर्मित कलाको समुच्चय हो । मानिसले समाजमा प्रचलित मानवीय स्वभावलाई आत्मसात गर्नुबाटै मानवीय जीवनका स्वभावगत, नीतिगत, चरित्र, व्यवहार, सभ्यता र संघर्षले संस्कृतिको रूप धारण गर्न पुग्दछ । तसर्थ संस्कृति (कल्चर होइन) जीवनको समग्र पक्ष हो । संस्कृति जीवन जगत्को संश्लेशिष्ट समग्रता भएको हुँदा नेपाली संस्कृति जगेर्ना तथा संवद्र्धन, संरक्षणमा देखापरेका सबैखाले साम्राज्यवादी संस्कृतिको अतिक्रमणको चुनौती चिर्दै मौलिक आदर्शवान् हुर्केको हाम्रो राष्ट्रिय संस्कृतिको जगेर्ना गर्न अत्यावश्यक छ ।
आज नेपालको मौलिक राष्ट्रिय संस्कृतिमाथि साम्राज्यवादी सांस्कृतिक हस्तक्षेप निरन्तर बढिरहेको छ । यसको हस्तक्षेपकारी प्रभावले हाम्रा सांस्कृतिक मूल्य-मान्यतामा ह्रास आइरहेको छ । अमेरिकी, युरोपेली तथा साम्राज्यवादी शक्तिले विशेषतः विकासोन्मुख र तेस्रो विश्वका मुलुकहरूमा सबैखाले हत्कण्डा अपनाई आफ्नो शून्यवादी, अश्लील, छाडा, नग्न, विसर्जनवादी संस्कृति बलात् लादिरहेछ । यही हस्तक्षेपको प्रक्रियाबाट सांस्कृतिक साम्राज्यवाद विकास हुन पुगेको छ ।
पश्चिमा साम्राज्यवादी छाडा, अश्लील, विवेकहीन, शून्यवादी, बेवारिसे, तुच्छ, क्रुर, आततायी, मानवताहीन बाइबल संस्कृति पश्चिमा युरो-अमेरिकी साम्राज्यवादी संस्कृति हो । त्यही छाडा संस्कृतिको प्रभुत्ववादी चरित्र जुन चरित्रले विश्वव्यापी रूपमा अन्य संस्कृतिलाई थिचोमिचो गर्ने, समाप्त पार्ने र विकृतीकरण गर्ने कार्य गर्छ । त्यही चरित्रलाई सांस्कृतिक साम्राज्यवाद भनिन्छ ।
पश्चिमा साम्राज्यवादीहरूले आफ्नो आर्थिक, राजनीतिक, रणनीतिक स्वार्थपूर्तिको लागि सूचना, सञ्चार, प्रविधिको भूमण्डलीकरण गरी विस्तार गरिएको आततायी सांस्कृतिक प्रदूषण र विकृति, विसंगति, दमन, शोषणको हैकमवादी विद्रूप जालो तथा षड्यन्त्र नै सांस्कृतिक साम्राज्यवाद हो । शून्यवादी, अश्लील छाडा जनविरोधी, आत्मकेन्द्रित, अवसरवादी, राष्ट्रविरोधी, सामाजिक फाँसीवादी, इसाई साम्राज्यवादी अमानवीय नृशंसयुद्ध संस्कृतिलाई सूचना सञ्चार तथा युद्धको माध्यमबाट उत्पीडित राष्ट्रहरूमा फैलाई ती राष्ट्रका मौलिक संस्कृति, मूल्य मान्यता, आत्मसम्मान र स्वाभिमानलाई विस्थापित गरी आफ्नो प्रभुत्ववादी संस्कृति स्थापित गर्ने कार्य सांस्कृतिक साम्राज्यवादले गर्छ । यही प्रक्रियाद्वारा साम्राज्यवादीले आफ्नो पाश्चात्य शून्यवादी, उत्तर आधुनिकतावादी, उपभोक्तावादी, दलाल पुँजीवादी संस्कृतिको भयानक जालो फिँजाइरहेको छ ।
सांस्कृतिक साम्राज्यवादले विश्वस्तरमै सशक्त रूपमा आफ्नो वर्चश्व स्थापित गराउन बहुराष्ट्रिय कम्पनी, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्वबैंक, युनिसेफलगायतका आईएनजीओ, एनजीओ संस्कृतिको पैसा, सूचना, सञ्चार, शक्ति, बुद्धि, जालझेल, षड्यन्त्र, किर्ते आदिको माध्यमबाट प्रभावकारी भूमिका खेल्दै आइरहेको छ । यसरी सांस्कृतिक साम्राज्यवादले एकछत्र आफ्नो प्रभुत्व तथा हैकम फैलाउँदै गएको छ । अरू राष्ट्रको संस्कृति, मूल्य मान्यता र सभ्यतामाथि जबर्जस्त हस्तक्षेप गरी आफ्नो पाश्चात्य इसाई संस्कृति विश्वव्यापी रूपमा फैलाउनु नै सांस्कृतिक साम्राज्यवादको उद्देश्य रहेको छ ।
पश्चिमा सांस्कृतिक साम्राज्यवादले अमेरिकी तथा उसका साझेदार युरोपियन राष्ट्रको इसाई धर्म, संस्कृति, संस्कार, भाषा, भेषभूषा, गीत, संगीत, साहित्य, आचार-विचार, संस्कार-सभ्यता, चिन्तन, एउटै राजनीतिक व्यवस्था, अर्थतन्त्र, एउटै सेना, एउटै समाजको प्रभुत्ववादी, विस्तारवादी हस्तक्षेपकारी साम्राज्यवादी संस्कृतिको जालो विश्वव्यापी रूपमा फैलाइरहेछ । यसरी सांस्कृतिक साम्राज्यवादलाई विश्वव्यापी रूपमा स्थापित गराउन उत्तर आधुनिकतावादको शून्यवादी दर्शनको आविष्कार गरियो । उत्तर आधुनिक चिन्तनको मुख्य स्रोत शून्यवाद, विसंगतिवाद, अस्तित्ववाद जस्ता दार्शनिक प्रवृत्तिहरूको विकास भए । यसरी उत्तर आधुनिकतावाद र सांस्कृतिक साम्राज्यवाद एकअर्काको पूरक रहेका छन् ।
सांस्कृतिक साम्राज्यवादले तेस्रो विश्वको राष्ट्रिय, स्वतन्त्रता, अखण्डता, सार्वभौमिक सत्तामाथि साम्राज्यवादी सांस्कृतिक प्रभुत्व लाद्न कुनै कसर बाँकी राखेको छैन । यसले उत्पीडित राष्ट्रहरूको वर्गमुक्ति आन्दोलनको माक्र्सवादी सौन्दर्य एवम् संस्कृतिको विरोध गर्छ । सर्वहारावर्गीय संस्कृति, समानता, स्वतन्त्रता, उदात्त वर्ग संघर्षको चेतना नयाँ जनवादी, समाजवादी क्रान्तिको विरुद्धमा फाँसीवादी चरित्र बोकी सांस्कृतिक साम्राज्यवाद उभिएको छ । त्यसैले सांस्कृतिक साम्राज्यवादी चरित्र मानव सभ्यताविरोधी पाखण्डी क्रुर आततायी दमनकारी नै हो । यसलाई मलजल गर्न शून्यवादी उत्तर आधुनिकतावादीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
अहिले अमेरिकी तथा पश्चिमा साम्राज्यवादी शक्तिले सांस्कृतिक साम्राज्यवादलाई नवऔपनिवेशीकरणको विधिद्वारा विश्वमा आफ्नो सांस्कृतिक साम्राज्यको जालो फिँजाइरहेछ । नवऔपनिवेशिक साम्राज्यवादको कूटनीतिक सचेत तथा सुनियोजित अप्रत्यक्ष राजनीतिक सांस्कृतिक हस्तक्षेप हो । साम्राज्यवादले तेस्रो विश्वका मुलुकहरूमा राजनीतिक, आर्थिक, सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक, समाजशास्त्रीय, कूटनीतिक प्रभाव विस्तार गरी त्यो देशका राजनीतिक पार्टी, नेतृत्व, उद्योगपति, व्यापारी, कर्मचारी, पत्रकार, सेना, पुलिस, संघसंस्था, लेखक एवं साहित्यकार र संस्कृतिकर्मीलाई आर्थिक प्रलोभनलगायत विभिन्न लोभलालच, आश्वासन देखाई आफ्नो काबुमा राख्ने गरेको छ ।
यिनै विविध विधिबाट ती मुलुकहरूलाई आफ्नो काबुमा राख्ने र आफ्ना हैकमवादी साम्राज्यवादी स्वार्थहरूको जालो तिनै दलालहरूमार्फत फिँजाउने कुकृत्य नै नवऔपनिवेशिक हो । नवऔपनिवेशीकरणको माध्यमद्वारा सांस्कृतिक साम्राज्यवाद विस्तार गरी विनाफौजी शान्तिपूर्ण रूपमा गुप्तचर तथा दलालहरूको हस्तक्षेपद्वारा कुनै पनि मुलुक कब्जामा राखिराख्न असमान सन्धि-सम्झौता, आर्थिक सहयोग, अनुदान ऋण उपलब्ध गराई साम्राज्यवादी शोषणको फराकिलो दायरा बनाउने काम सांस्कृतिक साम्राज्यवादले गर्छ ।
साम्राज्यवादी संस्कृतिले नेपालको शिक्षा, स्वास्थ्य, चलचित्र, गीत संगीत, नृत्य, सूचना, सञ्चार (टेलिभिजन, पत्रपत्रिका), विज्ञापन, भाषा, साहित्य, कला, संस्कृति, रहनसहन, भेषभूषा, रीतिथिति, संस्कार, संघसंस्था, कृषि, व्यापार-व्यवसाय, उद्योगधन्दा, कलकारखाना, अर्थतन्त्र, दर्शन, राजनीति, सामाजिक परिवेश सबैमा साम्राज्यवादी संस्कृतिको प्रभुत्व, प्रभाव कायम गर्न अग्रसर छ । ठालु संस्कृति, अर्थवाद, व्यवहारवादी संस्कृति, भँडुवावाद, संशोधनवाद, अवसरवाद, एनजीओ, आईएनजीओ जस्ता भुइँफुट्टा विकृति, विसंगतिपूर्ण साम्राज्यवादी संस्कृतिको प्रभाव अधिक पर्दै गएको छ ।
उपभोक्तावादी, उपयोगितावादी चिन्तन, सांस्कृतिक विद्रूपीकरण, बाइबलकरण, वर्णशंकरकरण, जातिवादीकरण, क्षेत्रवादीकरण जस्ता अतिवादी विखण्डनकारी, विसर्जनवादी चिन्तन प्रवृत्तिले हाम्रो साहित्य, राष्ट्रिय संस्कृति, मूल्यमान्यतामाथि धावा बोल्दै आएको छ । परिणामतः हाम्रो मौलिक नैतिक मूल्य, मान्यता, आदर्श पनि क्षयीकरणतर्फ उन्मुख छ । यसरी हाम्रो राष्ट्रिय गौरवपूर्ण जनसंस्कृति स्खलित बन्दै जानुमा पश्चिमा साम्राज्यवादी पाश्चात्य संस्कृतिको बढ्दो हस्तक्षेप नै हो ।
यतिबेला हाम्रो संस्कृति साम्राज्यवादी, उपभोक्तावादी र उपयोगीतावादी विद्रुप संस्कृतिको हस्तक्षेपबाट आक्रान्त छ । अहिले हुलहुज्जत संस्कृति, क्यासिनो, च्यारिटी सो, संगीत मेला, मनोरञ्जन मेला, कन्सर्ट, बिगसेल, ब्यान्डबाजा, नाइट क्लब, डिस्को डान्स जस्तो नांगो संस्कृतिको विकास हुनु पनि उपभोक्तावादकै विकास हो । यस्तो उपभोक्तावादी संस्कृति साम्राज्यवादी संस्कृतिकै अर्को एक पाटो हो । यस्ता समूह संस्कृतिको कारण हाम्रो राष्ट्रिय संस्कृतिमाथि खतरा उत्पन्न हुन पुगेको छ । यस्ता समूह संस्कृतिमा मौलिक र परम्परागत सुन्दर संस्कृतिको साथै समाजवादी यथार्थवादी संस्कृतिको उपहास हुने गर्छ । यसरी समाजवादी यथार्थवादी संस्कृतिविरुद्ध साम्राज्यवादी संस्कृतिले निरन्तर उत्पीडन गर्दै आइरहेको छ । यसविरुद्ध संघर्ष गर्नुको कुनै विकल्प छैन ।
हाम्रो गौरवपूर्ण राष्ट्रिय संस्कृतिले वैदेशिक तथा साम्राज्यवादी संस्कृति हस्तक्षेपको कारण मौलिक पहिचान गुमाउँदै छ । राष्ट्रिय संस्कृतिको पहिचान हराउनु भनेको राष्ट्रको पहिचान हराउनु हो । राष्ट्रिय पहिचान हराउनु भनेको राष्ट्र विघटन हुनु हो । यसरी सांस्कृतिक साम्राज्यवादले हाम्रो राष्ट्रिय संस्कृतिमाथि बलात् हस्तक्षेप तथा प्रहार गर्दै आफ्नो साम्राज्यवादी संस्कृतिको प्रभुत्व विस्तार गर्दै लानुले हाम्रो संस्कृतिमाथि गम्भीर चुनौती छ । संस्कृतिलाई किनबेचको वस्तु बनाउनुको साथै, प्रयोग गर र फ्याँकको वस्तु बनाउने काम साम्राज्यवादी संस्कृतिले गर्छ । सांस्कृतिक मूल्यमान्यता तथा धरोहरलाई बिक्री वितरणको साधन बनाउनु सांस्कृतिक साम्राज्यवादको विशेषता हो ।
संस्कृति बिक्री वितरणका साधन वस्तु बनेपछि संस्कृतिले आफ्नो मूल अस्तित्व गुमाउन पुग्छ । साम्राज्यवादी भूमण्डलीकरण तथा उत्तर आधुनिकतावादी शून्यवादी पाश्चात्य चरित्रले कुनै पनि देशको राष्ट्रिय संस्कृतिलाई यसैगरी उपभोग्य साधनको रूपमा चित्रण गर्दै बिक्रीका साधनमा बदलिदिएको छ । संस्कृतिको उपभोग्य बजारीकरणले राष्ट्रिय संस्कृतिको मूल पहिचान समाप्त हुन गई साम्राज्यवादी संस्कृतिको दबदबा बढ्दै जान्छ । यसरी नेपालमा सन् १८१६ को सुगौली सन्धिपछि राष्ट्रिय संस्कृतिमा पश्चिमा साम्राज्यवादी संस्कृतिको औपनिवेशिक विधिबाट हस्तक्षेप एवं प्रभुत्व कायम गर्ने प्रारम्भ भयो । त्यसयता निरन्तर यो वा त्यो रूपमा हाम्रो संस्कृतिमाथि निरन्तर प्रहार हुँदै आई आज पाश्चात्य साम्राज्यवादी संस्कृतिको प्रभाव विस्तार भइरहेछ ।
अहिले हाम्रो देश सांस्कृतिक साम्राज्यवादको हस्तक्षेप तथा प्रभुत्वका कारण संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । यस घडीमा राष्ट्रिय संस्कृतिमाथि विभिन्न किसिमबाट प्रहार हुन्छन्- राष्ट्रिय आत्मसमर्पणवाद, निराशा, कुण्ठा, आत्मकेन्द्रित अवसरवाद, व्यक्तिवाद, धोकेबाज, आर्थिक अपचलन, राजनीतिक वैचारिक विचलन, साहित्यिक विचलन, सांस्कृतिक विचलन, लेखकीय विचलन, समाजिक नैतिक विचलन, धार्मिक विचलन, मनोवैज्ञानिक विचलन, स्वास्थ्य विचलन, वातावरण विचलन, वर्ग विचलन, सहिष्णुतामा विचलन, सद्भाव विचलन, प्रेममा विचलन, एकतामा विचलन, उत्पादनमा विचलन, भूगोलमा विचलन समग्रमा विचलन भ्रष्टीकरण र दलालीकरणको यी शैलीबाट राष्ट्रिय संस्कृतिमा विचलन, विघटन गराई साम्राज्यवादी संस्कृति लाद्न तथा हाम्रो मूल्यविरुद्ध घृणा फैलाउने काम निरन्तर छ ।
यतिबेला हाम्रो संस्कृति साम्राज्यवादी, उपभोक्तावादी र उपयोगीतावादी विद्रुप संस्कृतिको हस्तक्षेपबाट आक्रान्त छ । समाजवादी यथार्थवादी संस्कृतिविरुद्ध साम्राज्यवादी संस्कृतिले निरन्तर उत्पीडन गर्दै आइरहेको छ । यसविरुद्ध संघर्ष गर्नुको कुनै विकल्प छैन ।
हाम्रो राष्ट्रिय मौलिक संस्कृतिको मूल आधार जनताको श्रम संघर्ष र राष्ट्रप्रतिको समर्पणको भाव हो । साथै, पूर्वीय दर्शन तथा चिन्तनका सकारात्मक पक्षहरू पनि राष्ट्रिय संस्कृतिको जग हो । पूर्वीय दर्शन सबै दर्शनका आधारस्रोत पनि हुन् । पूर्वीय वास्तवमा मानव सभ्यताको जननी हो । 'वसुधैव कुटुम्बकम' भन्ने मूल मन्त्रमा आधारित पूर्वीय दर्शन, चिन्तनमा आधारित हाम्रो मानव सभ्यता नै राष्ट्रिय संस्कृतिको जग हो । यही जगमा समृद्धि र संस्कृति हुर्केको छ । ज्ञान-विज्ञानका सबै स्रोत यही पूर्वीय दर्शन चिन्तन हो ।
जहाँसम्म पूर्वीय दर्शन चिन्तनलाई सामन्तवादसँग जोडेर प्रहार गरिएको छ, यसका पछाडि सामन्तीहरूले आफ्नो सामन्ती सत्ता टिकाई लुटको राजको निरन्तरता दिनको लागि चालिएको षड्यन्त्रसिवाय अरू केही हुन सक्तैन । सामन्ती प्रवृत्ति तथा संस्कृति हावी गराउन चाहनेहरूले उचनीच, छुवाछूत जस्ता गलत संस्कृतिलाई पूर्वीय दर्शन र हाम्रो राष्ट्रिय संस्कृतिविरुद्ध क्षेपण गरेर समाजमा आफ्नो कुत्सित स्वार्थ सिद्धि गर्ने अपराध गरेका विरुद्ध हामीले कठोर कदम चाल्नैपर्छ ।
चार वर्ण (ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र) श्रम विभाजन पद्धति तथा संस्कृति हो । यो उँचनीच तथा छुवाछूतको प्रसंग होइन । यसै सम्बन्धमा सापेक्षतावादका सिद्धान्तका आविष्कारक प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइस्न्टाइन भन्छन्, 'हामी पूर्वीय सभ्यताप्रति चीर ऋणी छौँ किनकि उनीहरूले हामीलाई गणित सिकाए । त्यसका अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन ।' अल्वर्ट आइस्न्टाइनले भने झैँ साँच्चै गणित र ज्योतिष विज्ञान पूर्वीय सभ्यताबाट पश्चिमाहरूले सिकेका हुन् । यसमा कुनै शंका छैन । यस भनाइबाट पूर्वीय दर्शन र सभ्यताको महत्त्व दर्शाउँछ । अर्का जर्मनीका कवि तथा समालोचक अगस्ट विलहेल्म भोनस्लेगलको भनाइ छ, 'विज्ञानको हरेक खोजीको विन्दु वा प्रस्थान विन्दु त पूर्वीय दर्शन नै रहेछ ।'
यसरी राष्ट्रिय संस्कृतिको रक्षा र सबलीकरणको माध्यमबाट मात्रै हामीले समाजवादी यथार्थवादी संस्कृतिको विकास, रक्षा र संवद्र्धन गर्न सक्छौँ । माओको यो कुरा पनि विशेष स्मरणीय छ, 'जनता नै क्रान्तिकारी संस्कृतिको कहिल्यै नसुक्ने मुहान हुन् भन्नेमा हामीले जोड दिनुपर्छ । क्रान्तिकारी संस्कृतिको त्यो मुहानबाट पृथक रहेर हामीले हाम्रो तृष्णा मेटाउन सक्तैनौँ ।' त्यसैले हामीले हाम्रो राष्ट्रिय संकृतिमा नयाँ प्रचलनहरू (मजदुर दिवस, सहिद दिवस, विज्ञान प्रदर्शनी, पुस्तक मेला, पर्यावरणलगायत समाजलाई अग्रगामी दिशातर्फ डोर्याउने प्रचलनहरू) लाई सांस्कृतिक पर्वका रूपमा थप्न सक्नुपर्छ ।
हामीले नेपाली समाजको सांस्कृतिक सौन्दर्य मूल्यहरूको एकीकरण गराई साम्राज्यवादी संस्कृति अन्त्य गर्दै राष्ट्रिय मौलिक जनवादी÷समाजवादी संस्कृतिको स्थापना गर्न उत्तर आधुनिकतावादी शून्य विचारका साथै सांस्कृतिक साम्राज्यवादलाई पूर्णतः निषेध गरी राष्ट्रिय मौलिक तथा माक्र्सवादी विचार संस्कृति स्थापना गर्न जोड दिनुपर्छ । यसर्थ, सांस्कृतिक साम्राज्यवादविरुद्ध संघर्ष गर्न राष्ट्रिय संस्कृति र समाजवादी तथा यथार्थवादी संस्कृतिका बीचमा एकाकार गर्नु नितान्त आवश्यक छ । साथै सांस्कृतिक आन्दोलनलाई हेर्ने परम्परागत दृष्टिकोणमा पुनर्गठन गर्न आवश्यक छ । यसो गर्न सकेमा सांस्कृतिक आन्दोलनको दिशा र गतिबाटै यस क्षेत्रको मूल्य निर्दिष्ट हुनेछ ।
न्यौपाने नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन् ।