दरिलो आत्मबल: कृत्रिम खुट्टाको सहारामा बास्केटबलको अभ्यास
संयोगले उनको नाम चर्चित पप गायक निमा रुम्बासँग मिल्छ । त्यसैले साथीहरू उनलाई ‘गीत गाउ न’ भनेर जिस्काउँछन् । तर, उनलाई पटक्कै गीत गाउन आउँदैन । ‘उसले गीत गाएको र नाचेको देखेकै छैन,’ पिता दलबहादुर रुम्बा, ४४, भन्छन्, ‘खेलकूदतिर चाहिँ सानैदेखि रुचि राख्थ्यो । फुटबल, बास्केटबल, पौडी, दौडिने सबैखाले खेलमा उसको चाख छ ।’
निमा रुम्बा, १६, को खेलप्रतिको चाख अहिले झन् बढेको छ । १२ वैशाख ०७२ को महाभूकम्पमा परी दाहिने खुट्टा गुमाएका उनी कृत्रिम खुट्टाको सहारामा खेल्ने अभ्यास गर्छन् । ‘पहिले सारसुहाउँदो हुँदा बास्केटबल, फुटबल सबै खेल्थें । यसै गर्छु भन्ने थिएन,’ हालैको एक दिन जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा भेटिएका उनले भने, ‘अहिले कृत्रिम खुट्टा लगाएपछि खेलेरै केही गर्नुपर्छ भन्ने लागेको छ ।’
‘प्रोस्थेटिस्ट अर्थोटिस्ट’ अमितरत्न बज्राचार्यलाई भेटेपछि उनको आत्मबल बढेको हो । ‘लिम्ब केयर’ नेपालका सञ्चालकसमेत रहेका बज्राचार्य विभिन्न कारणले घाइते र अंगभंग भएका मानिसका लागि कृत्रिम अंग बनाउने काम गर्छन् । उनले निमाको चाहना बुझेर यस्तो कृत्रिम खुट्टाको व्यवस्था गरिदिए, जसबाट उनी सामान्य हिंडडुल मात्रै होइन, खेल्न सक्ने पनि भएका छन् ।
‘उनले लगाएको ‘रनिङ ब्लेड’ (कृत्रिम खुट्टा) नेपालमा पहिलोचोटी प्रयोगमा आएको हो,’ निमातिर इसारा गर्दै उनी भन्छन्, ‘यो लगाएपछि खुट्टा नभएका मानिसले नियमित हिंडडुलबाहेक विभिन्न खेल खेल्न र दौडिन पनि सक्छन् ।’‘रनिङ ब्लेड’ पाएर निमा जति उत्साहित छन्, त्यति नै खुशी छन् अमित पनि । कारण, उनी विभिन्न कारणले अंगभंग भएका मानिसलाई पूर्ण रूपमा पुनःस्थापना गराउनुपर्छ र त्यो सकिन्छ भन्ने सोच्छन् ।

थाइल्यान्डबाट प्रोस्थेटिस्ट अर्थोटिस्ट पढेर फर्केका उनी अन्य देशमा जस्तै नेपालमा पनि आधुनिक र नयाँ प्रविधिसहितका कृत्रिम अंगहरू भित्र्याउन चाहन्छन् । ‘रनिङ ब्लेड’ भित्र्याउने सोच पालेर बसेका उनले त्यसको आवश्यकता महशुस गर्ने मानिसको खोजी गर्दै थिए । उनले आफ्नो साथी सर्कललाई उक्त कृत्रिम खुट्टाको विशेषता बताउँदै त्यस्तो आवश्यकता भएका मानिसको सिफारिस गर्न आग्रह पनि गरे । सेना, पुलिसमा कोही छ कि भनेर खोजे तर त्यस्तो आवश्यकता भएका कोही भेटिएनन् ।
केही महिनाअघि एक दिन नक्कली खुट्टा बनाइदिन आग्रह गर्दै दलबहादुर निमालाई लिएर जोरपाटीस्थित लिम्ब केयर आइपुगे । ‘एउटा खुट्टा काटिएको भर्खरको किशोर हाफ पाइन्टमा आएको देखेर मेरो ध्यान उनीतिर खिचियो,’ बज्राचार्य भन्छन्, ‘उनले मलाई सुरुमै ‘मलाई खेल्न मन छ, खेल्न प्रयोग हुने कृत्रिम खुट्टा बनाइदिन सकिन्छ’ भनेर सोधे । मलाई आफूले खोजेजस्तै पात्र भेटेजस्तो लाग्यो ।’
अमितलाई लाग्यो, निमा उनको सोचको ‘रोलमोडल’ हुनसक्छन् । कारण, उनले निमाको आत्मबल दरिलो देखे । धेरैजसो अपांगता भएका व्यक्तिहरू आफ्ना अंगमा भएको क्षति लुकाउन चाहन्छन् । खुट्टा नभएका छोपेर आउँछन् । मानव अंग बनाउने काम गर्ने उनकै पेशाका अंगभंग भएका मानिस पनि आफ्नो क्षति भएको अंग देखाउन चाह“दैनन् ।
उनीहरूमा आत्मविश्वासको कमी हुन्छ । निमा ती सबैभन्दा अलग थिए । नेपालमा ‘रनिङ ब्लेड’ को प्रवेश गराउने एउटा महत्वपूर्ण माध्यम हुनसक्ने ठानेर उनले निमालाई रोजे । प्रोस्थेटिस्ट अर्थोटिस्टहरूकै एक अमेरिकी संस्थाले निमालाई ‘रनिङ ब्लेड’ अनुदानमा उपलब्ध गरायो, जुन लगाएर अहिले उनी बास्केटबल अभ्यास गर्दैछन् ।
निमाको आत्मविश्वास देखेर उनकै बाबु दलबहादुर पनि अचम्म मान्छन् । ‘उसलाई अपांग भएको अनुभूति नै छैन । साइकल चलाउँछ, पौडी खेल्छ, बास्केटबल खेल्छ,’ उनी भन्छन्, ‘उसको ठाउामा म भएको भए त्यति दरिलो सोच राख्न सक्दिनथेँ । ऊ राख्छ ।’ अपांगता भएका कयौं व्यक्तिले कृत्रिम खुट्टा लगाएर पारा ओलम्पिकमा भाग लिएका छन् । नेपालमै पनि कयौंपटक विदेशीले कृत्रिम खुट्टाको सहरामा हिमाल चढेका छन् ।
त्यो निमालाई थाहा छ । त्यसकारण पनि उनी खेल्न सकिन्छ भन्ने आत्मविश्वास पाल्छन् । भन्छन्, ‘जे हुनु भइहाल्यो, अब जे छ त्यसैलाई अधिकतम उपयोग गरेर बढ्छु ।’ महाभूकम्पसहितको ०७२ साल सबै नेपालीका लागि कालो वर्ष बनेर आयो । निमा र उनको परिवारका लागि त महाभूकम्प बज्रपात नै ठहरियो । निमाको सकारात्मक सोच देखेर लाग्दैन, उनी निकट विगतमै यति ठूलो पीडाबाट गुज्रेका थिए । यथार्थ के हो भने महाभूकम्पले उनको खुट्टा मात्रै लगेन, परिवारको सारा खुशी खोसेर लग्यो । उनको परिवारको पीडाको कथा निकै हृदयविदारक छ ।
निमाका पिता दलबहादुरको पुख्र्यौली घर सिन्धुपाल्चोकको यमुना डाँडागाउँमा पर्छ । निम्नमध्यम वर्गीय परिवारमा हुर्केका उनलाई गाउँमा खेती गरेर खान पुग्थ्यो । उनका बाबुका नौ सन्तान थिए । त्यसमध्ये माइलो उनी पढ्न रुचाउँथे । ६ कक्षासम्म गाउँमै पढेका उनी त्यसपछि पढ्न काठमाडौं आए । गाउ“मा पढ्ने वातावरण नभएपछि पढाइ अगाडि बढाउनुपर्छ भन्ने ठानेर काठमाडौं आएका उनी गीतामाता स्कुलमा पढ्न थाले ।
पढ्दै गर्दा काकाको गलैंचा उद्योगमा काम गर्थे उनी । काम गर्दै, पढ्दै एसएलसी पास गरेपछि उनको रोजाइ पढाइभन्दा व्यवसाय बन्न पुग्यो । गलैंचामा काम गर्दैगर्दा उनी उनको टोपी बुन्न काम पनि गर्थे र पैसा जम्मा पार्थे । ‘एकै दिनमा १० वटासम्म टोपी बुन्न सक्थें,’ उनी भन्छन्, ‘आत्मनिर्भर हुनुपर्छ भन्ने सोचका कारण म सानैदेखि काम गर्ने र कमाउने धुनमा लागें ।’

एसएलसीपछि उनले तातोपानी नाकामा गएर खासा व्यापार गर्न थाले । खासाबाट सामानहरू ल्याउने र बेच्ने गर्दैगर्दा त्यही होटल, डिपार्टमेन्ट स्टोर पनि चलाए । यता, काठमाडौंमा पनि खासाबाट ल्याएका जुत्ता बेच्ने, किराना पसल राख्ने गर्न थाले । बिहे गरे, बालबच्चा पनि भए । व्यापार व्यवसायबाट कमाउन थालेपछि घरजग्गा जोडे । ०५९/६० मा आइपुग्दा उनी राम्रो कमाउने भइसकेका थिए ।
स्वयम्भूको सानो भर्याङमा उनले सात आना जग्गामा पाँच तले घर ठड्याए, जसको सबैभन्दा माथिल्लो तलामा बगंँचा थियो । दुई तलामा रुम्बा डिपार्टमेन्ट स्टोर चलाउँथे, तेस्रो तलामा त बैंक नै थियो । ‘दुई करोडभन्दा बढी लगाएर बनाएको थिएँ,’ भन्छन्, ‘तर, दैव लागेपछि के गर्नु, सबै सखाप भयो ।’
१२ वैशाख ०७२ मा उनलाई सा“च्चिकै दैव लाग्यो । दुःख र संघर्षबाट आर्जेको करोडाैंको घर मात्रै ढलेन, बाबुलगायत आफन्त गुमाउनु प¥यो । निमाका दाइ दोर्जे, भान्जा, ठूली दिदी र बुवा चार जना उक्त भूइ“चालोमा पनि मारिए भने कान्छा छोरो निमाको खुट्टा गुम्यो । ‘मेरो घरमा त्यसदिन १७ जना थिए । म एकैछिनअघि बाहिर निस्केको थिएँ । छोराहरू डिपार्टमेन्ट स्टोरमा थिए भने अरू परिवार माथि कोठामा थिए,’ दलबहादुर सम्झिन्छन्, ‘भान्जी र ज्वाइँबाहेक सबै पुरिए ।’
वैशाख ०७२ देखि निमा १० कक्षा पुगेका थिए । उनी कीर्तिपुरको पुष्पसदन स्कुलमा पढ्थे र होस्टलमा बस्दै आएका थिए । होस्टल १ वैशाखमै जानुपर्ने थियो तर उनी १५ गतेदेखि मात्रै जाने भनेर घरमै थिए । त्यसदिन निमा, दाजु दोर्जे र एक भान्जा डिपार्टमेन्ट स्टोरमै थिए । दाजु कम्प्युटरबाट कोड गर्दै थिए, निमा र भान्जा मूल्य ट्याग टाँस्दै थिए । ग्रोसरीलगायत सामान पाउने रुम्बा डिपार्टमेन्ट स्टोर सानो भर्याङमा चलेको पसल थियो ।
ट्याग टाँस्दै गफिँदै गर्दा बाहिर बिजुलीका तार हल्लेको देखियो । एकैछिनमा घर पनि हल्लिन थाल्यो । दोर्जेले भाइहरूलाई भने, ‘भुइ“चालो आयो, नभाग यहीँ सुरक्षित बस्नुपर्छ ।’ उनीहरू ढोकको चेपमा चेपिएर बसे तर केही बेरपछि पुरै घर गल्र्यामगुर्लुम ढल्यो । ‘एकैचोटी चारैतिर अन्धकारै अन्धकार भयो । अगाडि ‘ब्लर’ भयो,’ निमा सम्झिन्छन्, ‘केहीछिनपछि आँखा खुल्दा हामी तीनै जना चेपिएका थियौं ।
दाइ पुरै चेपिएको थियो । मेरो दाहिने खुट्टा पिलरले चेपेको थियो । अर्को भानिज दाइ पनि रुँदै कराउँदै थिए ।’१५ मिनेटपछि केही मानिस आएर भत्केको ठाउ“ पन्छाउन लागे तर उनीहरूलाई निकाल्न सकेनन् । झण्डै ६ घण्टापछि निमालगायतको उद्धार गरिएको थियो । निमा ६ घण्टासम्म निदाएनन् । बरू बेला–बेलामा हातले छामछुम पारेर बिस्कुट भेट्टाउँथे र टोक्दै बस्थे ।
‘अरू रुँदै कराउँदै थिए, म नआत्तिई बसें र बिहानदेखि खाना नखाएकाले भोक लाग्थ्यो अनि हातले छाम्दा भेटिएको बिस्कुट खाँदै बसें,’ उनी भन्छन् ।
दलबहादुर भूकम्प जा“दा विष्णुमति पुल पुगेका थिए । त्यसपछि तुरुन्तै घर फर्किंदा घर भग्नावशेष भइसकेको थियो । उनको होस हवास उड्यो । तर, दैवी विपत्तीको अघिल्तिर कसको के लाग्ने ? उनी छोराहरूको उपचारमा जुटे ।
जेठो छोराको छातिमै पिलरले थिचेछ । भूकम्पको दोस्रो दिन उनी बिते, दलबहादुरको ‘दाहिने हात’ पनि गुम्यो । १२ कक्षा पढ्दै गरेको जेठा छोरा दोर्जे उनका लागि ‘दाहिने हात’ नै थिए । डिपार्टमेन्ट स्टोरको हरहिसाब राख्नेदेखि सबै व्यवसायको काममा ऊ बाबुलाई सघाउँथ्यो । ‘तीन महिनाअघि मात्रै बुलेट बाइक किनिदिएको थिएँ,’ दलबहादुर भन्छन्, ‘डिपार्टमेन्ट स्टोरमा काम गरेवापत मैंले उसलाई मासिक किस्ता बुझाउन पैसा पनि दिन्थें ।’
तर, बुलेट चढ्ने रहर पुरा नगर्दै दोर्जे बिते । उनी बितेपछि दलबहादुरले कान्छा छोरा निमाको उपचारमा कुनै कसर बाँकी राखेनन् । खुट्टा बचाउन सकिन्छ कि भनेर खुब लागे तर सकिएन । ओम, टिचिङ, मनमोहन, ग्रान्डी सबै अस्पताल चहारे तर निमाको खुट्टा नकाटी नहुने भयो । अन्त्यमा, उनीहरू चर्चित अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेकामा पुगे तर त्यतिञ्जेल धेरै ढिलो भइसकेको थियो र घुँडामुनि खुट्टा काट्नै पर्ने भयो ।
‘सुरुमा खुट्टा काट्ने कुरा डाक्टरहरूले गर्दा निमा खुबै चिढिन्थ्यो । एकचोटी त उसले डाक्टरलाई मेरो खुट्टा काटेर तपाईंको खुट्टा दिने हो भनेर आक्रोश पनि पोखे,’ दलबहादुर भन्छन्, ‘तर, जब खुट्टा काटे पनि कृत्रिम खुट्टाले हिँडडुल र खेल्नसमेत सकिन्छ भन्ने थाहा पायो, उसले यो नियतिलाई स्वीकार्यो । र, अहिले कृत्रिम खुट्टाको सहारामा अघि बढ्दैछ ।’
निमा अहिले लिटिल एन्जल्स स्कुलमा कक्षा ११ मा पढ्छन् । महाभूकम्पमा खुट्टा गुमाएपछि उनको पढाइ छुट्ने जोखिम थियो । एसएलसी परीक्षा दिने कि नदिने दोधारमा थिए उनी । पछि बुवा दलबहादुरले स्कुलमा सल्लाह गरेर परीक्षा दिलाउने निधो गरे । आखिर त्यत्रो विपत्तिमा परेका निमाले एसएलसीमा विशिष्ट श्रेणी नै ल्याए र अहिले ‘होटल व्यवस्थापन’ पढ्दैछन् ।

महाभूकम्पका क्रममा २२ हजार सात सय मानिस अंगभंग भए । तीमध्ये ४२ जनाले निमाले जस्तै खुट्टा गुमाउनुप¥यो । प्रोस्थेटिस्ट अर्थोटिस्ट बज्राचार्य भन्छन्, ‘हामीले एउटा निमामा आत्मविश्वास जगाएर पुग्दैन । महाभूकम्प वा अरू दुर्घटनामा परेर गम्भीर प्रकृतिको अंगभंग हुनेहरूलाई पूर्णतः पुनःस्थापना गर्नसक्नुपर्छ ।
सामान्य हिंडडुल मात्रै पूर्ण पुनःस्थापना होइन । जब अंगभंग भएकाहरूलाई तिनको रूचि अनुसार खेल्ने, घुम्ने, दौडिने, मर्निङवाक गर्ने अवस्था सिर्जना गर्न सकिन्छ, तब मात्रै सही पुनःस्थापना हुनसक्छ ।’
के हो ‘रनिङ ब्लेड’ ?
विश्वमा ‘रनिङ ब्लेड’ बन्न थालेको झण्डै ५० वर्ष भयो । सन् १९७० मा अमेरिकी सरकारले स्थापना गरेको नेसनल एकेडेमी अफ साइन्सले रनिङ ब्लेड बनाएको थियो । दोस्रो विश्वयुद्धका बेला घाइते भएका सैन्य जवानहरूको समूहले कृत्रिम अंग प्रविधि विकासको मुद्दालाई अगाडि सारेपछि तत्कालिन अमेरिकी सरकारले नेसनल एकेडेमी अफ साइन्स स्थापना गरी सन् १९४५ मा कृत्रिम हातखुट्टाको योजना अगाडि सारेको थियो ।
त्यसपछि कृत्रिम अंग बनाउने र प्रयोगमा ल्याउने प्रचलन सुरु भएको हो । सन् १९७० मा बनेको रनिङ ब्लेड कार्बन फाइबरको झण्डै ८० वटा पत्र जोडेर बनाइन्छ । कार्बन फाइबर स्प्रिङजस्तै लचकदार तर स्टिल जस्तै मजबुत हुन्छ । रनिङ ब्लेडले स्प्रिङमा जस्तै काइनेटिक इनर्जी सञ्चार गरी दौडिन र उफ्रिन मद्दत गर्छ । यो लचकदार र गतिशील हुने भएकाले प्रयोगकर्ताको शरीरले उर्जा खपत गर्छ । हिंडाइ र दौडको गति बढाइदिन्छ ।
निमाले प्रयोग गरेको रनिङ ब्लेड फिलर कम्पनी हो । यो समतल जमिनमा हिंड्नदेखि दौडिन, खेल, व्यायाम, जिम, टेनिस, बास्केटबलसम्म खेल्नेयोग्य खालको छ । प्रयोगकर्ताले के कसरी प्रयोग गर्छ, यसको टिकाउ त्यसमै भरपर्छ ।
‘तैपनि, कम्तीमा तीन वर्षसम्म यो प्रयोग हुनसक्छ,’ प्रोस्थेटिस्ट अर्थोटिस्ट बज्राचार्य भन्छन्, ‘अमेरिकी संस्थाले अनुदान दिएको यो ब्लेडको दुई लाख रुपैया“ पर्छ ।’ बज्राचार्यका अनुसार कम्पनी र उत्पादन हेरेर यसको मूल्य फरक हुन्छ । सामान्य कृत्रिम खुट्टा १५ हजारदेखि आठ लाखसम्म पर्छ ।
प्रतिक्रिया दिनुहोस !