किन हुन्छ रगत अभाव
तिहारअघिको एक अपराह्न ग्वार्कोस्थित रक्तसञ्चार केन्द्रको कार्यालयमा सर्लाहीका रामनारायण यादव उदास मुद्रामा भेटिए । हातमा रगत बोक्ने नीलो बाकस र सिभिल अस्पतालको सिफारिस पत्र लिएर उनी यता–उता भौतारिँदै थिए । ‘भाइको उपचारको लागि रगत चाहियो भनेर लिन आएको,’ उनले भने, ‘छैन भन्नहुन्छ ।’
उनी कहिले काउन्टर त कहिले बाहिर ओहोरदोहोर गर्दै थिए । उनको अनुहार, हाउभाउबाट आफन्तका लागि रगत अतिजरुरी थियो । तर, ब्लड बैंकमा रगत नभएपछि कर्मचारीहरू आश्वासन मात्रै बाँड्दै थिए । ‘ब्लड ग्रुप मिल्ने आफ्नै मान्छे भए ल्याउनुस्,’ काउन्टरमा बसेकी निर्मला ढकाल भन्दै थिइन्, ‘नत्र भरेसम्म पर्खनुस् । डोनेसन क्याम्पबाट कलेक्सन आएपछि दिन्छौँ ।’
तिहारअघि रगतको अभाव भोग्ने रामनारायण एक्ला थिएनन्, स्वयं चिकित्सकले पनि त्यो अभाव राम्रैस“ग अनुभूत गरे । डा. विशाल ढकालको अनुभव रामनारायणको भन्दा धेरै भिन्न्न छैन । १० वर्षदेखि स्वास्थ्यसम्बन्धी संस्था ‘हेल्ट एट होम’ सञ्चालन गर्दै आएका उनले नजिकको साथीको पिताको ‘हर्निया’को अप्रेसनका क्रममा रगत आवश्यक परेपछि जोहो गर्न खोज्दा अभावको सामना गर्नुपरेको थियो ।
‘पुल्चोक, ग्वार्को, भक्तपुर आदि रक्तसञ्चार केन्द्रमा सम्पर्क गर्दा कहींकतै रगत भेटिएन,’ उनी भन्छन्, ‘अन्त्यमा भक्तपुरस्थित रक्तसञ्चार केन्द्रका कर्मचारीले आफ्नो मान्छे भए रगत तानेर क्रस म्याच गराइदिन सक्नेछाैं।’ रगत अभाव खेपेका केही उदाहरण हुन् यी । रक्तसञ्चार केन्द्रका कार्यालय अघिल्तिर पुग्दा रगत राख्ने झोला र सिफारिस पत्र बोकेर आएका यस्ता थुप्रै अनुहार देखिन्छन् ।
ग्वार्कोस्थित कार्यालयकी कर्मचारी ढकाल रगतको पर्खाइमा बसेका सबैलाई एउटै जवाफ दिइरहेकी थिइन्, ‘ब्लड ग्रुप मिल्ने आफ्नो मान्छे भए ल्याउनुस्, नत्र स्टक त छैन ।’ काठमाडौं उपत्यकामा हरेक दिन करिब एक हजार बिरामीलाई रगतको खाँचो पर्छ, त्यो आवश्यकता उपत्यकामा सञ्चालित तीन मुख्य रक्तसञ्चार केन्द्रले पुरा गर्न सकेको छैन । काठमाडौंको रक्तसञ्चारमा मात्रै दैनिक पाँच सय युनिट हाराहारीमा रगत माग हुन्छ ।
केन्द्रले भने डेढ सयदेखि दुई सय युनिट मात्रै मुस्किलले आपुर्ति गर्दै आएको छ । रक्तसञ्चार केन्द्रका अधिकृत ईश्वरी पन्त भन्छन्, ‘अघिल्लो वर्षभन्दा पनि यसपटक बढी माग भयो ।’ गम्भीर प्रकृतिका रोग र विरामी बढिरह“दा जुनकुनै बेला रगतको आवश्यकता खड्किने गर्छ । बढीजसो मुटु, कलेजो, डायलासिस, क्यान्सर, प्रसुतिका विरामीलाई चाहिने गरेको रक्तसञ्चार केन्द्रका कर्मचारीहरू बताउँछन् ।
दशैंलगत्तै उपत्यकाका तीनै केन्द्रमा रगत अभाव हुनुमा रक्तसञ्चारका केन्द्रका कर्मचारी सोझो जवाफ दिन्छन्, ‘चाडबाडको कारण डोनेसन भएन, त्यसैले पुुगेन ।’ तर, चिकित्सकहरू त्यस जवाफबाट चित्त बुझाउँदैनन् । डा. विशाल ढकाल भन्छन्, ‘चाडबाडको कारणले रगत अभाव भयो भन्नु व्यवस्थापन पक्षको लापर्वाही हो ।
चाडबाड कुनै डिजास्टर होइन ।’ दशैं, तिहारजस्ता लामो विदाका लागि पूर्वतयारी गर्न नसकेको रक्तसञ्चारकै अधिकृत पन्त स्वीकार्छन् । त्यसो त, यसअघि पनि चाडबाड र लामो विदाका बेला रगत अभाव हुँदै आएको हो । तर, रक्तसञ्चारले भने यस्तो अवस्थामा पूर्वतयारी गर्नै सकेको छैन । सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्य भन्छन्, ‘दशैं, तिहार, हुरीबतास भन्ने त बहाना मात्रै हो, व्यवस्थापनकै लापर्वाही हो ।’
रगत अभावबारे समाचार प्रकाशित÷प्रसारित हुन थालेपछि मात्रै रक्तसञ्चार केन्द्रका कर्मचारीले नियमित दातालाई फोन गर्दै रक्तदान कार्यक्रम राखिदिन आग्रह गर्छन् । फोन वा पत्रमार्फत् आग्रह गरेरै केही ब्लड डोनेसन नभएका होइनन् । यद्यपि, पर्याप्त संकलन नहुँदा अभाव हुने गर्छ । रेडक्रस भक्तपुरका प्रमुख मनोजकुमार थापा दशैंको लामो विदा अभावको कारण भएको ठान्छन् ।
‘कलेजहरू सञ्चालन हु“दा ब्लड डोनेसन कार्यक्रम गरेर संकलन हुन्छ,’ उनी भन्छन्, ‘विदाका कारण त्यो सम्भव नभएपछि अभाव देखिएको हो ।’रगत अभाव दुई वर्षअघिको महाभूकम्पपछि अझ बढी हुन थालेको हो । पहिलेको तुलनामा रगत आपूर्ति गर्न असक्षम हुँदै आएको स्वीकार्दै रक्तसञ्चार केन्द्रका कर्मचारी सन्देश थापा भन्छन्, ‘अस्पतालले व्यवस्थापन गर्न नसक्दा पनि अभाव हुने गरेको छ ।’
उनका अनुसार एक दिनमा उपलब्ध गराएको ४० प्रतिशत रगत त प्रयोग नै हुँदैन । ‘रगत प्रयोग नहुनेबित्तिकै फिर्ता ल्याइदिने हो भने अर्को बिरामीलाई दिन सकिन्थ्यो,’ उनी थप्छन्, ‘यसबाट थाहा हुन्छ, चिकित्सकहरू रगतलाई अल्टरनेटिभ औषधीको रूपमा प्रयोग गर्छन् ।’ भक्तपुर रेडक्रसका सभापति थापा भन्छन्, ‘अस्पतालहरूले पनि अन्तिम अवस्थामा आएर मात्रै रगत चाहियो भनिदिन्छन् । दुर्घटना वा इमर्जेन्सी बाहेकका बिरामीको उपचारमा त १/२दिनअघि नै खबर गरिदिए हामीले पनि जोहो गर्न सक्थ्यौँ ।’
खाँचो नपरेकै अवस्थामा पनि चिकित्सकले रगत मागिदिने गरेको थापा बताउँछन् । उनका अनुसार आन्तरिक रक्तस्राव नभएको अवस्थामा शरीरमा प्लेटलेट संख्या २० हजारभन्दा कम भएपछि बिरामीलाई रगत चढाउँदा हुन्छ । चिकित्सकहरू भने ८० हजारभन्दा कम हुन थालेपछि रगत चढाउन सुरु गर्छन् । उनी भन्छन्, ‘बिरामीका आफन्तले रक्तसञ्चारबाट लगेको रगत आवश्यक नपरेपछि घण्टौँसम्म अस्पतालमै थन्क्याइदिने र ढिलो फिर्ता गर्छन् ।’ उनका अनुसार बिरामीका आफन्तलाई नदिई सिधै अस्पताललाई नै आपुर्ति गर्ने व्यवस्था हुने हो भने रगत व्यवस्थापन सहज हुन सक्छ ।
रगतका प्रकार
ए : पोजिटिभ/नेगेटिभ
बी : पोजिटिभ/नेगेटिभ
ओ : पोजिटिभ/नेगेटिभ
एबी : पोजिटिभ/नेगेटिभ
कम्पोनेन्ट आयु
फ्रेस ब्लड ६ देखि ८ घण्टासम्म
प्याक्ट सेल ३५ दिन
होल ब्लड ३५ दिन
पीआरपी ७२ घण्टा
एफएफपी ५ महिनासम्म
यदि ३० डिग्रीको तापक्रममा राखियो भने प्लेटलेस कन्सर्नटेट्स (७२ घण्टा)
‘रक्तदातालाई प्रोत्साहन छैन’
वर्षभरी हजारजति संघसंस्थाले ब्लड डोनेसन गर्छन् । तीमध्ये १० संस्थाले हरेक साता डोनेसन गर्छन् । यसरी रक्तदानमा वा व्यक्तिगत रूपमै वार्षिक दुई लाख नागरिकले रक्तदान गर्ने अनुमान छ । यद्यपि, आम मानिसमा भने स्वतःस्फुर्त ब्लड डोनेसन गर्ने संस्कृति अझै विकास भएको छैन । नियमित रक्तदान गर्ने संस्था/स्वयंसेवीलाई पनि प्रोत्साहन नगरिएकाले यस्तो अवस्था आएको बताउँछन्, प्रेमसागर कर्माचार्य । उनी नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने मानिस हुन् ।
उनले अहिलेस
म्म एक सय ४७ पटक रक्तदान गरिसकेका छन् । १६ वर्षदेखि रक्तदान गर्न थालेका वागबजार काठमाडौंका कर्माचार्य सामाजिक काम गर्ने भावनाले प्रेरित भएर रक्तदान गर्न थालेका हुन् । उनले आफूले मात्रै रक्तदान नगरी संस्था नै खोलेर पनि जनचेतना जगाउन क्रियाशील छन् ।तर, रक्तसञ्चार केन्द्र तथा अस्पतालको लापर्वाहीका कारण बिरामीले रगतका लागि हारगुहार गर्नुपरेको अवस्था देख्दा उनी दिक्दार छन् । ‘आफैँ दाता खोज्नुपर्ने र झ्यालबाट पैसा तिरेर रगत लिएको देख्दा यसमा मानवीयभन्दा व्यापारिक गन्ध बढी देख्छु,’ उनी भन्छन्, ‘रक्तदाता उपलब्ध हुँदा पनि रक्तसञ्चार केन्द्रले मध्यस्थता गरिदिँदैन । यसभन्दा अव्यवस्थापन के हुनसक्छ ?’
प्रतिक्रिया दिनुहोस !