रोजाइमा रेस्टुराँ

रोजाइमा रेस्टुराँ

काठमाडौं पकनाजोलमा जन्मेहुर्केका राजेन्द्र अर्यालले १६ वर्ष हुँदासम्म रेस्टुराँ गएनन्। न उनको घरवरपर रेस्टुराँ थियो, न जोकोहीले जाने साहस गर्न सक्थे। अहिलेको ‘रेस्टुराँ हब’ ठमेलमा पनि एकाध मात्र रेस्टुराँ थिए। उनलाई सम्झना छ, त्यहाँ उत्से रेस्टुराँ थियो, अलिक पछि ‘नाङ्लो’ खुल्यो। तर, तिनीहरूले लक्षित ग्राहक नेपाली थिएनन्। उनी सम्झन्छन्, ‘त्यतिबेला रेस्टुराँमा जाने भनेका कि विदेशी थिए कि त निकै धनीमानीहरू।’

अहिले उनी ४९ वर्ष पुगे, विज्ञापनलगायत व्यवसायमा संलग्न छन्। पकनाजोलबाट लाजिम्पाट सरिसके। त्रिकोण एड एजेन्सीका प्रबन्ध निर्देशक अर्यालको जीवनमा जति परिवर्तन आएको छ, त्यसभन्दा तीव्र गतिमा रेस्टुराँ संस्कृतिको विकास भएको छ। त्यसको एउटा अंग उनी आफैं हुन्। गैरीधारास्थित एलिस, महाराजगञ्जस्थित बान थाई, दरबारमार्गस्थित अन्नपूर्णलगायत रेस्टुराँ पुगिरहने उनी भन्छन्, ‘वर्षभरिमा तीन सय ६० दिन त रेस्टुराँमै हुन्छु।’

फिस्टेल एअरका विकास राणाको त दिन नै रेस्टुराँबाट सुरु हुन्छ। उनी बिहानदेखि सा“झसम्म दरबारमार्गस्थित याक एन्ड यतीको ‘कर्नर’मा भेटिन थालेको दशक भइसक्यो। ‘यहाँकै वाकिङ ट्रेलमा मर्निङ वाक गरेर मेरो दिन सुरु हुन्छ,’ उनी भन्छन्, ‘धेरैजसो मिटिङ यहीँ हुन्छ। अफिसियल काम पनि यतै।’ उनले बारम्बार प्रयोग गर्ने भनेको त्यहाँको चिम्नी र सनराइज रेस्टुराँ हुन्।

त्यसबाहेक उनी कम्तिमा साताको एक पटक परिवारसहित रेस्टुराँमा डिनरका लागि निस्किन्छन्। त्यस्तोबेला उनको रोजाइमा जापानी परिकार पाइने रेस्टुराँ पर्छ। शेर्पा एड्भेन्चर गियर नेपालका प्रमुख आशुतोष तिवारी पनि कुनै न कुनै प्रयोजनमा रेस्टुराँ पुगिरहेका हुन्छन्। ‘मुख्यतः तीन प्रयोजनमा रेस्टुराँ जान्छु। कर्पोरेट मिटिङ वा डिनर, परिवार र साथीका लागि,’ उनी भन्छन्, ‘प्रयोजनअनुसार रेस्टुराँको प्रकृति पनि फरक हुन्छ।

कर्पोरेट मिटिङका लागि अलिक महँगो रेस्टुराँ रोजिन्छ। परिवारका लागि शान्त प्रकृतिको र साथीहरूसँग जान बारसहितको रेस्टुराँ रोजाइमा पर्छन्।’ व्यावसायिक व्यस्तता र अधिक जनसम्पर्कको आवश्यकता भएका अर्याल, राणा र तिवारीजस्तै व्यवसायीको भावना बुझेर पछिल्लो दशक तीव्र रूपमा रेस्टुराँ खुलिरहेका छन्। त्यसले उनीहरूलाई सहज त बनाइदिएको छ नै, रेस्टुराँ संस्कृति पनि तीव्रतर रूपमा विकास भएको छ।

अर्याल भन्छन्, ‘अब त रेस्टुराँ एउटा मात्रै वर्गको लागि भन्ने नै रहेन। विदेश गएर आउने मध्यम वर्ग होस् या मध्यपूर्वी देशमा जाने निम्न वर्गका, सबैरेस्टुराँमा आकर्षित छन्।’ व्यवसायीलाई त यो आवश्यकताभन्दा बाध्यता नै भएको उनको जिकिर छ। उनको भोगाइ छ, ‘भेट्न चाहने सबैलाई घरमा भेटेर सम्भव हु“दैन। त्यसैले सहज भेटघाटका लागि रेस्टुराँ नै पुग्नुपर्छ।’

अब त रेस्टुराँ एउटा मात्रै वर्गको लागि भन्ने नै रहेन। विदेश गएर आउने मध्यम वर्गले होस् या मध्यपूर्वी देशमा जाने निम्न वर्गका, सबै आकर्षित छन्।

तिवारीको अनुभव पनि उस्तै छ। उनी बढ्दो सहरीकरणले पनि रेस्टुराँ संस्कृति मौलाएको बताउँछन्। ‘सहरमा स्वभावतः विभिन्न मानिससँग भेट गर्नुपर्ने हुन्छ। सबैलाई घरमा बोलाउने कुरा हुँदैन। त्यस्तो अवस्थामा रेस्टुराँ एक मात्र विकल्प हो,’ उनको तर्क छ। त्यसैले बाहिरफेरको खानपानमा त्यति रुचि नराख्नेहरूले पनि कुनै न कुनै रूपमा रेस्टुराँ प्रयोग गर्नैपर्छ।

एनआईबीएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सिभान्तराज पाण्डे त्यसैमध्येका हुन्। उनी खाना त घरमै खान रुचाउँछन्। तर, ‘गेस्ट’ र साथीलाई भेट्न रेस्टुराँ नपुगी धरै छैन। त्यस्तै ‘कर्पोरेट मिटिङ’ पनि रेस्टुराँमै हुने गर्छ। त्यसो त, कहिलेकाहिँ स्वाद फेर्नका लागि सपरिवार रेस्टुराँ पुग्छन् उनी। नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाको पनि खानपानका लागिभन्दा बढी ‘मिटिङ’का लागि रेस्टुराँ रोजाइमा पर्छ।

रेस्टुराँकाे खाना मन नपराउने किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याललाई त्यहाँ पुग्नु बाध्यता हो। पुग्नै पर्दा उनको रोजाइ कफी हुन्छ। ‘मेरोचाहिँ कफी सप बढी रोजाइमा पर्छ। कार्यालय समयपछि त्यहाँ पुगेर कलेजमा गर्न नपाइएको गफ साथीहरूसँग गर्दा आनन्द आउँछ, जसले सिर्जनात्मक र तनावमुक्त बनाउँछ,’ उनले बताए। उनी युवा पुस्ताको संगत गर्न र उनीहरूको कुरा सुन्न जहिले पनि उत्सुक हुन्छन्। त्यसका लागि रेस्टुराँ उपयुक्त स्थल हो।

अहिले प्रविधिका कारण विश्वभर संस्कृतिको आदान–प्रदान तुरुन्तै हुन्छ। त्यसै क्रममा एक देशको खाद्यसंस्कृति अर्को देशमा पुगिरहेको हुन्छ। व्यवसायमा संलग्न व्यक्तिहरू विदेश भ्रमणमा गइरहने हुनाले त्यहाँको खानेकुराप्रति रूचि हुनु स्वाभाविकै हो। त्यसैले आफूलाई स्वाद परेका चिनिया“, जापानी, थाइ खाना खान रेस्टुराँ जानुको विकल्प नभएको वरिष्ठ उपाध्यक्ष राणा बताउँछिन्। फिस्टेल एयरका अध्यक्ष राणा पनि आफूलाई मन पर्ने ‘सी फुड सुप’का लागि रेस्टुराँकै भर पर्छन्।

तिवारीको भोगाइ उस्तै छ, ‘त्यस्ता खानेकुरा घरमा बनाउन सम्भव हुँदैन। त्यसैले रेस्टुराँ जानुको विकल्प छैन।’ जस्तो कि, आफूलाई मन पर्ने अस्ट्रिचको परिकार खान पानीपोखरीस्थित ‘ले शेर्पा’ रेस्टुरा“ पुग्नु उनको रहर र बाध्यता दुवै हो।खानाका सौखिनका लागि त रेस्टुराँ एक मात्र विकल्प हो। विकास राणा भन्छन्, ‘मेरो एउटा छोरो त्यस्तै छ, विभिन्न देशका खानाको स्वाद लिन विभिन्न रेस्टुराँ पुगिरहेको हुन्छ।’

पछिल्लो समय रेस्टुराँ जानु इज्जतको कुरा पनि बनिरहेको राजेन्द्र अनुभूति गर्छन्। भन्छन्, ‘मानिसले म फलानो रेस्टुराँमा छु भनेर सामाजिक सञ्जालमा सूचना दिइरहेका हुन्छन्। त्यसमा आफ्नो स्टाटस पनि जोडिएको छ भन्ने लागेर नै त्यसो गरेका हुन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.