फुटसलमेनिया
कमलपोखरीका आदिल हमिद हरेक दिन कलेज छुटेपछि फुटसल खेल्न महाराजगन्जस्थित ढुकु फुटसल पुग्छन् । उनीसँग स्कुलदेखिकै साथीको खेल–समूह पनि त्यहाँ पुग्छ । फुटबल खेलाडी बन्ने सपनाले उनलाई त्यहाँसम्म पुर्याउँछ । १२ कक्षामा पढ्ने सानेपाका आशुतोष प्याकुरेल भने खेलाडी बन्न होइन, फुटबल खेल्ने रहर पूरा गर्न ‘फुटसल स्पट’ पुग्छन् । उनी पनि सातामा कम्तिमा चार दिन सानेपाको प्रिज्म्याटिक फुटसल पुगेकै हुन्छन् ।
त्यहाँ पुगेपछि कम्तिमा दुई खेल खेल्छन् । बौद्धकी भविना राईचाहिँ खेलाडी नै हुन् तर उसुकी । उनी आफूलाई फिट राख्न र फुटबल खेल्ने रहर मेट्न नयाँबस्तीको फुटसल एरिना पुग्छिन् । १२ कक्षामा पढिरहेका कमलादीका अंशु कार्की हुन् या बानेश्वरका महेन्द्र कार्की, यस्तै केही बहानामा फुटसल पुगिरहेकै हुन्छन् । स्नातकोत्तर तहमा अध्ययनरत अर्पणा प्रधान त झन् कलेज र कार्यालय दुवैलाई सन्तुलन मिलाएर फुटसलका लागि समय निका
ल्छिन् ।
खेलप्रेमी नवाङ निमा लामाले पाँच वर्षअघि पहिलोपटक ‘इन्डोर फुटबल’ भनेर चिनिने फुटसल भित्र्याउँदा जति सोचेका थिए, त्यसभन्दा तीव्र गतिमा यसप्रति नयाँ पुस्तामा आकर्षण देखिएको छ । त्यसैले विभिन्न तहका ‘फुटसल टुर्नामेन्ट’ हुन थालेका छन् । यसै वर्षदेखि १० लाख पुरस्कार राशिसहितको ‘राष्ट्रिय फुटसल लिग’ समेत सुरु भएको छ ।
फुटबलर सपना
आदिलले स्कूल पढ्दैदेखि फुटबलर बन्ने सपना देखेका थिए । उनी अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरेको प्रशिक्षणमा सहभागी पनि भए । तर, पर्याप्त अभ्यास अभावले ‘अन्डर फिफ्टिन’ समूह छनोटमा पर्न सकेनन् । ११ कक्षामा पढिरहेका उनी अहिले ‘अन्डर नाइन्टिन’का लागि प्रयत्नरत छन् ।
यसपटक भने उनी उत्साहित र आशावादी दुवै छन् । किनकि, फुटसलले उनलाई अभ्यासको प्रसस्त अवसर दिएको छ । चरिकोटमा हुर्केका अंशुको पनि फुटबल खेलाडी बन्ने सपना छ । उनले एन्फाकै प्रशिक्षणमा ‘अन्डर ट्वेल्भ’ र ‘अन्डर फोर्टिन’ समूहमा रहेर खेलिसकेका छन् । अहिले पनि पढाइसँग सन्तुलन मिलाएर खेलको अभ्यास अगाडि बढाइरहेका छन्, जसले आफूलाई फुटबलका ‘ट्रिक’मा अब्बल बनाउने विश्वास उनको छ ।
काठमाडौं र ललितपुरमा गरी तीन ‘फुटसल स्पट’ सञ्चालन गरिरहेका फुटबल प्रशिक्षक थम्मन भुसाल भन्छन्, ‘ब्राजिललगायत देशमा फुटसलमा पोख्त भएका खेलाडी फुटबलमा आउँछन् । यसमा ग्राउन्ड सानो हुने हुँदा बलको चाल छिटो हुन्छ । जसले खेलाडीको निर्णायक क्षमता तीक्ष्ण बनाउँछ ।’
नेपालमै पनि फुटबल खेलाडीले फुटसल स्पटमा अभ्यास गर्न थालेको उनले बताए ।
रहर र रमाइलो
खेल खेल्न व्यावसायिक खेलाडी नै बन्नुपर्छ भन्ने छैन । आफूलाई मन पर्ने खेल आफैंले खेलेर आनन्द लिन र शारीरिक तन्तुरुस्ती बनाइराख्न पनि खेल खेलिन्छ । यस प्रयोजनका लागि पनि फुटसल लोकप्रिय हुँदैछ ।आशुतोष रमाइलोकै लागि फुटसल खेल्छन् । सानैदेखि फुटबलमा रुचि भएका उनलाई खेल्न पनि रमाइलो लाग्थ्यो । त्यसैले सानैदेखिका साथीहरूको खेल–समूह छ । अहिले त्यही समूह फुर्सदको समय मिलाएर फुटसल खेल्न पुग्छ ।
कक्षा १२ पढिरहेकी भविनाको चाहिँ फुटबल रहर हो । ‘फुटबलचाहिँ केटाले मात्रै खेल्ने हो भन्ने सोच्छन् धेरैले । तर, हामी पनि त खेल्न सक्छौं भन्ने देखाउन पनि फुटबल खेल्न रहर लाग्थ्यो,’ उनले रहरको कारण खोतलिन् । फुटसलले उनको रहर पूरा गरेको छ । अहिले महिला खेलाडीको समूह बनाएर उनी हरेक साता फुटसल अभ्यास गर्न एरिना पुग्छिन् ।
अर्पणाको रहर पनि उसैगरी बनेको हो । ‘महिलाले पुरुषले जस्तै काम गर्न सक्छन्,’ भन्ने सन्देश दिन उनी संलग्न ‘विमिन इम्पावरमेन्ट (वी) यूनाइटेड समूह’ फुटसलका साथै साहसिक खेलमा पनि सहभागिता जनाउँछ । दोलखामा हुर्केका महेन्द्र अहिले होटल व्यवस्थापन पढिरहेका छन् र उनको फुटबलर बन्ने सपना लगभग स्थगित भइसकेको छ । तर पनि, उनी शारीरिक चुस्तता कायम राख्न नियमितजसो ‘फुुटसल स्पट’ धाउँछन् ।
शान्तिनगर फुटसलका सञ्चालक थम्मन भन्छन्, ‘कति युवाहरू आफ्नो रूचि पूरा गर्न नपाउँदा निराश भइरहेका हुन्छन् । कति त कुलतमा फसिरहेका हुन्छन् । त्यस्ता युवालाई फुटसलले राहत दिएको छ ।’
सहजै समूह निर्माण
फुटबलका लागि एउटा समूहका कम्तिमा ११ जना खेलाडी आवश्यक पर्छ । त्यसैले समूह जुटाउन नसकेर रहर लागेको बेला खेल्न नपाउने समस्या धेरै खेलप्रेमी युवाले झेलेका छन् । अझ महिला खेलाडीको सन्दर्भमा त झनै गाह्रो । भविना सम्झिन्छिन्, ‘खेल्ने रहर हुँदाहुँदै पनि समूह बनाउनै नसकिने ।
एक त फुटबल खेल्न रुचि राख्ने केटी साथी पाउनै गाह्रो, त्यसमा पनि समय मिलाउन झन् कठिन ।’ फुटसलमा पाँच जना मात्र भए पुग्ने भएकाले उनलाई साथी जुटाउन सजिलो भएको छ । त्यति मात्रै होइन, कतिलाई त समूह बनाउने झण्झट नै छैन ।
फुटसल खेल्न रुचि राखेर आउनेहरूलाई नै मिलाएर स्पट सञ्चालकले समूह पनि बनाइदिने गरेका छन् ।शान्तिनगर फुटसलमा भेटिएका महेन्द्र भन्छन्, ‘मेरो समूह थिएन । यहाँ आएपछि मजस्तै साथीहरूको समूह बनाइदिनुभएको छ सञ्चालकले नै । त्यही समूह मिलेर खेल्छौं ।’
सजिलो ‘स्पट’
उपत्यकाका साथै सहरीकरण भइरहेका स्थानमा दिनानुदिन खाली जग्गा घट्दैछ । व्यावसायिक खेल मैदान निकै कम छन् । त्यस्तो अवस्थामा स्थान अभावकै कारण रहर हुँदाहुँदै पनि खेल्न नपाउनेको संख्या धेरै छ । त्यस्ता खेलप्रेमीलाई पछिल्लो समय बढ्दै गएका ‘फुटसल स्पट’ले राहत दिएका छन् । केही वर्षअघिसम्म स्थान अभावकै कारण कयौंपटक फुटबल खेल्ने रहर मार्नुपरेको अंशुको अनुभव छ ।
उनकै जस्तो अनुभव भविना, आदिल, अंशु, अर्पणा, महेन्द्र र आशुतोषको पनि हो । आदिल भन्छन्, ‘अहिले भने स्थानको समस्या छैन । विभिन्न ठाउँमा फुटसल स्पट खुलेका छन् । एक ठाउँमा भएन भने अर्को ठाउँमा जान सकिन्छ ।’
सामूहिकता र अनुशासन
‘फुटसल समूहमा खेलिने खेल हो । त्यसैले यो खेलले सामूहिक बनाइराख्छ,’ पछिल्लो समय युवा भिडियो गेमजस्तो व्यक्तिकेन्द्रित खेलको लतमा परेको उल्लेख गर्दै थमन भन्छन्, ‘फुटसलचाहिँ साथीहरू भेटघाट गर्ने र छलफल गर्ने ठाउँ पनि बनेको छ । यसले युवालाई समाजप्रति सचेत पनि गराइरहेको छ ।’खेल आफैंमा नियमभित्र बसेर खेल्नुपर्ने भएकाले यसले अनुशासित बनाउन पनि उत्तिकै योगदान दिने उनी बताउँछन् ।
बढ्दो ‘क्रेज’
नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष राज महर्जनका अनुसार अहिले उपत्यकामा मात्रै ६० भन्दा बढी फुटसल स्पट खुलिसकेका छन् । उपत्यकाबाहिर पोखरामा सात, चितवन र धरानमा दुई तथा बुटवलमा एउटा फुटसल स्पट बनिसकेका छन् । विराटनगरलगायत सहरमा बन्ने क्रम जारी छ । ‘संख्या बढेको बढ्यै छ । तर कुनै पनि घाटामा छैनन्,’ उनी भन्छन्, ‘त्यसले पनि यसमा बढ्दै गएको क्रेज प्रमाणित हुन्छ ।’
उनको अध्ययनअनुसार फुटसल खेल्न रुचाउनेमा १६ देखि ३५ वर्ष उमेर समूहका बढी छन् । ढुकु फुटसलको अनुभव उल्लेख गर्दा उनी यो खेलमा एसएलसी तथा प्लस टू सकेका विद्यार्थी बढी नै आकर्षित भएको देख्छन् । अन्य मुलुकमा यो खेल ४० वर्ष कटेका व्यक्तिहरूको रूचिमा बढी पर्ने यस खेलप्रति नेपालमा भने युवाको रूचि बढी देखिएको फुटसल एरिनाका सञ्चालकसमेत रहेका नवाङ बताउँछन् ।
‘यहाँ युवा संलग्न हुने स्थान कम छ । बढी भनेको सिनेमा हेर्ने, रेस्टुरा“ र क्लब जाने हो । त्यसैले यहाँका खेलप्रेमी युवाहरूबीच फुटसल लोकप्रिय भइरहेको छ ।’ यही लोकप्रियतालाई ध्यानमा राखेर एन्फाले पनि वसन्त अर्यालको नेतृत्वमा फुटसल कमिटी निर्माण गरेको छ । एन्फाका अध्यक्ष इन्द्रमान तुलाधर भन्छन्, ‘फुटसलको क्रेज देखेर नै हामीले समिति बनाएका हौं । यसले औपचारिक कार्यक्रम केही गरेको छैन । तर, खुलिरहेका फुटसललाई कसरी कानूनी दायरामा ल्याउने र व्यवस्थित गर्ने भन्नेमा छलफल भइरहेको छ ।’
के हो फुटसल ?
सन् १९३३ बाट सुरु भएको फुटसलको प्रारम्भकर्ता उरुग्वेका हुवा“ कार्लोस सेरिआनी ग्राभियर मानिन्छन् । फुटसल सुरु भएको तीन वर्षपछि मात्रै यसको नियम बन्यो । यो खेल ४० मिनेटको हुन्छ र ५–५ जना खेलाडी मात्रै खेल्न सक्छन् । यसको अधिकांश नियम फुटबलसँग मिल्छन् ।
तर, ‘थ्रो’ भने हुँदैन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फुटसल मैदान न्यूनतम २५ बाई १६ मिटर र अधिकतममा ४२ बाई २५ मिटरको बनाउन सकिन्छ । सन् १९८९ मा ‘वल्र्डकप मेन्स फुटसल’ आयोजना भएसँगै यसको चर्चा चुलियो । नेपालमा खुलेका ‘फुटसल स्पट’हरूले एक ‘गेम’को आठ सयदेखि २५ सयसम्म लिने गरेका छन् ।
प्रशासनको ‘कर्के नजर’
फुटसलमा दिनानुदिन युवा पुस्ताको क्रेज बढ्दै जाँदा यसमा प्रशासनले ‘कर्के नजर’ लगाएको आरोप व्यवसायीहरूको छ । काठमाडौं प्रशासनले गत वर्ष पुस मसान्तमा राजधानीमा फुटसल खेलमै प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । विद्यालय जाने केटाकेटी बिग्रिएको, महँगो फुटसलमा खर्च गर्न आर्थिक विकृति बढेको, कतिपय ठाउँमा लागूऔषध प्रयोग गरेको देखिएको, स्पट वरिपरिका छिमेकीले हल्ला भएको गुनासो गरेकोलगायत कारण प्रशासनले देखाएको थियो ।
तर भोलिपल्ट व्यवसायीहरूले ‘स्पट’लाई मर्यादित बनाउने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । तथापि प्रशासनले समय–सीमामा अधिक कडाइ गरेको र खेललाई नकारात्मक रूपमा हेर्ने दृष्टिकोण विकास गरिदिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् । त्यसरी प्रशासनले हठात् व्यवसाय बन्द गरेपछि निर्माण भएको नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष राज भन्छन्, ‘अहिले काठमाडौंमा सात बजेसम्म मात्रै खेल सञ्चालन गर्ने प्रशासनले स्वीकृति दिएको छ । एक महिनामा पुनर्विचार गर्छौं भनेको अहिलेसम्म भएको छैन ।’
फुटसलप्रति प्रशासनको व्यवहारलाई व्यवसायी थम्मन खेलको महत्व बुझ्न नसक्नुको परिणाम भएको बताउँछन् । तर, काठमाडौं महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्की भने प्रशासनले खेललाई नकारात्मक रूपमा लिएको नभई मर्यादित बनाउन कदम चालेको बताउँछन् । ‘केही ठाउँमा विकृति विसंगति देखिएको रिपोर्टका आधारमा प्रशासनको निर्देशनमा प्रहरीले एक्सन लिएको हो । प्रहरीले खेललाई नकारात्मक रूपमा हेर्ने त कुरै भएन,’ उनले भने ।
ललितपुर परिसरका डीएसपी ईश्वर कार्कीको मत पनि एसपी कार्कीसँग मिल्छ । उनी भन्छन्, ‘हामीले फुटसल सञ्चालन भएको ठाउँमा विकृति नदेखियोस् भनेर प्रशासनले बनाएको नियमलाई कार्यान्वयन गराएको छौं । समय सीमामा कडाइभन्दा पनि अनुगमनमा ध्यान दिइएकाले ललितपुरमा समस्या देखिएको छैन ।’
प्रतिक्रिया दिनुहोस !