फुटसलमेनिया

फुटसलमेनिया

कमलपोखरीका आदिल हमिद हरेक दिन कलेज छुटेपछि फुटसल खेल्न महाराजगन्जस्थित ढुकु फुटसल पुग्छन् । उनीसँग स्कुलदेखिकै साथीको खेल–समूह पनि त्यहाँ पुग्छ । फुटबल खेलाडी बन्ने सपनाले उनलाई त्यहाँसम्म पुर्‌याउँछ । १२ कक्षामा पढ्ने सानेपाका आशुतोष प्याकुरेल भने खेलाडी बन्न होइन, फुटबल खेल्ने रहर पूरा गर्न ‘फुटसल स्पट’ पुग्छन् । उनी पनि सातामा कम्तिमा चार दिन सानेपाको प्रिज्म्याटिक फुटसल पुगेकै हुन्छन् ।

त्यहाँ पुगेपछि कम्तिमा दुई खेल खेल्छन् । बौद्धकी भविना राईचाहिँ खेलाडी नै हुन् तर उसुकी । उनी आफूलाई फिट राख्न र फुटबल खेल्ने रहर मेट्न नयाँबस्तीको फुटसल एरिना पुग्छिन् । १२ कक्षामा पढिरहेका कमलादीका अंशु कार्की हुन् या बानेश्वरका महेन्द्र कार्की, यस्तै केही बहानामा फुटसल पुगिरहेकै हुन्छन् । स्नातकोत्तर तहमा अध्ययनरत अर्पणा प्रधान त झन् कलेज र कार्यालय दुवैलाई सन्तुलन मिलाएर फुटसलका लागि समय निकाnawangल्छिन् ।

खेलप्रेमी नवाङ निमा लामाले पाँच वर्षअघि पहिलोपटक ‘इन्डोर फुटबल’ भनेर चिनिने फुटसल भित्र्याउँदा जति सोचेका थिए, त्यसभन्दा तीव्र गतिमा यसप्रति नयाँ पुस्तामा आकर्षण देखिएको छ । त्यसैले विभिन्न तहका ‘फुटसल टुर्नामेन्ट’ हुन थालेका छन् । यसै वर्षदेखि १० लाख पुरस्कार राशिसहितको ‘राष्ट्रिय फुटसल लिग’ समेत सुरु भएको छ ।

 

फुटबलर सपना
आदिलले स्कूल पढ्दैदेखि फुटबलर बन्ने सपना देखेका थिए । उनी अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरेको प्रशिक्षणमा सहभागी पनि भए । तर, पर्याप्त अभ्यास अभावले ‘अन्डर फिफ्टिन’ समूह छनोटमा पर्न सकेनन् । ११ कक्षामा पढिरहेका उनी अहिले ‘अन्डर नाइन्टिन’का लागि प्रयत्नरत छन् ।

यसपटक भने उनी उत्साहित र आशावादी दुवै छन् । किनकि, फुटसलले उनलाई अभ्यासको प्रसस्त अवसर दिएको छ । चरिकोटमा हुर्केका अंशुको पनि फुटबल खेलाडी बन्ने सपना छ । उनले एन्फाकै प्रशिक्षणमा ‘अन्डर ट्वेल्भ’ र ‘अन्डर फोर्टिन’ समूहमा रहेर खेलिसकेका छन् । अहिले पनि पढाइसँग सन्तुलन मिलाएर खेलको अभ्यास अगाडि बढाइरहेका छन्, जसले आफूलाई फुटबलका ‘ट्रिक’मा अब्बल बनाउने विश्वास उनको छ ।

काठमाडौं र ललितपुरमा गरी तीन ‘फुटसल स्पट’ सञ्चालन गरिरहेका फुटबल प्रशिक्षक थम्मन भुसाल भन्छन्, ‘ब्राजिललगायत देशमा फुटसलमा पोख्त भएका खेलाडी फुटबलमा आउँछन् । यसमा ग्राउन्ड सानो हुने हुँदा बलको चाल छिटो हुन्छ । जसले खेलाडीको निर्णायक क्षमता तीक्ष्ण बनाउँछ ।’
नेपालमै पनि फुटबल खेलाडीले फुटसल स्पटमा अभ्यास गर्न थालेको उनले बताए ।

रहर र रमाइलो
खेल खेल्न व्यावसायिक खेलाडी नै बन्नुपर्छ भन्ने छैन । आफूलाई मन पर्ने खेल आफैंले खेलेर आनन्द लिन र शारीरिक तन्तुरुस्ती बनाइराख्न पनि खेल खेलिन्छ । यस प्रयोजनका लागि पनि फुटसल लोकप्रिय हुँदैछ ।आशुतोष रमाइलोकै लागि फुटसल खेल्छन् । सानैदेखि फुटबलमा रुचि भएका उनलाई खेल्न पनि रमाइलो लाग्थ्यो । त्यसैले सानैदेखिका साथीहरूको खेल–समूह छ । अहिले त्यही समूह फुर्सदको समय मिलाएर फुटसल खेल्न पुग्छ ।

कक्षा १२ पढिरहेकी भविनाको चाहिँ फुटबल रहर हो । ‘फुटबलचाहिँ केटाले मात्रै खेल्ने हो भन्ने सोच्छन् धेरैले । तर, हामी पनि त खेल्न सक्छौं भन्ने देखाउन पनि फुटबल खेल्न रहर लाग्थ्यो,’ उनले रहरको कारण खोतलिन् । फुटसलले उनको रहर पूरा गरेको छ । अहिले महिला खेलाडीको समूह बनाएर उनी हरेक साता फुटसल अभ्यास गर्न एरिना पुग्छिन् ।

अर्पणाको रहर पनि उसैगरी बनेको हो । ‘महिलाले पुरुषले जस्तै काम गर्न सक्छन्,’ भन्ने सन्देश दिन उनी संलग्न ‘विमिन इम्पावरमेन्ट (वी) यूनाइटेड समूह’ फुटसलका साथै साहसिक खेलमा पनि सहभागिता जनाउँछ । दोलखामा हुर्केका महेन्द्र अहिले होटल व्यवस्थापन पढिरहेका छन् र उनको फुटबलर बन्ने सपना लगभग स्थगित भइसकेको छ । तर पनि, उनी शारीरिक चुस्तता कायम राख्न नियमितजसो ‘फुुटसल स्पट’ धाउँछन् ।

Thamman-BHusalशान्तिनगर फुटसलका सञ्चालक थम्मन भन्छन्, ‘कति युवाहरू आफ्नो रूचि पूरा गर्न नपाउँदा निराश भइरहेका हुन्छन् । कति त कुलतमा फसिरहेका हुन्छन् । त्यस्ता युवालाई फुटसलले राहत दिएको छ ।’

सहजै समूह निर्माण
फुटबलका लागि एउटा समूहका कम्तिमा ११ जना खेलाडी आवश्यक पर्छ । त्यसैले समूह जुटाउन नसकेर रहर लागेको बेला खेल्न नपाउने समस्या धेरै खेलप्रेमी युवाले झेलेका छन् । अझ महिला खेलाडीको सन्दर्भमा त झनै गाह्रो । भविना सम्झिन्छिन्, ‘खेल्ने रहर हुँदाहुँदै पनि समूह बनाउनै नसकिने ।

एक त फुटबल खेल्न रुचि राख्ने केटी साथी पाउनै गाह्रो, त्यसमा पनि समय मिलाउन झन् कठिन ।’ फुटसलमा पाँच जना मात्र भए पुग्ने भएकाले उनलाई साथी जुटाउन सजिलो भएको छ । त्यति मात्रै होइन, कतिलाई त समूह बनाउने झण्झट नै छैन ।

फुटसल खेल्न रुचि राखेर आउनेहरूलाई नै मिलाएर स्पट सञ्चालकले समूह पनि बनाइदिने गरेका छन् ।शान्तिनगर फुटसलमा भेटिएका महेन्द्र भन्छन्, ‘मेरो समूह थिएन । यहाँ आएपछि मजस्तै साथीहरूको समूह बनाइदिनुभएको छ सञ्चालकले नै । त्यही समूह मिलेर खेल्छौं ।’

सजिलो ‘स्पट’
उपत्यकाका साथै सहरीकरण भइरहेका स्थानमा दिनानुदिन खाली जग्गा घट्दैछ । व्यावसायिक खेल मैदान निकै कम छन् । त्यस्तो अवस्थामा स्थान अभावकै कारण रहर हुँदाहुँदै पनि खेल्न नपाउनेको संख्या धेरै छ । त्यस्ता खेलप्रेमीलाई पछिल्लो समय बढ्दै गएका ‘फुटसल स्पट’ले राहत दिएका छन् । केही वर्षअघिसम्म स्थान अभावकै कारण कयौंपटक फुटबल खेल्ने रहर मार्नुपरेको अंशुको अनुभव छ ।

उनकै जस्तो अनुभव भविना, आदिल, अंशु, अर्पणा, महेन्द्र र आशुतोषको पनि हो । आदिल भन्छन्, ‘अहिले भने स्थानको समस्या छैन । विभिन्न ठाउँमा फुटसल स्पट खुलेका छन् । एक ठाउँमा भएन भने अर्को ठाउँमा जान सकिन्छ ।’

सामूहिकता र अनुशासन
‘फुटसल समूहमा खेलिने खेल हो । त्यसैले यो खेलले सामूहिक बनाइराख्छ,’ पछिल्लो समय युवा भिडियो गेमजस्तो व्यक्तिकेन्द्रित खेलको लतमा परेको उल्लेख गर्दै थमन भन्छन्, ‘फुटसलचाहिँ साथीहरू भेटघाट गर्ने र छलफल गर्ने ठाउँ पनि बनेको छ । यसले युवालाई समाजप्रति सचेत पनि गराइरहेको छ ।’खेल आफैंमा नियमभित्र बसेर खेल्नुपर्ने भएकाले यसले अनुशासित बनाउन पनि उत्तिकै योगदान दिने उनी बताउँछन् ।

बढ्दो ‘क्रेज’
नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष राज महर्जनका अनुसार अहिले उपत्यकामा मात्रै ६० भन्दा बढी फुटसल स्पट खुलिसकेका छन् । उपत्यकाबाहिर पोखरामा सात, चितवन र धरानमा दुई तथा बुटवलमा एउटा फुटसल स्पट बनिसकेका छन् । विराटनगरलगायत सहरमा बन्ने क्रम जारी छ । ‘संख्या बढेको बढ्यै छ । तर कुनै पनि घाटामा छैनन्,’ उनी भन्छन्, ‘त्यसले पनि यसमा बढ्दै गएको क्रेज प्रमाणित हुन्छ ।’

उनको अध्ययनअनुसार फुटसल खेल्न रुचाउनेमा १६ देखि ३५ वर्ष उमेर समूहका बढी छन् । ढुकु फुटसलको अनुभव उल्लेख गर्दा उनी यो खेलमा एसएलसी तथा प्लस टू सकेका विद्यार्थी बढी नै आकर्षित भएको देख्छन् । अन्य मुलुकमा यो खेल ४० वर्ष कटेका व्यक्तिहरूको रूचिमा बढी पर्ने यस खेलप्रति नेपालमा भने युवाको रूचि बढी देखिएको फुटसल एरिनाका सञ्चालकसमेत रहेका नवाङ बताउँछन् ।

‘यहाँ युवा संलग्न हुने स्थान कम छ । बढी भनेको सिनेमा हेर्ने, रेस्टुरा“ र क्लब जाने हो । त्यसैले यहाँका खेलप्रेमी युवाहरूबीच फुटसल लोकप्रिय भइरहेको छ ।’ यही लोकप्रियतालाई ध्यानमा राखेर एन्फाले पनि वसन्त अर्यालको नेतृत्वमा फुटसल कमिटी निर्माण गरेको छ । एन्फाका अध्यक्ष इन्द्रमान तुलाधर भन्छन्, ‘फुटसलको क्रेज देखेर नै हामीले समिति बनाएका हौं । यसले औपचारिक कार्यक्रम केही गरेको छैन । तर, खुलिरहेका फुटसललाई कसरी कानूनी दायरामा ल्याउने र व्यवस्थित गर्ने भन्नेमा छलफल भइरहेको छ ।’

के हो फुटसल ?
सन् १९३३ बाट सुरु भएको फुटसलको प्रारम्भकर्ता उरुग्वेका हुवा“ कार्लोस सेरिआनी ग्राभियर मानिन्छन् । फुटसल सुरु भएको तीन वर्षपछि मात्रै यसको नियम बन्यो । यो खेल ४० मिनेटको हुन्छ र ५–५ जना खेलाडी मात्रै खेल्न सक्छन् । यसको अधिकांश नियम फुटबलसँग मिल्छन् ।

तर, ‘थ्रो’ भने हुँदैन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फुटसल मैदान न्यूनतम २५ बाई १६ मिटर र अधिकतममा ४२ बाई २५ मिटरको बनाउन सकिन्छ । सन् १९८९ मा ‘वल्र्डकप मेन्स फुटसल’ आयोजना भएसँगै यसको चर्चा चुलियो । नेपालमा खुलेका ‘फुटसल स्पट’हरूले एक ‘गेम’को आठ सयदेखि २५ सयसम्म लिने गरेका छन् ।

प्रशासनको ‘कर्के नजर’ 
फुटसलमा दिनानुदिन युवा पुस्ताको क्रेज बढ्दै जाँदा यसमा प्रशासनले ‘कर्के नजर’ लगाएको आरोप व्यवसायीहरूको छ । काठमाडौं प्रशासनले गत वर्ष पुस मसान्तमा राजधानीमा फुटसल खेलमै प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । विद्यालय जाने केटाकेटी बिग्रिएको, महँगो फुटसलमा खर्च गर्न आर्थिक विकृति बढेको, कतिपय ठाउँमा लागूऔषध प्रयोग गरेको देखिएको, स्पट वरिपरिका छिमेकीले हल्ला भएको गुनासो गरेकोलगायत कारण प्रशासनले देखाएको थियो ।

तर भोलिपल्ट व्यवसायीहरूले ‘स्पट’लाई मर्यादित बनाउने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । तथापि प्रशासनले समय–सीमामा अधिक कडाइ गरेको र खेललाई नकारात्मक रूपमा हेर्ने दृष्टिकोण विकास गरिदिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् । त्यसरी प्रशासनले हठात् व्यवसाय बन्द गरेपछि निर्माण भएको नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष राज भन्छन्, ‘अहिले काठमाडौंमा सात बजेसम्म मात्रै खेल सञ्चालन गर्ने प्रशासनले स्वीकृति दिएको छ । एक महिनामा पुनर्विचार गर्छौं भनेको अहिलेसम्म भएको छैन ।’

फुटसलप्रति प्रशासनको व्यवहारलाई व्यवसायी थम्मन खेलको महत्व बुझ्न नसक्नुको परिणाम भएको बताउँछन् । तर, काठमाडौं महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्की भने प्रशासनले खेललाई नकारात्मक रूपमा लिएको नभई मर्यादित बनाउन कदम चालेको बताउँछन् । ‘केही ठाउँमा विकृति विसंगति देखिएको रिपोर्टका आधारमा प्रशासनको निर्देशनमा प्रहरीले एक्सन लिएको हो । प्रहरीले खेललाई नकारात्मक रूपमा हेर्ने त कुरै भएन,’ उनले भने ।

ललितपुर परिसरका डीएसपी ईश्वर कार्कीको मत पनि एसपी कार्कीसँग मिल्छ । उनी भन्छन्, ‘हामीले फुटसल सञ्चालन भएको ठाउँमा विकृति नदेखियोस् भनेर प्रशासनले बनाएको नियमलाई कार्यान्वयन गराएको छौं । समय सीमामा कडाइभन्दा पनि अनुगमनमा ध्यान दिइएकाले ललितपुरमा समस्या देखिएको छैन ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.