प्राइममिनिस्टर अर्थात् मरिचमान
खोलाको मास्तिर
खेतहरूको बीचमा
उसको
भाटा, माटो र परालको घर
भोज भतेरतिर
जाँडले मातेर
लिम्बूभाषामा भाषण ठोक्ने
र अन्तिममा,
हामी भुराहरूतिर फर्केर हकार्ने
‘यो तेस् हामेरको पनि ह चाँठा
पुझिस् !’
पञ्चायतकालको अन्तिमतिर
बाघपुर्णे काकाले
राखिदिएको उसको नाम
‘प्राइममिनिस्टर’ अर्थात् मरिचमान !

मैंले कयौं वर्ष उसलाई
यस्सै गरी
छरछिमेकमा
भोजभतेरमा
मेलापातमा
भाषण ठोक्दै
लौरोले मान्छेहरू घोच्दै
बक्बकाएको देखेको हुँ
मेरो कानमा अझै गुन्जिरहेको छ
‘यो तेस् हामेरको पनि ह चाँठा !’
जाँडले रंगेको रातो गाला
सिम खेतजस्तो देवारी आँखा
खुट्टा र हात काँप्ने
घगांरुको लौरो
मिक्–तिके कुकुरको ज्याद्रो भुकाइ
अनि प्राइममिनिस्टर अर्थात् मरिचमानको
प्रधानपञ्चको आँगनमा बुलन्द एन्ट्री–
‘राजा भनेको कान्दो हो
जन्ता भनेको गुहु हो
गुहु आएपछि कान्दोले रोक्न सक्देन’
तेहीबेला छ्यालिस साल आयो
खासमा उसको नाम
‘खेतघारी साइँला’
तर उसलाई नागरिकता
बनाउनु परेन
उसलाई यो माटोले चिन्छ
उसको घर मास्तिरको काठेबरले चिन्छ
गम्बुटका पाइलाहरू मेटिए पनि
उकालो ओरालो गर्ने
उसलाई धूलौटे बाटोले चिन्छ
चुनावको बेला
नयाँ छाता ओढेको देखेको हुँ
पञ्चायती व्यवस्थामा
जाँड र भैंसीको जोडी मिल्थ्यो
बिजनबारीको लाइटर निकालेर
खोसेलाको सुर्ती सल्काएर
धुवाँ राम्रोसँग फाल्नै नपाइ
ऊ एक प्राण जाने गरी
¥याल सिंगान हुने गरी
खोक्थ्यो ‘ख्याँस्स्स्स..ख्याँस् स्स्स्स्स !’
यौटा ठूलो रेडियो थियो उसको
कपडाको खोल हालेको
‘यो आकाशवाणी
अल इन्डिया रेडियो खर्साङ हो’
राति ८ बजेर १५ मिनेटमा समाचार सुन्थ्यो
खै ! के बुझ्थ्यो ?
बिहान सुर्तीसँग गोजीबाट
रुस र अमेरिकाको गफ झिक्थ्यो
जर्ज बुस र बोरिस यल्तसिन कायल हुन्थे
कहिलेकाहिँ दिउँसो
नलबारीमा घाम निधारमा टाँसेर
बाघजस्तै घुर्दै पल्टिरहेको
मुखबाट ¥याल चुहिरहेको
अनि नलबारीजस्तै चिउँडोमा जाँडको छोक्रा
टाँसेर
हातमा ढाका टोपी मुट्ठी पारेको
प्राइममिनिस्टर अर्थात् मरिचमान
कुम्भकर्ण हिमालजस्तै सुत्थ्यो
फक्ताङ्लुङ्
लिम्बूवान !
प्रजातन्त्रको पुनर्वहालीपश्चात्
खेतहरूको बीचबाट
उसको घर हरायो
र त्यहाँ फर्फरायो चारतारे झण्डा
अनि मौसमअनुसार
झन्डाहरू फेरिरहे
हँसिया हथौडा फर्फरायो
हलो गाई पनि फर्फरायो
अन्तिमपटक
उसको आँगनमा
रातो र नीलो
खुकुरी अंकित झण्डा फर्फरायो
पच्पन्न सालमा
मसिनेहरूको टोलीले उठ्बस गराएपछि
अनि जाँड खान नपाएर
बिरामी भा’को खबर गाउँमा फैलियो
तेही साल
उसको घर तल्तिरको ताक्मारे खोला उर्लेछ
र उसको घरखेत तमोर खोलाले निलेछ
गणतन्त्र आएको
निक्कै वर्षपछि
यो गाउँमा
खेतघारी साइँलाले महशुस ग¥यो
कि उसको माग ऊ बाँचुन्जेल
पूरा हुने छैन
र सपनामा आएर
उसले आफ्नो माग
मलाई हस्तान्तरण गरेको छ
अनि त किनकिन यस्तो लाग्दैछ
कि यो देश कसैको पेवा होइन ।
कि अब ब्युँझिनु छ
र हुनु छ
मैंले पनि यो देशको प्रधानमन्त्री ।
प्रतिक्रिया दिनुहोस !