प्रवासमा झन् प्यारो

प्रवासमा झन् प्यारो

दुई कक्षा पढ्दापढ्दै राजेश केसीले उत्तम सांगीतिक प्रस्तुति दिएबापत पुरस्कार हात पारे । सारा विद्यार्थी साथीमाझ आफैंलाई पढाउने गुरुहरूले गरेको सम्मानले उनलाई हौसला दियो । हुन त उनको घर संगीत विद्यालयजस्तो थियो ।

राजेशका पिता शिव केसी नेपाली संगीतमा स्थापित नाम । हरेक बिहान बुवाले मुख हल्लाएर राग अलाप्दा उनी हाँसिदिन्थे । 'मेरो संगीतको पहिलो विद्यालय घर हो, गुरु मेरै बुवा हुनुहुन्थ्यो', राजेशले भने । घरभित्रबाट गाउन थालेका राजेशको सांगीतिक यात्रा नेपाल ललितकला क्याम्पसमा गएर माझिन पुग्यो ।

पछिल्लो समय अस्ट्रेलियामा रहेका राजेशले मुलुकबाहिर भए पनि संस्कार, संस्कृति र गीतसंगीत छोडेन छैनन् । 'अब म सबै थोक छोड्न तयार छु तर संगीत छोड्न सक्दिन', उनको भनाई छ । जीविकोपार्जनका लागि काम गरे पनि नेपाली कलासाहित्यलाई त्यहाँको समाजमा स्थापित गर्न उनले पाएको मौका कहिल्यै चुकाएनन् । २०५२ सालमा 'पारि गाउँको सल्लेरी वनैमा' बोलको गीत पहिलोपटक रेकर्ड गराएर चर्चामा आएका उनले त्यसपछि गाएको 'तिमीबाट टाढा हुँदा', 'जिन्दगीको सावन', 'घर त बन्दीपुर'जस्ता गीत निकै रुचाइए ।

नेपालमा संगीत यात्राले उचाइ लिइरहेकै बेला उनी अस्ट्रेलिया पुगे । अस्ट्रेलियाको सिड्नीमा बसे पनि उनले त्यहाँका विभिन्न सहरमा आठ वर्षदेखि सांगीतिक प्रस्तुति दिने कार्यमात्रै गरेनन्, नेपाल कला संस्कृति तथा साहित्य प्रतिष्ठानमार्फत नेपाली कला साहित्यलाई त्यहाँको जनमानसमा स्थापित गराउने कार्यमा संलग्न भए ।

अस्ट्रेलियमा रहेका विभिन्न नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा उनले नेपाली संगीत चिनाउने काम गरी रहेका छन् । 'पहिलापहिला त्यहाँ रहेका आमनेपालीको एउटै कार्यक्रम हुन्थ्यो, अचेल टुक्रे कार्यक्रम हुन्छ, जातीय घेरामा कलालाई समेट्ने कोसिस हुँदा नेपाली कला साहित्य कमजोर हुँदै गएको छ', उनको गुनासो छ ।

दिल तमाङ, सुजाता उपाध्याय मानन्धर र उनी मिलेर 'तीन तारा' एल्बमपछि उनले 'कोसिस', 'आर्य' एल्बम निकाले । बुवाको गीतसमेत समेटेर 'अमर इच्छा' एल्बमको तयारीमा जुटेका राजेशले हालसम्म ३२ वटा गीतमा आवाज दिएका छन् । तीमध्ये १२ वटा गीतको म्युजिक भिडियो बनिसकेको उनले बताए ।

अस्टे«लियमा आफूमात्रै नभएर त्यहाँ पुग्ने नेपाली कलाकारलाई समेत उच्च सम्मान र न्यानो आतिथ्यता दिनेमध्येमा राजेश अग्रपंक्तिमा पर्छन् । 'आफ्नो क्षेत्रको सहकर्मी आउँदा उसलाई सकेको सहयोग गर्न पाउनु विदेशी भूमिमा धर्म पूरा गरे झैं लाग्छ', राजेशले भने, 'पराया माटोमा आफ्नोपनको मूल्य मैले बुझेको छु ।'

वरिष्ठ संगीतकर्मी पिता शिवको स्वर्गवास भएपछि नेपाल आएका उनी फेरि पनि बुवाको सपना पूरा गर्ने बाटोमै लागिरहने प्रतिबद्धता जनाउँछन् । बुवा नै संगीतकर्मी भएकाले होला, आमा सावित्रीले पनि उनलाई यो मार्गमा रहिरहन हौस्याइरहेकी छन् ।

राजेशको सांगीतिक यात्रालाई जस्तोसुकै कठिन मोडमा पनि साथ दिने काम गरेकी छन् उनकी धर्मपत्नी आर श्री केसीले । मिडियासँग त्यति धेरै नजिक नभए पनि उनको सांगीतिक यात्रामा अस्ट्रेलियाको 'नेपाली टच' संस्थाका दीपेश पुनले गरेको सहयोग उनी भुल्न सक्दैनन् । संगीत क्षेत्रमा मात्रै लागेर अस्ट्रेलियन पनि बाँच्न नसक्ने बुझेका उनी भन्छन्, 'कला साहित्यले देश चिनाउने हो, माटोको सुगन्ध छर्ने हो, बाँच्नलाई त केही गर्नैपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.