मन्त्रीज्यू ! मेरो लासको मूल्य कति हो ?

मन्त्रीज्यू ! मेरो लासको मूल्य कति हो ?

'तिम्रो रगत रगत रे हाम्रो रगत पानी
नालीको कीरा हो र हाम्रो जिन्दगानी ? '

यतिखेर माथिको गीतको गेडाले खुबै सताइरहेको छ । यो गीत अझ राम्ररी मिलेको छैन सायद । नमिले पनि यसमा अभिव्यक्त भाव हाम्रो नियति हुन पुगेको छ । देशमा तरकारीवालीको तस्बिर भइरल भएको छ । क्यान्सरवाली सुजु दिदीको क्यान्सरले पनि काठमाडौंको पारो चढेको छ । सायद यसले धेरैको प्रेसर पनि बढेको छ । लोकमानमय भएको छ लोकतन्त्र । यस्तो बेलामा एउटा निमुखा, टुहुरो र झारपात नेपालीको कुरा गौण हुन पनि सक्छ ।

या यस्ता कुराहरू महत्त्वहीन हुन पनि सक्छन् । सुजु दिज्युलाई क्यान्सरको उपचारका लागि मन्त्री/प्रधानमन्त्रीज्यूले सहयोग रकम ५० लाख उपलब्ध गराउने निर्णय गर्नुभन्दा केही दिन अघि अर्थात् कात्तिक १९ गते शुक्रबारको दिन थियो त्यो । भक्तपुर क्यान्सर अस्पतालको बेड नं २०३ । आँसुले टल्केका एक जोर आँखा । कपाल झरेको एक थान खप्पर ।

ख्याउटे अनुहार । हातभरि स्लानइनका तार र घुँडामा लोहोरो जत्रो मासुको डल्लो । यस्तै अवस्था थियो महेश बस्नेतको । उसका आँखामा चिन्तै चिन्ताका रेखा दौडिरहेका थिए । भविष्यको चिन्ता । पढाइको चिन्ता । आमाको चिन्ता । भाइको चिन्ता । सबैभन्दा ठूलो आफ्नै उपचारको चिन्ता । कक्षा १० मा अध्ययनरत मेरो एउटा ज्ञानी विद्यार्थी महेश बस्नेत क्यान्सर लागेर अस्पतालको बेडमा लडिरहेको कुरा सुनेर भेट्न पुगेको थिएँ म । ऊ केमोथेरापीको डोजले शिथिल, जीर्ण र दर्दनाक देखिन्थ्यो । महेशका बारेमा मलाई थप कुरा जान्न मन लाग्यो । ऊ पनि दुःख बाँड्ने कोही खोजिरहेको थियो सायद ।

यस्तो थियो महेशको कथाः

हाम्रो घर दोलखाको चरीकोटमा हो । कुरा २०६१ साल फागुन १६ गतेको हो । म पाँच वर्षको थिएँ । घरमा ज्यादै नराम्रो खबर आयो । बुबा बारामा अवस्थित अमलेखगन्जको प्रहरी शिक्षालयमा कार्यरत हुनुहुन्थ्यो । माओवादी आक्रमणमा परी बुवाको मृत्यु भएछ । तीन वर्षको भाइ र म टुहुरा भयौं । आमाको सिउँदो लुटियो । बाबाको याद आउँदा हामी धेरै रुन्थ्यौं । आमाले हामीलाई धेरै सम्झाउनु हुन्थ्यो । अलि ठुलो हुँदै गएपछि कहिलेकाहीँ आमाले सान्त्वना दिने क्रममा भन्नुहुन्थ्यो-'धेरै पढेर बाबाको सपना अब तिमीले पूरा गर्नुपर्छ ।' तर पढ्ने कसरी ?

सायद हाम्रो आर्थिक अवस्था ज्यादै नाजुक थियो । यसबीचमा ममीले गर्नुभएको दुःखको हामीलाई राम्रै अन्दाज छ । ममीले के गर्नु भएन हाम्रा लागि ? गिटी कुट्नुभयो । इँटा बोक्नु भयो । बालुवा चाल्नु भयो । प्लास्टर गर्ने ठाउँमा मसला घोल्ने काम गर्नुभयो । गाडामा तरकारी बेच्नेदेखि निजी अफिसमा झाडु लगाउने कामसम्म गर्नुभयो । ममीले यी सबै काम हामीलाई हुर्काउन र पढाउनका लागि गर्नुभएको थियो । यस्तो दुःख गरेर ममीले मलाई कक्षा १० र भाइलाई कक्षा ८ मा पुर्‌याउनु भयो ।

यसै वर्ष म १० कक्षामा पुगेँ । आगामी चैत महिनामा हुने एसएलसी परीक्षाका लागि सुरुदेखि नै म मेहनत गरिरहेको थिएँ । असारको १५, १६ गतेदेखि मेरो देब्रे घुँडामा पीडा महसुस भयो । सानो डल्लो दुख्दै र बढ्दै गयो । साउन महिना लाग्दा नलाग्दै हामी जचाउन गयौं । सबै रिपोर्ट हेरेपछि डाक्टरले ममीलाई अलि पर बोलाउनुभयो । डाक्टरले ममीलाई विस्तारै भनेको कुरा मेरो कानमा आएर ठोक्कियो । 'सुन्ने हिम्मत गर्नुहोस्, तपाईंको छोरालाई क्यान्सर भइसकेको छ । खुट्टो काट्नुपर्ने पनि हुन सक्छ ।'

 

यति सुनेपछि मलाई अस्पताल पूरै घुमेजस्तो लाग्यो । चक्कर लागेर आयो । बसौं कि उठौँ या चिच्याऊँ जस्तो भयो । मैले ममी उता सुँक्कसुँक्क गरेको सुनेँ । मैले अब ममीलाई सम्झाउनु कि आफैं रुनु ? आफ्नो कर्म सम्झेँ । भाग्य सम्झेँ । मारिएका बुवाको मुहार सम्झेँ । आफैंलाई चिथोर्न कोपर्न मन लाग्यो । तर मैले त्यसो गर्न सकिनँ । कम्तीमा भाइ र ममीका लागि भए पनि मैले धैर्य गर्नुपर्छ भन्ने लाग्यो ।

एक छिनपछि ममी हाँसेजस्तो गर्दै भित्र छिर्नुभयो । 'कान्छा तँलाई निको हुन्छ रे । जाऊँ हिँड घर । अब तँलाई अर्कै अस्पतालमा लैजाने ।' यसोभन्दा ममीको आवाज काँपेको थियो । मैले एकचोटि मेरो खुट्टेलाई हेरेँ । अनि ममीको मुहारलाई । घाउ मेरो खुट्टामा थियो तर पीडाचाहिँ ममीको मुहारमा ।

हो म क्यान्सर रोगी हुँ । घाउ खप्नै नसक्ने गरी चरचरी दुख्छ । बुबाको याद बेस्कन आउँछ । अस्पतालको बेडमा छटपटाइरहेको बेलामा घाउले भन्दा बुवाको यादले बढी पीडा हुँदो रहेछ । हुन त मेरा बुबा कुनै शोषक, सामन्त र भ्रष्ट व्यक्ति हुनु हुन्थेन । न त ठग र लुटेरा नै । हामीलाई पाल्ने र पढाउने समस्याबाट मुक्ति दिलाउनका लागि नै सायद प्रहरीमा जागिर खानु भएको थियो । यस्तो बेलामा झन् बाबाको याद आउँदो रहेछ । 'बाबु कस्तो छ तिमीलाई' भनेर मेरो टाउको मुसार्ने बुनाको हातको झल्को लाग्छ मलाई ।

ममी भन्नुहुन्छ, बुवा मरेपछि उहाँको ज्यानको मूल्य साढे सात लाख आएको थियो रे । त्यो साढे सात हामीलाई 'साढे सातको दशा' बोकेर आएको रहेछ । अहिले मेरो उपचार गर्न १८-२० लाख लाग्ने अनुमान डाक्टरले गरेका छन् । हाम्रो अन्य जायथेथा पनि केही छैन । गाउँमा भएको घर पनि भूकम्पले भत्किएको छ ।

ममी भन्नुहुन्छ, बुवा मरेपछि उहाँको ज्यानको मूल्य साढे सात लाख आएको थियो रे । त्यो साढे सात हामीलाई 'साढे सातको दशा' बोकेर आएको रहेछ । अहिले मेरो उपचार गर्न १८-२० लाख लाग्ने अनुमान डाक्टरले गरेका छन् । हाम्रो अन्य जायथेथा पनि केही छैन । गाउँमा भएको घर पनि भूकम्पले भत्किएको छ । स्कुलका सर मिस, साथी र गुरूहरूले केही रकम चन्दा उठाएर पठाउनु भएको छ । त्यसले एकदुई चोटीलाई केमो दिन पुग्छ होला । हो म बाँच्न चाहन्छु । पढ्न चाहन्छु । अझै पनि केही गरेर देखाउने आँट मरेको छैन तर उपचार गर्न आवश्यक पर्ने यो खर्चको पहाड हामीले कहाँबाट जम्मा गर्ने होला ?

अहिले मलाई लाग्छ गल्ती मेरै बुवाको हो । मेरो बुवा पनि डन, लुटेरा, ठग, तस्कर या दलाल भएको भए यो देशमा उहाँको इज्जत हुन्थ्यो होला । उस्तै परे कुनै पार्टीले सांसद पदको टिकट नै दिन्थ्यो होला । कि त खाडीतिर गएको भए पनि यसरी मर्नु पर्ने थिएन होला । आखिर हामीलाई यो दुःखको भुमरीमा पारेर बुवा जानुभयो । मैले सहयोगको आशाले माननीय स्वास्थ्यमन्त्री गगन थापाज्यूलाई पनि पत्र पठाएको थिएँ । त्यसको केही जवाफ आएन ।

बिचरा उहाँलाई पनि समस्या छ । भीआईपी र ठूलाबडालाई हेर्ने कि हामीजस्ता झारपात र कीराफट्याङ्ग्रालाई । हे प्रचण्ड सरकार ! मेरो बुवा तपाईंहरूकै कारणले मर्नुभएको हो । जनयुद्धमा मेरो बाबाजस्तै धेरै गरिब कमरेडहरू पनि मरेका थिए । मलाई उदाहरण दिन सक्नुहुन्छ कि त्यहाँ हुनेखाने कुन कामरेडको मृत्यु भयो ? चाहे आर्मी पुलिस होस् या चाहे माओवादी होस् मर्ने भनेका सबै गरिबका छोराछोरीहरू नै हुन् ।

अनि त्यसको मूल्य हामीजस्ता टुहुराले कहिलेसम्म चुकाउनुपर्ने हो ? हे सरकार ! म पनि यो देशको नागरिक हुँ । म निको हुन चाहन्छु । एसएलसी दिन चाहन्छु । अब म के गरौं, मरौं कि बाँचौं ? मेरा बुवा मर्दा प्राप्त भएको रकमले पनि मेरो उपचार गर्न पुग्दैन । हे प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीज्यू ! म मरेँ भने मेरो लासको मूल्य कति हो ? मेरो लासमा तपाईं कीराफट्याङ्ग्राको ट्याग लगाउन चाहनुहुन्छ कि मानिसको ? उत्तर पर्खिरहेको छु । कृपया समय छोटो छ, उत्तर छिट्टै पाऊँ ।'

महेशले रुँदै भनेको थियो- 'सर यति कुरा सबैलाई सुनाई दिनुहोला है प्लिज !' मैले सुनाइदिएँ । आगे सरकारको निगाहा ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.