किन दोषी देखाइन्छ महिलालाई ?

किन दोषी देखाइन्छ महिलालाई ?

सन् १९७५ मा सिक्किम भारतमा विलय भएको समाचार 'अल इन्डिया रेडियो'बाट सुनेपछि पशुपतिशमशेर राणा रोमाञ्चित भए होलान् । सिक्किम विलय गराउने ' श्रेय' पाएकी एलिसा मारिया पक्कै पनि उनको स्मृतिबाट हटिसकेकी थिइनन् ! भारतका लागि पहिलो नेपाली राजदूत भएर विजयशमशेर नयाँदिल्लीमा रहँदा उनका छोरा पशुपतिशमशेरले 'गभर्नेस' एलिसाबाट क्वार्टरमै शिक्षादीक्षा लिएका थिए ।

सिक्किमे चोग्याल पाल्देन थोन्डुप नाम्ग्यालकी सीआईए (? ) रानी होप कुकको कुटिल नियतलाई निमित्त कारण बनाएर इन्दिरा गान्धीले सिक्किमलाई भारतमा गाभिन् भनेर भारतीयहरू लेख्छन् । 'ब्लिट्ज' पत्रिकाले भने २७ अक्टोबर १९७९ को अंकमा लेख्यो, 'काजी लेन्डुप दोर्जेलाई सानो हिमाली अधिराज्यको राजनीतिमा भित्र्याउनुमा ल्याङफोर्ड (एलिसा मारिया)को हात छ । उनी र चोग्यालकी श्रीमती होप कुक एकअर्कासँग किलकेनी बिरालोझैं झगडा गर्थे । यही झगडाले भारतीय संघमा सिक्किमको विलयका लागि मार्गप्रशस्त गरिदियो ।'

०००

त्यतिखेर सिक्किम भारतमा विलय भइसकेको थिएन । कालिम्पोङ अन्तर्राष्ट्रिय जासुसहरूको अखडा भने भइसकेको थियो । स्वयं नेहरूले कालिम्पोङलाई 'जासुसहरूको गुँड' भनेका थिए । चीनले यसलाई आफ्नाविरुद्ध गतिविधि गर्ने बेलायती साम्राज्यवादको केन्द्र भनेको थियो ।

नहोस् पनि किन ? तिब्बतमा चीनको दखलपछि भागेका दलाई लामा त्यहाँ थिए । बर्माका अपदस्थ राजा थिब पनि त्यहीँ थिए । अफगान राजा अमानुल्लाहसँगै देशबाट भागेका अफगान राजकुमारहरू पनि त्यहीँ बस्थे । ग्रिसका राजकुमार पिटर हिमाली वनस्पतिसम्बन्धी अध्ययन गर्ने निहँ बनाएर श्रीमतीसँग त्यहीँ बसेका थिए ।

स्वतन्त्र तिब्बत आन्दोलनमा उनी सरिक भएको भन्दै चीनले आपत्ति जनाएपछि भारत सरकारले अन्ततः उनीमाथि गुप्तचरीको आरोप लगायो र उनको आवासीय अनुमति खारेज गरिदियो (माइकल पिसेल, टाइगर फर ब्रेकफास्ट, पृ १८) । यसबाहेक क्रिस्चियन मिसिनरी, विभिन्न बाहानामा रहस्यमय ढंगले रुमल्लिने स्वदेशी तथा विदेशी लेखक र युरोप तथा अमेरिकाका सेवानिवृत्त सैनिक अधिकारीहरूको पनि त्यहाँ बाक्लो उपस्थिति थियो ।

त्यति बेलै एउटी युवती ला छिरिङ नाम गरेका युवकसँग कालिम्पोङ आइन् । छिरिङलाई भारत सरकारले सिक्किममा घूसपैठ गराउन एजेन्ट नियुक्त गरेको थियो । कालिम्पोङबाट छिरिङ गान्तोकतिर लागे । ती युवतीचाहिँ कालिम्पोङमै बसेर अंग्रेजी र फ्रेन्च भाषा पढाउन थालिन् ।

ती युवती अरू कोही नभएर बेल्जियमकी फ्रेन्चभाषी एलिसा मारिया थिइन्, जसले काजी लेन्डुप दोर्जेलाई पति वरण गरेर कजिनीको उपाधिसँगै सिक्किम विलयको 'जस' शिरोपर गरिन् ।

एक रात एलिसा सुत्ने तर्खर गर्दै थिइन् । त्यत्तिकैमा कालिम्पोङकी सांसद मायादेवी क्षेत्रीले उनलाई फोन गरेर भनिन्, 'एकजना अतिथि लिएर तिम्रोमा आउँदैछु ।' ती अतिथि लेन्डुप थिए । एलिसाकोमा बसुन्जेल लेन्डुपले चुइँक्कसम्म नगर्दा एलिसालाई 'कस्तो लाटो खालको पहाडे रै'छ' भन्ने लाग्यो ।

क्षेत्री र एलिसाबीच कुराकानी भइरहेका बेला लेन्डुपले अकस्मात् औपचारिकताका दुईचार शब्द बोले र एलिसाको हात समातेर अनुनयको स्वरमा भने, 'मसँग बिहे गर है ।'

एउटा सार्वभौम देशलाई हठात भारतमा विलय गराउने खुँखार देशद्रोहीले हठात राखेको बिहे प्रस्ताव तत्काल स्वीकृत पनि भयो । (सुनन्द के दत्त-राय, स्म्यास एन्ड ग्र्याब, पृ ११०-११५)

०००

गान्तोक भारतीय राज्य सिक्किमको राजधानी घोषित हुनुभन्दा निकै अघिको काठमाडौंको कुरा हो । विलयअघिको गान्तोकजस्तै काठमाडौंमा पनि अनेक प्रकारका जालझेल, गुप्तचरी र लुछाचुँडीका बीच राजनीतिक अस्थिरता व्याप्त थियो । काठमाडौं दरबारको विदेश नीति कस्तो हुने भन्नेमा दरबार र भारदारभित्र मतैक्य थिएन ।

सन् १८४५ मा माथवरसिंह थापाको हत्या भएपछि थापा खलक शक्तिीन भइसकेको थियो । त्यसअघि नै पाण्डे खलकको दारानंग्रा भुत्ते भइसकेको थियो । राजकाजमा संलग्न दुई मुख्य खलक पाखा लागिसकेकाले शक्तिमा आउन नयाँ खलकहरूले आँखा चमचमाइरहेका थिए । यस्तै एउटा खलक थियो— कुँवर खलक ।

सन् १९८६ मा गगन सिंहको हत्या भएपछि उनकी प्रेमिकाका रूपमा इतिहासमा 'आरोपित' महारानी लक्ष्मीदेवीले प्रमुख भारदारहरूलाई कोतको प्रांगणमा भेला गराइन् । गगनको हत्यालाई लिएर भारदारहरूबीच आरोप-प्रत्यारोप चल्यो । आवश्यक चाँजोपाँजो मिलाएर त्यसै मौकामा जंगबहादुरले ३० जना भारदारको हत्या गरिदिए । हत्या हुनेहरूमध्ये प्रायः चौतारिया, पाण्डे र थापा खलकका महत्त्वपूर्ण सदस्य थिए ।

हुर्किन खोज्दै गरेको बस्नेत खलकलाई त्यसको केही समयपछि जंगबहादुरले निमोठेर पाखा लगाइदिए (रोज, नेपालः स्ट्राटेजी फर सर्भाइभल, पृ १०५-१०६) । यसरी आफ्नो मनमौजी शासन लाद्ने अकण्टक मार्ग उनले सुनिश्चित गरे । फलतः नेपालमा राणाहरूको जहानियाँ शासन सुरु भयो । राणाशासन सुरु गर्ने श्रेय जंगबहादुरलाई दिइयो । यसको मूल कारण रानी लक्ष्मीदेवीको 'अन्धो-प्रेम'लाई ठहर्‌याइयो ।

०००

जहानियाँ शासन संस्थागत गरेपछि जंगबहादुर बेलायततिर घुम्न गए । लिखुरे ज्यानका भए पनि पद र पैसाको रवाफमा उनी बेलायत र फ्रान्सका युवतीद्वारा रुचाइए । 'बेलाइतका आइमाइहरूको समाजमा त जंगबहादुर कामदेव नै ठहरिएका रहेछन् भनेजस्तो बुझिन्छ । स्वास्नीमानिसहरू उनीमाथि त्यसै आशक्त हुन्थे,' कमल दीक्षितले 'जंगबहादुरको बेलायत यात्रा'को भूमिकामा लेखेका छन् ।

जंगबहादुर भने त्यहाँका युवतीप्रति कत्तिको आकर्षित थिए भन्नेबारे उनले लेखेका छन्, 'त्यो यस किताबबाट खुल्दैन । तर 'बरु नआयाको भया हुन्थ्यो, अब जान्छौं भन्दा हामीलाई मुटुमा तीर हानेकोजस्तो लाग्छ' भन्ने मायालु रमाणीप्रति उचित भाव व्यक्त गर्न शिष्टाचार जान्ने जंगबहादुर अवश्यै चुकेनन् होला ।' (सं. कमल दीक्षित, जंगबहादुरको बेलायत यात्रा, पृ १००) ।

जंगबहादुर बेलायतमा कति रसिक भएका थिए भन्नेबारे अझ बढी खोलेका छन्— यात्राताका उनको अनौपचारिक दोभासे भई काम गरेका मोतीलाल सिंहले । यात्राको एउटा क्षणबारे उनले लेखेका छन्, 'उनी (जंगबहादुर) र उनका कुलीन भाइहरू 'तुलिप' फूलजस्ता गाला भएका महिलाहरूले नजिकै आएर घेर्दा अझै आनन्द मान्छन् । यिनीहरूमध्येकी कामदेवकै छोरीजस्ती लाग्ने एउटीले सबैको ध्यानाकर्षण गरिन् ।

हामीहरूले दोभासे साहिबलाई उनी को होलिन् भनेर सोध्छौं । तर आफू भर्खरैमात्र बेलायत फर्केकोले दोभासेले तिनलाई चिन्न सकेनन् । मलाई सोधपुछका लागि पठाइन्छ र मैले 'बक्स किपर'सँग गएर उनको नाम लोराबेल (लाउरा बेल) भएको पत्ता लगाउँछु ।'

 

मोतीलालले जंगबहादुरलाई ती युवतीको नाम सुनाएपछि जंगबहादुर भन्छन्, 'महिलाको नाम टाढाको मन्दिरमा बज्ने सुनौलो घन्टीको आवाजजस्तो मधुर र कर्णप्रिय हुनुपर्छ ।' त्यसपछि उनी उठेर आफ्नो हातमा भएको रुमाल ती युवतीतिर हल्लाउँछन् । आफूप्रति जंगबहादुरको रुचिलाई स्वीकार गर्दै लाउराले पनि स्वीकृतिको भावमा पटकपटक टाउको हल्लाउँछिन् ।' (डा. कृष्णप्रसाद अधिकारी, बेलायतमा पहिलो नेपाली, पृ ३०-३१)

रुमाल हल्लाएर प्रणयका निम्ति आतुरता व्यक्त गर्ने कामको सुरुआत जंगबहादुरबाट भएको थियो । र, टाउको हल्लाएर निवेदन स्वीकार गरी जंगबहादुरको अढाई लाख पाउन्ड (? ) कुम्ल्याईकन कथाको अन्त्य गराउने काम लाउराबाट भएको छ । यति हुँदाहुँदै पनि 'जंगबहादुरलाई बेलायतमा स्त्रीलम्पट बनाउने काम लाउराबाट भयो' भनेर कतै पढ्नु परेको छैन, जुन अन्य उदाहरणको आलोकमा हेर्दा आश्चर्यजनक देखिन्छ । नत्र भने सबै घटनाको मूल कर्ताका रूपमा स्त्रीलाई चित्रण गरिँदै आएको छ ।

०००
महाभारतबारे भनिन्छ— द्रौपदीले स्वयंवरमा कर्णको अपमान गरिन् र उनलाई पाण्डवविरोधी खेमामा पुर्‌याइन् । कर्ण नहँदा हुन् त पाण्डवलाई हाँक दिने दुस्साहस दुर्योधनले गर्दैन थिए ।

पाण्डवहरूको इन्द्रप्रस्थमा युधिष्ठिर राज्यको वैभव प्रदर्शन गर्न आयोजना गरिएको राजसुय यज्ञमा भाग लिएर फर्किने क्रममा पाण्डवहरूको दरबार निर्माणमा प्रयोग भएको कालिगढीबाट दुर्योधन झुक्किन पुग्छन् । कालिगढ सिर्जित भ्रान्तीबाट ग्रस्त हुन पुगेको उनी बाटोमा जमेको पानी देख्दैन र पछारिन पुग्छन् । 'अन्धोको छोरो अन्धो रै'छ', आफ्नो खिसी गर्दै द्रौपदीले गरेको कानेखुसी दुर्योधनले सुन्छन् र द्रौपदीलाई पाठ पढाउने संकल्प गर्छन् ।

यही घटनापछि उनले जुवाको खाल आयोजना गरी पाण्डवहरूलाई हस्तिनापुर बोलाउँछन् र इन्द्रप्रस्त जितेर पाण्डवहरूलाई दास बनाई रजस्वला भएकी द्रौपदीलाई सभाबीच नंग्याउँछन् । र, १२ वर्षको वनवास र एक वर्षको अज्ञातवासमा पाण्डवहरूलाई पठाउँछ । भनिन्छ, द्रौपदीले 'अन्धोको छोरो' नभनेको भए यो सब हुँदैन थियो ।

अज्ञातवास समाप्त भएपछि पाण्डवहरूले सर्तअनुसार आफ्नो राज्य फिर्ता माग्छन् । दुर्योधन मान्दैनन् । युद्धबाट विवादको छिनोफानो गर्ने निचोडमा दुवै पक्ष पुग्छन् ।

यहाँ आएर पनि युद्धको मूल कारक द्रौपदीलाई मानिन्छ । स्त्री जातिलाई यथोचित आदर गर्नेहरूबाट पनि यस्तै भाव व्यक्त भएको पाइन्छ ।

बीपीको 'मोदीआइन'मा अज्ञातवासपछि भीम र द्रौपदीले युद्धको पक्ष लिएको भनिएको छ । 'कुनै दिन खबर आउँथ्यो— धर्मात्मा युधिष्ठिरले लडेर किमार्थ राज्य नलिने अठोट गरेका छन् रे, तर फेरि सुनिन्थ्यो, भीम उफ्रीउफ्री उत्तेजनाका कुरा गर्छन् रे', यसमा भनिएको छ, 'फेरि सुन्यौं कि द्रौपदीले धिक्कारिन रे, 'हे मेरा कहलाइएका वीर पति हो, के तिमीहरूले भरिएको राजसभामा भएको मेरो बेइज्जती बिर्सियौ ? '

महिलालाई संविधानले समान हैसियतको मानेको छ । तर पनि हरेक विनाशमा महिलालाई दोष लगाउन छोडिएको छैन ।

स्त्री कथावाचिकालाई उपन्यासमा भन्न लगाइएको छ, 'हामीलाई द्रौपदीका यस्ता इखका वचन नारीको मर्यादाको अनुरूप लागेन । भन्थ्यौं, 'तेह्र वर्षभन्दा अघिका एउटा असम्मानलाई सम्झेर आफ्नो सुलभ नारीत्वलाई तिलाञ्जलि दिँदै के कुनै नारीले पुरुषलाई युद्धका लागि उत्तेजित गर्ने हो ? ' । (बीपी कोइराला, मोदीआइन, पृ. २९)

कथा अघि बढ्दै जाँदा भीमलाई समेत चोख्याउने काम हुन्छ, 'कृष्णले धर्मयुद्धको व्याख्या गर्दा युधिष्ठिरले भने रे, 'कुनै अवस्थामा पनि युद्ध धर्ममय हुँदैन हे केशव ।' एक पटक त उग्र स्वभावका भीमले पनि कृष्णसँग शान्तिको पक्ष लिएर तर्क गरे रे ।' (बीपी कोइराला, मोदीआइन, पृ. ३९)

अन्त्यमा युद्धको सम्पूर्ण दोष द्रौपदीको थाप्लोमा हालिन्छ । युद्धको तुमुलध्वनि गर्जिनुअघिको कुरुक्षेत्रबारे 'मोदीआइन'मा भनिएको छ, 'हाय पाञ्चालकुमारी द्रौपदी, जो भर्खरै केही टाढासम्म आफ्ना पञ्चपतिदेवहरूलाई (युद्ध गर्न कुरुक्षेत्र) पुर्‌याएर दासदासीहरूद्वारा घेरिएर उपप्लल्य नगरतिर फर्किरहेकी थिइन् । हाय नारी ! हाय तिम्रो प्रतिहिंसाको भावना, जसले तिमीलाई अन्धवेगमा आफ्नो नारीत्वको स्वाभाविक हृदयातालाई बिर्साइदिइरहेको थियो ।' (पृ ३५)

०००

महाभारत युद्ध हुनुभन्दा अघि त्रेतायुगमा भएको राम-रावण युद्ध कसका कारणले भयो भन्नेमा तथाकथित मूलधारवादी र क्रान्तिकारीहरूबीच चीव्र मतभेद छ ।

मूलधारवादीको एउटा तप्काले भन्छ, 'सीताका कारण युद्ध भयो । एउटी युवतीलाई बचाउन रामले लंकामाथि आक्रमण गरे ।' अर्को तप्काले भन्छ, 'नारीलाई अपमान गर्ने, हेप्ने रावणलाई पाठ पठाउन युद्ध आवश्यक थियो ।' तर्क भिन्न भए पनि युद्धको मूल कारक सीता हुन् भन्नेमा दुवैबीच मतैक्य छ ।

क्रान्तिकारीहरू भने यसमा सहमत छैनन् । उनीहरूको तर्क छ, 'रावणले सीताको हरण गर्न चाहेका भए १४ वर्षसम्म किन पर्खिन्थे ? रामसीताको वनवासको १४ वर्ष पुगेपछि मात्रै सीताको हरण किन गर्थे ? ' युद्धको मूल कारण सीता नभई रावणकी बहिनी सुपर्णखा हुन् भन्ने उनीहरूको निष्कर्ष छ ।

एक दिन सुपर्णखाले जंगलमा रामलाई देख्छिन् र आकर्षित हुन्छिन् । रामसँग उनी बिहे प्रस्ताव राख्छिन् । आफूले एक पत्नीव्रता पालन गरेको भन्दै रामले एक्लो जीवन बिताइरहेको भाइ लक्ष्मणसँग बिहे प्रस्ताव राख्न सुपर्णखालाई सुझाव दिन्छन् । लक्ष्मणसँग प्रस्ताव राख्दा लक्ष्मणले आफूभन्दा योग्य दाजु राम भएकाले उनीसँगै प्रस्ताव राख्न सुझाव दिन्छन् । राम र लक्ष्मणबीच पटकपटक ओहोरदोहोर गर्नु परेपछि क्रुद्ध बनेकी सुपर्णखाले 'समस्याको जड यही सीता हो' भन्दै सीतालाई खान खोज्छिन् । त्यत्तिकैमा रामको इसारामा लक्ष्मणले सुपर्णखाको नाककान काटिदिन्छन् ।

यस सन्दर्भमा भारतीय क्रान्तिकारी लेखक राकेश नाथले लेखेका छन्, 'यहाँ याद राख्नुपर्ने प्रसंग के छ भने (निहुँ खोज्ने काम) पहिले कसले गर्‌यो ? रामले कि रावणले ? पहिले रामले सुपर्णखाको नाककान काटिदिए । त्यसपछि रावणले सीताहरण गरे । पहिले रामले हात उठाए त्यसपछि रावणले ।' लक्ष्मण विवाहित भए पनि रामले 'ऊ एकल हो' भनेर सुपर्णखालाई ढाँटी अपमान गरेको उनको आरोप छ ।

सुपर्णखाले सीतालाई खान भनेर झम्टिएको प्रसंगप्रति पनि विमति जनाउँदै यी क्रान्तिकारी लेखकले लेखेका छन्, 'साँच्चिकै उनले सीतालाई खान खोजेकी थिइन् भने त्यसअघि रामायणमा उनले मानवभक्षण गरेको प्रसंग किन कतै छैन ? ' निष्कर्षमा उनले लेखेका छन्, 'रिसले चुर भएर सुपर्णखाले सीतालाई खाइदिने धम्की दिएकी थिइन् । खान खोजेकीचाहिँ थिइनन् । अहिले पनि मानिस रिसको झोंकमा एकअर्कालाई काँचै खाइदिने धम्की दिन्छन्, तर खाँदैनन् ।' (राकेश नाथ, राम और रामराज्य, पृ ८१)

०००

हरेक कलह र विनाशका निम्ति नारीलाई दोष लगाउने चलन सर्वत्र छ । आलेखलाई संक्षेप बनाउन यहाँ पश्चिमतिरका घटना÷मिथलाई लिइएको छैन । आफ्नै घरमा आगो झोस्ने लेन्डुपको अन्तरध्वंसी वृत्ति र भारतको प्रभुत्ववादी भूराजनीतिक महत्त्वाकांक्षालाई बेवास्ता गर्दै यहाँ होप कुक अथवा एलिसालाई दोषी देखाइन्छ ।

आफूले लिएको प्रतिज्ञा नतोड्ने भीष्मको पाङ्दुरे वचनबद्धता, युधिष्ठिरमा रहेको जुवाको डरलाग्दो लत, दुर्योधनको आह्रिस र सभाबीच कुलवधूलाई नंग्याउने कुकर्मप्रति आँखा चिम्लिएर द्रौपदीलाई महाभारतमा भएको विनाशको मूल कारणका रूपमा प्रस्तुत गरिन्छ । पुरुष पात्रको अभिमानमा सुनपानी छर्किएर सीता अथवा सुपर्णखालाई राम-रावण युद्धको कारक ठहर्‌याइन्छ ।

विश्वामित्रको तपस्या भंग हुनुमा उनमा निहित दमित यौन आकांक्षालाई अथवा इन्द्रको षड्यन्त्रलाई होइन, मेनकालाई दोषी देखाइन्छ । हजुरबुवा विचित्रविर्य र बाबु पाण्डुबाट विरासतका रूपमा पाएको पुङ्षत्वको...कमीका कारण अर्जुनले अज्ञातवासका क्रममा धारण गरेको स्वभावसुहाउँदो वृहनल्ला (तेस्रोलिंगी) भेषलाई चोख्याउन अप्सरा उर्वशीले उनलाई श्राप दिएको कथा बुनिन्छ । स्वर्गलोकमा पुगेका अर्जुनसँग उर्वशीले प्रणयका निम्ति आह्वान गर्दा अर्जुनले 'मेरा पिता इन्द्रले तिमीसँग समागम गरेकाले तिमी मेरी मातासरह हौ' भनेर पन्छिएका हुन्छन् । जब कि बाबु-छोरा दुवैले एउटै अप्सरालाई भोग गर्नु शास्त्रसम्मत छ भन्ने मान्यता त्यति बेला थियो । र, यसबारे अर्जुन बेखबर हुनु सम्भव थिएन ।

र, नारीलाई अवनतिको कारकका रूपमा चित्रण गर्ने क्रम अझै जारी छ । फलानो पूर्वकम्युनिस्ट असलै हो, उसकी भ्रष्ट श्रीमतीले त्यसलाई बिगारी । ढिस्कानो प्रजातन्त्रवादी सोझै हो, विदेशीकी सहयोगी श्रीमतीले त्यसलाई पथभ्रष्ट गरी । चिलानो नेता भव्य हो तर जिद्धि स्वभावकी छोरीले त्यसलाई पनि बिगारी ।

महिलालाई संविधानले समान हैसियतको मानेको छ । तर पनि यस्ता चर्चा अझैसम्म हाम्रा चियापसलदेखि छापासम्म चली नै रहेका छन् । महिला राजनीतिक रूपमा समान भए तर सांस्कृतिक जाँतोको पिसाइबाट उनीहरू अझै मुक्त हुन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.