सपनाको मलाम हिँडिरहेको मानिस

सपनाको मलाम हिँडिरहेको मानिस

तेस्रो दिन पनि होस नआएपछि स्वास्थ्यकर्मीले उनको मृत्यु भएको घोषणा गरे । बोकेर लैजाने महिला छापामार र स्वास्थ्यकर्मी मिलेर खाल्डो खने । साँघुरो खाल्डोमा उनलाई थचक्क राखियो र पुर्न सुरु गरियो । पेटसम्म पुर्दै गर्दा अचानक उनले बान्ता गरे । आँखा खोलेर हेरे । मधुरो आवाजमा सोधे- 'के गरेको ? ' पुर्दै गरेकाहरू एकाएक रोकिए । उनीहरूको सातो गयो । के गर्ने, के नगर्ने ? केहीबेर त सोच्नै सकेनन् । अन्ततः माटो खोतलेर उनलाई निकालियो । पुनः स्ट्रेचरमा राखेर उपचार गराउन हिँडाइयो ।

कुनै फिल्मको दृश्यजस्तो लाग्ने यो कथा सञ्जय कट्टेलको वास्तविकता हो । नेपालगन्जमा बस्ने कट्टेलको दायाँ खुट्टा नक्कली छ । यही खुट्टासँग जोडिएको छ त्यो मृत्युकथा । र, मृत्युकथासँग जोडिएको छ खारा युद्ध ।

२०६१ साल चैत २५ गते रुकुमको सदरमुकाम खारामा तत्कालीन माओवादी सेनाले आक्रमण गर्‌यो । वर्तमान ऊर्जामन्त्री जनार्दन शर्माको नेतृत्वमा भएको आक्रमणमा उनी पहिलो पंक्तिमै थिए । 'जनमुक्ति सेना' नाम दिइएको माओवादी सेनाको सेक्सन कमान्डर बनाइएका थिए उनी । उनकै नेतृत्वमा पहिलो पंक्तिको लडाइँ भइरहेको थियो । सरकारी सेनाले प्रहार गरेको मोर्टार लागेर उनको दायाँ खुट्टा क्षत्विक्षत भयो । स्ट्रेचरमा राखुन्जेल होस रहेको सम्झन्छन् उनी ।

माओवादी छापामारले नै बोकेर रोल्पा पुर्‌याएछन् तीन दिनमा । नेपालमा उपचार गराउने परिस्थिति नभएपछि सात दिन रोल्पामै राखेर दाङ पुर्‌याइएछ । यो लामो यात्रामा पीडाले उनी नछटपटाउ भनी इन्जेक्सन दिएर बेहोस बनाइँदोरहेछ । छापामार समूहकै स्वास्थ्यकर्मीले पीडाले अत्तालिएका उनलाई एकैपटक दुईवटा इन्जेक्सन लगाइदिएपछि तीन दिनसम्म बेहोस भएपछि नै मृत घोषणा गरिएको थियो ।

चिहानबाट आधा पुर्दापुर्दै निकालिएका उनलाई दिल्ली पुर्‌याइयो । मोहन वैद्य र सीपी गजुरेल पक्राउ परेकाले दिल्लीको वातावरण तनावपूर्ण थियो । त्यसैले पञ्जाबको अस्पतालमा उनको उपचार सुरु भयो । दायाँ खुट्टा काटेर ठुटो पारियो । घाउ भएन । फेरि ६ महिनापछि फेरी काट्नुपर्‌यो त्यही खुट्टा । झनै छोटो भयो उनको खुट्टा । त्यही खुट्टा बोकेर एक वर्ष पञ्जाब बसे । त्यहाँबाट दिल्ली गए । ठुटो खुट्टामा नक्कली खुट्टा जोडेर नेपाल फर्कंदै गर्दा उनीसँग केही थिएन । थियो त केवल - खुट्टाजस्तै भाँचिएको वर्तमान, अँध्यारो भविष्य र मनको भित्तामा केरमेर केरमेर कोरिएका विगतका धमिला दृश्यहरू ।

०००

२०५६ साल सञ्जयको जीवनमा आँधीहुरी लिएर आँएको थियो । त्यो आँधीको नाम थियो- माओवादी ।
छिमेकी जिल्ला कालीकोटमा उर्लिएको माओवादी आन्दोलन अचानक आइपुगेको थियो । दुईजना प्रहरीलाई कब्जामा लिएर आएका माओवादी छापामारहरू घरघरमा खाना माग्दै आइपुगेका थिए । विडम्बना ! एक गेडो पनि अन्न नभएकाले त्यही दिन भोकै थियो सञ्जयको परिवार । भोकै बसेको परिवारलाई माओवादीले गाउँभरिबाट उठाएको रोटी खुवाएर पेट भरिदियो ।

सायद यही घटना नै थियो उनलाई माओवादीतिर आकर्षित गर्ने । सिद्धान्त, मुक्ति, आन्दोलन, क्रान्ति आदि-आदि त उनले पछिमात्रै सुने जब माओवादीको विद्यार्थी संगठन र वाईसीएलमा संगठित भए । एमाले निकट मानिने शिक्षक रंगवीर शाहीले कक्षामा भन्ने गरेको 'माओवादी कम्युनिस्टको दह्रो हाँगो'ले पनि उनलाई उत्साहित गरेको थियो ।

माओवादी विद्रोहले तीव्रता पाउँदै गर्दा सञ्जयको मनमा पनि पार्टी प्रतिबद्धता बढ्दै गयो । मुक्तिको सपना, समानताको कामना र न्यायपूर्ण भविष्य निर्माणको जपनाले उनलाई राता किताबहरूमा लेखिनेजस्तै क्रान्तिकारी बनाइदियो । त्यसैले त उनले घर छोडी पूर्ण रूपमा माओवादी आन्दोलनमा समाहित भए ठ्याक्कै बिहे तोकिएको अघिल्लो रात । भोलिको आफ्नै बिहे भताभुंग पारेर, २०५८ सालमा ।

त्यसपछि सुरु भएको पार्टी जिन्दगी युद्धको भुँमरीमा बारुद बन्यो, गोली बन्यो, आक्रोश बन्यो, उद्वेग बन्यो । अन्ततः खारा युद्धमा पुगेर एउटा खुट्टाको बलिदानमा टुंगियो ।

०००

सञ्जयको जीवन त्यत्तिमै टुंगिएको भने थिएन । देख्नुपर्ने दृश्य धेरै थियो । भोग्नुपर्ने वर्तमान सिंगै थियो । दिल्लीबाट नेपाल पसेका उनी कैलालीमा शिक्षक बनी बसे । पार्टी सम्पर्कमै बसेर काम गरे । खुट्टा काटिए पनि सपना सिंगै थियो । त्यही सपनामा समाहित थिए उनी । सपनाले नै जीवित बनाएको थियो आखिर ।

दोस्रो जनआन्दोलनपछि २०६३ सालमा उनी घर पुगे, नेपालगञ्जबाट मार्तडीसम्म हवाईजहाजमा । त्यहाँबाट घोडा चढेर गाउँसम्म । मरिसकेको ठानेको मानिस फर्किआएपछि रोएकी थिइन् आमा अँगालो हालेरै । आँखाभरि आँसु भरेर मुस्काएका थिए बा पनि । घरपरिवारमात्र होइन सिंगै गाउँ रमाएको थियो । गाउँमा पार्टीले अभिनन्दन पनि गरेको थियो ।

ठुटो खुट्टामा नक्कली खुट्टा जोडेर नेपाल फर्कंदै गर्दा उनीसँग केही थिएन । थियो त केवल - खुट्टाजस्तै भाँचिएको वर्तमान, अँध्यारो भविष्य र मनको भित्तामा केरमेर केरमेर कोरिएका विगतका धमिला दृश्यहरू ।

आज त्यही अभिनन्दन पनि बोझ भएको छ । सपना देखाउने पार्टी सपनाकै बुई चढेर सरकारमा गएको छ । र, उनीजस्ता सपनाका सारथीहरू भुइँमै पछारिएका छन्- घायल, अशक्त र अपांग भएर ।

चलचित्रको रिलजस्तै घुम्छ जिन्दगी उनको स्मृतिपटमा । जनआन्दोलनपछि क्यान्टोमेन्टको जीवन । त्यहीबाट एसएसएलसी पास । पाँच लाखको चेक । शरीरमा युद्धको छाप । मनमा धोकाको धब्बा । र अनिश्चित जीवन ।

यही अनिश्चितताबीच बिहे गरे । आधा मागी, आधा प्रेमविवाह । छोरी पनि जन्मिइन् । श्रीमतीले एउटा निजी विद्यालयमा पढाउँछिन् । त्यसैले धानिएको छ जीवन । तर, बाँच्नुमात्र होइनरहेछ जिन्दगी । सपना लुटिएको मान्छे त पलपलमा मरिरहेको हुँदोरहेछ । आफ्नै सपनाको मलाम हिँडिरहको मानिससँग डिप्रेसनभन्दा अरू केही नहुँदोरहेछ । एक वर्षदेखि डिप्रेसनको औषधि खाइरहेछन् उनी ।

आस्था र निष्ठा बेचेर सत्ता चढ्ने धोकाधडीको खेललाई नै आन्दोलन भन्ने हो भने, त्यो आन्दोलनको सक्कली परिणाम हुन् - सञ्जय । जोसँग अब केवल छ बलिदान भएको दायाँ खुट्टा र आफैंले कोरेका निराश चार पंक्तिः

'बाँचेँ तर सधैं खाली भएर बाँचेँ
अर्कैको हातको थाली भएर बाँचेँ
न फुल्न नै सकेँ नफल्न नै सकेँ
तर म त फूल झरेको डाली भएर बाँचे ' ००००


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.