साउदीमा अलपत्र युवाले प्रधानमन्त्रीसँग भनेः मेनपावरले धेरै दुःख दिए
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन मेनपावर कम्पनीलाई निर्देशन दिएका छन् ।
वैदेशिक रोजगारीमा गएका युवा अलपत्र परेको खबर बारम्बार आउने गरेको भन्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा काम गर्ने कम्पनीप्रति सरकार थप संवेदनशील भएर लाग्ने बताए ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा अलपत्र परेका युवाको गुनासो सुनेपछि उहाँले आफ्ना नागरिकको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
भेटमा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै विदेशमा रहेका नेपालीप्रति संवेदनशील भएर काम गरिरहेको उल्लेख गर्दै सरकारले विदेशको जेलमा भएका, मृत्युदण्डको फैसला गरिएका, विदेशमा मृत्यु भएका र अलपत्र परेका नेपालीको उद्धार र राहतका लागि विशेष प्रयत्न गरिरहेको बताए ।
साउदीको रियादमा अलपत्र परेका पाँच युवाको प्रधानमन्त्री कार्यालयले उद्धार गरेपछि नेपाल फर्केका पाँचजना युवाले शनिबार प्रधानमन्त्री दाहालसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेका हुन् ।
श्रावण ३ गते त्रिभूवनबस्ती–८, कञ्चनपुरका ३० वर्षीय धनबहादुर मिजार, रामपुर–२, उदयपुरका ३७ वर्षीय राजकुमार विक, कोल्हुवा–२, नवलपरासीका ३३ वर्षीय धनबहादुर मगर, गोरखा नगरपालिका–९, गोरखाका ३८ वर्षीय यामबहादुर विक र बौद्ध, काठमाडौँका ३२ वर्षीय अनुप शेर्पालाई प्रधानमन्त्री कार्यालयको विशेष पहलमा मङ्सिर ३ गते नेपाल ल्याइएको थियो ।
प्रधानमन्त्री कार्यालयमा भेट गरी उद्धार गरिएका युवाले आफूलाई उद्धार गरिएको भन्दै नेपाल सरकार र प्रधानमन्त्रीलाई धन्यवाद दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उद्धार गरिएका मिजारले आफ्नो विदेशको दूःख सुनाउँदै प्रधानमन्त्रीसँग भने, ‘हामी गएको कम्पनी अवैधानिक रहेछ, दिनदिनै प्रहरीले छापा माथ्र्यो, त्यो बेला हामी कम्पनी छोडेर भाग्नुपथ्र्यो, खाना खाँदाखाँदै, सुतेको बेला पनि हामी कैयौँपटक भाग्यौँ ।’
‘प्रहरी आएपछि लुक्नुपर्ने र अरु बेला चोरीको ढुङ्गाको काम गर्नुपर्ने रहेछ’,आफ्नो पीडा सुनाउँदै मिजारले थपे । उनले मेनपावर र कम्पनीले कुनै वास्ता नगरी धेरै दुःख मात्र दिएनन् उल्टै धम्की दिन थालेपछि आफूहरुले प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेको बताए ।
उनीहरु जनही ९० हजारदेखि एक लाख २५ हजारसम्म खर्च गरेर महाराजगन्जको आयुष ओभरसिज सर्भिसबाट वैदेशिक रोजगारीका लागि साउदीको रियाद पुगेका थिए ।