केको लागि धर्म निरपेक्षता ?

केको लागि धर्म निरपेक्षता ?

धर्म र राजनीति पूर्णतः निरपेक्ष विषय हुन् भन्ने कम्युनिस्ट बुज्रुकहरूको धारणा पाइन्छ, त्यसैले उनीहरू खुलेर यस विषयमा टिप्पणी गर्न चाहँदैनन् । गरिएका टिप्पणी पनि पूर्णरूपेण एकांकी हुन्छन् । तर विश्व इतिहास हेर्ने हो भने यी दुई विषय कहिले एकअर्काका अडेस लाग्ने भित्ताका रूपमा सहयात्री भए त कहिले परस्परविपरीत विषय । युरोपमा पुनर्जागरणकालअघि यी दुई परस्परविरोधी विषय थिए ।

'चर्च भर्सेस सेकुलारिजम' का नामले चिनिने त्यो समयलाई दुवै शक्तिकेन्द्रले आफूअनुकूल व्याख्या गरे । पादरीहरूले आफूलाई परमेश्वरबाट शक्तिरूपी तरबार प्राप्त भएकाले आफू राज्यशक्तिको केन्द्र भएको दाबी गर्थे भने राजाहरूले कार्यकारी अधिकार आफूमा निहित भएकाले राज्यशक्तिको केन्द्र आफू भएको व्याख्या गर्थे । त्यो पौँठेजोरी पन्ध्रौं शताब्दीसम्म चल्यो । त्यसपश्चात् क्रमशः आधुनिक राज्यको अवधारणा विकास हुँदै गयो र राज्यहरू धर्मबाट निरपेक्ष हुन थाले । तर विडम्बना जुन धार्मिक समुदायको दबदबाका कारण युरोपका देशहरू धर्म निरपेक्ष भए, आज नेपाल जस्ता देशमा त्यही निरपेक्षता धर्मान्तरणको वैशाखी बनेको छ ।

सामान्यतया लाग्न सक्छ, धर्म र राजनीति फरक अवधारणा हुन् । तर यिनीहरूबीच गहिरो सामञ्जस्य छ । विश्वव्यापी रूपमा आधुनिक राज्य व्यवस्थालाई तीनवटा विषयले निर्देशित गर्ने गरेको छ- धर्म, नीति र बजार । परम्परागत शक्ति राजतन्त्रले धर्मलाई आफ्नो अस्तित्वको वैशाखी बनाउने गर्छन् भने जनअनुमोदनको हवला दिँदै राजनीतिक दलले नीतिलाई केन्द्रमा राखेका हुन्छन् र बहुर्राष्ट्रिय कम्पनी र अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूमार्फत बजारले विश्व र राज्य व्यवस्थालाई आफ्नो प्रभाव र पकडमा राखेको हुन्छ ।

नेपाल धर्म निरपेक्ष राज्य घोषित भइसकेपछि राज्य शक्तिका तीन शक्तिमध्ये राजतन्त्र विस्थापित बनेको छ भने बजार र नीतिले आआफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेका छन् । (भलै खुला अर्थनीतिले नीतिलाई पनि बजारको पोल्टामा धकेल्दै लगेको किन नहोस्) । त्यसैले यही सैद्धान्तिक अवधारणाका आधारमा अहिलेको धार्मिक सक्रियता र गतिविधि बुझिनुपर्छ ।

अहिले धार्मिक गतिविधिलाई किन पनि जबर्जस्त रूपमा उचालिँदै छ भने यसका अभियन्ताहरू यही संवेदनशील मुद्दामार्फत पेचिलो मार्गबाट गुज्रिरहेको राजनीति एवं संवैधानिक प्रक्रियालाई आफूअनुकूल दिशातर्फ फर्काउन र सम्भव भएसम्म राजतन्त्र पुनस्र्थापनाको आधारभूमि तयार पार्ने प्रचेष्ठामा गरिँदैछन् । विराट् हिन्दु सम्मेलनलगातका अनुष्ठानमा पूर्वराजाको उपस्थितिले त्यस्तै संकेत गर्छ । ८० प्रतिशतभन्दा बढी हिन्दु रहेको हवला दिँदै धार्मिक आस्थाको 'ब्लाकमेलिङ' रोक्न धर्म निरपेक्षताबारे बुझ्न र बुझाइन पनि उत्तिकै आवश्यक छ ।

अंग्रेजी शब्द 'रिलिजन' को खास अर्थ संघ वा साम्प्रदाय हो भने 'सेक्युलर' को भावानुवाद धर्म निरपेक्षता नभएर सांसारिकता अर्थात् कर्म क्षेत्र हो । व्यक्तिगत जीवन कुनै न कुनै रूपमा साम्प्रदायिक भए पनि सार्वजनिक संस्था र निकायमा साम्प्रदायिकताको संकेत हुन नहुने मान्यताले प्र श्रय पाउँदै आएकाले आधुनिक राज्यले आफूलाई धर्म निरपेक्ष बनाएका हुन् । सन् १६४८ को वेस्टफालियाको शान्ति अर्थात् 'पिस अफ वेस्टफालिया' सन्धिदेखि नै धर्म र सांसारिकताको अन्तर्सम्बन्ध खोजिन थालिएको हो । हुन त धर्म सार्वजनिक विवादभन्दा माथिको शब्द हुनुपर्ने हो, तर कतिपय सन्दर्भमा यसको सार्वजनिक चर्चा पनि वाञ्छनीय हुने रहेछ ।

साम्प्रदायिकताभन्दा माथि गहिराइमा पुग्दा सत्य जे हो, त्यो नै धर्म हो । सत्य धर्ममा सनातन, शैव र शाक्तदेखि बहाई एवं नास्तिकसम्मलाई पर्याप्त स्थान छ । किनकि सहिष्णुता र सांसारिकता 'टलरेन्स एन्ड सेक्युलारिजम' जुनसुकै देशको सार्वभौमिकता, नैसर्गिकता र लोकतन्त्रका आधार स्तम्भ हुन् । धर्म व्यक्तिगत आस्था र विश्वासको कुरा हो । एउटै परिवारका सदस्यले अलग-अलग धर्म मान्न सक्छन्, कुनै नमान्न पनि सक्छन् या परम्पराको निरन्तरताको लागि धर्मप्रति निरपेक्ष रहँदारहँदै आआफ्नो धार्मिक रीतिरिवाज र परम्परालाई निरन्तरता दिन पनि सक्छन् ।

यसै कुरालाई संयुक्त राष्ट्रसंघद्वारा पारित विश्वव्यापी मानवअधिकार घोषणापत्र सन् १९४८ को धारा १ मा भनिएको छ, 'सबै व्यक्ति जन्मजात स्वतन्त्र छन्, ती सबैको समान अधिकार र महत्त्व छ ।' त्यसैगरी धारा १८ मा स्पष्टरूपमा 'प्रत्येक व्यक्तिलाई विचार, मत र धार्मिक स्वतन्त्रताको अधिकार छ' भनिएको छ ।

 

हुन पनि धर्म आफैंमा भेदभाव गर्न बनाइएको हुँदैन । यसको मौलिक स्वरूप सधैं सत्य, सेवा र परमानन्दसँग नजिक छ । अनि धर्म निरपेक्षता भन्नाले सबै धर्मलाई अराजक रूपमा स्वतन्त्रता दिन वा कुनै एकलाई बढावा दिनु भनेको हैन । अनि पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्त्वका विषयवस्तु संरक्षण-संवद्र्धन नगर्नु र कानुनमा धर्मलाई पूर्णतः निषेध गर्नु पनि हैन । यसको सीमा केवल राज्यले कुनै धर्मविशेषप्रति अधिक महत्त्व दिएर अरूलाई दुत्कारिनु हुन्न भन्ने मात्रै हो ।

तर विडम्बना धर्म आफैँमा शान्ति, करुणा र सत्यको प्रतिमूर्ति हुँदाहुँदै धर्मका नाममा संसारमा थुप्रै बबन्डर मच्चाइएका छन् । पुर्नजागरणकालअघि युरोपमा धर्मका नाममा कयौं वैज्ञानिक, लेखक र दार्शनिकलाई देशनिकाला, आजीवन काराबास या मृत्युदण्डको सजाय दिइएको थियो । कतिपय मुस्लिम राष्ट्रमा धर्मका नाममा हिंसा र अत्याचार भएका छन् भन्ने उदाहरणको लागि तालिवानकालीन अफगानिस्तान हेरे पुग्छ, अनि त्यतिले नपुगे जर्मनीमा हिटलरको जातीय सफायाको रामकहानी पढे पुग्छ । हिन्दु धर्मलाई पनि अतिवादी व्याख्या गरेर भारतमा बाबरी मस्जितलगायतका क्षेत्रमा गराइएका बम काण्डको घटना धर्मको साम्प्रदायीकरणको अर्को निकृष्ट नमुना हो ।

शीतयुद्धपछि विश्वमा अहिले सबैभन्दा ठूलो द्वन्द्व धर्मकै नाममा भएको छ । तर यी सबै धर्मलाई गलत प्रचार गरेर, धर्मको नाममा राजनीति गरेर र मानवीय संवेदनालाई धर्मसँग जोडेर गरिएका अपव्याख्याका दुस्परिणाम हुन् । हैन भने धर्मकै नाममा मानिस कसरी आफैँलाई आत्मदाह गर्न तयार हुन्छ ? त्यसैले यहाँ धार्मिकताभन्दा पनि साम्प्रदायिकताले प्रश्रय पाउँदै आएको छ । यस्तै-यस्तै गलत प्रयोगका कारण डेढ शताब्दीभन्दा अघि धर्मलाई कार्ल माक्सले अफिमको नसा भनेका होलान् ।

मौलिकतामा पुगे धर्म नैतिकता र सामाजिक कानुनको मेरुदण्ड र स्वअनुशासनको माध्यम हो । विश्व इतिहासको अध्ययनबाट के प्रस्ट हुन्छ भने नेपाली हिन्दुहरू धार्मिक रूपमा अत्यन्तै शालीन, मर्यादित र 'वसुदैव कुटुम्बकम' को भावनाले ओतप्रोत छन् । उनीहरूको शालीनता र धैर्यको परीक्षणको अनुपम उदाहरण त एकाएक गरिएको धर्म निरपेक्षताको घोषणामा समेत कुनै प्रकारको विरोध नहुनु हो । तर राज्यलाई 'आधुनिक' र 'लोकतान्त्रिक' बनाउने आवरणमा धर्मान्तरण तथा पराया धर्मलाई प्र श्रय दिन यो अभीष्ट रचिएको रहेछ भन्ने शनैः शनैः छर्लंग हुँदै गएपछि धर्म निरपेक्षता लोकतन्त्रको आधार स्तम्भ होइन, क्रिश्चिनीकरणको वैशाखी हो भन्ने धेरैले बुझ्न थालेका छन् ।

म्याग्नाकार्टाका रूपमा व्याख्या गरिएको २०६३ साल जेठ ४ गतेको प्रतिनिधिसभा घोषणापत्रमा मस्यौदामा नभएको 'धर्म निरपेक्ष' शब्द हठात् आएको भन्नेहरू स्वयं राजनीतिक हर्ताकर्ता छन् । ठूलो शुभलाभसहित नेपाली समाजलाई धार्मिक, सांस्कृतिक रूपमा उद्वेलित पार्न तात्कालीन सभामुख, गृहमन्त्रीहरूमार्फत यो अस्त्र प्रयोग गरिएको पंक्तिकारको आरोप होइन, भोक्ता र साक्षीहरू बताइरहेका छन् ।

चीन र भारतबीचको भूराजनीतिक अवस्थिति, सामरिक संवेदनशीलता तथा नेपालमा बढ्दो पश्चिमी प्रभावसँग पनि यो मुद्दा गाँसिएर आउँछ । नेपाली भूमि प्रयोग गरेर स्वतन्त्र तिब्बतको पक्षमा भएगरेका गतिविधि हुन् या 'ब्रेकिङ इन्डिया' पुस्तकका स्रष्टा राजीव मल्होत्राले लेखे झैँ पश्चिमीकरण र क्रिश्चिनीकरणको लागि पश्चिमा 'एक्टिभिष्ट', 'मानवअधिकारवादी', 'आईएनजीओकर्मी' ले चलाएको सशक्तीकरणको आन्दोलन होस्, ती सबैको आवरण कहीँ नै कहीँ 'धर्म निरपेक्षता' शब्दको दुरुपयोगसँग सम्बन्धित छ ।

नेपाललाई 'आधुनिक' र 'लोकतान्त्रिक' राज्य बनाउन धर्म निरपेक्ष घोषणा गरिएको हो या त्यसको अन्तर्निहित अभीष्ट अर्कै छ भन्नेबारे पूर्वाग्रहरहित खोज, सोध र अनुसन्धानको अपरिहार्यता छ ।

मल्होत्राले पाँच वर्षको अध्ययन र अनुसन्धानको निष्कर्र्षस्वरूप तयार गरेको पुस्तकमा मानव अधिकारका नाममा अमेरिकी र युरोपियन चर्च, प्राज्ञिक जमात, थिंकट्यांक, फाउन्डेसन, सरकार र मानवअधिकारवादी समूह दलित र द्रविड बाहुल्य भएको क्षेत्रमा खुलेआम धर्म परिवर्तनलाई प्रोत्साहित गरिरहेका छन् र ती जनतामा राज्य र निश्चित समुदायप्रति आक्रोश र वितृष्णा बढाइरहेका छन् । भारतमा क्रिश्चियन बहुल राज्यहरू गोवा छोडेर नागाल्यान्ड, मिजोरम, मेघालय, केरला, तमिलनाडु, अरुणाञ्चल प्रदेश, मणिपुर, उडिसामा पृथकतावादी आन्दोलन चल्नु संयोग मात्रै नभएको उनको निष्कर्ष छ । नेपालमा त्यस्तो विषद् अध्ययन नभए पनि धर्मान्तरणको प्रभाव, प्रवृत्ति तथा परिणाम उस्तै-उस्तै देखिन्छ ।

भारतमा मात्रै नेपालको कुल जनसंख्याभन्दा बढी क्रिश्चियन धर्मावलम्बीको जनसंख्या छ । सन् २०१५ मा दुई करोड ७८ लाख क्रिश्चियन धर्मावलम्बीको जनसंख्या रहेकोमा यो क्रम वार्षिक रूपमा बढ्दो छ । ६० को दसकमा सांस्कृतिक क्रान्तिका नाममा धार्मिक, सांस्कृतिक वैभव गुम्बा, चैत्य, विहार नामेट पारेको चीन नवक्रिश्चियानिटीको लागि उर्वर भूमि बनेको छ । सन् २०१४ को तथ्यांकअनुसार चीनमा पाँच करोड क्रिश्चियन जनसंख्या रहेकोमा यो क्रम वार्षिक रूपमा पाँच लाखका दरले बढ्दो छ । सामरिक र आर्थिक रूपमा अमेरिकालाई टक्कर दिइरहेको चीनको लागि क्रिश्चियानिटीका नाममा भइरहेको पश्चिमा प्रभाव रोक्नु सर्वाधिक चुनौतीपूर्ण छ ।

धेरैलाई लाग्दो हो धार्मिक स्वतन्त्रको लागि जुनसुकै धर्म रोज्नु या बदल्नु स्वाभाविक हो । तर विश्वका केही नजिर हेर्दा डरलाग्दो परिदृश्य देखा पर्छ । इन्डोनेसियाको प्रान्त पूर्वीटिमोरमा सन् १९७५ सम्म २० प्रतिशत जनता मात्रै आफूलाई क्याथोलिन चर्चसँग आबद्ध बताउँथे । तर पोप जन पल द्वितीयले सन् १९८९ मा पूर्वीटिमोरको भ्रमण गरेपश्चात् त्यहाँ रातारात क्रिश्चियन धर्मावलम्बीको संख्या बढेर ९५ प्रतिशत पुग्यो । त्यही छेक पारेर भएको पृथकतावादी जनमत संग्रहले सन् २००२ मा पूर्वीटिमोर विधिवत् रूपमा इन्डोनेसियाबाट अलग्गियो ।

चाखलाग्दो विषय त के छ भने पोप द्वितीयाको मृत्युमा नवनिर्मित देश पूर्वीटिमोरले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको थियो । त्यस्तै उत्तर र दक्षिण सुडान छुट्नुलाई पनि धेरैले स्रोतको व्यवस्थापनमा उत्पन्न समस्याका रूपमा बुझे पनि दक्षिण सुडान भएको भूभागमा क्रिश्चियन बहुल जनसंख्या भएकाले नै सन् २०११ मा भएको जनमत संग्रहबाट सुडान टुक्रिएर उत्तर र दक्षिण सुडान बन्यो । अफ्रिका, पश्चिम एसिया र पूर्वीयुरोपमा त्यस्ता कयौं नजिर छन्, जहाँ नवक्रिश्चियानिटी नै पृथकतावादको कडी बनेको छ ।

नेपालमा पनि २०५८ सालको राष्ट्रिय जनगणनाको तुलनामा दस वर्षपश्चात् क्रिश्चियन धर्मावलम्बीको जनसंख्या दोब्बर भयो । अहिले नेपालमा आठ हजारको संख्यामा चर्च सञ्चालनमा छन्, जुन अधिकाशंतः नेपाल धर्म निरपेक्ष घोषणा भएपछि निर्माण गरिएका हुन् । त्यसैले नेपाललाई 'आधुनिक' र 'लोकतान्त्रिक' राज्य बनाउन धर्म निरपेक्ष घोषणा गरिएको हो या त्यसको अन्तर्निहित अभीष्ट अर्कै छ भन्नेबारे पूर्वाग्रहरहित खोज, सोध र अनुसन्धानको अपरिहार्यता छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.