नेपालमा राष्ट्रवाद

नेपालमा राष्ट्रवाद

नेपालमा अहिले राष्ट्रवाद हल्लाखल्लाको विषय हुनुका साथै विकाउ मालका रूपमा प्रयोग भइरहेछ । हाम्रो लागि राष्ट्रवाद भारतविरोधी विषय भइरहेछ र यसले एकातिर हाम्रा आफ्नै बदमासी र कमजोरी छोप्ने काम गरिरहेछ भने अर्कोतिर नेपाल-भारत सम्बन्धलाई विकृत दिशातिर धकेलिरहेको छ । किन नेपालमा यो विषय भारतसँग नै गासिएर आउने गर्छ त ?

यसको लागि हामीले नेपाल र भारतको अवस्थिति र सम्बन्धको इतिहास विश्लेषण गरेर स्पष्ट हुनु जरुरी छ । नेपाल भौगोलिक रूपमा भूपरिवेष्ठित भने पनि यथार्थमा भारतवेष्टित देशको रूपमा रह्यो । यसको चीनसँग सम्पर्कलाई विकट हिमाली भूभागले कठिन बनाइदियो भने समुद्रसँग भूगोल नजोडिनुले भारतमार्फत मात्रै तेस्रो देशसँग सम्पर्क सम्बन्ध सम्भव हुन गयो । यो हाम्रो भारतसँग गाँसिनैपर्ने भौगोलिक बाध्यता रह्यो ।

नेपाल राजनीतिक रूपमा झनै भारत उन्मुख देखिन पुगेको इतिहास साक्षी छ । राणाहरूको १०३ वर्षको स्थिर शासनको आडभरोसा ब्रिटिस भारतले उपलब्ध गरायो । ब्रिटिसले भारत छोडेपछि राणाशासनलाई नेपालमा टिक्न गाह्रो भयो र भारतीय शासकहरूको साथ सहयोग लिन राणाभन्दा राजा त्रिभुवन र कांग्रेसहरू नै अगाडि रहे । यद्यपि राणाहरूले सत्ता टिकाउन भारतको मस्यौदाको १९५० को विवादित सन्धिमा ल्याप्चे ठोकेका थिए । २००७ को परिवर्तनको एजेन्डाको मस्यौदा नै दिल्लीमा भयो र त्यसैअनुरूप नेपालमा प्रजातन्त्र आयो ।

यो व्यवस्था १० वर्ष पनि टिकेन र राजा महेन्द्रले २०१७ मा नेपाली कांग्रेसका निर्वाचित प्रधानमन्त्रीलाई थुनेर प्रजातन्त्र नै समाप्त गरिदिए । यो परिवर्तनमा पनि राजाले भारतसँग एक प्रकारले समझदारी गरेको देखिन्छ । ३० वर्षसम्मको निर्दलीय पञ्चायती व्यवस्थाको अपेक्षाकृत 'स्थिर शासन' र त्यसविरुद्धका कांग्रेसका सशस्त्र गतिविधि दुवैतिर भारतीय आड र भूमिका प्रमुख नै रह्यो । २०३६ सालमा भएको जनमत संग्रहमा नेपालका प्रजातान्त्रिक शक्तिलाई भन्दा राजालाई नै भारतले सहयोग गरेको देखिन्छ । त्यसरी भारतका विश्वास पात्र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर राजाले निर्दल जिताए ।

२०४६ मा पञ्चायतविरोधी कांग्रेस र वामपन्थीको आन्दोलनको समर्थन भारत र त्यहाँका पार्टीहरू खुलेआम उत्रे । भारतले नाकाबन्दी नै गरेर राजालाई दबाब दिने काम गर्‌यो । नेपालमा संसदीय प्रणालीविरुद्ध हतियार उठाएको माओवादी नेताहरू दसबर्से 'कथित जनयुद्ध' को अवधिमध्येको आठ वर्षभन्दा बढी भारतीय राजधानी र सहरहरूमा सुरक्षित रहे र भारतले नै राजा र संसद्वादी पार्टीहरू कांग्रेस, एमालेलाई मिलाएर दिल्लीमा बाह्रबुँदे सम्झौता गरायो । त्यसकै जगमा भएको ०६२/६३ को आन्दोलनले लोकतन्त्र हुँदै गणतन्त्र ल्यायो ।

त्यो गणतन्त्रमा पछि मधेस आन्दोलनमार्फत संघीयता थप्ने काममा भारतको भूमिका रह्यो । पहिचानको नाममा नेपालको विखण्डन र नेपालको अस्तित्वको समाप्तिउन्मुख गतिविधि नै अहिलेको नेपाली राजनीतिको केन्द्रीय विषय बन्न पुगेको छ । यसरी राणा प्रधानमन्त्री मोहनशमशेर फाल्ने, कांग्रेस नेता बीपी थुन्ने, राजा ज्ञानेन्द्र फाल्ने, माओवादी विद्रोह निष्क्रिय पारी माओवादीलाई सत्तामा पुर्‌याउने, बहुदल कालभरि पालैपालो कांग्रेस-एमालेलाई सहयोग पुर्‌याई सत्तामा पुर्‌याउने तथा मधेसको स्वायतता र जनजातिको पहिचानको मुद्दा नेपाली राजनीतिको केन्द्रीय विषय बनाउनेबारेमा भारतको नै निर्णायक भूमिका देखिएको छ ।

नेपाली राजनीतिमा यसरी भारत हाबी हुनुमा हाम्रो देशका राजा र नेताहरूको बेला-बेलाको भूमिका कति जिम्मेवार छ । आज देशको अस्तित्व नै समाप्त हुने गरी राजनीतिलाई धरापमा पुर्‌याउन हाल नेपाली राजनीतिका निर्णायक शक्तिहरू कम्युनिस्ट र कांग्रेसहरूको भूमिका कस्तो रहेको छ ? यसको विश्लेषणले नै नेपाली राष्ट्रवादको संकटको सही समाधानतिर पुर्‌याउनेछ ।

 

आज नेपाल आर्थिक रूपमा परनिर्भर र भारतमुखी रहन पुगेको छ । जलस्रोतको धनी देश ऊर्जामा भारत आयातित बिजुली र पेट्रोलियम पदार्थमा निर्भर रहनुपरेको छ । कृषि प्रधान देश नेपालले भारतीय आयातित खाद्यान्नमा क्रमशः निर्भर रहनुपरेको छ । रेमिटेन्सबाट प्राप्त रकम पूरै भारतसँगको व्यापार घाटाको क्षतिपूर्ति टाल्नमा नै ठीक रहेको तस्बिरले नेपाली बजार भारतीय सामानले गुल्जार भइरहेको देखिन्छ ।

हाम्रो मुद्राको विनिमय दर भारतीय मुद्राको विनिमय दरले निर्धारण गर्छ । भारतीय विवेकमा प्राप्त पारवहन सुविधाले व्यापार विविधीकरणलाई अवरोध नै पुर्‌याएको छ । बैंकिङ र वित्तीय प्रणालीमा भारतीय मूलका मारवाडीहरूको प्रभुत्व रह्यो । राज्यका आर्थिक नीति र आर्थिक निकायहरूको संरचनामा नै भारतीय पकड देखिने गरी कसिँदै गएको छ । २०४८ मै नेपाली कांग्रेस सरकारले अपनाएको उदारीकरणको नीतिले राज्यमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका आधार ध्वस्त बनाउँदै नेपाली अर्थतन्त्रमा भारतीय कब्जालाई अझ सुगम बनाएको छ ।

थप कुरामा भारतसँगको खुला सिमानाको कारण चाहेर पनि स्वतन्त्र आर्थिक नीति र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई दुरुह नै बनाएको छ । देशको यस्तो अवनति र दुरुह एवं परनिर्भर आर्थिक अवस्थाका निम्ति राजाहरू, कांग्रेस र कम्युनिटस्हरूको भूमिकाको मूल्यांकन नगरी एकतर्फी रूपमा विदेशीतर्फ मात्रै औँल्याएर समस्याको जगमा पुग्न सकिएला ? भारतसँगको खुला सिमाना नियन्त्रित गर्ने मौका राजा महेन्द्रको शासनकाल थियो । तर उनले आर्थिक स्वार्थहेतु सचेत रूपमा नेपाल-भारत सिमाना खुला राख्न पुगे । यसले नेपाली अर्थव्यवस्था कमजोर बनाउन सघाउ पुग्यो । जसले गर्दा नेपालको औद्योगीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधारमा नै बञ्चरो प्रहार भयो । राजा महेन्द्रको शासनपछिका कालमा भारतसँगको सीमा नियन्त्रणका कुरा असम्भव प्राय नै रहेको छ ।

भारतीय निर्देशनमा सरकार बनाउने, गिराउने, संविधान संशोधन गर्ने, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्ने, नेपालको पूर्वाधार विकास (रेल, सडक निर्माण) र ऊर्जा विकासमा चिनियाँ सहयोग लिन हिच्किचाउने दलाली चरित्रका कांगे्रस-कम्युनिस्टका नेताहरू नै नेपालको दुर्गतिको निम्ति जिम्मेवार छन् ।

नेपाली जलस्रोतको उपयोग नेपाली हित अनुकूल गर्ने कुराभन्दा पनि भारतीय स्वार्थलाई नै पूठ दिने हिसाबले दुरुपयोग गर्ने काममा कांग्रेस र कम्युनिस्ट नेताहरूको सत्ता स्वार्थ नै बढी जिम्मेवार छन् । भारत नेपालको पानीलाई आफ्नो पकडमा राख्न चाहन्छ भने नेपाली नेताहरू सत्ता स्वार्थ र कमिसनको चक्रव्युहमा फसिरहेछन् । विवादास्पद कोसी-गण्डकी सम्झौता गरेर कांग्रेस नेताहरूले आफ्नो भारतपरस्त अनुहार उदांगो बनाएका थिए नै । यसको विरोध गर्दै आएका कम्युनिस्ट एमाले नेताहरूले महाकाली सन्धि गर्ने काम तथा भारतीय स्वार्थमा अरुण तेस्रो योजना असफल बनाउने काम गर्न पुगे ।

यसको पछिल्लो लाइनमा माओवादीहरू राष्ट्र हितविपरीत माथिल्लो कर्णाली र अरुण योजना भारतलाई सुम्पिन पुगेका छन् । नेपालको अर्थतन्त्रलाई पराधीनतामा राख्ने प्रमुख कारणमा दुई सय वर्षदेखि (१८१६ को सुगौली सन्धिदेखि) नेपाली अर्थतन्त्रको संरचना भारतीय प्रभुत्वमा रहनुको बाध्यता रहेको छ भने २०४६ पछि राजनीतिक खुलापनतर्फ लम्कने सम्भावना रहेको अर्थतन्त्रलाई २०४८ को कांग्रेसी सरकारद्वारा भित्र्याइएको अनियन्त्रित उदारवादले यसको आत्मनिर्भर अर्थतन्त्रको आधारमै प्रहार गर्न पुग्यो ।

कांग्रेसको नीतिहीनता र कम्युनिस्टको नेपालसापेक्ष नीति नहुनाले अर्थव्यवस्था धराशायी हुन पुग्यो । यी दुई पार्टीको रबैयामा राष्ट्रप्रतिको जिम्मेवारी बोधभन्दा पनि सत्तालोलुपता नै बढी देखिन पुग्यो । आर्थिक राष्ट्रवादको जगमा मात्रै राजनीतिक राष्ट्रवाद मजबुत हुन्छ । भारतीय प्रभुत्वको आर्थिक संरचनालाई नबदली नेपाली अर्थतन्त्रको उत्थान हुन सक्दैन । यसको लागि नेपाली पूर्वाधार विकास गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउन त्रिदेशीय साझेदारी (नेपाल-भारत-चीन) लाई प्रोत्साहित गर्नु, नेपालमा सञ्चालित हुने चिनियाँ परियोजनाहरू ओबरको फ्रेमभित्र रहेर सञ्चालन गरिनुपर्छ ।

अनि उदारवादको प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशालाई अवरोध नपुर्‌याउने किसिमले छनोट गरिनुपर्छ । र तेस्रो काममा नेपाली अर्थतन्त्रका गतिशीलका रूपमा रहेका क्षेत्र कृषि, जलस्रोत, पर्यटन, जनशक्ति, जंगल-जडीबुटीको उपयोग राष्ट्रवादी दृष्टिकोणले गरिनुपर्छ । यसको अभिप्राय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नै हो ।

भारतीय निर्देशनमा सरकार बनाउने, गिराउने, संविधान संशोधन गर्ने, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकी भारतीय राष्ट्रपति डाक्ने, नेपालको पूर्वाधार विकास (रेल, सडक निर्माण) र ऊर्जा विकासमा चिनियाँ सहयोग लिन हिच्किचाउने खालका दब्बु र दलाली चरित्रका कांगे्रस-कम्युनिस्टका नेताहरू नै नेपालको दुर्गतिको निम्ति जिम्मेवार छन् । अरूलाई गाली गर्नुभन्दा पहिला आफ्नो थैलोको मुख बन्द गर्नु नै बुद्धिमानी हुनेछ ।

चीनसँगको सम्बन्ध विस्तार गर्नु भारतविरोधी हर्कत हैन भनेर दृढतापूर्वक भारतीयलाई आश्वस्त बनाउने प्रयास गर्नुपर्नेमा भारतीय आडमा सत्ताको खेल खेल्न रमाउने मानसिकताको निरन्तरतामा यिनको कुनै परिवतर्न आएन । त्यसरी नै सत्तामा रहेकालाई नंग्याउने हेतुले मात्रै सत्ता बाहिर रहने कम्युनिस्टले राष्ट्रवादको नाराको दुरुपयोग गर्नाले राष्ट्रले विदेशी हस्तक्षेपको दुष्चक्रमा अरू फस्दै गएको छ । कांग्रेसी नेताहरूको विदेशीपरस्त दासयुक्त मनस्थिति रहुन्जेल र नेपाली कम्युनिस्ट नेताहरूको राष्ट्रवादलाई सत्ता प्राप्त गर्न स्टन्टको विषय बनुन्जेल नेपालले पराधीन राजनीति र परनिर्भर अर्थतन्त्रबाट कहिल्यै उन्मुक्ति पाउने छैन ।

-चौलागाईं संयुक्त राष्ट्रवादी समाजवादी पार्टी नेपालका अध्यक्ष हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.