ट्याबमा भेटिएको झोला

ट्याबमा भेटिएको झोला

'ओ माई गड, लौ बर्बाद भयो, झोला बसमै छुटेछ'
अनायास निस्केको मेरो बोलीले सबैलाई चनाखो बनायो । आफ्ना चिम्सा आँखा चम्किला पार्दै हजुरआमाले मतिर हेर्नुभयो । हामी भर्खर बसबाट झरेका थियौं । म बेतोडले उतै दगुरेँ, त्यो बस हामीलाई ओरालेर जता लागेको थियो । म भएभरको शक्ति निकालेर हदै छिटो दगुरेको थिएँ । तर अहँ मैले त्यसलाई फेला पार्न सकिनँ । कालो धुवाँको मुस्लो फाल्दै त्यो धुलिखेलतिर हुइँकियो । त्यसलाई धारेहात लाउँदै रित्तो फर्कनुको विकल्प रहेन मसँग ।

म यसै पनि पढाइमा कमजोर थिएँ । झन् सारा किताबको झोला गुमेपछि के होला अब ? मनमा आफैंमाथि अनेक प्रश्नका गुजुल्टा सल्बलाउन थाले । ममी, बाबासँग के भन्नु अब ? अनि नजिकिँदो परीक्षा कसरी दिनु अब ? आफैंलाई हो नि समस्या त । म कल्पनै नगरेको घटनामा रुमल्लिन पुगेँ ।

घर फर्कन पनि डर लाग्यो । आलटाल गरी अलि समय बिताएँ । अनि ढिलोगरी पानीमा भिजेको बिरालोको चालमा लुसुक्क घरभित्र छिरेँ । परिवारका सबैजना मेरै बारेमा कुरा गर्दै थिए । 'दादालाई केही पनि नगर्नु है, उनले जानाजान छाडेका हुन् र ? ', बहिनी भन्दै थिइन् ।

म असजिलो मानेर उभिइरहेँ । धन्य सानातिना कुरामा पनि मलाई ठूलै गाली गर्ने ममी, बाबाले यसपल्ट मलाई सहानुभुति दर्शाइरहनुभएको थियो । करुणाले भरिएका आँखाले उहाँहरू घरी मलाई हेर्नुहुन्थ्यो, घरी कताकता फोनमा कुरा गर्नुहुन्थ्यो ।

म आइनपुग्दै बाबाले पुलिसलाई फोन गरेर घटना बताइसक्नु भएको रहेछ । बाबा पत्रकार भएकाले पुलिसले पनि चिन्नुभएको रहेछ । पुलिसले खोजबिन गरेर खबर गर्ने भन्नुभएको रहेछ । तुरुन्तै साथीलाई फोन गरेर बाबाले बस व्यवसायी समितिको अफिसमा पनि बुझ्न लगाउनुभएछ । यो सुनेर झोला भेटिने ठूलो आशाले फेरि छाती ढक्क भयो । कुनबेला प्रहरी या बस समितिबाट झोला भेटिएको खबर आउला भनेर म व्यग्र पर्खाइमा थिएँ । सम्भाव्य खबरका लागि मेरो मुटुको चाल पनि तीव्र भइरहेको थियो ।

साँझ छिप्पिँदै रातमा बदलियो । तर हाम्रोमा सकारात्मक खबर आउन सकेन । पुलिस र बस समिति दुवैले झोला फेला नपरेको जानकारी दिए ।

'झोला नयाँ थियो । छुच्चो खलाँसीले किताब कापी फालेर लुकायो होला नि', ममीले आक्रोश र उदासी पोखेको सुनियो, 'बरु किताब र कापीमात्र दिए पनि हुन्थ्यो नि । जाँच आउन महिना दिन पनि छैन । के गर्ने लौ अब ? '

र्‌याकमा राखेको झोला नझिकी झरेकामा मलाई घोर गल्ती महसुस भइरहेको थियो । यसले गर्दा घरमा पनि म खुलेर बोल्न सक्दिनथेँ । स्कुल जान पनि निकै सकस लाग्थ्यो । होमवर्क र कक्षाको पढाइमा पनि मलाई समस्या परिरहेको थियो । एक दुई दिनमा स्कुलमा पनि यो घटना थाहा भयो । अनि मेरा कक्षा शिक्षकले अभिभावकलाई ल्याउन भने । मैले अप्ठ्यारो मानी मानी बाबालाई अनुरोध गरेँ । 'तैंले पनि साह्रै हैरान पारिस् बाबु', बाबा पनि दिक्क मान्दै मेरा कक्षा शिक्षकलाई भेट्न जानुभो ।

 

बाबाले सबै घटना बताएपछि कक्षा शिक्षकले स्कुलमा खोजखाज गरी केही किताब मिलाई दिनुभयो । तर त्यसमा साइन्स, म्याथ, इङ्लिसजस्ता मुख्य विषयका किताब थिएनन् । 'बरु अरू नभए पनि यी किताब हुनुपर्ने, अरू त किताब नभए पनि म ठोकिहाल्थेँ नि ।', म मनमनै भनिरहेको थिएँ । ती मुख्य किताबका लागि बाबाले बागबजार र पुतलीसडकका धेरै किताब पसल धाउँदा पनि फेला परेनछन् । अब परेन बित्याँस ? जाँच आउन २० दिन पनि बाँकी थिएन ।

मेरो होस्ल्याङ बानीका कारण जाँच अगाडि आइपरेको यो समस्या एक कान, दुई कान मैदान भइसकेको थियो । छिमेकी र इष्टमित्रकोमा पनि यो खबरले सनसनी फैलाएको थियो । 'नौ कक्षामा पुगिसकेर पनि कस्तो बुद्धि नआएको भन्या, अब त परिपक्व भयो भन्यो, जहिले केही न केही टेन्सन निकालिहाल्छ', अधिकांशको ममाथिको टिप्पणी यस्तै हुने गथ्र्यो ।

यसैबीच जाँचको अघिल्लो सातामा मेरो जन्मदिन आयो । यसमा मलाई कुनै केही उत्साह थिएन । मेरो खुसी र उत्साह त्यो बसले फालेको धुवाँको मुस्लोसँगै उडिसकेको थियो । म अघिल्लो वर्षका जन्मदिनहरू खुब मिस गरिरहेको थिएँ । बाबा, आमाले यसपालि मेरो जन्मदिन नसम्झिए दिए पनि हुन्थ्यो भन्ने मलाई लागिरहेको थियो ।

संयोगले यसपल्ट मेरो जन्मदिन पनि शनिबार परेछ । मैले सबेरै उठेर नुहाइधुवाइ गरी आफूलाई ताजा बनाउने कोसिस गरेँ । मन नै ताजा नभएपछि जति नुहाए पनि ताजा लाग्दोरहेनछ । मेरो जन्मदिन एक उदास शनिबारका रूपमा बित्ने भयो भनेर म त्रसित थिएँ ।

बिहानीको न्यानो घाम चम्किलो बन्दै थियो । त्यसैबेला दुई हँसिला अनुहार मेरो घरको ढोकामा देखा परे । ती दुई अनुहार मेरा मामा र माइजूको थियो । मैले हडबडाउँदै मामा, माइजूलाई अभिवादन गरेँ ।

'के छ भाञ्जा ? किताब हरायौ होइन, ल यसमा के के छ हेर त ? तिमीलाई जन्मदिनको उपहार', म झिमिक्क गर्दा आफ्नो कोठामा पुगिहालेँ । बट्टा खोलेर हेरेँ नयाँ आइट्याब । वाह ! अनायास म चिच्च्याएँ । हतपत गरी ट्याब खोलेँ । ट्याबमा थरी थरीका गेम थिए । म नयाँ नयाँ गेमहरूमा रमाएँ ।

ओहो अझ ठूलो कुरा त ट्याबमा मेरो साइन्स, म्याथ र इङ्लिसका श्रव्य दृश्य अभ्यासहरू थिए । म साइन्समा छिरेँ । मायालु गुरुआमाले अभ्यास गराएको श्रव्यदृश्य मैले आँखा झिमिक्क नगरी हेरिरहेँ । आमाले खान पस्किसक्नु भएछ । मामा नै कोठामा बोलाउन आएपछि पो म झसंग भएँ । म ट्याबमा झोला भेटिएको खुसीले पुलकित थिएँ । मामाप्रतिको कृतज्ञताले भरिएको थिएँ । मलाई हेरेर मुस्कुराइरहेका मामाले मेरो कृतज्ञता पक्कै स्वीकारिरहेको हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.