चंगावालाको सय दिन

 चंगावालाको सय दिन

म सरासर उनको घरको छतमा गएँ । छतमा पुग्दा देखें, उनी चंगा उडाउन व्यस्त थिए । उनी यति निमग्नपूर्वक चंगा उडाउँदै थिए कि संसारका यावत कुरासँग उनी टाढा छन् । सम्भवतः संसारमा चंगाबाहेक दोस्रो कुरा नै छैन जस्तो लाग्थ्यो । उनको चंगा उडाइप्रतिको मोह देख्दा यस्तै आभास हुन्थ्यो । खासमा, म उनको सय दिनको प्रगति उधिन्न गएको थिएँ ।

bibas_3मैंले सोधेँ पनि, ‘महोदय, तपाईंले सय दिनमा के के उल्लेख्य कामहरू गर्नुभयो ? मलाई बुँदागत रूपमा भनिदिनुस् न । जनताले पनि जान्न चाहेका छन् ।’
‘अँ, मैंले तपाईंको कुरा राम्ररी बुझेँ ।’ चंगा उडाउन व्यस्त उनले भने, ‘मैंले राम्ररी चंगा उडाउन सिकेँ ।’ मैंले चकित हुँदै सोधेँ, ‘अहो ! राम्रो प्रगति गर्नु भएछ, बधाइ छ तपाईंलाई ।

सय दिनको अवधिमा तपाईंले चंगा उडाउने क्रममा के के सिक्नुभयो त ?’दुवै हातले चंगाको लट्टाईलाई यता र उता घुमाउँदै उनले भने, ‘के सिकिनँ भन्नुस् न । धेरै कुरा सिकेँ मैंले । जता हावा बहन्छ, चंगालाई त्यतैतिर उडाउनुपर्छ भन्ने महत्वपूर्ण कुरा सिकें मैंले । जिन्दगीमा यो जति सिक्नुपर्ने कुरा के छ र ?’‘हो, धेरै सिक्नु भएछ तपाईंले त ।

म पनि खुसी भएँ । तर, कुन दिशाबाट बहेको हावाले चंगालाई उडाउन मद्दत पुर्‌याउँदो रहेछ, महोदय ?’ मैंले विनम्रतापूर्वक सोधे“ । ‘अरे, यो पनि सोध्ने प्रश्न हो र ?’ चंगा उडाउन व्यस्त उनले भने, ‘सबभन्दा उत्तम हावा नै दक्षिणबाट बहने हावा हो । जब दक्षिणको हावा बहन थाल्छ, म आफ्नो चंगा लिएर छतमा निस्किन्छु र निर्विध्नपूर्वक उडाउन थाल्छु ।

अहो ! दक्षिणको हावाले त मेरो चंगालाई यतिमाथि पुर्‌याउँछ, म त्यसै त्यसै उन्मत्त हुन्छु ।’‘अनि, उत्तरतिरको हावामा चाहिँ उडाउन सकिँदैन ?’ मैंले खुल्दुली पोखेँ । चंगाप्रेमी महोदय गम्भीर बने । गम्भीरताकै बीच मतिर मीठो मुस्कान फ्याँक्दै भने, ‘उत्तरतिरको हावा पनि त्यति कामै नलाग्ने त होइन । तर, यो हावाको पनि आ–आफ्नै टाइम हुँदो रहेछ क्या, कहिले दक्षिणतिरको हावालाई हामीले साथ लिनुपर्छ भने कहिले उत्तरतिरको हावा पनि हामीलाई सहायक बन्दोरहेछ ।’

‘अँ, त्यसोभए तपाईंले सय दिन चंगा उडाएर नै बिताउनुभयो, हैन त ?’ मैंले सोधे“ ।‘हो, म यस्तो बेलामा यो ठाउँमा आएँ कि यो चंगा उडाउने उपयुक्त मौसम हो । यो मौसममा सबै बच्चाहरू कामकाज नै छाडेर चंगा उडाउ“छन् । मैंले पनि चंगा उडाएर आफ्नो बहुमूल्य सय दिनलाई गुजारेँ,’ उनले खुसी हुँदै भने ।

आफूले उडाइरहेको चंगालाई विस्तारै तल ओराल्दै उनले भने, ‘चंगा उडाउनु धेरै कठिन काम हो, मित्र । हावाको दिशा बुझेर मात्र उडाउनुपर्छ । कहिले दक्षिणबाट बहने हावाले त कहिले उत्तरबाट बहने हावाले साथ दिनुपर्छ । हाम्रा चंगावालाहरू पनि यिनै दुई दिशाबाट बहने हावाको गति र चाप बुझेर नै चंगा उडाउन चाहन्छन् ।’

मैंले सोधे“, ‘अरू दिशाबाट बहने हावाको गति अनुरूप चंगा उडाउन सकिँदैन ?’उनले विनम्रतापूर्वक भने, ‘सकिँदैन । हामी चंगावालाहरूका लागि दक्षिण र उत्तरतिरको हावाको गति नै मुख्य कुरा हो । अझ, यी दुई दिशाबाट बहने हावाको गति बुझेर चंगा नउडाउने हो भने कुन बेला चेट हुन सक्छ, केही भन्न सकिँदैन । थाहा छैन, कुन दिन मेरो चंगालाई पनि कसले चेट गरिदिन्छ । भगवान् भरोसा ।’ ती महोदयले चंगा हातमा लिइसकेका थिए । आकाशमा भने अरू रंगीबिरंगी चंगाहरू उडिरहेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.