नखोसौं आमाको काख

नखोसौं आमाको काख

वैदेशिक रोजगारको क्रममा दुबई रहेकी सरिता नेपाली (नाम परिवर्तन) ले दुईवर्ष अघि नेपाल आएर विवाह गरिन् र पतिलाई यतै छोडेर फर्किन् । तर, विवाह लगत्तै पतिबाट अलग्गिएर बस्नुपर्ने बाध्यतालाई उनको मनले जित्यो र जसोतसो गरि एकवर्ष बीचमै पतिलाई पनि लगिन् । नेपालमै गतिलो बाख्रापालन गरेर बसेका ती युवक पत्नीसँगै दुबई हान्निए ।

rameshwori 

युवती गर्भवती भइन् । त्यसपछि बच्चा जन्माउनकै लागि हालै ती युवती नेपाल फर्किन् । नवजात शिशु(छोरी)लाई एकमहिना नपुग्दै सासूको पोल्टामा हालेर दुबई फर्किइन् ।एक वर्षकी छोरीलाई सासूको काखमा छोडेर रोजगारका लागि पतिसँगै जापान जान लागेकी एकजना आफन्त युवतीलाई बिदा गर्न एयरपोर्ट पुग्दा उनीजस्ता कमाउन जापान जाने युवतीहरू अरू पनि भेटिए ।

उनीसँगै उड्न लागेकी एकजना अलिक उमेर ढल्केकी महिलालाई देखेर मनमा खसखस लाग्यो र सोधिहालेँ–‘तपाईँ पनि रोजगारीकै लागि जानलाग्नुभएको हो ?’ तर उनी सुत्केरी हुदै गरेकी छोरी स्याहार्न जान लागेकी रहिछन् । तीन महिना सुत्केरी छोरी स्याहारेर र पछि शिशुलाई आफैले हुर्काउने घरसल्लाह भएको सम्म उनले भन्न भ्याइन ।

यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । अहिलेको नेपाली समाजमा यस्ता पारिवारिक र सामाजिक समस्या बग्ग्रेल्ती देखिन्छन् । वैदेसिक रोजगार धेरैको बाध्यता बनेसँगै यसले जन्माएका अनेकौं समस्यामध्ये बालबालिकाको लालनपालन, स्वास्थ्य, हुर्र्काइ, पढाइ र उनीहरूको मनस्थितिमा देखिने समस्या पनि हो । तर यसलाई परिवार, समाज र राज्य कसैले पनि गम्भीर रूपले लिएको पाइँदैन ।

अचेल अधिकांश युवायुवतीको रोजाई र रोजगारको लक्ष्य विदेस बनेको छ । पढेर आफ्नै देशमा केही गरौं भन्ने भावना भन्दा पनि जसरी हुन्छ विदेस जानपाए कमाउन सकिन्छ भन्ने मानसिकताले डेरा गरेको हुन्छ । अभिभावक पनि यो मानसिकताले ग्रस्त बन्दै ऋण काढेर वा जग्गा बेचेरै भएपनि छोराछोरी विदेस पठाउन तल्लीन छन् र राज्यले पनि यसलाई मलजल गरेकै छ ।

घरेलु कामदारको रूपमा खाडीतिर जाने बाहेक होटल व्यवसाय र त्यस अन्तर्गत पाइने रोजगारीका लागि जापान जाने लर्कोमा बुहारीहरू पनि उत्तिकै छन् ।यस्ता काममा जापानमा पुरुषले भन्दा महिलाले धेरै कमाउँछन् भन्ने मानसिकताले गर्दा अधिकांश सासू ससुराहरू ‘बरु बच्चा हामी हुर्काउँछौं’ भन्दै बुहारीलाई उतै पठाउन तल्लीन देखिन्छन् ।

नातिनातिना त हुर्कन्छन् जसरी पनि । तर, उनीहरूको हुर्काइ टुहुरा बच्चाको भन्दा कम हुँदैन । आमाको काखमा खेल्दै हुर्कने अधिकारलाई पैसाको मोहले खोसिदिन्छ । बच्चाकै भविष्यका लागि भन्दै विदेसिने आमाबाबुका सन्तान सबैले उचित स्याहार, राम्रो शिक्षा र मागदर्शन पाउँछन् नै भन्ने हुँदैन । जसको लागि भनेर आमाबाबु नै विदेसिन्छन्, उनीहरूले पैसा त कमाउलान् तर स्वस्थ शरीर र स्वस्थ व्यवहार भएका सन्तान पाउलान् नपाउलान् भन्न सकिँदैन ।

अहिले पश्चिम पहाडको परिवेशलाई मात्र हेर्ने हो भने अधिकांश घरमा बुढ्यौलिएको पिठ्यौंमा स–साना नातिनातिनी बोकेर पानीपँधेरो र मेलापात गर्दैगरेका हजुरआमाहरू प्रशस्त भेटिन्छन् । नेपालका ४० प्रतिशत भन्दा बढी बालबालिकामा दीर्घकुपोषण रहेको भन्दै यसलाई गम्भीर समस्याको रूपमा लिएर गर्भावस्थादेखि जन्मेको दुईवर्षसम्मका बालबालिकालाई दीर्घकुपोषणबाट मुक्त गर्ने उद्देश्य राखेर सरकारले ‘सुनौलो हजार दिन’ भन्ने अभियान सारेको छ ।

तर गरिबी र बेरोजगारीसँग जुध्दै धन कमाउन विदेश हानिने दम्पतीहरूबाट जन्मेका सन्तानहरूलाई आमाको स्तन चुस्ने शिशुओठहरूमा जबर्जस्ती भैंसीको दूध भरेको चम्चा अड्याउनुपर्ने अवस्था जहीँतहीँ देख्दा ‘सुनौलो हजार दिन’ केवल सरकारी नारा मात्र लाग्छ । भर्खरै मात्र ‘अ विलियन्स ब्रेन्सः स्र्मार्टर चिल्ड्रेन्स, हेल्दियर इकोनोमिक्स’ भन्ने नारा सहित एशिया प्रशान्त क्षेत्रका सरकारी प्रतिनिधि मलेशियामा भेला भए ।

बालबालिकाको स्वास्थ्य सुरक्षालाई जोडदिइएको उक्तः भेलामा नेपालबाट पनि सरकारी प्रतिनिधि गएहोलान् । तर, उनीहरूको नजरमा नपरेको तर, वैदेशिक रोजगारले खोसेको शिशु तथा बालअधिकारको कुरा त्यहाँ छलफलमा परेन । प्रायः यौन हिंसामा परेका बालिकाहरूको सूची हेर्ने हो भने अधिकांश बालिकाकाका आमाबाबु वा आमा वैदेशिक रोजगारमा गएको पाइएको छ तर, यसतर्फ कसैको ध्यान पुग्न सकेको देखिंदैन ।

आर्थिक विपन्नता र चेतनाको कमिले कुपोषणग्रस्त हुनु एउटा कुरा हो तर जन्मेको दुई वर्षसम्म आमाको स्तनपान गर्नपाउने अधिकारबाट शिशुहरू बञ्चित हुँदा उनीहरूको स्वास्थ्य र शारीरिक विकासमा पर्ने गम्भीर दीर्घकालीन असरबारे बाबुआमा र परिवार बेखबर बन्दै सन्तान जन्माएर घरमा छोडि विदेस लाग्ने जुन संस्कृतिको विकास हुँदैछ, त्यसलाई रोक्न वा न्यूनीकरण गर्न चासो नदिने हो भने, भोलिका राष्ट्रका सम्पत्ति भनिएका कैयौं बालबालिकाहरूको स्वास्थ्य मात्र कुपोषित बन्ने होइन, उनीहरूको मानसिकता पनि कुपोषित बन्नेछ ।

स्तनपान र आमाको काख बालबालिकाको अधिकार मात्र नभएर उनीहरूको शारीरिक र बौद्धिक विकासको लागि पनि अपरिहार्य छ भन्नेकुरा हरेक आमाबाबुले मनन् गर्नु जरुरी छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.