नागरिकको अनुहारमा शक्तिशाली कथा भेटिन्छ

नागरिकको अनुहारमा शक्तिशाली कथा भेटिन्छ

मण्डला थिएटरको पश्चिम–पूर्व यात्रा कस्तो रह्यो ?
मोबाइल थिएटर ‘जुनकिरी’ सुरु गर्नेबित्तिकै काठमाडौंमा केही भूकम्पप्रभावित क्षेत्रमा नाटक ‘मनचिन्ते फिरन्ते’को ‘सो’ गर्‌यौं । त्यसको परिणाम र प्रतिक्रिया उत्साहजनक पाएपछि मूल उद्देश्यअनुरूप रंगमञ्चलाई काठमाडौंबाहिर लैजान खोजिरहेका थियौं । त्यसै क्रममा द्वन्द्वका क्रममा बेपत्ता पारिएकाहरूको कथामा बनेको नाटक ‘आधा सत्य’ देखाउन पश्चिमका जिल्ला बर्दिया, कैलाली र दाङ पुग्यौं ।

त्यहाँ तीन हजारसम्म मानिस जम्मा भएर नाटक हेरे । यो अनुभव मेरो रंगमञ्च जीवनमा नयाँ र अर्थपूर्ण अवसर थियो । यसबाट युवा नयाँ ढंगले पनि काम गर्न सकिँदो रहेछ भनेर प्रोत्साहित भएको पाएँ । त्यस्तै, रंगमञ्चले सामाजिक विषयमा तादाम्य राखेर काम गर्दा अझ प्रभावकारी हुँदोरहेछ भन्ने झन् पुष्टि भयो । पूर्व विराटनगर, धरान, इटहरी, बेलबारी र दमकको यात्राचाहिँ व्यावसायिक थियो । त्यहाँ हामीले टिकटमै नाटक देखायौं । राजधानीमा मञ्चित नाटक त्यहाँ पुग्दा धेरै उत्साह देखियो ।

‘जुनकिरी– मोबाइल थिएटर’को अवधारणाचाहिँ कसरी आयो ?
‘हाइवे’ सिनेमाको छायांकनका क्रममा दमकमा बस्दा त्यहाँ मैंले आन्दोलनमा जलेको गाडी देखें । टायर जलेको, सिट पनि जलेको । लामो र खाली त्यो गाडी देख्दा यसमा बच्चाहरूका लागि सानो नाटकघर बनाउन पाए कस्तो होला भन्ने सोच आएको थियो ।पछि दिल्ली पुग्दा देखें, एउटा चोकमा सानो भ्यान आएर रोकियो । केही व्यक्ति ओर्लिएर चारैतिरको डाला खोले । गितारमा ‘प्लग’ जोडेर गाउन थाले ।

त्यहाँ पनि मैंले त्यस्तै नाटकघर बनाउन पाए हुन्थ्यो भन्ने सोचेँ । युरोपेली देशमा जाँदा नाटक गर्ने तरिकामा विविधता देखें । लाग्यो, काम गर्न ठाउँ होइन, सिर्जनात्मक सोच चाहिने रहेछ । त्यसपछि मोबाइल थिएटरका लागि काम सुरु गरिएको हो । त्यसैले यो मण्डलाको मात्रै सपना होइन, इमान्दारीपूर्वक काम गर्ने सबैका लागि हो ।

प्रतिक्रियाचाहिँ कस्तो छ ?
‘नेपाली रंगमञ्चका लागि यो ठूलो आन्दोलन हो, बन्द रंगमञ्चका कलात्मक नाटकलाई बाहिर लिएर आउनुभयो’ भन्ने प्रतिक्रिया छ । केही हदसम्म म पनि यसमा सहमत छु । यो एउटा ‘मुभमेन्ट’ नै हो । सरकारले बनाइदिएका नाटकघरमा नाटक गर्न नपाउँदा हामीले नाटकघर बनायौं तर त्यसैमा जमेर हुँदैन भनेर यो अवधारणा आएको हो ।यसले समुदायमा पुगेर नाटक देखाउने क्रममा बस्दा–खाँदा देखिने चरित्रले नयाँ विषयवस्तु दिन्छ । त्यसले सिकाइको दायरा फराकिलो पारिरहेको छ ।

पछिल्लो समय तपाईंहरू सामाजिक मुद्दामा बढी जोडिन खोज्नुभएको हो ?
अहिले रंगकर्मीको गतिविधि स्थिर छैन । विशेष गरी केही कलात्मक नाटक खेलौं र बाँच्नका लागि सिनेमातिर जाउँ भन्ने छ । हो, हामी बाँच्नुपर्छ तर बाँचिरहेको समाजबाट टाढा हुनुहुँदैन भन्ने हाम्रो कुरा हो । म घुम्न रुचाउने मान्छे, घुम्न जान्छु । त्यहाँ भेटिने मानिसको अनुहारमा देखिने कुरा सेक्सपियरको नाटकभन्दा शक्तिशाली हुन्छ ।

त्यसैले ती मान्छेको कथा भन्नुपर्छ भन्ने लाग्छ । अबको समय राजा–महाराजाको होइन । त्यसैले हामी नाटकमा ठूला–ठूला कुराभन्दा पनि समाज र जीवनका स–साना कुरा गर्न मन पराउँछौं । पछिल्लो समय हामी मात्रै होइन, रंगमञ्चका सबै नै सामाजिक आन्दोलन र न्यायका लागि कला भन्ने अवधारणामै काम गरिरहेको देख्छु ।

एउटा निर्देशकको आँखाबाट हेर्दा रंगमञ्चमा काम गर्न अहिलेको समयका सजिला–अप्ठ्यारा के हुन् ?
सजिलोचाहिँ युवा पुस्ता हुन् । पुरानो पुस्तासँग काम गर्न गाह्रो छ । आर्थिक र वैचारिक दुवै हिसाबले ‘ह्यान्डल’ गर्न गाह्रो छ । तर, युवा पुस्ताचाहिँ ‘मूर्खतापूर्ण’ ढंगले चुनौती र साहससाथ काम गर्न तयार छ । चुनौतीचाहिँ ‘सर्भाइभल’कै हो । यस्तै, विकसित भइरहेका युवा निर्देशक र रंगकर्मीलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि चुनौती नै हो ।

विभिन्न थिएटर तथा थिएटर समूहबीच सहकार्यचाहिँ कत्तिको हुँदैछ ?
सकेसम्म सहकार्य गर्न सकियोस् भन्ने लागिरहन्छ । त्यसका लागि हामीले एउटा अभ्यास पनि गर्‌यौं । ६ वटा थिएटर ग्रुप मिलेर धादिङको भूकम्प प्रभावित गाउँमा एक वर्ष काम गर्‌यौं । नाटक बनायौं र देखायौं । यस्तै, महिला रंगकर्मीको ‘मडलेनाज मुभमेन्ट’ले पनि सहकार्यको थालनी गरेको छ ।त्यस्तै, रंगमञ्चबारे छलफल गर्ने एउटा ठाउँ होस् भन्ने लागिरहेको छ । अहिले सबै थिएटरले ‘ड्रामा क्लास’ चलाइरहेका छन् । त्यसलाई एकै ठाउँमा ल्याएर दुई वर्षे क्लास चलाउन सकिन्छ । साझा व्यवस्थापन समूह बनाएर अहिलेकै ‘एक्सपर्ट’हरूलाई प्रशिक्षणमा प्रयोग गर्न सकिन्छ । यस्तो काम गर्न सकियो भने राज्यलाई हाम्रो ‘मेजोरिटी’ देखाउन सकिन्थ्यो ।
प्रस्तुति : कला अनुरागी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.