नागरिकको अनुहारमा शक्तिशाली कथा भेटिन्छ
मण्डला थिएटरको पश्चिम–पूर्व यात्रा कस्तो रह्यो ?
मोबाइल थिएटर ‘जुनकिरी’ सुरु गर्नेबित्तिकै काठमाडौंमा केही भूकम्पप्रभावित क्षेत्रमा नाटक ‘मनचिन्ते फिरन्ते’को ‘सो’ गर्यौं । त्यसको परिणाम र प्रतिक्रिया उत्साहजनक पाएपछि मूल उद्देश्यअनुरूप रंगमञ्चलाई काठमाडौंबाहिर लैजान खोजिरहेका थियौं । त्यसै क्रममा द्वन्द्वका क्रममा बेपत्ता पारिएकाहरूको कथामा बनेको नाटक ‘आधा सत्य’ देखाउन पश्चिमका जिल्ला बर्दिया, कैलाली र दाङ पुग्यौं ।
त्यहाँ तीन हजारसम्म मानिस जम्मा भएर नाटक हेरे । यो अनुभव मेरो रंगमञ्च जीवनमा नयाँ र अर्थपूर्ण अवसर थियो । यसबाट युवा नयाँ ढंगले पनि काम गर्न सकिँदो रहेछ भनेर प्रोत्साहित भएको पाएँ । त्यस्तै, रंगमञ्चले सामाजिक विषयमा तादाम्य राखेर काम गर्दा अझ प्रभावकारी हुँदोरहेछ भन्ने झन् पुष्टि भयो । पूर्व विराटनगर, धरान, इटहरी, बेलबारी र दमकको यात्राचाहिँ व्यावसायिक थियो । त्यहाँ हामीले टिकटमै नाटक देखायौं । राजधानीमा मञ्चित नाटक त्यहाँ पुग्दा धेरै उत्साह देखियो ।
‘जुनकिरी– मोबाइल थिएटर’को अवधारणाचाहिँ कसरी आयो ?
‘हाइवे’ सिनेमाको छायांकनका क्रममा दमकमा बस्दा त्यहाँ मैंले आन्दोलनमा जलेको गाडी देखें । टायर जलेको, सिट पनि जलेको । लामो र खाली त्यो गाडी देख्दा यसमा बच्चाहरूका लागि सानो नाटकघर बनाउन पाए कस्तो होला भन्ने सोच आएको थियो ।पछि दिल्ली पुग्दा देखें, एउटा चोकमा सानो भ्यान आएर रोकियो । केही व्यक्ति ओर्लिएर चारैतिरको डाला खोले । गितारमा ‘प्लग’ जोडेर गाउन थाले ।
त्यहाँ पनि मैंले त्यस्तै नाटकघर बनाउन पाए हुन्थ्यो भन्ने सोचेँ । युरोपेली देशमा जाँदा नाटक गर्ने तरिकामा विविधता देखें । लाग्यो, काम गर्न ठाउँ होइन, सिर्जनात्मक सोच चाहिने रहेछ । त्यसपछि मोबाइल थिएटरका लागि काम सुरु गरिएको हो । त्यसैले यो मण्डलाको मात्रै सपना होइन, इमान्दारीपूर्वक काम गर्ने सबैका लागि हो ।
प्रतिक्रियाचाहिँ कस्तो छ ?
‘नेपाली रंगमञ्चका लागि यो ठूलो आन्दोलन हो, बन्द रंगमञ्चका कलात्मक नाटकलाई बाहिर लिएर आउनुभयो’ भन्ने प्रतिक्रिया छ । केही हदसम्म म पनि यसमा सहमत छु । यो एउटा ‘मुभमेन्ट’ नै हो । सरकारले बनाइदिएका नाटकघरमा नाटक गर्न नपाउँदा हामीले नाटकघर बनायौं तर त्यसैमा जमेर हुँदैन भनेर यो अवधारणा आएको हो ।यसले समुदायमा पुगेर नाटक देखाउने क्रममा बस्दा–खाँदा देखिने चरित्रले नयाँ विषयवस्तु दिन्छ । त्यसले सिकाइको दायरा फराकिलो पारिरहेको छ ।
पछिल्लो समय तपाईंहरू सामाजिक मुद्दामा बढी जोडिन खोज्नुभएको हो ?
अहिले रंगकर्मीको गतिविधि स्थिर छैन । विशेष गरी केही कलात्मक नाटक खेलौं र बाँच्नका लागि सिनेमातिर जाउँ भन्ने छ । हो, हामी बाँच्नुपर्छ तर बाँचिरहेको समाजबाट टाढा हुनुहुँदैन भन्ने हाम्रो कुरा हो । म घुम्न रुचाउने मान्छे, घुम्न जान्छु । त्यहाँ भेटिने मानिसको अनुहारमा देखिने कुरा सेक्सपियरको नाटकभन्दा शक्तिशाली हुन्छ ।
त्यसैले ती मान्छेको कथा भन्नुपर्छ भन्ने लाग्छ । अबको समय राजा–महाराजाको होइन । त्यसैले हामी नाटकमा ठूला–ठूला कुराभन्दा पनि समाज र जीवनका स–साना कुरा गर्न मन पराउँछौं । पछिल्लो समय हामी मात्रै होइन, रंगमञ्चका सबै नै सामाजिक आन्दोलन र न्यायका लागि कला भन्ने अवधारणामै काम गरिरहेको देख्छु ।
एउटा निर्देशकको आँखाबाट हेर्दा रंगमञ्चमा काम गर्न अहिलेको समयका सजिला–अप्ठ्यारा के हुन् ?
सजिलोचाहिँ युवा पुस्ता हुन् । पुरानो पुस्तासँग काम गर्न गाह्रो छ । आर्थिक र वैचारिक दुवै हिसाबले ‘ह्यान्डल’ गर्न गाह्रो छ । तर, युवा पुस्ताचाहिँ ‘मूर्खतापूर्ण’ ढंगले चुनौती र साहससाथ काम गर्न तयार छ । चुनौतीचाहिँ ‘सर्भाइभल’कै हो । यस्तै, विकसित भइरहेका युवा निर्देशक र रंगकर्मीलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि चुनौती नै हो ।
विभिन्न थिएटर तथा थिएटर समूहबीच सहकार्यचाहिँ कत्तिको हुँदैछ ?
सकेसम्म सहकार्य गर्न सकियोस् भन्ने लागिरहन्छ । त्यसका लागि हामीले एउटा अभ्यास पनि गर्यौं । ६ वटा थिएटर ग्रुप मिलेर धादिङको भूकम्प प्रभावित गाउँमा एक वर्ष काम गर्यौं । नाटक बनायौं र देखायौं । यस्तै, महिला रंगकर्मीको ‘मडलेनाज मुभमेन्ट’ले पनि सहकार्यको थालनी गरेको छ ।त्यस्तै, रंगमञ्चबारे छलफल गर्ने एउटा ठाउँ होस् भन्ने लागिरहेको छ । अहिले सबै थिएटरले ‘ड्रामा क्लास’ चलाइरहेका छन् । त्यसलाई एकै ठाउँमा ल्याएर दुई वर्षे क्लास चलाउन सकिन्छ । साझा व्यवस्थापन समूह बनाएर अहिलेकै ‘एक्सपर्ट’हरूलाई प्रशिक्षणमा प्रयोग गर्न सकिन्छ । यस्तो काम गर्न सकियो भने राज्यलाई हाम्रो ‘मेजोरिटी’ देखाउन सकिन्थ्यो ।
प्रस्तुति : कला अनुरागी
प्रतिक्रिया दिनुहोस !