खरानीबाट उठेको एउटा कर्मवीर

खरानीबाट उठेको एउटा कर्मवीर

एउटा बच्चो काठमाडौंको पुरानो नेवार बस्ती मच्छिन्द्रटोलस्थित केलटोलमा १९७४ सालको मंसिर कृष्णपक्षको चिसो याममा जन्मियो । बच्चाका बाबु भाजुरत्न कंसाकार र आमा ज्ञानमाया कंसाकार केलटोलमै सामान्य दोकान गरेर बसेका थिए । सो बच्चो पाँच वर्षको उमेर हुँदा केलटोलमा आगलागी भयो । आगलागीमा भाजुरत्नका केही दाजुभाइका पसलसहित सबै सामान डढेर सखाप भयो । त्यसपछि बिरक्तिएर भाजुरत्न लागे भारतको कालिङपोङ ।

पाँच वर्षको बालक पनि सँगै लगियो कालिङपोङ । कालिङपोङमै स्कुले शिक्षा सक्यो त्यो बालकले र पछि कलकत्ता विश्वविद्यालयमा वाणिज्यमा स्नातक गर्‌यो । पछि गएर त्यो बच्चोले आफूलाई नेपालको नाम चलेका व्यापारीमा स्थापित गर्‌यो । उनी थिए मणिहर्ष ज्योति ।

मणिहर्षले स्थापना गरेको व्यापारिक घराना ज्योति समूह आज लोभलाग्दो व्यापारिक घरानाका रूपमा स्थापित छ, तर मणिहर्ष स्वयंको संघर्षको कथा भने आम न्यूनवर्गीय कुनै किसान वा गाउँलेको छोराको भन्दा फरक छैन । उद्योगपति स्वर्गीय हुलासचन्द गोल्छाले मणिहर्ष ज्योतिको स्मृतिग्रन्थमा नै उल्लेख गरेका छन्- मणिहर्ष दाइलाई थाहा थियो कि नपढी हुँदैन । पढाइले नै कुनै पनि काममा सफलता हासिल गर्न मद्दत गर्छ । त्यसैले उहाँले अर्काको घरमा खाना पकाउने काम गर्नुभएर पनि आफ्नो पढाइ चालू राख्नुभयो । यो मणिहर्षले कलकत्ता विश्वविद्यालयमा स्नातक पढ्दाताकको सन्दर्भ थियो ।

मणिहर्षका समकालीन सबै भन्छन्, 'उनी सरल थिए ।' भुइँदेखि संघर्ष गरेर उठेका उनले अनेक तरक्की गरे । १६ वर्षको उमेरमै बाबुको सबै ऋण तिरे । उनको व्यापारिक घरानामा काम गर्नेहरू भन्छन्, 'कसैको मन नदुखाउने मणिहर्ष सधैं हँसिला देखिन्थे । आफ्नो दैलोमा आएकालाई त्यसै फिर्ता पठाउँदैनथे । सबैको मन जितेर काम गर्ने उनको बानी थियो, कामदारलाई पनि निर्देशन होइन, सल्लाह र सुझाव दिएर कामलाई सम्पन्न गर्नु उनको ध्येय हुन्थ्यो ।'

मणिहर्षले ज्योति समूहलाई यहाँसम्म ल्याउनुअघि उनले उतिखेर तिब्बतको फारीको टक्सारमा निक्लेका बाइप्रोडक्टलाई कालिम्पोङ ल्याएर भाँडा बनाएर बेचेको इतिहाससम्म पुग्नुपर्ने हुन्छ । त्यहाँबाट उनी फलाम, पित्तल र तामाका टुक्रा घोडा र खच्चरमा लादेर कालिम्पोङसम्म ल्याउने गर्दथे । मणिहर्षले पछि तिब्बतमा पनि बाबुको नाममा दोकान खुलाए र त्यहींबाट आफ्नो व्यापारको ख्याति भारत, तिब्बत र नेपालसम्म पुर्‌याए ।

पछि मणि नै त्यो व्यक्ति बन्न पुगे, जसले नेपालमै पहिलोपटक फलामे डन्डी, बाल्टिन ढक, किला, काँटा, सिमेन्ट, अक्सिजन, धागो, उनको उत्पादन, प्रशोधन र बिक्रीवितरण गराए । यसबाट निर्माणलगायत अन्य सामग्रीमा विदेशी सामानको परनिर्भरता केही मात्रामा भए पनि घट्यो । कतिसम्म भने २०४५ सालमा भारतले लगाएको नाकाबन्दीको बेलामा समेत चीनबाट विभिन्न सामान नेपाल झिकाएर संकट पार लगाउन पर्याप्त कोसिस गरे उनले ।

मणिहर्षको बारेमा बढाइचढाई नभन्दा पनि उनी एक व्यक्ति तर अनेक व्यक्तित्व थिए । उनी सादगी जीवन जिउँथे । शुद्ध र शाकाहारी भोजन गर्थे र जीवन पनि उस्तै सरल जिउँथे । लेखक हेमचन्द्र पोखरेलले एकपटक मणिहर्षलाई भोटाहिटीबाट रत्नपार्कतर्फ आउँदै गरेको देखेछन् ।

दुईबीच रत्नपार्क बिसौनीमा नेवारी भाषामै कुराकानी भयो । कारण पोखरेल पनि नेवारी भाषा राम्रोसँग जान्दथे । सामान्य जुत्ता, साधारण कपडाको दौरा-सुरुवाल र खद्दरको कोटमा ठाँटिएका मणिहर्षलाई ठट्टा गर्दै पोखरेलले सोधेछन्, 'साहुजी, पचासौं मोटरकारको मालिक भएर यो पैदल भ्रमण किन ? ' उनले मुस्कानसाथ उत्तर दिएछन्, 'कार कति चढ्ने ? भगवान्ले बनाएका यी गोडा पनि त चलाउनुपर्छ, कार त आखिरमा बेकार हो ।'

 

उनी बौद्धमार्गी साधक भएकाले पनि भगवान् गौतमबुद्ध प्रतिपादित ध्यान विधि 'विपश्यना' लाई नेपालमा ल्याउन उनले अहं भूमिका खेले । उनकै विशेष पहल र प्रयत्नमा बर्मेली र भारतीय मूलका विपश्यना गुरु सत्यनारायण गोयन्कालाई नेपालमा ल्याइएको थियो । अहिले काठमाडौंको बुढानीलकण्ठमा स्वदेश तथा विदेशबाट 'धर्म श्रृंग' ध्यान केन्द्रमा सयौं ध्यानमार्गी निःशुल्क ध्यान गर्न आउँछन् । यो मणिहर्षको प्रयत्नमा भएको मानव र अध्यात्म उत्थानको उत्तम प्रयास थियो ।

हिंसात्मक हिंसानिकट हुन्छन् । शान्त स्वभावका शान्तिमार्गीहरूसँगै भेटिन्छन् । शान्तिबाट परिवर्तन सम्भव छ भन्ने उद्यमी मणिहर्ष कलकत्तामा पढ्दा त्यतिखेर मोहनदास करमचन्द गान्धीको नेतृत्वमा चलिरहेको भारतीय स्वतन्त्रता संग्राममा समेत सामेल भए । मणिहर्षको परिवार २००७ सालमा नेपालमा फर्केको थियो । आफ्नो भाषा, भेष र संस्कृतिको माया गर्ने उनले भारतमा रहँदासमेत नेपाल भाषाको उत्थानको लागि पहल गरेका थिए ।

उनले नेपाल भाषाको उत्थानका लागि धर्मोदय मासिक प्रकाशनमा गरेको सहयोगलाई कुनै पनि भाषाप्रेमीले भुलेका छैनन् । उनको भाषा भेषप्रतिको लगाव कतिसम्म भने केही अपवादबाहेक उनी सधैं कमिज, सुरुवाल र कोटमै सजिएर हिँड्ने गरे । उनलाई पश्चिमा सुट-पाइन्टले कहिल्यै तानेन ।

मणिहर्ष युगपुरुष हुन् । उनी बितेको १३ वर्ष नाघिसकेको छ । साधक, पौरखी पुरुष र स्वाभिमानी मणिहर्ष ज्योतिको 'ज्योति' लाई हामी सबैले अझ तेजिलो बनाउने प्रण गर्नुपरेको छ ।

भारतीय स्वतन्त्रता संग्राममा सहभागी बनेका मणिहर्षले राणाशासनकालमा नेपालबाट लखेटिएका भिक्षु र ज्ञानीजनलाई भारतमै हुँदा पनि पर्याप्त सहयोग गरे । तीमध्ये कतिपय भिक्षु २००७ सालपछिको सहज वातावरणमा नेपाल फर्किई धर्म जागरणमा लाग्न पाए । मणिहर्ष स्वतन्त्रता र लोकतन्त्रको मर्म सहज बुझ्न सक्थे । वाणिज्यमा स्नातक उनलाई खुला व्यवस्थामै अर्थतन्त्र फस्टाउँछ भन्ने राम्रोसँग थाहा थियो । सोही कारण उनले पञ्चायती व्यवस्थाविरुद्ध लागेका प्रजातन्त्रवादीलाई लुकेरै भए पनि आर्थिक सहयोग गरेका थिए ।

सानै उमेरमा आफ्नो परिवारको ऋण तिरेका उनले आफ्नो व्यवसाय बढाएर नेपालको ठूलो व्यापारिक घरानाका रूपमा मात्रै आफूलाई स्थापित गरेनन्, धनपति उनी उत्तिकै दानवीरका रूपमा समेत चर्चित भए । ४५ सालको भूकम्पका बेला होस् या ५० को दसकको बाढीको बेला होस्, मणिहर्ष परिवारले पीडितहरूका लागि पर्याप्त आर्थिक सहयोग गरे ।

धन हुनेले धनको सहयोग, मन हुनेले मनको भनिन्छ तर धनपति मणिहर्षले नेपालका सामाजिक संस्थामा आर्थिक मात्र सहयोग गरेका थिएनन्, नेपाल आँखा अस्पताल, नेत्रज्योति संघ, नेपाल कुष्ठरोग संघ, धर्मोदय सभा, लुम्बिनी विकास कोष, जनस्तरबाट बनेको नेपाल भाषा एकेडेमी जस्ता संस्थामा प्रत्यक्ष संलग्न भएर समाजसेवामा पर्याप्त योगदान दिए ।

मणिहर्षलाई उनका कनिष्ठहरू 'साहुबा' अथवा 'मणिहर्ष साहुबा' का नामले बोलाउँथे । नहाँसी कुरा नगर्ने साहुबा दानी त थिए नै, आफ्नो दानको दुरुपयोग नहोस् भन्नेमा सदैव सचेत । ज्योति समूहमा काम गर्ने धेरैले आज पनि उनको त्यो गुण भुलेका छैनन् । उनी माग्नेलाई पैसा दिँदैनथे बरु आफ्नो कुनै सहयोगीमार्फत भोकालाई भोजन गराउँथे ।

बाटो खर्च सकिएर अन्योलमा परें भन्दै उनीकहाँ धाउनेलाई उनी गाडीको टिकट काटिदिन्थे । शारीरिक रूपमा बलियो माग्ने आए त उनी त्यस्तोलाई केही नभनी उसै फर्काइदिन्थे । 'यसरी पैसा नदिँदा आत्मग्लानीले सो व्यक्तिले आफैं केही गर्ने र मागीखाने विचार परिवर्तन गर्छ' साहुबा भन्थे । यसर्थ, उनले सम्भव भएसम्म कहिले पनि माग्नेलाई हातमा पैसा थमाएर माग्ने धन्दाको प्रवद्र्धन गरेनन् ।

मणिहर्ष युगपुरुष हुन् । उनी बितेको आज १३ वर्ष नाघिसकेको छ । गत सालको भारतको नाकाबन्दीका कारण अहिले सर्वत्र आर्थिक, प्राविधिक र अन्य रूपमा पनि नेपाल स्वतन्त्र हुनुपर्ने बहस छेडिएको छ । यतिखेर साधक, पौरखी पुरुष र स्वाभिमानी मणिहर्ष ज्योतिको 'ज्योति' लाई हामीले अझ तेजिलो बनाउने प्रण गर्नुपरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.