नाम्लोले किचिएको जीवन

नाम्लोले किचिएको जीवन

भारी बोकेर हिँड्दा होस् या फुर्सदका बेला साथीहरूसँग टहलिँदा, नरबहादुर थामी (४७)को आँखा ठोकिइरहन्छ टुँडिखेलस्थित सैनिक मञ्चमा । वास्तै नगरी हिडूँ भने पनि कुनै न कुनै बेला आँखा गइहाल्छ । मञ्चतिर पस्ने गेटमा अदबका साथ उभिइरहेका सैनिक देखेर उनको मनमा कता–कता इष्र्या लाग्छ ।

कहिलेकाही“ मञ्चमा सैनिक कवाज चलिरहेको हुन्छ । त्यसबेला उनी एकैछिन अडिएर हेर्छन् र मन अमिलो पार्छन् । किशोरकालमा उनले पनि सपना देखेका थिए, सैनिक बन्ने । तर, त्यो सपनामै सीमित रह्यो, वास्तविकता नाम्लोमा झुण्डियो । दोलखा सुन्द्रावती ४ का थामी २५ वर्षभन्दा अघिदेखि राजधानीमा भारी बोकिरहेका छन् । उनको जिन्दगी पनि त त्यही भारीले बोकिरहेको छ ।

महाबौद्धस्थित गणेश मन्दिर परिसर, उनलाई हमेसा भेटिने ठाउँ । नजिकैको डेराबाट बिहान जुरुक्क उठेर उनी त्यहाँ आइपुग्छन् र साँझ अबेला मात्रै फर्किन्छन् । विरलै बिहानको खाना डेरामा खान्छन् । ‘बिहान पसल खोल्ने बेलामा भारी भ्याइनभ्याइ हुन्छ । त्यसैले होटेलतिरै खान्छु,’ उनी भन्छन् । सस्तैमा खाना खुवाउने महाबौद्धका होटेल उनी र उनका साथीहरूको रोजाइमा पर्छ । दुई जना साथीसँग मिलेर डेरा लिएका उनी साँझ भने डेरा पुगेर आफैंले बनाएको खाना खान्छन् ।

bhari-1भारी बोकेर जीवन गुजारा गर्नु उनको जीवनको संयोग हो । खेतीपाती र बनिबुतो नै बुबाआमाको गुजाराको बाटो थियो । आफ्नो जमिन कमै हुनाले उब्जाउले खान पुग्दैनथ्यो, बनिबुतो र ज्यालामा मेला जानु उनीहरूको दैनिकी थियो । त्यहाँभन्दा बाहिरफेर निस्केको थाहा छैन । उनी भने नौ वर्षकै उमेरमा घरबाट भागे ।

उनी सम्झिन्छन्, ‘त्यतिबेला आमाको ४० रुपैयाँसमेत चोरेर हिँडेको थिएँ ।’ पहिले गाउँकै दाइको पछि लागेर सदरमुकाम चरिकोट आए उनी । त्यहाँ अलमलिँदा अलमलिँदै कृषि सामग्री संस्थान, बर्दियाका पियनसँग भेट भयो । सोधखोजपछि उनैले लिएर गए बर्दिया, काम लगाइदिन्छु भनेर । आफ्नै हाकिमको घरमा काम लगाइदिए पनि । झण्डै पाँच वर्ष उनी घर फर्किन पाएनन् ।

पाँच वर्षपछि फर्किंदा उनको घरमा खुसीको रुवावासी भयो । सबैले भने, ‘मर्‌यो भनेको मान्छे फर्केर आयो ।’ भन्न त हाकिमले फर्केर आउन भनेका थिए उनलाई । पियनको जागीर लगाइदिन्छु पनि भनेका थिए । तर, परिवारले जाने अनुमति दिएन । उनको जिन्दगीको सबैभन्दा लामो यात्रा सम्झनामा मात्रै रह्यो ।

गाउँ आएपछि उनी केही समय गाउँमै भुले । पछि गाउँकै साथीको पछि लागेर काठमाडौं आए । कहिले काठ गोदाममा काम गरे, कहिले बरफ बनाएर बेचे । उनी सम्झिन्छन्, ‘झण्डै एक वर्ष पाटनको अशोक सिनेमा हलमा बरफ बनाएर बेच्ने काम गरेँ ।’ सिनेमा हलमा काम गरे पनि उनले कहिल्यै पूरा सिनेमा भने हेर्न पाएनन् । रहरलाग्दो समयमा हेर्न नपाएको सिनेमा पछि त झन् के जुथ्र्यो !

उनको आफ्नो जीवन भने सिनेमाको कथाझैं अघि बढिरह्यो । काठ गोदाम, सिनेमा हल, होटल आदिमा भौंतारिँदै उनको किशोरकाल घर्कियो । कमाइ उस्तो थिएन, ज्यान पाल्ने मेसो मात्रै भयो । गधापच्चिसे उमेरमा प्रवेश गरेपछि बाबु र दाजुको योजनामा उनको विवाह भयो । विवाहबन्धनमा बाँधिएपछि उनी साँच्चै बन्धनमा परे, फुक्काफाल भएर हिँड्न पाएनन् । कमाउनुपर्ने दबाब पर्‌यो ।

आफ्नो जमिनको कमाइले खानै पुग्दैनथ्यो । कमाइको बाटो खोज्दै जाँदा उनी काठमाडौंमा भारी बोक्न आउने साथीको संगतमा परे । भन्छन् नि, गाँस छोड्नु, साथ नछोड्नु । उनले अहिलेसम्म न ती साथीको संगत छोडे, न भारीको नै । अहिले उनकी जेठी छोरी ‘ब्याचलर’ पढ्ने भइसकिन् । दुई छोरा एसएलसी परीक्षामा सामेल भए । एउटाले पास गरेर पनि मोबाइल बनाउने तालिम लिएर काम थालिसके ।

एउटाचाहिँ फेल भएर अर्को वर्ष पास गर्ने जोशले पढ्दैछन् । आफूले सा“वा अक्षर मात्रै चिन्न पाएका उनी छोराछोरीलाई त्यति पढाउनु सक्नुलाई पनि ठूलो उपलब्धि ठान्छन् । भन्छन्, ‘आफूले पढ्न नपाए पनि छोरीछोराले त्यतिसम्म पढे । त्यसमा खुसी छु ।’पढाइको कुरा गर्दा उनी आफ्नो स्कुलकालीन
समय सम्झन्छन् । नौ वर्षको उमेरमा कालोपाटी र खरी बोकेर आधा घण्टा टाढाको स्कूल पुगेका थिए ।

एक वर्षमा आफ्नो नाम आफैं लेख्न सक्ने भएका थिए । अर्को वर्ष त किताब खरर पढ्न थालिसकेका थिए । तर, तेस्रो वर्ष समयमा किताब पुगेन । घरमा पनि बाख्रा चराउन जाने मान्छेको अभाव खड्कियो । बुबाआमाको अह्रनखटन मानेर बाख्रा हेर्न र घरको काममा सहयोग गर्न थाले । पढाइ छुट्यो । पछि सहरमा काम गर्न आउँदा भने स्कुल छाडेकामा खुब पछुतो भयो ।

आफूजस्तै उमेरका केटाकेटी स्कुल पढ्न गएको देखेर उनको चित्त काटिन्थ्यो । ‘पढ्नुपर्छ है । अनि मात्रै जान्नेबुझ्ने भइन्छ’ भनिरहने घनश्याम सरलाई सम्झिए । तर, समय घर्किसकेको थियो । फर्केर जान पनि लाज लाग्यो । उनको जीवन भने लाज नमानी हिँडिरह्यो ।२०४६ सालको जनआन्दोलन हुँदा उनी काठमाडौंमा भारी बोक्ने काम खोजिरहेकै थिए ।

त्यतिबेला उनले सुनेका हुन्, अब बहुदल आउँछ, जनताको शासन आउँछ । त्यसबेला बन्द, हड्ताल र कफ्र्यूको मारमा परेर केही दिन भारी बोक्न पाएनन् उनले । त्यत्ति मात्रै रह्यो सम्झनामा, त्यसपछिका दिनमा सम्झनलायक परिवर्तन उनले महशुस गर्न पाएनन् । त्यसपछि माओवादी जनयुद्ध भयो, ०६३ सालमा अर्को जनआन्दोलन भयो । भन्नेहरूले भनेको सुने उनले, अब त वागमतीमा धेरै पानी बगिसक्यो ।

समय धेरै परिवर्तन भइसक्यो । उनको पनि जीवन त बग्न त बगिरहेकै थियो, बान्की भने केही फेरिएन । यसो गम्छन् उनी, जहिले पनि आफ्नो कमाइको तुलनामा धेरै नै बढिरहेको महँगी उस्तै छ । भारी उस्तै छ, उमेरसँगै झन्–झन् गह्रुँगो पो हुन थालेको छ । यति हो, पहिले–पहिले कहाँ भारी बोक्न पाइएला भनेर घुमन्ते हुनुपथ्र्यो ।

अहिले महाबौद्धमै बसेर पनि कामको कमी हुँदैन । साहुहरू चिनाजाना छन्, वर्षौंदेखि आफूले देखाएको इमान्दारिताका कारण विश्वास गर्छन् । सय–पचासको गर्जो टार्न मुश्किल छैन । त्यसो त उनलाई जीवनदेखि खासै गुनासो पनि छैन । उस्तो गरिब हुनुको अनुभूति पनि छैन । ‘जबसम्म हातगोडा सद्दे हुन्छन्, त्यसबेलासम्म त के गरिब भन्नु ।

हामीभन्दा कति गरिब देख्छु यहाँ,’ उनी आफ्नो मनजस्तै फराकिलो विचार सजिलै अभिव्यक्त गर्छन् । तर पनि, कहिलेकाहीँ सोच आउँछ मनमा, ‘हामी यसरी भारी बोकेर पैसा कमाउँछौं, खर्च गर्दापिच्छे राज्यलाई कर तिर्छौं । हिजोको आजै भाउ कहाँको कहाँ पुगिसकेको हुन्छ । त्यस्तो बेला त झन् बढी कर पुग्दो हो राज्यलाई । तर, त्यो पैसा के गर्छ होला राज्यले ?’


कहिलेकाहीँ साथी–साथीसँग पनि यस्तै गफ हुन्छ उनको । उनको भाषामा ‘ठुटे राजनीतिको गफ’ । उनी भन्छन्, ‘त्यत्रो कर उठाएको राज्यको त हामीले एक कप चिया पनि खाएका छैनौं । त्यो पैसा कहाँ जान्छ होला ? हाम्रै लागि हो भने त जिन्दगी केही सुबिस्ताको भइसक्नुपर्ने !’उनको मनमा उठिरहने यस्ता जिज्ञासाको उत्तर दिने कुनै ‘हेल्लो सरकार’ छैन । तर पनि, उनी सरकार बनाउन भोट हाल्छन् हरेक चुनावमा ।

त्यसबेला गाउँ पुग्ने नेताहरूले भनेको भरमा कहिले कुन चिन्ह, कहिले कुन चिन्हमा भोट हालेका छन् उनले । तर, कुनै पार्टी आफ्नोजस्तो लाग्दैन उनलाई । न त कुनै पार्टीका मान्छेले उनलाई आन्दोलनमा लगेका छन्, न कुनै भाषणमा । उही बेला–बखत टुँडिखेलमा हुने भाषण आफ्नै चाखले सुनेका छन् केही पटक ।
‘खै, दिनरात भारी बोक्नुपर्छ । मैलाधैला देख्दा हुन् । अलिक चट्ट परेर बस्ने फुर्सदिलो भएको भए कोही लिन आउँथे कि,’ उनको अभिव्यक्ति अबोध सुनिन्छ । त्यही निबोधपना नै हो उनको असली पहिचान । उनको बुझाइमा थामी जाति नै त्यस्तै अबोधहरूको समुदाय हो ।उनको जिन्दगीमा कुनै चमत्कार छैन, उतिधेरै उतारचढाउ छैन । भारीले थिचेको बेला जस्तो गति हुन्छ आफ्नो, त्यस्तै धीमा गति छ जिन्दगीको ।

bhariya-2भारीले उनलाई जिन्दगी मात्रै दिएको छ, गति दिएको छैन । हुन त, दैनिक सय–पचासबाट सुरु भएको उनको कमाइ–यात्रा अहिले चार–पाँच सयसम्म पुगेको छ । तर पनि, त्यसले केही फरक पारेको छैन जीवनलाई । दुःखजिलो गरेर छोराछोरी पढाउन र घर व्यवहार चलाउन सधैं नै हम्मे परिरह्यो । रहरको लगाउन र खान कहिल्यै पुगेन । कमसेकम छोराछोरीले त्यस्तो भोग्नु नपरोस्, उनी हरेक समय कामना बोकी हिंड्छन् ।

उनी बेला–बेला व्यवहार मिलाउन घर पुगिरहेकै हुन्छन् । घर त के भन्नु, भूकम्पले भत्काएको खण्डहरमा उठाएको टहरो । घर बनाउनु छ । सरकारले दिएको राहतले छोप पनि लाग्दैन, त्यसका लागि पनि थप कमाउनुपर्ने जिम्मेवारी उनको काँधमा छ । त्यसैले सकेसम्म बढी भारी बोक्ने ध्याउन्नमा हुन्छन् उनी । मान्छेको ज्यान हो, कहिले अल्छी पनि लाग्छ, कहिले त बिरामी पनि पर्छ ।

त्यसबेला पनि सकीनसकी भारी नै बोकिरहनु उनको बाध्यता हो । ‘खै हजुर, सुख र खुशीको कुरा त सम्झिँदा पनि सम्झनामा आउँदैन,’ उनको अनुहार मलिनता फैलिन्छ ।उनी सानो चाइनिज मोबाइल बोक्छन्, त्यसैबाट बेला–बेला घरको हालचाल बुझ्छन् । त्यसैको ‘मेमोरी’मा छोराछोरीले हालिदिएको लोकगीत सुनेर मन बहलाउँछन् कहिलेकाहीँ ।

त्यसो त, मोबाइलमा उनको जीवनसाथी, छोराछोरी र ९० वर्ष पुग्नै लागेकी आमाको तस्बिर छन् । ती पनि छोराछोरीले नै हालिदिएका । घरपरिवारको सम्झना आउँदा तिनै तस्बिर हेरेर चित्त बुझाउँछन् । तिनैमा आफ्नो तस्बिर पनि छ । ढाकाटोपी ढलक्क ढल्काएको । खुप सुहाएको छ, उनको रहर पनि ढाकाटोपी लगाउनु ।

तर, उनको रहरलाई हमेशा थिच्ने उनकै साथी भारी हो । भन्छन्, ‘लगाउन त मन लाग्छ नि । के गर्नु भारी बोक्दा किच्चिइहाल्छ । त्यसैले डेरामै राख्छु । घर जाने बेला भने लगाएर जान्छु । चाडबाडमा लगाउँछु ।’उनको जीवनमा अब सानो सपना मात्रै बाँकी छ, छोराछोरीले राम्रो व्यापार–व्यवसायमा हात हालेर भविष्य सुनिश्चित गरेको हेर्ने ।

त्यसका लागि अब कति भारी बोक्नुपर्ने हो, उनी तयार छन् । ‘ज्यानले सकुञ्जेल त गर्नुपर्‌यो नि । त्यति भइदिएचाहिँ भारी बोक्न छाडेर गाउँमै खेती गरेर बस्थें,’ उनले इच्छा व्यक्त गरे । जीवनको हराभरा समयभर उनको थाप्लोमा नाम्लो टुटेन । अझै कहिलेसम्म टुट्दैन, निश्चित छैन । मनमा रहर साँचिराखेका छन्, जीवनको केही समय त थाप्लोले नाम्लो झेल्न नपरोस्, मनलाग्दी लगाउन पाइयोस् ढाकाटोपी ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.