पाइला–पाइलामा प्रविधि

पाइला–पाइलामा  प्रविधि

जिल्ला शिक्षा कार्यालय, ललितपुरको प्रांगणमा बाइकबाट ओर्लनेबित्तिकै नुवाकोटका माध्यामिक शिक्षक माधव अधिकारीले भने, ‘बल्ल आइपुगियो ।’
थापाथलीबाट अगाडि बढेपछि उनी कता लाग्ने भनेर अलमलिए । केहीछिन घोरिएपछि मोबाइलमा रहेको ‘गुगल म्याप’ सम्झिए । मोबाइलमा ‘डाटा’ र ‘लोकेसन अन’ गरेर बाइकपछाडि बसेका साथीलाई दिए र आफूले बाइक चलाए । म्यापकै सहायताले उनी कार्यालयसम्म आए ।

‘प्रविधिको प्रयोग गर्न जाने धेरै सजिलो हुँदोरहेछ,’ उनले आफ्नो कथा सुनाउँदै भने । पछिल्लो समय मानिसको पाइला–पाइलामा प्रविधि छ । कुनै ठाउँमा सजिलै पुग्न होस् या आफ्ना आफन्तसँग कुराकानी गर्न । आफ्नो अभिव्यक्तिलाई सार्वजनिक गर्न होस् या दैनिक जीवनलाई सजिलो बनाउन । प्रविधिको प्रयोग भइरहेको छ ।

कुनै समय रहर रहेको प्रविधि अहिले आवश्यकता भइसक्यो, विस्तारै बाध्यता बन्दैछ । अझ, युवापुस्ता त प्रविधिसँग यति धेरै नजिक छ कि त्यसविनाको समय उनीहरू सोच्न पनि सक्दैनन् । इन्टरनेटका साथै मोबाइल, ट्याब र ल्यापटपको सहज उपलब्धताले यसलाई अझ बढावा दिएको छ ।
सहज जीवन मोबाइलमा उपलब्ध विभिन्न ‘एप्स’ले जनजीवनलाई निकै सहज बनाएको छ ।

यसको उदाहरण गत वर्षको महाभूकम्पलाई नै लिन सकिन्छ । भूकम्पका बेला यससम्बन्धि जानकारी दिने विभिन्न ‘एप्स’ चर्चामा आए । कुनै विषयमा तत्काल जानकारी पाउन, पुस्तक तथा पत्रिका पढ्न, शब्दकोष हेर्न, लोकसेवाको तयारी गर्न धेरैथरी ‘एप्स’को प्रयोग भइरहेको हुन्छ । माछापोखरी बस्ने श्रवण उप्रेती प्रयोगकर्ता मध्येका हुन् ।

mobileनेम इन्टिच्युट, पुतलीसडकमा लोकसेवा तयारी कक्षा लिइरहेका उनी विभिन्न एप्सको सहायताले आफूलाई अद्यावधिक गरिराख्छन् । ‘गाडीमा यात्रा गर्दा वा कसैलाई पर्खिंदा यस्ता एप्स प्रयोगले सजिलो बनाउँछ,’ उनी भन्छन्, ‘जहाँतहीँ किताब निकालेर पढ्न असहज हुन्छ तर मोबाइलमा पढ्दा सहज हुन्छ ।’ साहित्यका पाठक पनि यस्तो प्रविधिबाट लाभान्वित भएका छन् । फिल्म वा डकुमेन्ट्री हेर्न पनि प्रविधिकै कारण विशेष समय खर्चिनु पर्दैन ।

प्रभावकारी सिकाइ
भक्तपुरको ख्वपः कलेजमा इन्जिनियरिङ तेस्रो सेमेस्टर पढिरहेका सागर आचार्यलाई प्रविधिले निकै सघाउ पु¥याइरहेको छ । उनी कतिपय पुस्तक डाउनलोड गर्न, असाइनमेन्ट तयार पार्न र साथीहरूसँग पाठबारे छलफल गर्न इन्टरनेट र मोबाइलको प्रयोग गर्छन् ।यस्तै, समृद्धि कलेज, लोकन्थलीमा बीएस्सी सीएसआईटीको चौथो सेमेस्टर अध्ययनरत क्रान्ति जोशीले पढाइमा सघाउ पुगोस् भनेरै पुरानो साधारण फोन छाडेर नयाँ स्मार्ट फोन किनिन् ।

उनी भन्छिन्, ‘पढाइसँग सम्बन्धित विषय इन्टरनेटको सहायताले मोबाइलमार्फत् नै खोज्ने गरेकी छु । पहिले ठूला किताब पल्टाएर खोज्नुपथ्र्यो, अहिले मोबाइलमा एकैछिनमा सजिलैसँग भेटिन्छ ।’ उनी मोबाइलमार्फत् नै आवश्यक सूचना खोज्छिन् । तस्बिर ‘डाउनलोड’ गर्छिन्, सरहरूले दिएका ‘लिंक’ खोज्छिन् । ‘प्रोग्रामिङ’ र ‘कोडिङ’को काम ल्यापटपबाट गर्छिन् । प्रविधिले उनको पढाइमा निकै सघाएको छ ।

साना नानीबाबुको सिकाइमा पनि प्रविधिको प्रयोग बढ्दै छ । त्यसैले अघिकांश मोबाइलमा ‘राइम’ भेट्न सकिन्छ ।प्रविधिको प्रयोगले सूचनाको क्षेत्रमा क्रान्ति नै आइसकेको छ । यसैमार्फत् घटना हुनेबित्तिकै संसारका कुनै पनि ठाउँका मानिस त्यसबारे अद्यावधिक हुन्छन् । त्यसैले मोबाइल वा सामाजिक सञ्जालमा ‘न्युज पोर्टल’ स्क्रल गर्ने युवाको संख्या अत्यधिक छ ।

सहज अभिव्यक्ति
प्रविधिको सुलभतासँगै फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालको प्रयोग अधिक भइरहेको छ, जहाँ राजनीतिक टिप्पणीदेखि साहित्यिक रचनाको ‘पोस्ट’ गर्नेहरू धेरै छन् । यसले मानिसलाई अभिव्यक्त गर्न सहज भएको छ । अब पहिलेजस्तो साथीभाइलाई सुनाएर वा पत्रिकामा छापिएपछि प्रतिक्रिया कुरिरहनु जरुरी छैन ।

बाध्यता पनि
त्यसो त, अहिले प्रविधि बाध्यता पनि बनिरहेको छ । साथीसंगीसँग स्कुल वा कलेजमा गफ गर्दा नयाँ ‘गेम’ वा ‘एप्स’को चर्चा हुने हुनाले त्यसमा अद्यावधिक नहुनेहरू स्वतः छायाँमा पर्छन् । काठमाडौं बानेश्वरस्थित लिभरपुल कलेजमा कक्षा १२ अध्ययनरत विमल अधिकारी भन्छन्, ‘साथीभाइ भेट्दा, सामान्य गफगाफ गर्दा कुनै नयाँ गेमबारे चर्चा चल्दा आफूले खेलेको नहुँदा पछि परेको महशुस हुन्छ,’ उनी थप्छन्, ‘उनीहरूको अगाडि गफ गर्ने विषय नै नभएजस्तो लाग्छ ।’

एक्लिँदै समूहबाट
सन्डेज क्याफे, खिचापोखरीमा हल्ला गर्दै पसेका विद्यार्थी टेबलवरिपरि बसे र मोबाइल चलाउन थाले । त्यसपछि शान्त भए । उनीहरूको अनुहारमा कहिले खुशी त कहिले शान्त भाव झल्किन्थ्यो । केही क्षणपछि आफ्नो मोबाइल गोजीमा राख्दै एक छात्रले भने, ‘खाजा खान र गफ गर्न यहाँ आएको होइन ?’ सँगैकी छात्राले कटाक्ष गरिन्, ‘यसको मोबाइलमा चार्ज सकियो क्यारे !’ अरूले कुनै प्रतिक्रिया जनाएनन् । एकछिनपछि उनले पनि फेरि मोबाइल झिके र व्यस्त हुन थाले ।

होटलमा होस् वा पार्क । आजकाल मानिस समूहमा देखिन्छन् । तर, एक्लै–एक्लै रमाइरहेका हुन्छन् । त्यसैलाई मध्यनजर गर्दै सार्वजनिक स्थलहरूले पनि ‘वाइफाइ’को सुविधा दिन थालेका छन् । रत्नपार्कमा वाइफाइको सुविधा थप्नु त्यसैको उदाहरण हो ।यस्तो प्रवृत्तिले पछिल्लो समय मानिस समूहबाट बाहिरिँदै गएको देखिन्छ । प्रत्यक्ष भेटघाट, गफगाफ र भावना साटासाट गर्ने अवसर कम हुन थालेको छ । यसले सम्बन्धको गाढापनमा पनि असर पारिरहेको छ । मानिसको सम्बन्ध भावनात्मक नभई प्राविधिक हुँदै गएको छ ।

प्रविधिले टाढाको मानिसलाई नजिक र नजिककोलाई चाहिँ झन् टाढा बनाइरहेको मानवशास्त्री सुरेश ढकाल बताउँछन् । ‘प्रविधिको प्रकृति नै यस्तो हुन्छ कि यसले हृदय भएको मानिसबाट अलग्याएर निर्जीव कुरामा मानिसलाई केन्द्रित गर्छ,’ ढकाल भन्छन्, ‘जब मानिस जीवित मानिसबाट अलग्गिन्छ, सामाजिक मिडिया नाम दिइए पनि असामाजिक हुँदै जान्छ ।’ प्रविधिले मानिसमा वैयक्तिक चरित्र विकास गराउँदै जाने ढकालको ठम्याइ छ । यसबाट बच्न पारिवारिक तहमा छलफल, कुराकानी र प्रत्यक्ष अन्तरक्रियालाई नघटाई प्रविधिको सकारात्मक उपयोगलाई बढावा दिनुपर्ने ढकालको सुझाव छ ।

घातक मोबाइल गेम

_MG_0903पछिल्लो समय बालबालिका र युवा मोबाइल गेमका लती बन्दै गएका छन् । यस्ता गेमले उनीहरू शारीरिक कसरतबाट विमुख हुँदैछन् भने विभिन्न समस्याको शिकार पनि बन्दैछन् । हिलसाइड एकेडेमी, काठमाडौंका शिक्षक आत्माराम दंगाल भन्छन्, ‘हामी केटाकेटी छँदा फुटबल, भलिबल, चुंगी, कबड्डी, डन्डीबियो खेल्थ्यौँ, आजकाल त सबै खेल मोबाइलमा हुन्छ, छोराछोरी त्यहीँ खेल्छन् ।

’बिद्यालय छुट्टि भएर घर गएपछि उनको मोबाइल छोरीले लिन्छिन् र गेममा तल्लिन हुन्छिन् । बालबालिका शारीरिक कसरत हुने खेलको बानी नबसेकामा उनी चिन्तित छन् ।

बिग्रिँदै पढाइ
दुर्गम होस् वा सुगम । अहिले मोबाइल सुविधा नभएको ठाउँ कमै छन् । मोबाइल कुराकानीका लागि मात्रै नभई इन्टरनेट चलाउन र गेम खेल्न पनि उत्तिकै प्रयोग हुन्छ । तल्ला कक्षादेखि नै फेसबुकको प्रयोग गर्ने, युट्युबबाट भिडियो हेर्ने तथा डाउनलोड गर्नेको संख्या बढिरहेको छ । त्यसैले, कतिपय विद्यालय र क्याम्पसले विद्यार्थीलाई यसको प्रयोग गर्न दिएका छैनन् । तर, अहिलेको समयमा यस्तो सम्भव देखिंदैन । त्यसैले, यसको निषेधभन्दा पनि सकारात्मक प्रयोगमा जोड दिनु आवश्यक छ ।

दुर्घटना पनि !

लन्च भएको छोटो समयमै व्यापक चर्चा पाएको मोबाइल गेम ‘पोकेमन गो’लाई धेरै देशमा प्रतिबन्ध लगाइयो । यसको प्रमुख कारण हो, ती गेम खेल्नेहरूले बेहोरेको दुर्घटना । गेमले मानिसलाई एकोहोरो बनाउने गतिलो उदाहरण हो यो । नेपालमा ‘पोकेमन’ आधिकारिक रूपमा ‘लन्च’ हुनुअगावै यसका दुष्परिणामका खबर सार्वजनिक भए ।

बालबालिका सामान्य खेलमै पनि ‘एडिक्ट’ भएर पढाइ बिगारिरहेका बेला यो खबर झन् डरलाग्दो थियो । ‘क्यान्डी क्रस’कै लतले पनि धेरैलाई ‘रिह्याबिलिटेसन सेन्टर’ पुर्‌याइएका घटना पनि छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.