विश्व राजनीतिका महासंयोगहरू

 विश्व राजनीतिका महासंयोगहरू

एक्काइसौं शताब्दीको पूर्वसन्ध्यामा तत्कालीन रूसी राष्ट्रपति बोरिस येल्तसिनले पूर्व सुरक्षा अधिकारी भ्लादिमिर पुटिनलाई आफ्नो उत्तराधिकारीको रूपमा चयन गर्दा झन्डै अपरिचित पुटिनबारे देशविदेशमा आश्चर्य व्यक्त गरिएको थियो । तिनै पुटिनले लामो समयदेखिको राजनीतिक अस्थिरता बेहोरिरहेको रूसलाई सुदृढ र स्थिर शासन देलान् भनेर कसैले अनुमान गरेका थिएनन् ।

सन् १९९९ को अन्त्यको सहस्राब्दी सम्बोधन नाउँले चर्चित भाषणमा पुटिनले भनेका थिए— बीसौं शताब्दीमा रूसले जति परीक्षाका घडीहरू संसारका कमै राष्ट्रहरूले सामना गरे । उनले भनेका थिए– देशभक्ति रूसी जनताको साहस, दृढता, शक्तिको स्रोत हो । हामीमा देशभक्ति, स्वाभिमान र गौरव चेतना नरहेको दिन हामी एउटा राष्ट्रको रूपमा रहने छैनौँ । हाम्रा सबै उपलब्धिहरू माटो बन्नेछन् ।

रूसको महानताप्रति दृढ विश्वास प्रदर्शन गर्दै उनले भने– रूस महान् थियो र रहनेछ । उनको सम्बोधनको सार थियो– रूस पुनः महान् हुनुपर्छ, यसको लागि पहिला रूस भन्ने नीति अवलम्बन गरिनेछ । संयोग नै मान्नुपर्छ– भ्लादिमिर पुटिन जुन भावना र संकल्प बोकेर डेढ दसकभन्दा लामो समयदेखि रूसमा शासन गरिरहेका छन्, त्यही नारा बोकेर अमेरिकी इतिहासकै सबैभन्दा प्रतिकुल र कठिन निर्वाचन अभियान छिचोलेर डोनाल्ड ट्रम्प अमेरिकाका पैंतालीसौं राष्ट्रपति निर्वाचित भए ।

डोनाल्डअघि जापान, चीन, भारत, फिलिपिन्सलगायतका मुलुकहरूमा पनि त्यस्तै नारासहित सफल निर्वाचन अभियान सञ्चालन भएका थिए । फ्रान्स, जर्मनी, नेदरल्यान्ड र बेल्जियममा हुन निर्धारित आगामी निर्वाचनहरूमा पनि यो लहर कायम रहने अनुमान गरिँदै छ ।

त्यति मात्र होइन, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी राजनीतिज्ञ एवं सांसद भ्लादिमिर झिरिनोभस्कीले एउटा अन्तर्वार्तामा निर्वाचनमा हिलारी क्लिन्टन विजयी भएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको बारे अन्तर्राष्ट्रिय समाचार संस्था रोयटरले अक्टोबर १२ मा जानकारी दिएको थियो ।

पुटिनले पनि भनेका थिए– हिलारी क्लिन्टन अमेरिकाको राष्ट्रपति हुन्छिन् भने त्यसको सीधा अर्थ हो– रूस र अमेरिकाबीचको युद्ध । उता हिलारी क्लिन्टनले पनि पुटिनलाई हिटलर जस्तो भनेर भन्ने गरेको बारे वासिंटन पोस्ट्ले मार्च २०१४ मा उल्लेख गरेको थियो ।

स्मरणीय छ, २०११ मा रूसमा भएको संसदीय निर्वाचन र २०१२ मा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको आरोपसहित मस्कोमा भएको सडक प्रदर्शनमा तत्कालीन विदेशमन्त्रीको हैसियतमा हिलारीको प्रोत्साहन र समर्थन रहेकोमा पुटिन विश्वस्त थिए ।

त्यसअघि सन् २००९ मा विदेशमन्त्रीको रूपमा आफ्नो पहिलो रूस भ्रमणको अवसरमा एउटा स्थानीय रेडियोमार्फत रूसमा मानव अधिकारको स्थिति तथा जर्जिया, इरान र चेचेन सवालमा मस्कोविरुद्ध आफूले गरेको कडा प्रहारबारे स्वयं हिलारीले सन् २०१४ मा प्रकाशित आत्मकथामा लेखेकी छन् ।

सन् २०१२ मा भएको रूसी राष्ट्रपतीय निर्वाचनमा पश्चिमले रुचाएका दिमित्री मेद्भेदेभ नै राष्ट्रपति रहून् भन्ने अमेरिकी चाहना थियो । तर प्रधानमन्त्रीको रूपमा चार वर्षको अन्तरालपछि पुनः राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन कुनै वाधा नहुने निर्णय गरेर पुटिन चुनाव लडे र विजयी भए । अमेरिका र पश्चिमी राष्ट्रहरू लोकप्रिय र रूसी राष्ट्रियताका कट्टर अभियन्ता पुटिनको तुलनामा पश्चिम मैत्री मानिने दिमित्री मेद्भेदेभको पक्षमा थिए ।

 

स्मरणीय छ, लगातार दुई कार्यकाल राष्ट्रपति निर्वाचित भएपछि सन् २००८ मा पुटिनले प्रधानमन्त्री मेद्भेदेभलाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री भएका थिए । उनलाई राष्ट्रपति बन्न नदिने अमेरिकी कूटनीतिक र राजनीतिक प्रयासहरूलाई असफल बनाउँदै पुटिन विजयी भएपछि अमेरिका क्रूद्ध भएको थियो । त्यसमाथि युक्रेन संकट, क्रिमिया विलय र सिरियाली गृहयुद्धमा रूस र अमेरिकाको समर्थन र सहयोग एकअर्कोको विरोधी पक्षलाई भएको सन्दर्भमा रूस अमेरिकी राजनीतिको एउटा पक्ष बनेको थियो ।

सम्भवतः ओबामाले पहिलोपटक आफ्नो कार्यकालको अन्त्यमा आएर हालै सम्पन्न जर्मनी भ्रमणमा रूसलाई क्षेत्रमा र विश्वव्यापी रूपमै प्रभाव राख्ने महवपूर्ण राष्ट्र बताए । रूसलाई विश्वको सैनिक महाशक्ति स्विकारे । आफ्नो सिंगो कार्यकालमा रूसलाई उपेक्षा, तिरस्कार र एकपछि अर्को आर्थिक नाकाबन्दी लगाउँदै आएका ओबामाले जर्मनी भ्रमणमा जे स्वीकार गरे, त्यसलाई उनले आफ्नो कार्यकालको सुरुमै स्वीकार गरेर सोअनुरूप नीति अवलम्बन गरेका भए सम्भवतः युरोप र अमेरिकाको वर्तमान फरक हुने थियो ।

बेलायतले गत जुनमा युरोपियन युनियनबाट अलग हुने निर्णयको पछाडि पनि बेलायतको गुमेको शक्ति र गौरव पुनस्र्थापना नै थियो । बेलायतको उक्त जनमत संग्रहको परिणाम पछाडि पनि पुटिन प्रभाव रहेको आरोप पनि अमेरिकी, ब्रिटिस र केही अन्य प्रमुख पश्चिमी समाचार, राजनीतिज्ञ र बौद्धिक समूहहरूले लगाएका थिए ।

वर्तमान सन्दर्भ र ऐतिहासिक महासंयोग

विदेशमन्त्री हुँदा हिलारीले कतिपय संवेदनशील राष्ट्रिय महत्वका सामग्री निजी इमेलमार्फत अनधिकृत व्यक्तिहरूलाई उपलब्ध गराएको र सो सम्बन्धमा जाँचबुझ सुरु भएपछि ती इमेलहरू मेटिएका थिए । तर ती इमेल पहिल्यै बिकिलिक्समार्फत क्रेमलिनलाई प्राप्त भएको र हिलारीले जितेमा ती अति संवेदनशील इमेलहरूलाई राजनीतिक हतियारको रूपमा क्रेमलिनले प्रयोग गर्न सक्ने गम्भीर चिन्ता हिलारी क्याम्पमा व्याप्त थियो ।

डेमोक्रेटिक दलको राष्ट्रिय सम्मेलनको सन्दर्भमा हिलारी पक्षले बर्नी स्यान्डर्सविरुद्ध अवलम्बन गरेको रणनीतिसम्बन्धी इमेलहरूलाई बिकिलिक्सले सार्वजनिक गरेपछि हिलारी र बर्नी समर्थकहरूले परस्पर लगाएका आरोप–प्रत्यारोपले एउटा जटिल राजनीतिक स्थिति निर्माण गरेको सन्दर्भमा त्यस्तो चिन्ता असान्दर्भिक पनि थिएन ।

नाटो र अमेरिकाले रूसलाई लक्ष गरेर पोल्यान्ड र रुमानियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापनासहित सैन्य तैनाथीमा विस्तार गरिरहेको छ । त्यो युरोपको सुरक्षाको लागि खतरा भएकाले कुनै पनि बेला ती प्रणालीविरुद्ध आक्रमण गर्ने चेतावनी पुटिनले दिँदै आएका थिए ।

यसैबीच गत जनवरीमा रूसका सीमावर्ती क्षेत्रमा रूसविरोधी राष्ट्रहरूको सामरिक मनोबल उठाउने उद्देश्यले नाटोले विशाल सैन्य अभ्यास सञ्चालन गरेको थियो । रूसले पनि आफ्नो पश्चिम सीमा क्षेत्रमा सैन्य संरचना विस्तार गरेर आफ्नो स्थिति सुदृढ पारेको थियो ।

तर अमेरिकामा हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा डोनाल्डको विजयले समस्त परिस्थितिमा फेरबदल भएको छ । यस्तो अवस्था विगतमा पनि आएको थियो । रूसी साम्राज्ञी एलिजाबेथको शासनकालको अन्त्यतिर युरोप सातबर्से युद्धमा थियो । रूस र प्रसा (हालको जर्मनी, पोल्यान्ड, लिथुआनिया र रूसका केही भूभागबाट बनेको प्रमुख युरोपेली राज्य) बीच निर्णायक युद्ध भइरहेको थियो ।

रूसी सेनाले बर्लिनको घेराबन्दी गरेको थियो । प्रसाको बाल्टिक सागर प्रवेश गर्ने द्वारको रूपमा रहेको प्रसिद्ध कोल्बर्ग किल्ला पनि रूसको नियन्त्रणमा थियो । रूसी सेना बर्लिनको प्रवेश द्वारको रूपमा रहेको ब्रान्डेन बर्ग गेट हुँदै बर्लिन प्रवेशको तयारीमा थियो । त्यस अवस्थामा आफ्नो सम्पूर्ण पराजयबाहेक अर्को कुनै विकल्प नरहेकाले प्रसाका सम्राट् फ्रेडरिक महान् र उनको सेना आत्मसमर्पण नगर्ने बरू लड्दालड्दै आफ्नो प्राणत्याग गर्ने संकल्प गरेर बसेको थियो ।

त्यसबखत डिसेम्बर १७६१ मा रूसी साम्राज्ञी एलिजाबेथको निधन भयो र पिटर तृतीय रूसका सम्राट् भए । तर पिटर फ्रेडरिकका ठूला प्रशंसक थिए र उनले तत्कालै प्रसाविरुद्धको युद्ध समाप्तिको घोषणा गरे । बर्लिनको घेराबन्दीमा रहेको रूसी सेना फिर्ता भयो । प्रसा अन्तिम पराजयबाट जोगियो । यसलाई इतिहासमा ब्रान्डेन बर्गको चमत्कार भनिन्छ ।

त्यसको १७८ वर्षपछि दोस्रो विश्वयुद्धको समाप्तितिर बर्लिनमा हिटलर र उनका सहयोगीहरू रूस र मित्रराष्ट्रहरूको त्यस्तै घेराबन्दीमा थिए । जर्मनी पूर्ण पराजयको स्थितिमा थियो । त्यसैबेला गोएबल्सले हिटलरलाई ब्रान्डेन बर्ग चमत्कारबारे बताउँदै सन् १९४५ को जनवरीमै अमेरिकी राष्ट्रपति फ्रयांकलिन रुजबेल्टका निजी चिकित्सकले राष्ट्रपतिको रक्तचापमा अत्यन्त असन्तुलित उतारचढाव आउने गरेकाले कुनै पनि किसिमको तनाव दिने खालको समाचार राष्ट्रपतिको लागि प्राणघातक हुने राष्ट्रपतिका सहयोगीहरूलाई बताइसकेको गोप्य रहस्य पनि बताए । दोस्रो विश्वयुद्धमा एउटा ध्रुवको नेतृत्व गरिरहेको सर्वशक्तिमान राष्ट्रको सर्वोच्च कार्यकारी अधिकारीको लागि तनावरहित समयको सुविधा सम्भव थिएन ।

त्यसैले गोयबल्सले हिटलरलाई रुजबेल्टको मृत्यु कुनै पनि बेला हुन सक्ने भएकाले ब्रान्डेन बर्ग चमत्कारको पुनरावृत्ति हुने बताइरहेका थिए । चिकित्सकले चेतावनी दिएको तीन महिनापछि अप्रिल १९४५ मा राष्ट्रपति रुजबेल्टको मस्तिष्क रक्तस्रावबाट मृत्यु भयो । तर, उनका उत्तराधिकारी ह्यारी ट्र्युमेन पिटर तृतीय सावित भएनन् । राज्य सञ्चालनमा कुनै अनुभव नभएका ट्र्युमेनले आशातीत रूपमा विलक्षण क्षमता प्रदर्शन गर्दै युद्धको नेतृत्व गरे र अमेरिकाका महानतम् राष्ट्रपतिको रूपमा आफ्नो स्थान इतिहासमा सुरक्षित राखे । जर्मनी पूर्णतः पराजित भयो ।

जर्मनी अमेरिका सम्बन्धमा अर्को महासंयोग

२० जनवरी २०१७ मा नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्ने समयभन्दा एक सय वर्षअघि ११ जनवरी १९१७ मा जर्मन विदेशमन्त्री आर्थर जिम्मरम्यानले मेक्सिकोमा कार्यरत जर्मन राजदूत हेनरिक भान एक्हर्डलाई सांकेतिक भाषामा एउटा टेलिग्राम पठाएका थिए ।

टेलिग्राममा राजदूत एक्हर्डलाई तुरुन्त मेक्सिकोका राष्ट्रपतिलाई गोप्य तरिकाले भेटेर जर्मनी र अमेरिकाबीचको युद्धमा मेक्सिको जर्मनीको पक्षमा आएमा उसलाई पर्याप्त आर्थिक सहयोग गर्ने र युद्धमा अमेरिका पराजित भएपछि अमेरिकाका टेक्सास, न्युमेक्सिको र एरिजोनालगायतका भूभाग मेक्सिकोलाई फिर्ता गरिने उल्लेख भएको थियो । स्मरणीय छ, सन् १८४८ को युद्धमा मेक्सिकोलाई एक करोड ५० लाख डलर दिएर कोलोराडो, क्यालिफोर्नियालगायतका ती भूभाग अमेरिकामा मिलाइएको थियो ।

ब्रिटिस गुप्तचरहरूले उक्त टेलिग्राम प्राप्त गरे र सन्देशमा प्रयुक्त सांकेतिक भाषाको अर्थ खुलाए । लन्डनस्थित अमेरिकी राजदूत वाल्टर पेजमार्फत फेब्रुवरी २६ मा उक्त सन्देश अमेरिकी राष्ट्रपति वुड्रो विल्सनसमक्ष पुग्यो । मार्च १ मा उक्त पत्र अमेरिकी समाचार पत्रहरूमा प्रकाशित भयो । त्यसले युरोपीय युद्धमा तटस्थ रहने विल्सनलाई जर्मनीविरुद्ध युद्ध घोषणा गर्ने अवस्थामा पुर्‍यायो ।

अप्रिल १९१७ मा अमेरिकाले जर्मनीविरुद्ध युद्धको घोषणा गर्‍यो । अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले शान्ति, न्याय, स्वतन्त्रता र प्रजातन्त्रका मूल्यहरूको रक्षाको मूल जिम्मेवारी अमेरिकाले लिनुपर्ने बताउँदै युरोपमा जर्मनीविरुद्ध प्रजातन्त्रको भविष्य सुरक्षित बनाउने कार्यको नेतृत्व अमेरिकाले लिने बताए । पहिलो र दोस्रो विश्वयुद्ध हुँदै शीतयुद्धदेखि आजसम्म अमेरिकाले त्यो नेतृत्व सम्हाल्दै आइरहेको छ ।

डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सय वर्षदेखि उदार प्रजातान्त्रिक विश्वको नेतृत्व गर्दै आएको अमेरिकाले विश्वमा स्वतन्त्रता, प्रजातन्त्र, खुला भूमण्डलीय अर्थतन्त्रको नेतृत्व गर्न नसक्ने भएकाले अब युरोपले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ भन्ने मत प्रबल हुँदै छ ।

आज अमेरिकी राष्ट्रवाद, अमेरिका पहिला र महान् अमेरिकाको ट्रम्पको नीतिको सम्भावित असर, चीनको आर्थिक तथा राजनीतिक प्रभाव र रूसको सैनिक हुँकारबीच युरोपले आफूलाई टुहुरो अनुभव गर्न थालेको छ । त्यसैकारण विश्व जर्मनीप्रति आकर्षित छ ।

त्यस अवस्थामा युरोपको सबैभन्दा ठूलो र शक्तिशाली अर्थतन्त्रलाई प्रतिनिधित्व गर्ने जर्मनी र त्यहाँकी शक्तिशाली चान्सलर एन्जिला मार्केललाई त्यस्तो विश्व प्रणालीको नेतृत्व लिन अमेरिका र बेलायतसहित युरोपका प्रमुख समाचारपत्र र पत्रिकाहरूले आग्रह थालेका छन् । परिणाममा एन्जिला मार्केल चौथोपटक चान्सलर बन्ने सम्भावना नजिकिँदै छ ।

ब्रेग्जिट र अमेरिकी निर्वाचन परिणामले दिने ऊर्जा र प्रोत्साहनको कारण फ्रान्सको आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा कट्टरपन्थी नेता मरिन लिपेन विजयी हुने सम्भावना रहेको बारे स्वयं फ्रान्सका प्रधानमन्त्री मेनुएल भल्सले स्वीकार गरेका छन् । त्यति मात्र होइन, ट्रम्प र पुटिनसँगको सहकार्यमा आफूले विश्वमा शान्ति र व्यवस्था कायम गर्न सक्ने पनि लिपेनले बताएको बारे ब्रिटिस दैनिक इन्डिपेन्डेन्टले बताएको छ ।
अमेरिकाले युरोपलाई सुरक्षा दियो, युरोपीय जीवनलाई सहज बनाइदियो । अमेरिकाले दिएको सुरक्षाले युरोपलाई परनिर्भर पनि बनाइदियो । हरेक संकटको स्थितिमा प्रहरीका रूपमा अमेरिकी उपस्थितिले आफ्नो सुरक्षाप्रति आश्वस्त युरोपेलीहरूले समृद्धिको असाधारण अवसर प्राप्त गरे ।

तर आज अमेरिकी राष्ट्रवाद, अमेरिका पहिला र महान् अमेरिकाको ट्रम्पको नीतिको सम्भावित असर, चीनको आर्थिक तथा राजनीतिक प्रभाव र रूसको सैनिक हुँकारबीच युरोपले आफूलाई टुहुरो अनुभव गर्न थालेको छ । त्यसैकारण विश्व जर्मनीप्रति आकर्षित छ ।

राष्ट्रपतिको रूपमा आफ्नो अन्तिम युरोप भ्रमणको क्रममा नोभेम्बर १७ मा बाराक ओबामा र जर्मन चान्सलर एन्जिला मार्केलबीचको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूद्वारा सोधिएका प्रश्नहरूको उत्तरमा ओबामाले पनि जर्मनी र मार्केलप्रति त्यस्तै अपेक्षा गरेको बताए ।

हो, स्वतन्त्रताका मूल्यहरूले नै अमेरिकालाई महान्, सर्वशक्तिमान र विश्व व्यवस्थाको एकछत्र नेतृत्व प्रदान गरेको हो । अमेरिकी नेतृत्वको बजार अर्थतन्त्रले नै विश्वलाई लामो शान्ति र अथाह समृद्धि दियो । बजारलाई उत्कृष्ट उत्पादनहरू दियो । संसारभरिका सुन्दर र उन्नत सपना देख्ने र आफ्ना सपनाहरूलाई विपनामा रूपान्तरण गर्न कटिबद्ध युवा आप्रवासीहरूको प्रथम छनोट अमेरिका बन्यो र तिनैको कर्म र पुरुषार्थले अमेरिका भएर उभियो अमेरिका ।

अभाव नभएका होइनन्, तर पनि अमेरिकासँग राज्य र अर्थतन्त्र सञ्चालनको सबैभन्दा प्रभावकारी राज्य संरचनाहरू छन् । तिनले कुनै पनि राष्ट्रपतिलाई आफ्नो भविष्य दृष्टिलाई कार्यान्वयन गर्न पर्याप्त स्वतन्त्रता त दिन्छ तर अमेरिकी चेतनाको केन्द्रमा रहेका मूल अमेरिकी मूल्य प्रणालीलाई अस्वीकार गर्ने स्वतन्त्रता दिँदैन ।

राष्ट्रपति ओबामाका त्यस्ता प्रयासहरूले नै डोनाल्ड ट्रम्पलाई निर्वाचित गरेको हो । त्यसैले डोनाल्ड र उनका उत्तराधिकारीहरूलाई अनुशासित गर्ने क्षमता पनि अमेरिकी राज्य संरचनासँग छ । त्यो भनेको भविष्यका महासंयोगहरूलाई पनि परिभाषित गर्ने अमेरिकी राज्य क्षमता हो भन्ने अमेरिकी इतिहासले सावित गरिरहेको छ ।
-भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटिजिक स्टडिजसँग आबद्ध छन् ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.