हिंसा ज्यूँका त्यूँ ?
हिंसा के हो ? कसैलाई चोट नपुर्याईकन आफूखुसी हुन नसक्नु सामान्य अर्थमा यही हिंसा हो । यही सामान्य अर्थमा विशाल वास्तविकता लुकेको छ । कसले गर्छ महिलामाथि हिंसा ? पुरुषले ? के पुरुष प्रवृत्ति भनेको हिंसात्मक प्रवृत्ति हो ? अवश्य होइन होला ।
आदरभाव, प्रेमपूर्ण भाव, सहनशीलता जस्ता गुण दिएको छ प्रकृतिले महिलालाई यो गुणमाथि पुरुषले कदापि हिंसा गर्न सक्दैन । जब ऊ हिंसामा उत्रिन्छ भने उसले मनुष्यको स्वभावबाट हटेर राक्षसी प्रवृत्ति अपनाएको हुन्छ ।
कुनै देश, कुनै धर्म, कुनै संस्कृति, कुनै भाषामा छैन महिलालाई अन्याय गर्नु भन्ने । महिलाप्रतिको आदर भाव र प्रेमले नै यो संसारको र मनुष्यको सृष्टि भएको हो । पुरुषको, मनुष्य जातिको उद्गम महिलाबाट भयो । आमा, जननी, मातृत्वबाट भयो । पुरुषले आफ्नो उद्गम बिर्सेपछि के हुन्छ ?
उसले बाटो बिराउँछ, विवेक गुमाउँछ अनि प्रेमको साटो हिंसा गर्न तत्पर हुन्छ । महिला, जननी, मातृत्व जसको सृष्टिले जीवन दियो, जीवनमा प्रेम पैदा गरायो, जीवनलाई रूपान्तरण गरायो आमाको रूपबाट, दिदीबहिनी, जीवनसँगिनीको रूपबाट । के महिलाविनाको संसारको कल्पना गर्न सकिन्छ ?
पुरुष मात्र भएको भए यो संसारको स्वरूप कस्तो हुन्थ्यो होला ? खाली कागज स्वरूपको पुरुषको जीवनमा महिलाको आगमनपछि मात्र कविता कोरिन्छ, पुरुषको जीवनमा प्रेरणा थपिन्छ । यसको लागि बाहिरी शिक्षा र बाहिरी चेतनाले मात्र पुग्दो रहेनछ भन्ने उदाहरण बढ्दै गएको महिला हिंसाका उदाहरणले बताउँछन् । बाहिरबाट मनुष्यको आन्तरिक चेतनामा परिवर्तन आउँदैन । जति शैक्षिक स्तर बढ्दै गयो, आधुनिकताले स्थान लिँदै गयो, त्यति हिंसाको प्रकृति बढ्दै गइरहेको छ ।
विश्वमा आजभन्दा झन्डै ६० वर्षपहिले ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यका मिरावल परिवारका तीनजना दिदी-बहिनी (पेट्रिया, मिनर्मो र मारिया) को तत्कालीन निरंकुश तानाशाही सरकारले निर्मम हत्या गरेको विरोधमा त्यहाँका जनताले नोभेम्बर २५ को दिनलाई लिंगका आधारमा महिलाविरुद्ध गरिएको राजनीतिक हिंसाको विरोध गर्ने दिवसका रूपमा मनाउन थालेका हुन् ।
पछि त्यसलाई सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघ महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध दिवसको रूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
त्यसयता हरेक वर्षको २५ नोभेम्बरलाई विश्वभर महिला हिंसाविरुद्ध दिवसको रूपमा मनाउने गरिन्छ । यस दिवसलाई नेपालमा पनि सोह्रदिने अभियानको रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ । शारीरिक, मानसिक, आर्थिक, राजनीतिकलगायत अन्य महिला हिंसाका अनेकन रूप छन् । प्रत्येक वर्ष महिला हिंसाविरुद्धको दिवसलाई महिला अधिकारकर्मीले भव्यरूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाको अवस्था भने ज्यूँका त्यूँ छन् । किन त ?
महिला हिंसा दिवस मनाउने गरेको अवस्थामा पनि सहरदेखि गाउँसम्मका महिला कुनै न कुनै हिंसाको सिकार भएको देखिन्छ । यी सब घटना पुरुषको घमण्ड र पुरुषको सम्मान जोगाउने नाममा अनि पुरुषप्रधान समाज कायम राख्न खोजिने अमानवीय प्रवृत्तिले मात्र बारम्बार दोहोरिइरहेका छन् ।
किनकि हिंसाका कारण मनोविज्ञानमा खोजिएन, हिंसाका कारण अज्ञानतामा खोजिएन र हिंसाका कारण चेतनाको स्तरबाट हेरिएन । रोगको उपचार हुन रोग पहिचान हुनुपरे जस्तै हिंसाको अन्त्य हुन मानिसको चेतनामा जागरण, शिक्षित र सभ्य समाजको परिकल्पनामा जोड दिइएन ।
महिला हिंसाविरुद्धको अभियानलाई बर्सेनि पर्वको रूपमा मात्र मनाएर हिंसाको प्रवृत्ति अन्त्य हुनेवाला छैन । सहरी क्षेत्र र पहुँचवाला वर्गमा मात्र यो अभियान चलाएर कुनै सार्थकता छैन ।
त्यो असभ्य समाज, अशिक्षित समाज र पिछडिएका महिलालाई शिक्षाद्वारा सशक्तीकरण गर्न सके मात्र हिंसा हराएर जाला । हामी कसैले आवाज उठाउँदैमा पीडित महिलाका पीडा शान्त हुने र हट्ने होइन, तिनी पीडित महिलाले आफ्नो पीडाको आवाज आफैँ उठाउन सक्ने अवस्था सिर्जना गरिदिनु महिला अधिकारकर्मीको दायित्व र भूमिका हो ।
शारीरिक, मानसिक, आर्थिक, राजनीतिकलगायत अन्य महिला हिंसाका अनेकन रूप छन् । प्रत्येक वर्ष महिला हिंसाविरुद्धको दिवसलाई महिला अधिकारकर्मीले भव्यरूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाको अवस्था भने जस्ताको तस्तै छन् । कानले सुन्नै नसक्ने र आँखाले देख्नै नसक्ने प्रकृतिका घटना (बोक्सीको आरोपमा मलमूत्र खुवाउनु, कुटपिट गर्नु, आँखा फोर्नु, जिउँदै जलाउनु, झाँक्रीको बहानामा आगोले पोल्नु, डाम्नु आदि अमानवीय कार्य महिला हिंसाको चरम रूप हुन् ।
समाजमा अभिशापको रूपमा दाइजोका कारण लाखौंको संख्यामा महिला हिंसाको सिकार भएका छन् । तराई-मधेस, पहाड, उपत्यका जताततै यस्ता हिंसाका घटना पाइन्छन् । यस्ता हृदयविदारक घटना दाइजोका कारण दिनप्रतिदिन भइरहेको छ । एक दसकमा भएका दाइजोविरोधी विभिन्न अभियानले यसबाट हुने हिंसामा खासै कमी ल्याउन सकेको छैन ।
यही कारणले कतिपय चेलीले बेचिनुपरेको छ भने कतिपय पति र परिवारको ज्यादतीका कारण सन्तानसमेत छोडी घरवारविहीन भई निस्कनुपरेको छ । कतिपयचाहिँ हत्या र आत्महत्याका सिकार भएका छन् । त्यस्तै कतिपय चेलीले विवाहपछि पनि माइतीकै आ श्रममा बाँच्नुपरेको छ । यस्ता यथार्थको भोगाइ नेपाली समाजमा अहिले पनि विद्यमान छ ।
यौन शोषण र महिला हिंसा आफ्नै परिवारबाटै हुने जस्ता पत्यारै गर्न नसकिने घटना पनि नेपाली समाजमा हुने गरेको देखिन्छ । बालविवाह, बहुविवाह, अनमेल विवाह, गाली बेइज्जती, अपमान, मानसिक यातना जस्ता हिंसा र जघन्य अपराधका घटना पनि महिलामाथि नै हुने गरेका छन् ।
महिला हिंसा दिवस मनाउने गरेको अवस्थामा पनि सहरदेखि गाउँसम्मका महिला कुनै न कुनै हिंसाको सिकार भएको देखिन्छ । यी सब घटना पुरुषको घमण्ड र पुरुषको सम्मान जोगाउने नाममा अनि पुरुषप्रधान समाज कायम राख्न खोजिने अमानवीय प्रवृत्तिले मात्र बारम्बार दोहोरिइरहेका छन् ।
समाजमा हुने यस्ता हिंसाका कारण मनुष्यको चेतनामा खोज्नु जरुरी छ, मनुष्यको मनोविज्ञानभित्र खोजिनु जरुरी छ । त्यसभित्रको पीडा ठीक पार्न, भित्रको प्रेम जगाउन, भित्रको अहिंसाको स्वभावको बोधको लागि थोरै मात्रामा भए पनि आध्यात्मिक ज्ञानको जरुरी छ ।
जुन आध्यात्मिक ज्ञान मनुष्यको स्वभाव हो, त्यो जन्मिदै मनुष्यले लिएर आएको गुण हो । अध्यात्मले प्रेमको मार्ग मात्र प्रस्तुत गर्दछ । आफ्नो स्वभावमा बाँच्न सिकाउँछ स्वतस्फूर्त मनुष्य आफ्नो उद्गम, आफ्नो स्वभावमा फर्किन्छ । भित्री चेतना खुलेको मनुष्य समाजले मात्र अहिंसात्मक क्रान्तिको सुरुआत गर्न सक्छ, जुन तथाकथित कागजी, कानुनी, हिंसाविरुद्धको अभियानभन्दा उच्च गुणको क्रान्ति हुन सक्छ ।