लोभलाग्दो केमेस्ट्री: दयाहाङ र रामबाबु

लोभलाग्दो केमेस्ट्री: दयाहाङ र रामबाबु

२०५८ सालतिरको कुरा हो । संगीतकार पारस मुकारुङले भृकुटीमण्डपमा संगीत घर प्रालि कम्पनी खोलेका थिए । कलाकर्मीका लागि भेटघाट गर्न संगीत घर सुगम गन्तव्य बनेको थियो । त्यहाँ संगीतकर्मीमात्रै होइन चलचित्रकर्मीको जमघट पनि बाक्लो हुन्थ्यो ।

संगीतघरमै पहिलो पटक भेटेका थिए दयाहाङ राई र रामबाबु गुरुङ पनि । त्यतिबेलाका दयाहाङ र रामबाबु अहिलेभन्दा फरक थिए । सामाजिक पहिचान स्थापित भएको थिएन । भविष्य अर्थात् करियरको गन्तव्य तय थिएन । साथीभाइबाहेक अरूले न प्रशंसा गर्थे, न त कुरै काट्थे । यी दुई तन्नेरीमा संघर्ष गर्ने साहस र प्रतिभा भने सायद पर्याप्त तर सुषुप्त थियो ।

जिम गरेको गठिलो शरीर । गतिलो पर्सनालिटी । युवा तर गम्भीर स्वभावको यो मान्छेमा केही न केही छ भन्ने मलाई पहिलो भेटमै लागेको थियोः दयाहाङ राई

गजबको संयोग पहिलो भेटमै यी दुईबीच एकअर्काप्रति निकै आकर्षण र प्रभाव रहन गयो । 'जिम गरेको गठिलो शरीर । गतिलो पर्सनालिटी', पहिलो पटक रामबाबुलाई भेट्दाको स्मरण गर्दै दयाहाङ भन्छन्, 'युवा तर गम्भीर स्वभावको मान्छे । धेरै नबोल्ने । यो मान्छेमा केही न केही छ भन्ने मलाई त्यतिबेलै लागेको थियो ।' रामबाबुलाई पनि त्यो बेलाको दयाहाङ अझै झलझली याद आउँछ । 'पहिलो पटक भेट्दा कटराइजको पेन्ट, घिउ कलरको सर्ट लगाएको । लामो कपाल पालेको तर असाध्यै कम बोल्ने', रामबाबु स्मरण गर्छन्, 'उनको छविमा एउटा कलाकारको झल्को महसुस हुन्थ्यो ।' त्यो चिनजान विस्तारै मित्रतामा बदलिँदै गयो । मनमात्रै होइन काम गर्ने शैली र स्वभाव पनि मिल्न थाल्यो । 'हाम्रो जीवनशैली र भोगाइ उस्तै भएर होला धेरै कुरा मेल खान्छ', दयाहाङ भन्छन् ।

रामबाबुलाई पनि दयाहाङका कतिपय आनीबानीले निकै लोभ्याउँछ । 'सबैसँग नरम र मृदुशैलीमा बोल्ने । कुनै पनि कुरामा सकारात्मक होस् वा नकारात्मक तत्कालै प्रतिक्रिया दिइनहाल्ने दयाहाङको गजबको बानी छ', रामबाबु भन्छन्, 'वास्तवमा दयाहाङ सुखमा छ कि दुःखमा छ थाहा हुँदैन ।' नायक बन्ने सपना बोकेर रुम्जाटारबाट राजधानी छिरेका रामबाबु २०६१ सालतिर चलचित्र निर्देशन गर्न तम्सिए । चलचित्रको नाम जुराए 'अनागरिक' । आफ्नो पहिलो चलचित्रमै उनले दयाहाङलाई अभिनय गराए ।

'पहिलो टेकमै दयाहाङले कमाल गरेर देखाएका थिए', निर्देशक गुरुङ स्मरण गर्छन्, 'बारीको डिलमा खन्दै गरेको बेला माओवादी आएर जाउँ भन्छ । त्यसपछिको उसको रियाक्सन यति गजबको थियो कि सबै युनिटले प्रशंसा गरेको थियो ।' हुन त सो चलचित्र खासै चलेन तर यी दुई तन्नेरीको सहयात्रा भने त्यहीदेखि अहिले नेपाली चलचित्र क्षेत्रकै लागि मानक बनेको छ । रामबाबुको निर्देशन र दयाहाङ अभिनीत कबड्डी, कबड्डी कबड्डीजस्ता चलचित्रले दर्शकको मनमात्रै जितेन मौलिक नेपाली चलचित्रको गतिलो उदाहरण पेस गर्न सफल भयो । उनीहरूले साथ पाएका छन् कलमका खेलाडी उपेन्द्र सुब्बाको । यी तीनजनाको केमेस्ट्री नेपाली चलचित्रका लागि निकै फलदायी साबित भएको छ ।

सबैसँग मीठो भाषामा बोल्ने । सकारात्मक होस् वा नकारात्मक कुनै कुरामा तत्कालै प्रतिक्रिया दिई नहाल्ने दयाहाङ सुखमा छ कि दुःखमा थाहा पाउनै सकिँदैनः रामबाबु गुरुङ

हुन त अनुभवका दृष्टिले दुवैजना निकै परिपक्व बनेका छन । दयाहाङले लुट, झोले, छ एकान छ, वीरविक्रमजस्ता विभिन्न चलचित्रमा अभिनय गरिसकेका छन् भने रामबाबुले अनागरिक, ब्लक लिभजस्ता पृथक् धारका चलचित्रदेखि 'फ्रेज आउट' (तार बाहिर), टुकी, भेडा गोठालोलगायत आधा दर्जनभन्दा धेरै वृत्तचित्र निर्देशन गरिसकेका छन् । रामबाबु र दयाहाङको पछिल्लो सहकार्य चलचित्र पुरानो डुंगा शुक्रबारदेखि दर्शकमाझ आउँदैछ ।

प्रदर्शनअगावै राम्रो चर्चा पाएको यस चलचित्रमा मौलिक धारका अर्का हस्ती माओत्से गुरुङको कथा समेटिएको छ । दयाहाङका साथै प्रियंका कार्की, मेनुका प्रधान, माओत्से गुरुङ, बुद्धि तामाङ, जेवी गुरुङलगायतले अभिनय गरेको चलचित्र पुरानो ढुंगा पनि यी दुईको सहकार्यमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.