म्यानमारमा नेपाली संस्कृति

म्यानमारमा नेपाली संस्कृति

हजुरबुवाले जस्तो संस्कृति लिएर गएका थिए ठ्याक्कै त्यही संस्कृति अहिले म्यानमारमा यथावत् छ । 'परम्परालाई जोगाउनकै लागि भित्तेपात्रो घरघरमा पुर्‌याउँदै आएका छौं', बर्मामा बसेर नेपाली संस्कृति जोगाउन लागिपरेका ज्ञानबहादुर थापाले अनुभव सुनाए ।

यतिबेला थापा काठमाडौं आएका छन् । हजुरबुवाको पालादेखि उनको परिवार बर्मा बसाइ सरेको थियो । उनको पुख्र्यौली घर भने अर्घाखाँची हो । उनी भन्छन्, 'बेलाबेलामा नेपाल आए पनि अर्घाखाँची पुगेको छैन ।' गोर्खा सोसल वेलफेयर एसोसिएसनका संरक्षक रहेका थापा तिलगंगा आँखा अस्पतालले गरेको कार्यक्रमका लागि नेपाल आएका हुन् । नोभेम्बर १२ देखि १७ सम्म वरिष्ठ डा. सन्दुक रुइतको टोली म्यानमार गएर सात सय आँखाका बिरामीको उपचार गरेको थियो ।

रुइतलाई बर्माका मिडियाले पाँच मिनेटमा आँखाको ज्योति दिने व्यक्तिको रूपमा प्रचार गरेको उनले बताए । ती सम्पूर्ण बिरामीका लागि बस्ने ठाउँ, बिरामीलाई हेर्न, खुवाउने, यातायातको व्यवस्था गरिदिने तथा उनीहरूलाई भाडाको समेत बन्दोबस्त गरिदिने काम थापाको अगुवाइमा भएको थियो ।

उक्त कार्यक्रमपछि बर्मेली प्रतिक्रिया बोकेर उनी नेपाल आइपुगेका हुन् । 'यस्ता कार्यक्रमले राष्ट्रवादी बनाएको र नेपालप्रति थप गर्व गर्ने ठाउँ दिएको छ', थापाले अनुभूति सुनाए । बर्माका ३६ वटा नगरपालिकामा नेपालीको बसोबास छ । बर्मेली तथा नेपाली साहित्यमा उत्तिकै दक्खल राख्ने थापा दुई लाख नेपाली बर्मामा बस्दै आएको बताउँछन् । ती दुई लाख नेपालीहरू अहिले पनि नेपालमा भन्दा धेरै संस्कृति जोगाउन लागिपरेका छन् । 'जे जसरी हुन्छ नेपाली भाषा, कला, संस्कृतिलाई जोगाउनुपर्छ, नयाँ पुस्तालाई पनि नेपालीपन सिकाउनुपर्छ', भन्ने उनको मान्यता छ ।

म्यानमारको पाठ्यक्रम अनुसार बर्मेली भाषा नै पढ्नुपर्ने हुन्छ तर नेपाली बालबालिकालाई वर्षको दुई महिना नेपाली पढाउने गरेको उनले बताए । उनका अनुसार दुई महिना तर पूरा दिन नेपाली सिक्छन् त्यहाँका बालबालिका । उनी अन्य मुलुकका एनआरएनभन्दा बर्माका नेपाली बच्चाहरूले नेपाली राम्रो जान्ने र नेपाली संस्कृति बुझेको दाबी गर्छन् । उनीहरूलाई नेपाली गीतमा नाच्न, गाउन पनि सिकाइन्छ ।

नेपाली दिदीबहिनी नेपाली पहिरन लगाएर सिन्दूरमा सजिने चलन त्यहाँ यथावत् छ । तीजमा दर खानेदेखि, तिहारमा सेल पकाउने, दसैंमा टीकाजमरा लगाउनेलगायतका चलन कायम छन् । 'नेपालबाट पात्रो झिकाएर भित्तेपात्रो बनाउँछौं र सारा नेपालीको घरघरमा पुर्‌याउने गरेका छौं । नेपाली लगन, साइतअनुसार शुभकार्य गर्ने, एकादशी, औंसी पूर्णिमा याद गर्ने गरेका छौं', उनले भने, 'यस्ता अभ्यासले नेपाली संस्कृति जोगाउन सजिलो बनाएको छ ।'

म्यानमार राइटर्स एसोसिएसनको सदस्य रहेका उनले बर्मेलीको माझमा पनि फरक पहिचान बनाएका छन् । उनी नेपालबाट फर्केपछि पुनः नेपालको यात्रा, यहाँका हिमाल, नेपाली संस्कृतिको बारेमा लेख लेख्ने योजनामा छन् । उनले नेपालमा आएर १९९२ मा त्रिभुवन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका थिए । थापा नेपाली लेख, कथाकविता लेख्नेमात्र हैन वृत्तचित्र पनि बनाउँदै आएका छन् । उनी बर्माबाट १८ जनाको टोली लिएर नेपाल आएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.