ट्रम्प भर्सेज मिडिया

ट्रम्प भर्सेज मिडिया

त्यो दिन २ बजेर २० मिनेट बितिसक्दा पनि स्पेन्सर किम्बल कक्षामा आइपुगेनन् । नोभेम्बर ८ आउन एक साता बाँकी छँदा हामी अमेरिकी निर्वाचनबारे उनको विश्लेषण सुन्न आतुर थियौँ । बोस्टनस्थित इमर्सन कलेजका कम्युनिकेसन्स् विभाग प्रमुख डा. ग्रेगोरी पेनले पहिल्यै भनेका थिए, 'स्पेन्सरको झुकाव रिपब्लिकनतिर छ । त्यही भएर उनीबाट फरक मत आउन सक्छ ।'

इमर्सन कलेजका मत सर्वेक्षक तथा सहप्राध्यापक स्पेन्सरले राष्ट्रपति निर्वाचनको प्राइमरी चरणमा गरेको मत सर्वेक्षणमा रिपब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प अन्य १६ लाई पछि पार्दै उम्मेदवार बन्ने नतिजा सार्वजनिक गरेका थिए । प्राइमरी चरणका मत सर्वेक्षणहरूका अन्य नतिजा ट्रम्पको विपक्षमा थिए, नोभेम्बर ८ को अन्तिम निर्वाचन जसरी नै । स्पेन्सरको सर्वेक्षण आफ्नो पक्षमा आएपछि ट्रम्पले खुसी हुँदै भनेका थिए, 'इमर्सन कलेजले वास्तविक नतिजा निकालेको छ ।'

निर्वाचनको एक साताअघि स्पेन्सरलाई भ्याइनभ्याइ थियो, सम्भावित परिणामको विश्लेषण गर्न । हत्तपत्त कक्षामा प्राध्यापक ढिला आउने चलन नभएको देशमा निर्धारित समयभन्दा २० मिनेटपछि उनका सहयोगीले खबर ल्याए- स्पेन्सर फोनमा कुनै मिडियालाई मत सर्वेक्षणको विश्लेषण सुनाइरहेका छन् ।

Manoj_Dahal_dai2

हामी पनि उनीबाट त्यही विश्लेषण सुन्न चाहन्थ्यौँ । त्यही भएर उनलाई अधैर्य भएर पर्खिरहेका थियौँ ।करिब २२ मिनेटपछि स्पेन्सर आए र आफू ढिला भएकोमा क्षमायाचना गर्दै पछिल्ला मत सर्वेक्षणहरूको विश्लेषण गर्न थाले । सबै मत सर्वेक्षणहरूमा हिलारी क्लिन्टन अघि थिइन्, खालि कति अंकले माथि भन्नेमात्र थियो । उनी ट्रम्पभन्दा १७ अंकदेखि लिएर दुई अंकसम्मले माथि देखिएकी थिइन् । यस्तोमा ट्रम्पको विजयको कल्पना गर्नु एउटा मुर्खताबाहेक केही थिएन ।

स्पेन्सरले प्रोजेक्टरमा डाटाहरू देखाउन थाले । उनका सबै विश्लेषणहरूमा ट्रम्पले जित्ने कुनै सम्भावना थिएन । उनले भने, 'ट्रम्पले नर्थ क्यारोलिना जित्नुपर्छ, एरिजोना जित्नुपर्छ । आयोवा, ओहायो र फ्लोरिडा जित्नुपर्छ । मिसिगन र पेन्सल्भिनिया (२०) मध्ये कमसेकम एउटा राज्य आफ्नो पक्षमा पार्नुपर्छ । उनले यस्तो असम्भव र दुर्लभ विजय हासिल गर्लान् भन्ने तपाईंलाई लाग्छ ? '

अनिर्णीत रहेका यी राज्यका करिब सय इलेक्टोलर कलेज सदस्य आफ्नो पक्षमा पारेमात्र ट्रम्प राष्ट्रपति बन्ने स्पेन्सरको हिसाबमा कहीँ प्रश्न गर्ने ठाउँ थिएन । डा. पेनले रिपब्लिकन भनेका व्यक्तिबाटै ट्रम्पको विपक्षमा आएको विश्लेषणमा अपत्यार गर्नु मुर्खता थियो । करिब दुई घन्टा स्पेन्सरले डाटाहरूसहित आफ्ना विश्लेषणहरू सुनाएपछि मलाई लाग्यो, 'अब पनि हिलारीले हार्लिन् भनेर कल्पना गर्नु बुद्धिमानी होइन ।' स्पेन्सरकै डाटाहरूमा आधारित भएर मैले काठमाडौंमा न्युज फाइल गरेँ, 'ट्रम्पले चुनाव जित्न असम्भव नै छ ।'

इमर्सनका कम्युनिकेसन्स् विभाग प्रमुख डा. पेनले बोस्टन पुगेको भोलिपल्टै हामीलाई भनेका थिए, 'यौन दुव्र्यवहारमा मुछिएका, नीतिका कुरा फिटिक्कै नजान्ने यी व्यापारी ट्रम्प हामीलाई चाहिएन, यिनलाई तपाईंहरू नेपाल नै लैजानुस् ।'
हामीले पनि डा. पेनको भनाइमा होमा हो थप्दै भन्यौं, 'तर, नेपालमै यति धेरै ट्रम्प छन्, तपाईंका ट्रम्प हामीलाई चाहिँदैनन् ।'

इमर्सनका कम्युनिकेसन्स् विभाग प्रमुख डा. ग्रेगोरी पेनले बोस्टन पुगेको भोलिपल्टै हामीलाई भनेका थिए, 'यौन दुव्र्यवहारमा मुछिएका, नीतिका कुरा फिटिक्कै नजान्ने यी व्यापारी ट्रम्प हामीलाई चाहिएन, यिनलाई तपाईंहरू नेपाल नै लैजानुस् ।'

हो, नीतिगत विषयमा जानकारी नराख्ने, विपक्षीलाई आक्रामक ढंगले गाली गर्ने र जुनसुकै विषयमा सतही कुरा गर्ने ट्रम्प अमेरिकी इतिहासमै कमजोर राष्ट्रपति उम्मेदवार थिए तर उनी त्यहाँकै निर्वाचन प्रणालीबाट ह्वाइट हाउसको दौडमा छानिएका थिए । पार्टीभित्रै नरहेका र बौद्धिक रूपमा कमजोर ट्रम्प राष्ट्रपति उम्मेदवार बन्नु अमेरिकी प्रजातन्त्रको एउटा अनुहार थियो । टीभीमा उनका भनाइ सुन्दा लाग्थ्यो, संसारकै सबैभन्दा सर्वोच्च कूटनीतिक पदका लागि इतिहासकै अकूटनीतिक व्यक्ति प्रतिस्पर्धा गरिरहेछन् ।

तर, उनी अमेरिकी जनताका उम्मेदवार थिए ।
रोनाल्ड रेगनबाहेक कुनै रिपब्लिकनले नजितेको म्यासाचुसेट्समा ट्रम्पका समर्थक देख्न मुस्किल थियो । विश्वविद्यालयै विश्वविद्यालय भएको बोस्टन हिलारी चुनाव प्रचारमा आउनु नपर्ने गरी डेमोक्र्याटिक थियो ।

म यसै पनि हिलारीको प्रशंसक थिएँ, बोस्टन पुगेपछि म उनको झन् पक्का समर्थक बनेको थिएँ, नन्-भोटर समर्थक । बर्नी स्यान्डर्स त्यस्ता किशोरकिशोरीका ढुकढुकी थिए जो अहिल्यै मत हाल्न योग्य बनिसकेका थिएनन् । म्यान्चेस्टरमा हिलारीको सभामा भाग लिन जाँदा भेटिएकी महिलाले आफ्नी १४ वर्षकी छोरी मलाई चिनाइदिँदै भनिन्, 'ऊ बर्नीलाई मन पराउँछे ।'
मैले भनेँ, 'यसपालि भोट हाल्छिन् त यिनले ? '

ती महिलाले भनिन्, 'कहाँ भोट हाल्नु ? ऊ बल्ल १४ वर्ष पुगी । अर्कोपल्ट ।'
मैले भनेँ, 'अर्कोपल्ट बर्नी के उठ्लान् र ? '

ती महिला हाँसिन् । उनकी छोरी भने प्रतिक्रियाविहीन थिइन् ।
डेमोक्र्याटिक उम्मेदवार हिलारीका प्रशंसक संसारभरि नै थिए, अझै छन् तर सबै नन्-भोटर, मजस्तै । नन्-भोटरले मत दिएर हिलारी जित्नेवाली थिइनन् । काठमाडौंस्थित अमेरिकी दूतावासमा भएको नमुना मतदानमा हिलारीले ट्रम्पभन्दा चार गुणा बढी मत पाएकी थिइन् तर दुर्भाग्य, नमुना मतदानका यस्ता परिणामले निर्वाचनको वास्तविक परिणाममा कुनै फरक पार्दैनन् ।
संसार हिलारीलाई जिताउन चाहन्थ्यो, अमेरिका ट्रम्पलाई चाहँदो रहेछ । यो बुझ्न हामीलाई नोभेम्बर ८ को मंगलबार बेलुकासम्मै कुर्नुपर्‌यो ।

हिलारी डेमोक्र्याटिकभित्रकी कन्जरभेटिभ थिइन् । कुनै समय डेमोक्र्याटिक ट्रम्प कन्जरभेटिभ पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति उम्मेदवार बनेका थिए । संसारकै सबैभन्दा प्रजातान्त्रिक देश भएको दाबी गर्ने अमेरिकाका मतदाताहरूले दुईजना कन्जरभेटिभलाई राष्ट्रपतिको उम्मेदवार बनाएका थिए । खासमा छनोट बढी कन्जरभेटिभ र कन्जरभेटिभमध्ये कसलाई छान्ने भन्ने थियो ।

न्यु ह्याम्सायरमा ट्रम्पको सभामा पुगेपछि उनीप्रति म अलि सकारात्मक भएको थिएँ । म्यान्चेस्टरको र्‌याडिसन होटेलबाहिर चिसो र वर्षाको पर्वाह नगरी मानिसहरू ट्रम्पलाई सुन्न लामबद्ध थिए । ठाउँ नपुगेर दुई सय जति ट्रम्पका शुभेच्छुक कोही कार्यक्रमबाट निस्किएला र आफू पस्न पाइएला भनेर बाहिरै पर्खिरहेका थिए । त्यो भीडमा मैले ट्रम्प समर्थकहरूको विशेषता देख्न पाएँ । उनीहरू प्रतिबद्ध लाग्थे । अधिकांश गोरा । हामीजस्ता फरक अनुहारप्रति उनीहरू मित्रवत् थिएनन् । तर, उनीहरू आफ्नो मतमा ढसमस गर्ने खालमा थिएनन् ।

मलाई लाग्यो- ट्रम्पप्रति यिनीहरूको प्रतिबद्धता उनीविरुद्धका कुनै पनि चुनावी रणनीतिले कम हुन सक्दैन ।
तीन दिनअघि न्यु ह्याम्सायरको म्यान्चेस्टरमै हिलारीलाई सुन्न आएको भीड योभन्दा फरक थियो । सबै जातजाति र उमेरका मानिस त्यहाँ देखिन्थे । युवा र किशोरहरूको भीड उल्लेख्य थियो ।

'ट्रम्पको विजयले अमेरिकाको अनुहार देखाउँछ । अमेरिकाले प्रजातन्त्र र समावेशिताको कत्रो भयानक खोल ओेढेको रहेछ भन्ने स्पष्टैसँग देखाएको छ उनको जितले । यो अमेरिका होइन ट्रम्पेरिका हो ।'

तर, तथ्यांकहरूले देखाएका छन्- अमेरिकी युवाहरूमा भोट हाल्न जाँदैनन् । स्पेन्सरले हामीलाई एउटा अनुसन्धान प्रस्तुत गर्दै भनेका थिए, '२५ प्रतिशतमात्र अमेरिकी युवा मतदान गर्न जान्छन् ।' त्यसैले युवा र किशोरहरूले हिलारीलाई जिताउन सकेनन् । मत नहाली जित्ने कुरा पनि भएन ।

बोस्टनका युवाहरू भने भोट हाल्न प्रतिबद्ध थिए । ट्रम्पले जितिहाल्लान् कि भनेर सशंकित थिए । इमर्सन कलेजका पोलिटिकल कम्युनिकेसन्स्का विद्यार्थी कायल निलसँग एक दिन जम्काभेट हुँदा मैले सोधेँ, 'चुनावबारे तिमी के सोच्छौ ? ' उनले भने, 'म एकदमै डराएको छु । ट्रम्पले जिते भने कसरी बस्नु यो देशमा ? ' उनी साँच्चै डराएका थिए । 'त्यस्तो मानिसलाई कसरी राष्ट्रपति भनेर स्वीकार गर्नु ? ' उनले उल्टै प्रश्न गरेका थिए ।

बोस्टनमा मात्र होइन, हामीले यात्राभरि ट्रम्पका समर्थक भेट्दै भेटेनौं भन्दा पनि हुन्छ । त्यही म्यान्चेस्टरको एउटा सभामा बाहेक । कलेज पढ्नेहरूमध्ये ट्रम्पका समर्थक कम थिए । युवा ट्रम्पका समर्थक कम थिए । आप्रवासी कम थिए । प्रोफेसरहरू कम थिए ।

न्युयोर्कमा त्यस्तै थियो । डीसीमा त्यस्तै । ट्रम्प समर्थकहरूको बिउ पनि पाउन मुस्किल थियो । हुन पनि म्यासाचुसेट्स, न्युयोर्क र डीसी पक्का डेमोक्र्याटिक राज्यहरू थिए, रिपब्लिकनले हल्लाउन नसक्ने । तर, ह्वाइट हाउसमा प्रवेश पाउन पाँच सय ३८ मध्ये दुई सय ७० इलेक्टोरल कलेज आफ्नो हातमा पार्नुपथ्र्यो, केही राज्यहरू जितेर हुन्थेन ।

वासिङ्टन डीसीको क्यापिटलमा भेटिएकी रिपब्लिकन समर्थक रेबेका रेब्जेकलाई मैले सोधेको थिएँ, 'अझै तपाईंलाई ट्रम्पले जित्लान् भन्ने आशा छ ? ' उनले हिलारीको दाँजोमा ट्रम्प धेरै सशक्त उम्मेदवार रहेको उल्लेख गर्दै ट्रम्पले जित्ने निश्चित रहेको दाबी गरेकी थिइन् । डा. पेन र हामीले उनको कुरा सुन्दासम्म सुनेनौँ ।

न्युयोर्क टाइम्सले हरेक बिहान इमेलमा 'फस्ट ड्राफ्ट अन पोलिटिक्स' पठाउँथ्यो, जसले समग्रमा हरेक दिन कसरी हिलारी अझ मजबुत बन्दै गइरहेकी छन् भन्ने बताउँथ्यो । सीएनएन ट्रम्पलाई गालीमात्र गरिरहन्थ्यो । सारा मूलधारका मिडिया हिलारीकै प्रशंसा गर्थे, ट्रम्पलाई गालीमात्र गरिरहन्थे । कसैले ट्रम्पको नहाँस्ने शैलीको आलोचना गर्थे भने कोही उनी साह्रै अभद्र र रुखा छन् भनेर टिप्पणी गर्थे । फक्स न्युजका कुरा हामी पत्याउँदैन थियौँ ।

मध्य अमेरिकामा राज्यहरूमा भने ट्रम्पको वाहवाही थियो । लुजियानाबाट भाइले फोन गरेर भन्यो, 'यहाँको हल्लीखल्ली हेर्दा ट्रम्पबाहेक अरू कसैले जित्ला भन्ने कल्पनासम्म गर्न सक्दिनँ ।'

निर्वाचनको दिन हामी न्युयोर्कको एउटा पोलिङ स्टेसनमा गयौं । एकजना युवाले हामीसँगै गएका रेडियो र टेलिभिजनका पत्रकारका लागि बाइट्स दिए, 'हिलारीले मात्र अमेरिकाको हित गर्न सक्छिन् । उनले अमेरिकालाई नयाँ दिशा दिन सक्छिन् ।'

बाइट्स दिइसकेपछि मैले सोधेँ, 'भोट हालिसक्नुभयो त ? '
उनले भने, 'म मतदाता होइन ।' अर्थात्, हिलारीका अर्का नन्-भोटर समर्थक ।

अमेरिकाले हिलारीलाई जिताउन मतदान गरेकोमा ढुक्क हुँदै हामी साँझ होटेल फक्र्यौं । म्यानहटनको हिल्टन गार्डेन इन् होटेलको लविमा टेलिभिजनमा निर्वाचन परिणाम हेर्न थाल्दा हामी सबैमा उत्साह थियो । भोलिपल्टको अखबारमा हिलारीले जितेको समाचारको लिड के लेख्ने होला भनेर म योजना बुन्दै थिएँ । निर्वाचनको परिणामसँगै टेनिसी र केन्टुकीबाट विजययात्रा थालेका ट्रम्पले जब फ्लोरिडाका २९ सिटमा बाजी मारे, हामीसँगै गएका इमर्सन कलेजका प्राध्यापक डा. पेनको ओठतालु सुक्यो । हामीले पनि अँध्यारो अनुहार लगायौँ । हामीसँगै न्युयोर्क पुगेको स्पेनको प्रोफेसर इन्रिक ओर्डिक्स यो हुनै नसक्ने निर्वाचन परिणाम भन्दै सुस्केरा काढ्न थाले ।

१० बजेतिर हामी खाना खान बाहिर निस्क्यौँ । डा. पेन साँच्चै दुःखी थिए । उनी आफ्नो पेटमा भोक नरहेको बताइरहेका थिए । खाना खान जाँदै गर्दा उनले सहकर्मी स्पेन्सरलाई फोनमा बेस्मारी हप्काए । उनी भन्दै थिए, 'तिम्रा सबै सर्वेक्षणहरूले हावा खाए । तिमीले त अब प्याक गरेर बाटो लागे पनि हुन्छ ।'

खाना खाएर हामी टाइम्स स्क्वायर पुग्यौँ । ट्रम्पले जित्न थालेकामा विरोधका स्वर मंगलबार रातिदेखि नै देखिन सुरु भइसकेको थियो । ठूल्ठूला डिस्प्लेमा निर्वाचन परिणाम आइरहेको थियो । थुप्रै टीभी र सञ्चारमाध्यमको मुख्यालय रहेको टाइम्स स्क्वायरमा कतिपय मिडियाले लाइभ टेलिकास्ट गरिरहेका थिए । हामीले टाइम्स स्क्वायरको डिस्प्लेमै हेर्‌यौँ- मध्यरातमा जब ट्रम्पले पेन्सल्भिनियाको २० सिट पनि आफ्नो पक्षमा पारे, ह्वाइट हाउसको उनको यात्रा संसारले रोक्न नसक्ने गरी निश्चित भएको थियो । त्यो रात २:४० मा न्युयोर्कबाट रेल समातेर बोस्टन हिँड्दा पनि डा. पेन खुइय्य गरिरहेकै थिए ।

परम्परागत राज्यहरूमा रहेको रिपब्लिकनको पकड हिलारीले हल्लाउन पनि सकिनन् भने ट्रम्पले सबै स्विङ स्टेटहरूमा कब्जा जमाए । राष्ट्रपति चुन्न निर्णायक बन्ने स्विङ स्टेटहरू प्रायः संस्थापक उम्मेदवारलाई मत हाल्दैनन् । कतिपय मतदाताले ओबामा प्रशासनसँगको रिस हिलारीसँग झारेका थिए । कतिपय मतदाता ट्रम्पलाई मन पराउँदैनथिए तर उनीहरू संस्थापनाको पक्ष लिन चाहँदैनथिए । हिलारीले कुल खसेमध्ये १७ लाख पपुलर मत बढी ल्याइन् तर इलेक्टोरल कलेजको प्राचीन निर्वाचन प्रणाली अँगालेको अमेरिकामा पपुलर मतको कुनै अर्थ हुँदैन ।

ट्रम्पका मतदाता प्रतिबद्ध थिए । उनीहरूसम्म मिडिया पुग्नै सकेन । निर्वाचनको ११ दिनअघि संघीय अनुसन्धान ब्युरोका प्रमुख जेम्स कोमीले हिलारीबिरुद्ध इमेल काण्डमा पुनः अनुसन्धान थाल्दाका केही दिनबाहेक मत सर्वेक्षण कहिल्यै ट्रम्पका पक्षमा आएनन् किनभने मूलधारका मिडिया ट्रम्पका समर्थकसम्म पुग्नै सकेनन् । ट्रम्पका समर्थकले कहिल्यै ठूलो स्वर गरेनन्, निर्वाचनको दिन उनीहरू मतदानस्थल पुगे र चुपचाप मतदान गरेर फर्किए । महिलाले शासन गर्न सक्दैनन् भन्नेहरूको संख्या पनि अमेरिकामा ठूलै रहेछ । त्यसले पनि हिलारीलाई हराउन ठूलो भूमिका खेल्यो ।

नकारात्मक कभरेज नै भए पनि ट्रम्पले मिडियामा धेरै स्थान पाएका थिए, हिलारीको दाँजोमा । त्यसले पनि उनलाई फाइदै पुग्यो । कतिपयको आँखामा हिलारीको आवरण र अन्तर्य फरक थियो । हिलारी बाहिर देखिने गरी सज्जन छैनन्, ह्वाइट हाउसमा छँदा उनले धेरै भ्रष्टाचार गरेकी थिइन् भन्नेहरूको संख्या पनि ठूलो थियो । ट्रम्प भने बाहिर र भित्र फरक छैनन्, गम्भीर नीतिगतभन्दा व्यक्तिगत र भावनात्मक विषय बढी उठाउँछन् जसले आम मानिसमा उनको लोकप्रियता बढेको छ भन्थे कतिपय विश्लेषक ।

बुधबार बोस्टन फर्केपछि मैले इमर्सन कलेजका प्राध्यापकहरूलाई अलि ठाडै भाषामा भनेँ, 'ट्रम्पको विजयले अमेरिकाको अनुहार देखाउँछ । अमेरिकाले प्रजातन्त्र र समावेशिताको कत्रो भयानक खोल ओेढेको रहेछ भन्ने स्पष्टैसँग देखाएको छ उनको जितले । यो अमेरिका होइन ट्रम्पेरिका हो ।'

जवाफ दिने हैसियतमा उनीहरू थिएनन् । उनीहरूले गर्नुसम्म गाली गरेको र असंख्य कमजोरीहरू देखाएको ट्रम्प अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भइसकेका थिए । अमेरिका पुगेपछि मैले अमेरिकाको वास्तविक अनुहार देखेँ- राजनीतिक, सामाजिक, आर्थिक र आप्रवासी समस्या । म्यान्चेस्टरको सभामा मतदाता तान्न हिलारीले महिलालाई समान ज्याला र सुलभ शिक्षाको विषय उठाएकी थिइन् ।

विश्लेषकहरू भन्थे, यस वर्षको निर्वाचन इतिहासकै सबैभन्दा कमजोर उम्मेदवारहरूबीचको प्रतिस्पर्धा थियो । यही जिज्ञासा इमर्सन कलेजका प्राध्यापकहरूसँग राख्दा उनीहरू हिलारी एक योग्य उम्मेदवार भएको टिप्पणी गर्थे । उम्मेदवार कत्तिको कमजोर वा सशक्त हुन् भन्ने विषय एकातिर राख्ने हो भने पनि हामीले अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा नीतिगत बहस साह्रै कम भएको पायौं ।

उम्मेदवारबीच गालीगलौज, आरोपप्रत्यारोप र हलुका टिप्पणीबाहेक टेलिभिजनमा केही सुन्न पाइँदैनथियो । सिनेटर, प्रथम महिला र विदेशमन्त्री भइसकेकी हिलारी माझिएकी थिइन्, तैपनि अर्को उम्मेदवारलाई व्यक्तिगत रूपमा खोइरो काढ्ने मामलामा कम थिइनन् । अर्बपति व्यापारी ट्रम्प त गालीका लागि नामुद नै थिए । महिलालाई साह्रै होच्याउने गरी प्रस्तुत गरिएका उनका यौन हर्कतका भिडियोहरू मिडियामा छ्यालब्याल भएका थिए ।

बाराक ओबामापछि अमेरिकी राष्ट्रपति निर्वाचनमै सबैभन्दा बढी मत ल्याएकी हिलारी क्लिन्टन कुल मतमा ट्रम्पभन्दा १ दशमलव ३ प्रतिशतले अघि छिन् । सन् २००४ मा डेमोक्र्याटिककै एल गोरले पनि राष्ट्रपति निर्वाचित जर्ज बुसभन्दा करिब पाँच लाख मत बढी पाएका थिए । यसअघि पनि पुराना तीन उम्मेदवारले राष्ट्रपति निर्वाचित उम्मेदवारभन्दा बढी मत पाएका थिए । इलेक्टोरल कलेजको दुई सय वर्षभन्दा पुरानो निर्वाचन प्रणाली पुरानो र अहिलेको समयमा अनुपयुक्त रहेको भन्दै आलोचना हुने गरेको छ ।

ट्रम्पले जितेलगत्तै म्यासाचुसेट्स, क्यालिफोर्निया, न्युयोर्कजस्ता कट्टर डेमाक्र्याटिक राज्यहरूमा 'उनी हाम्रा राष्ट्रपति होइनन्' भन्दै प्रदर्शन भए । केही स्थानमा अझै उनलाई राष्ट्रपति अस्वीकार गर्दै प्रदर्शन भइरहेका छन् ।

निर्वाचनको भोलिपल्ट बुधबार इमर्सन कलेजको इलेक्सन-पोस्टमर्टममा मैले आफ्नो विश्लेषण सुनाउँदै भने, 'ट्रम्पको जितमा मिडियाको हार भएको छ । मिडियाले ट्रम्पले जित्ने झिनोमात्र कल्पना गर्न सकेन किनभने ऊ सायद ट्रम्पका प्रतिबद्ध मतदाताहरूसम्म पुग्नै सकेन ।'

हुन पनि दुई सय मत पनि कटाउँदैनन् भनेका ट्रम्पले दुई सय ९० मत ल्याए, हिलारीले दुई सय ३२ मतमात्र । हो, कुल मत हिलारीले बढी ल्याएकी छन् तर अमेरिकी प्रजातन्त्रमा कुल मतको कुनै अर्थ हुँदैन । थोरै मतको मात्र फरक रहेको मिसिगनको १६ सिटको अझै निर्णय भइसकेको छैन, त्यो ट्रम्प वा हिलारी जसको पक्षमा पनि जान सक्छ । अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा ट्रम्पले हिलारीलाई ढिम्किन पनि दिएनन् ।

पोस्टमर्टमपछि हामीले डा. पेनसँग बिदा माग्यौँ । हाम्रो निर्वाचन भ्रमणको अन्तिम दिन थियो त्यो । कतिपय साथीहरू त्यही दिन नेपाल फर्कंदै थिए । डा. पेनको अनुहार अझै अँध्यारै थियो । हामी फर्कन लागेकामा होइन, ट्रम्पले जितेकामा । उनले बिस्तारै भने, 'मैले ट्रम्पलाई नेपाल लैजानुस् भनेको थिएँ, त्यो सम्भव भएन, अब मलाई नै नेपाल लैजानुस्, तपाईंको छोरीका लागि पेन अंकल गिफ्ट हुन्छ । ट्रम्पको राज्यमा के बस्नु ? '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.