जहाँ विश्वास जोडिएको छ
करिब सात सय वर्षअघि । एकजना किसानको बाच्छो हरायो । उनले बस्ती, बसेरा, भीरपाखा, जंगलभरि बाच्छो खोजे । दिनरात एक गरे । बाच्छो कहीँ भेटिएन । किंवदन्तीलाई मान्ने हो भने ती किसान हारथाक भएर जंगलमै वि श्राम गरे । त्यहीँ निदाए । राति उनलाई सपना भयो । सपनामा भनियो ‘डाँडामा कुनै दैवीशक्ति छ, त्यसको पूजा गर्नु, मनोकांक्षा पूरा हुन्छ ।'
उनले बिहानै सिन्धुखोलाको जल ल्याएर सपनामा देखेकै पिपलको जरामा रहेको मूर्तिमा चढाए, नभन्दै बाच्छो भेटियो । बाच्छो भेटिएकै कारण देवीको नामकरण नै ‘ श्री ज्वालामुखी बछलादेव' रहन गएको किंवदन्ती सिन्धु उपत्यका विकास केन्द्रका अध्यक्ष मुकुन्द विष्ट सुनाउँछन् ।
उसो त अधिकांश मठ, मन्दिर स्थापनाको लिखित इतिहास पाइँदैन । धेरै धार्मिक आस्थाकेन्द्र र अनुष्ठानहरू माथिको विश्वास किंवदन्ती मिथकमै अडेको छ । कतिपय धार्मिक स्थलमाथिको विश्वास विशाल र गहिरो भए पनि ती त्यत्तिकै ओझेलमा पनि छन् ।
गहिरो विश्वास र अगाध आस्था भए पनि सिन्धुपाल्चोकको थकनी १ मा रहेको श्री ज्वालामुखी बछलादेवी मन्दिर पनि त्यसरी नै ओझेलिएको विष्टले बताए । काठमाडौंको जोरपाटीबाट साँधु हुँदै लप्सीफेदी भएर भोटेचौर अगाडि बढ्ने हो भने सिन्धुखोला पुगिन्छ ।
त्यहाँ रहेको मेलम्ची सुरुङमार्ग जोड्ने बाटोको माथिपट्टि दुई सय मिटर उक्लने हो भने यो आस्थाकेन्द्र अवस्थित छ । हेर्दै रमाइलो आकारमा मूर्ति स्वतस्फूर्त निर्माण भएको छ । पिपलको हात्तीपाइले जराभित्र शदीयौंदेखि मूर्ति रहँदै आएको साहित्यकार रामेश्वर राउतले बताए । मूर्तिको आकार जति सानो छ त्यसमाथिको विश्वास त्यति नै विशाल भएको उनले बताए । जस्तासुकै महामारीदेखि विपत्मा पनि मन्दिर आसपासको क्षेत्रमा अनिष्ट नभएको इतिहास रहँदै आएको राउतले बताए ।
मन्दिरको गहिरो महिमा भए पनि ओझेलमा परेको देखेपछि पुख्र्यौली घर सोही क्षेत्रमा भएका मुकुन्द विष्टलाई केही गर्ने हुटहुटीले पिरोलिरह्यो । राजधानीमा जीविका गरेर बसिरहेका उनी पुख्र्यौली थलो पुगे । त्यसको महिमा बुझे । अनि उनले स्थापना गरे सिन्धु उपत्यका विकास केन्द्र । उनको अगुवाइमा अहिले मन्दिरको उजागर र व्यवस्थापन गर्ने काममा आफूहरू लागिपरेको केन्द्रका सदस्य शिव राउतले बताए ।
किंवदन्तीअनुसार धीर शमशेरले तिब्बतसँगको युद्धमा जाँदा आफ्नो विजयको लागि बछलादेवीमै प्रार्थना गरेका र विजय प्राप्त भएपछि त्यहीँ फर्केर पूजाआजा गरेको मान्यता रहँदै आएको साहित्यकार राउतले सुनाए । बछलादेवीमात्रै होइन थकनी गाविस नै धार्मिक आस्थासँग जोडिएको किंवदन्ती यहाँका बासिन्दा सुनाउँछन् । परापूर्वकालमा भगवान् शिवले समुद्र मन्थन गरेर निस्केको विष सेवन गरेपछि उनी रन्थनिँदै आएर थकान मेटाएकाले यसको नाम थकनी रहेको किंवदन्ती छ ।
त्यसबारे माथि तामाङ बस्तीमा शिलासमेत लेखिएको स्थानीयहरू बताउँछन् । अध्यक्ष विष्टले त्यसमाथि रहेको धौलेश्वरी महादेवको नामकरण पनि विषले रन्थनिएका शिवलाई जडीबुटी खोजेर पार्वतीले लेपन गरेपछि उनलाई आराम महसुस भएको र त्यहीँ बास बसेकाले त्यसको नाम धौलेश्वरी महादेव रहन गएको किंवदन्ती रहेको सुनाए ।
मन्दिरको गहिरो महिमा भए पनि ओझेलमा परेको देखेपछि पुख्र्यौली घर सोही क्षेत्रमा भएका मुकुन्द विष्टलाई केही गर्ने हुटहुटीले पिरोलिरह्यो । राजधानीमा जीविका गरेर बसिरहेका उनी पुख्र्यौली थलो पुगे ।
त्यहाँबाट माथि भगवान् शिव लौरो टेक्दै गएकाले लौरीविनायक रहेको र माथि डाँडामा पुगेपछि शिवले त्रिशूल हानेर पानी निकालेको स्थान गोसाइँकुण्ड भएको किंवदन्ती छ । त्रिशूलबाट पानि निकालेर बगेकाले खोलाको नाम नै त्रिशूली रहेको किंवदन्ती सुनाउँछन् केन्द्रका सदस्य प्रेमबहादुर कार्की ।
‘बछलादेवीको स्थान भएको गाउँमा थकनीमा अहिलेसम्म अनिष्ट भएको छैन', साहित्यकार रामेश्वर राउतले भने, ‘यो गाउँमा परापूर्वकालदेखि भएका अनिष्ट, विपत्तिमा केही भएन, हरेक घरबाट सेनामा जागिरे छन्, उनीहरू बछलादेवीको आराधना गरेर जान्छन्, अहिलेसम्म एउटा पनि अप्रिय घटना भएको छैन ।'
यति गहिरो विश्वास र आस्था जोडिए पनि छायामा परेको देखेपछि केही गर्नुपर्छ भन्ने लागेर केन्द्र स्थापना गरेको अध्यक्ष विष्टले बताए । केन्द्रभन्दा पहिला त उनले बछलादेवीको उत्थान र प्रचारका लागि एकल पहल गरे ।
‘एक्लै केही हुँदैन भन्ने लाग्यो', विष्टले भने, ‘समाज जोडिएको कुरा साझा हुन्छ । दिगो हुन्छ । मैले साथीहरूलाई हातेमालो गर्न आग्रह गरेँ ।' अहिले केन्द्रको पहलमा सुरुङमार्ग जाने बाटोदेखि मन्दिरसम्म करिब दुई सय मिटर पक्की बाटो बन्दैछ ।
करिब साढे पाँच लाखको लगानीमा बन्दै गरेको यो बाटो रड, ढुंगा र सिमेन्टयुक्त आधुनिक छ । यसमा केन्द्रकै सदस्य र केही मनकारीको लगानी छ । आफूले केही नगरी अरूसँग मान्ने चलनको विपरीत आफैं केही गरेर अनि अरूलाई आग्रह गर्ने केन्द्रको मान्यता छ ।
बछलादेवीमा हरेक पुस मसान्तको दिन रातभरि दीप प्रज्वलन गरिन्छ । अनि माघेसंक्रान्तिको दिन त्यसलाई अस्ताइन्छ । बछलादेवी माताको यो नै सबैभन्दा ठूलो धार्मिक मेला हो । मेलामा जिल्ला र बाहिरका हजारौं भक्तजन आउने गरेको सदस्य कार्कीले बताए ।
दीप प्रज्वलन गर्न र भक्तजनलाई रात बिताउन वि श्रामगृहको आवश्यता रहे पनि विस्तारै ती काम गर्ने केन्द्रको योजना छ । बछलादेवीमा आएर दर्शन गरेपछि चिताएको पुग्ने र अनिष्ट नहुने विश्वासलाई धार्मिक पर्यटनसँग जोड्न सके थकनीमात्रै नभएर सिन्धुपाल्चोककै भविष्य उज्ज्वल हुन सक्छ ।