दुःखको औसत कथा

दुःखको औसत कथा

आफैंले भोगिरहेको जीवन र भोग्नुपर्ने मृत्युको नियति मानिसका लागि सधैं रहस्यमय बनिआएको छ । मृत्युको वारिपट्टि बसेर मृत्युपारिको समयसन्दर्भबारे मानिस अनेकन कथा, मिथ र किंवदन्ती सिर्जना गरिबस्छ ।

समयक्रममा मानिसले गरेका अनेकन कल्पनाले धर्मशास्त्र वा अरू कुनै पोथ्राको जलप लगाएर मानवीय चेतमाथि शासन गर्न सफल बनेको छ । हिन्दु समाजमा गरुड पुराण त्यसको सबैभन्दा बलियो उदाहरण हो । गरुण पुराणले सिर्जना गरेको यथार्थबोधी भ्रमको मानसिकता पक्रँदै आख्यानकार शारदा शर्माले मृत्यु र जीवनको साँधमा कथा बुनेर उपन्यास तयार गरेकी छन्– कम्प ।

शर्माको पछिल्लो उपन्यास ‘कम्प'ले जीवन र मृत्युको मात्र नभई मृत्युपारको जीवनको पनि कल्पना गरेको छ । उपन्यासले मृत्युपर्यन्त धर्तीमा अन्याय, हेलाहोचो र भेदभावको दुष्चक्रमा फसेकी महिला कसरी मृत्युपछि पनि यमलोकमा प्रताडित हुनुपर्छ भन्ने देखाउन खोजेको छ ।

उपन्यासकी नायिका चित्रांगदा र उसले यमलोकको यात्रामा भेटेकी महिला पात्रहरूको दुर्दशाले यस्तै स्थिति चित्रण गरेको छ । यमलोकको न्यायालयमा समेत महिलालाई हेर्ने, बुझ्ने र व्यवहार गर्ने शैली धर्तिमा जस्तै हुने दृश्य आफैंमा उदेकलाग्दो छ ।

पितृसत्तात्मक सोचले डामेको धर्तीमा प्रताडित बनाइएका नारीहरू यमलोकमा समेत दमित हुनुपर्ने बाध्यताले एकांगी र विवेकहीन पुरुष मानसिकताको राम्रैसित चित्रण गरिएको छ उपन्यासमा । न्यायको उच्च स्थानमा विराजमान पुरुषहरू आफू अनुकूल नियम, कानून र आचारसंहिता निर्माण गर्छन् । सत्ता र शक्तिको आडमा उनीहरूकै अनुकूलमा जबरजस्ती महिलालाई हिँड्न बाध्य पारिन्छ ।

धार्मिक आडम्बरको खोल ओढेका पुरुषहरूले नारी अस्मितालाई फगत उनीहरूको क्षणिक सन्तुष्टिको वस्तु बनाउँदा रहेछन् भन्ने स्वामी परिमलको चरित्रबाट उजागर हुन्छ । उपन्यासले हिन्दु, क्रिस्चियन र इस्लाम कुनै पनि धर्मले नारी अस्तित्वको ख्याल नगरेको यथार्थ प्रस्ट्याएको छ ।

कुनै पनि धर्मले नारीलाई पुरुषसरह सुविधा प्रदान नगरेको, बरु अनेकन सीमा र बन्धन निर्माण गरी महिलालाई भोग्य वस्तुका रूपमा मात्र प्रस्तुत गरेको देखाइएको छ । नारीको आन्तरिक सौन्दर्यभन्दा बाह्य रूपरंगको महत्व हुने रहेछ भन्ने यथार्थबोध हेरातता निनी ‘कुरूप' भएकै कारण उनको बिहे नहुनु र परिवारले उनीभन्दा धेरै उमेरको विवाहित पुरुषसँग विवाह गराइदिन खोज्ने प्रसंगले स्पष्ट पार्छ । पुरुषको चाहनाअनुसार नचल्दा नारीले भोग्नुपर्ने असंख्य पीडाहरूको चाङ छ उपन्यासमा ।

महिलाको संसारमा स्वतन्त्रता छैन, मात्र यातना छन् खातका खात । पुरुषको आदेश नमान्दा महिलाको सौन्दर्य दाउमा पर्छ, जब पुरुष उसलाई तेजाब छर्किन्छ । सम्मानित जीवन बाँच्नुपर्ने आधा आकाश सधैं तेजावको संक्रमणमा बाँच्न अभिशप्त भएको यथार्थ कथा भन्छ उपन्यास । मुस्लिम नारी खातुनलाई तेजाब छर्किएपछि उसको जीवन नरक बन्छ, मात्र अधमरो । यो सन्दर्भले अहिलेको वर्तमान समाजको कथापटमा सीमान्त महिलाको स्थान कहाँ छ स्पष्ट भन्छ ।

अनमेल विवाह, बहुविवाह तथा महिलाहरूको खरिदबिक्री प्रसंगले आख्यानकार महिलामाथि हुने अत्याचार र अन्यायमाथि सचेत र संवेदनशील छिन् भन्ने देखाउँछ । उपन्यासकार शर्माले कथामार्फत धर्म र समाजका आममान्यतामा सुधारको अपेक्षा गर्छिन् ।

नारी पात्रलाई विशेष महत्व दिएर बुनिएको ‘कम्प'मा महिलाको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पाटो केलाउने प्रयास गरिएको छ । महिला हिंसा र यससँग जोडिएका आममुद्दाको चर्चा गरिरहँदा शर्मा महिलामा हुर्कंदै गएको विद्रोही चेत देखाउन पनि चुकेकी छैनन् ।

चित्रांगदा, हेरातता, विनीता, खातुन, मार्था, डा. कामिनी, तारालगायत पात्रले कम–बेशी विद्रोही चेतको सञ्चार गरेका छन् । विशेषगरी चित्रनगरका राजाकी कान्छी श्रीमती र त्यस सहरकी नगरबधूबीच न्यायालयमा हुने बहस मननयोग्य लाग्छ ।

महिलाको संसारमा स्वतन्त्रता छैन, मात्र यातना छन् खातका खात । पुरुषको आदेश नमान्दा महिलाको सौन्दर्य दाउमा पर्छ, जब पुरुष उसलाई तेजाब छर्किन्छ । सम्मानित जीवन बाँच्नुपर्ने आधा आकाश सधैं तेजाबको संक्रमणमा बाँच्न अभिशप्त भएको यथार्थ कथा भन्छ उपन्यास ।

केन्द्रमा महिला मुद्दा भए पनि उपन्यासले समाजका अन्य विकृत पक्षलाई उजागर गरेको छ । विशेषतः समाजमा व्याप्त जातीय विभेद, छुवाछूत र उँचनीचको घिनलाग्दो प्रचलनमाथि प्रश्न उठाइएको छ । चित्रांगदा र राजाबाबुबीचको असफल प्रेमविवाह पछाडिको मुख्य कारण नै जातीय विभेद हो ।

सरसर्ती पढ्दा उपन्यास मृत्युपछि चित्रांगदाको यमलोकतर्फको यात्रामा बढी घोत्लिएको देखिए पनि यसको पृष्ठ भागमा शर्माले पछिल्लो समय नेपाली राजनीतिमा देखिएका उतारचढावलाई कोट्याउन खोजेकी छन् । लाग्छ, पाठक कुनै अलौकिक यमलोकको कथा नभएर नेपाली राजनीतिको दृश्यावलोकन गरिरहेछ ।

राजनीतिको नाममा भइरहेको अनियमितता, भ्रष्टाचार, गुण्डागर्दी, ठेक्कापट्टा, खिचातानी सबै पढ्न पाइन्छ उपन्यासमा । विदेशी हस्तक्षेप र नेपाली नेताहरूको आत्मसमर्पण बडो गज्जबले देखिन्छ आख्यान–फ्रेममा । नेपाली राजनीतिमा गुट–उपगुट, नातावाद, कृपावाद मौलाइरहेछ भन्ने स्पष्ट संकेत गर्छ यमलोकको चित्रनगरले ।

उपन्यासमा प्रयुक्त भाषा सम्प्रेषणीय छ । कतिपय वाक्य र प्रसंग मनमनै गढ्ने खालका छन् । काठमाडौं उपत्यकामा बस्ने नेवार र नेवारी संस्कृतिको मसिनो ज्ञान उपन्यासकारलाई छ भन्ने पाठकले बुझ्नसक्छ । धर्मसंस्कृतिका विभिन्न रंगमाथि उपन्यासकार भित्री तहसम्मै पस्छिन् ।

विशेषतः हिन्दु धर्म र पाम्परिक मान्यताबारे जानकार लाग्छिन् उनी । मृत्युपछिको यमलोक यात्राबारे प्रयुक्त वर्णन र यसका विविध प्रारूप केलाउँदै त्यसप्रतिको विमति प्रकट गरिएको छ उपन्यासमा । धर्म र परम्पराका नाममा फैलाइएका अमानवीय चलन र चिन्तनका गजबारहरू भत्काउने हुटहुटी देखिन्छ उपन्यासकारमा ।

उपन्यासकार शर्मा संवेदनशील छिन् । लाग्छ, समाजका विकृत पक्षदेखि उनमा घृणा जागेको छ । सबै खराबीलाई टिपेर मिल्काउने ध्याउन्नमा छिन् । तर, यही पवित्र भावना उपन्यासमा भारी बनेको छ । समाजका सबै मुद्दाबारे टिप्पणी गर्ने उनको लालसाले उपन्यासलाई अनावश्यक लम्बेतान बनाएको छ । कथामाथि कथाको जोडले पाठ दिक्कलाग्दो पनि बनेको छ ।

उपन्यास आफंैमा कथाहरूको कथा हो । ती उपकथाहरू मूल कथाको वरिपरि केन्द्रित हुनुपर्ने हो । विडम्बना, शर्माको उपन्यासमा त्यसो हुन भने सकेको छैन । कहिलेकाहीँ कथा यति नराम्ररी बहकिन्छ, पाठकले दौडिरहेको उपकथा टिपेर मूल कथासँग जोडिदिनुपर्छ ।

उपन्यासको अर्को कमजोर पक्ष हो– विषयवस्तुको गाम्भीर्य बोध नहुनु । शर्माले समाजमा विद्यमान सबैखाले समस्या प्रस्तुत गरेकी छन्, यो सकारात्मक पक्ष हो । तर, समस्यालाई सतहबाट मात्रै हेरेकी छन्, गहिराइमा पुगेर समस्याको चुरो खोज्ने कष्ट गरेकी छैनन् ।

छरिता वाक्य, उपयुक्त शब्द छनोट, स्पष्ट दृश्य वर्णन– यी ‘कम्प'मा प्रयुक्त लेखकीय शिल्प हुन् । आख्यानकार÷निबन्धकार शर्मा यिनै शिल्पले नेपाली साहित्यमा स्पष्ट स्थान राख्न सफल छिन् । यति हुँदाहुँदै पनि ‘कम्प'को लेखन प्राविधिक गठजोडजस्तो हुन पुगेको छ ।

क्लाइमेक्सको अभाव छ, जसले गर्दा पाठकमा कौतूहल सिर्जना हुँदैन । पछिल्लो पातामा के हुनसक्छ भन्ने अनुमान पाठकले सहजै गर्नसक्छ । उपन्यास सरल त हुनुपर्छ तर त्यति पनि होइन जसले सम्पूर्ण कथा पहिल्यै भनिदेओस् । कमजोर कथावाचन शैलीले उपन्यासलाई पनि कमजोर नै बनाएको छ ।

खासमा ‘कम्प' मानवीय जीवनमा दोहोरिइरहने अनेकौं कम्पको कथा हो । दुःखको कथा भन्ने जमर्को गर्दागर्दै पनि दुःखको कारणसम्म पुग्ने प्रयासमा भने उपन्यासकार चुकेकी छन् ।
किताबः कम्प (उपन्यास)
लेखकः शारदा शर्मा
प्रकाशकः सांग्रिला बुक्स
पृष्ठः ३६२
मूल्यः ४४८


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.