फाेटाे

फाेटाे

नचिताएको प्रश्न झरेपछि सबका आश्चर्यचकित आँखा दर्शकदीर्घातिर झरे । र, दर्शकदीर्घामा ठिंग उभिएका एक गाउँले युवामा पुगेर अडिए ।

बोलीलाई साथ दिन बायाँ हात उठाए । औंला ठड्याउन खोजे । औंलाको बदला बायाँ हातको बाहुला खुल्दै सुइय मास्तिर पुग्यो । तुरुन्तै तलतिर झोलियो ।

‘अस् गोस्सा खालो के भया छ र खस्छ' भन्दै उनले मास्तिर उठाए । त्यसपछि दायाँ हातले बाहुला गुटुमुटु पारे अनि टालोले ढाके ।

बर्कोभन्दा सानो तर हाते रुमालभन्दा ठूलो कपडाले छोपेका थिए ।
त्यसलाई टालो भने पनि हुन्थ्यो ।

‘को हो यसरी सोध्ने ? '
ड्यासमा आसिन सर र मेडमले एकापसमा हेराहेर गरे । केही सरले ‘को खाते' भन्दै मुखसमेत छाडे ।

ड्यासमा दर्जनौं सर र मेडम बसेका थिए । तीमध्ये सर र मेडम सिंहदरबार छिरिसकेका थिए भने तिनका पनि सर ‘हेड सर' बालुवाटारमा समेत गइसकेका थिए ।

त्यसैले सेना÷पुलिसको चर्को उपस्थिति थियो ।

एकै गाँस पार्लान्जसरी झम्टन खोजे पनि ती गाउँले युवा नथामिई बोलीसित समानान्तर रूपमा दाया हातको औंला पनि ठड्याए ।

मुखसित सँगै बाटो लागेको दायाँ हातलाई जबर्जस्त थामे ।

बोल्दाबोल्दै फेरि खस्यो, बायाँ हातलाई छोपेको टालो । बाहुला फेरि तलतिर झोलियो । टालोभन्दा अलि ठूलो कपडा खसेपछि पहिलेभन्दा बाहुला झन् भिजेजस्तो देखियो । भिजेको बाहुला अलिअलि रातो त अलिअलि सेतो देखियो ।

‘इनर्‍याउ बाउ चन्रेले नसोध् भने नि आज एक आखर सोध्छु । कसको बाउको काले कोदा खाइया छ र गानी । आज बोल्छु बोल्छु ।'
उनले बोलीको मेलो छाडेनन् ।

लाग्थ्यो, उनी कुनै हालतमा थामिनेवाला छैनन् ।
‘कोही हुनुहुन्छ ? '

धम्कीको भावमा फेरि सोधे ।

कोही बोलेनन् ।
त्यसपछि आफैंले जवाफ दिए, ‘नभएसि यत्रा बोल्ने ।'

गोलीले माया मारेर बचेको थियो त्यो बायाँ हात । त्यसलाई टालोले ढाकेका थिए ।

हात उठाउँदा खसेपछि छिटोछिटो बाहुला गुटुमुटु पार्दै बचेको बायाँ हातलाई टालोले फेरि ढाके ।

कार्यक्रम थियो, काठमाडौंस्थित पर्यटन बोर्डको हलमा । सहिद कमरेड आकर्षण उर्फ भागमल पुनको स्मृतिमा आयोजित कार्यक्रम ।
उनले फेरि जोडेः

‘सचिवालय भन्नुभयो । जोईपोइसँगै क्रमशः छोराछोरी, भतिजाभतिजी, सालासाली, छोरीज्वाइँ, साढुदाइ÷साढुभाइलाई वरवर तान्नुभयो । मनमा लागेको गर्नुभयो । त्यसलाई ‘क्रान्ति' र ‘देश'ले मागेको भन्नुभयो । ‘नेतृत्व'लाई ‘खुला दिमाग'ले ‘सोच्न र योजना बनाउन दिनुपर्छ' भन्दै हामीले पनि केही अभाव हुन दिएनौं', उनले विस्तार लाउँदै गए ।

उनको बोलीको प्रवाह बर्खामा ढाङढुङखोला जस्तै थियो ।

फेरि जाइलाग्न उठेका ‘सर'हरूलाई हेड सरले आँखाको सन्कारज्ञेबाटै रोके । सर र मेडमका सुरक्षार्थ खटेका सेना र पुलिसलाई पनि ‘रोकिन' भने ।

त्यस बेला दर्शकदीर्घामै बसेका कतिपयले उनलाई खाऊँलाजसरी हेरे । कार्यक्रम बिथोल्न थाल्योे भनी कतिले त जाइलाग्न खोजे ।

कार्यक्रमस्थलमा पत्रकार नहुँदा हुन् त उनी ठाउँको ठाउँ पारिन्थे होला । किनकि झम्टन खोज्ने सर र मेडम अनि तिनका सुरक्षामा खटिएका सेना÷पुलिसलाई हेड सरले पत्रकारतिर संकेत गर्दै रोकेका थिए ।
कार्यक्रम चलिरहेको बेला सहिदपत्नी मनकला रोल्पामा गाई चराउँदै थिइन् भने उनका दुई छोराले अरबमा भेडा ।

हेड सरको भाषण सुन्न गएको माहोल एकाएक अर्कोतिर मोडियो । त्यसपछि हेड सरको भाषण खिच्न गएका क्यामेरा ती युवातिर सोझिए ।

कार्यक्रममा आकर्षणको ‘ब्ल्याक एन्ड ह्वाइट' फोटो तुर्लुंग झुन्डिएको थियो, ड्यासको सीधा पछाडि । जुन फोटो आकर्षणले नागरिकता बनाउँदा खिचेका थिए । त्यसको छेवैमा हेड सरको यामानको रंगीन र ठूलो फोटो थियो ।

ब्ल्याक एन्ड ह्वाइट फोटोमै भए नि बालसखा आकर्षणलाई देखेर एकाएक बेचैन भएको मनलाई उनले जबर्जस्त थाम्न कोसिस गरे ।

पाइलाको गति जति छिटो बढ्यो त्यति नै दुखी पनि जिउन पाउने नयाँ दिनको सपना उनीसँगै हिँडेजस्तो लाग्यो । यद्यपि त्यो सपना पनि कमरेड ज्वार उर्फ बिर्खलाल घर्तीमगरजस्तै घाइते थियो ।

ती युवा कार्यक्रममा निम्त्याइएका थिएनन् । हातको घाउ बल्झेर उपचार गर्न काठमाडौं झरेको बेलामा संयोग जुरेर उनी कार्यक्रमस्थलमा छिरेका थिए ।

कार्यक्रममा सर र मेडमहरूले सहिद आकर्षणको समेत नाम नलिई आफूहरूले मात्र जनयुद्धमा त्याग गरेको कुरा फूलबुट्टा भर्दै पुराण लगाएपछि उनले आफूलाई थाम्न सकेनन् । सहिद, बेपत्ता, घाइतेका सपना र तिनका त्यागमाथि सर र मेडमहरूले नै बन्चरो हानेजस्तो अनुभूत गरे । र, दर्शकदीर्घाबाट जुरुक्क उठेका थिए ।

पार्टीले सहिद भुल्यो भन्ने गुनासो चर्केपछि ‘बिरालो बाँध्न'लाई कार्यक्रम राखिएको थियो ।

सहिद आकर्षणको स्मृति दिवस भन्ने ब्यानरसमेत थिएन ।

दर्शकदीर्घाबाट बोल्ने ती रोल्पालीले जनयुद्धमा आफ्नो खुसी, रहर, बायाँ हात र पत्नी गुमाएका थिए ।

बोलिरहेका गाउँलेले लगाएको कमिजको केही भाग टालिएको थियो भने केही भाग टाल्न बाँकी । चिम्टा तताएर जोडेको दायाँ खुट्टामा लगाएको चप्पलको फित्ता फेरि चुँडिन साइत कुरिरहेको थियो ।

बोल्दाबोल्दै उनले बेनी आक्रमणको त्यस रात सम्झिए । आकर्षणसित फस्ट एसल्टमा लडेको भयानक रात । र, सम्झिए आफ्नो बायाँ हातसहित आकर्षणलाई पनि बेनीमा छाडेको ।

त्यसपछि सम्झिए आकर्षण परिवारसहित आफ्ना सहयोद्धालाई । तीमध्ये कति मारिएका थिए, कति बेपत्ता थिए भने कति घाइते र कति अरबमा ।

‘हिजो र आजमा के फरक छ, ठूला नेता र ठूला कमान्डरका जिन्दगीमा ? '
उनले सोधे ।
उनका आँखा सर र मेडमका भुँडी, गाला हुँदै तिनले लगाएका लुगातिर सोझिए ।

‘तपाईंहरूले कहिल्यै सम्झनुभयो कि यी कार्यकर्ताका पनि जोई छन् । पोइ छन् । आमाबा छन् । छोराछोरी छन् । र, तिनका पनि रहर छन् । तिनलाई पनि माया लाग्छ', आँखा, मुख र औंला पनि नेतातिर सोझ्याउँदै सोधे ।
फेरि सोधे, ‘सम्झनुभयो कहिल्यै ? '
कोही बोलेनन् ।

‘सर र मेडमले लाए÷खाएको'प्रति डाह गरेको होइन भने । उसो भए को हो त ? कार्यकर्ता र जनतालाई ढाँटेकाले मात्र चर्को गुनासो गरेको उनले तर्क गरे ।

‘प्रतिक्रियावादीका नाइकेलाई भन्ने कुरा आफ्नै सर र मेडमलाई भन्नुपर्दा मलाई सरम लागेको छ', एकछिन थामिएर फेरि बोले, ‘तपाईंहरू त रातारात नवधनाध्य बर्गको पनि नाइके हुनुभयो । तर, सहिद, बेपत्ता, घाइते, कार्यकर्ताका पसिना, आँसु र रगतले निको मनले तपाईंहरूलाई निदाउन दिने छैनन् ।'

यति भनेर हेड सर र त्यसमुनिका सर र मेडमलाई नियाले । बालुवाटार र सिंहदरबारको बोसो थपिएपछिका तिनका अनुहार झन थलथले देखे ।

‘हाम्रा जोई हुँदाहुँदै हामी पो राँराद्देको जिन्दगी जियौं । हामी पोइ हुँदाहुँदै हाम्रा जोईले राँरीघेका जिन्दगी जिए । हामी बाआमा नमर्दै हाम्रा छोराछोरीले तोकेतोकिनाद्धेका जिन्दगी जिए', उनको बोलीको भोल्युमले भर्‍याङ चढ्यो, ‘हामीले जिएजस्तो जिन्दगी जिएका कोही सर र मेडम भए म अहिल्यै कान काटेर गुमा गार्छु ।'

उनी बोल्दाबोल्दै बायाँ हातको सिला ढाकेको कपडा फेरि खस्यो । बाहुला झन् भिजेको थियो । फेरि बाहुला गुटुमुटु पार्दै कपडाले छोपे ।
सन्नाटा छायो ।

न कसैले ‘हो' भने न कसैले ‘होइन' ।
उनले कस्तो प्रतिक्रिया आउँछ भनेर पर्खन पनि चाहेनन् ।

सहिद परिवार, बेपत्ता परिवार र घाइतेसहित इमानदार कार्यकर्ताका अनुहारसित आफ्ना सर र मेडमका अनुहार जोखे ।

‘सर र मेडमहरूसित पो ‘बुर्जुवा राजनीति' गर्ने पैसा छ । बुर्जुवा डिग्री छ । हामीसित के छ ? दिन्छु भनेको ‘वार भेट्रान' त दिनुभएन । स्कुले झोला स्कुलमै फालेर जनयुद्धमा हिँडेका हामीले न पढ्न पायौं न बढ्न । देखाइदिनुस् त, ‘बासी समाज'मा हाम्ले टेक्ने कहाँनेर हो ? '
सन्नाटा छायो ।

कोही बोलेनन् ।
हेड सर, सर र मेडमका अनुहार ताक्ने क्यामेरा उनको अनुहारतिर सोझिएका थिए ।

अतिथि आसनमा बसेका हेड सर, सर र मेडमले प्रतिवाद गर्न चाहेनन् । पत्रकार भएको ठाउँमा गर्ने कुरा पनि भएन ।

घरिघरि आक्रोशित देखिएका उनी एकाएक भावुक भए । उनको बोलीमा आक्रोश मिसिएको थियो या आँसु ?

पत्ता लाउन गाह्रो भयो ।

‘हामीले पो गुमायौं र माया लाग्छ क्रान्तिको । त्यागको । समर्पणको । हरिबिजोग पारिएका सहिद र बेपत्ता परिवारका, घाइते र इमानदार कार्यकर्ताका ।'
यति भनेर उनी फरक्क फर्किए ।

उनका आँखाले खोजे उनका खलक । न त्यहाँ घाइते थिए न बेपत्ता परिवारका न त सहिद परिवारका न इमानदार कार्यकर्ता ।
‘आफ्नै पार्टीको कार्यक्रममा बोले या अन्तै ? ' झसंग भएपछि हेरे ।
उनले छुट्याउन सकेनन् ।

कार्यक्रमस्थलबाट एकछिन पनि बस्ने मन भएन । तर, निक्लनुअघि तुर्लुंग झुन्डिएको आकर्षणको ब्ल्याक एन्ड ह्वाइट फोटोलाई एकपालि हेरे ।

किन हो कुन्नि ? उनलाई आकर्षणको त्यो फोटोको समेत अपमान भएजस्तो लाग्यो । गलत ठाउँमा राखेजस्तो लाग्यो ।

एक प्रति फोटो पनि भएन भन्दै आकर्षणपत्नी रोएको उनले सम्झिए ।

फोटो देखेर कति खुसी होलिन्, आकर्षणपत्नी ? छोराछोरी कति खुसी होलान् देखेर बाबुको फोटो ? त्यसपछि त्यै फोटो हेरेर भए नि चित्त बुझाउलान् भन्ने सोचे । र, भोलि कोही आकर्षणबारे खोज्न आए देखाउनलाई पनि काम लाग्ला भन्ठाने ।

आकर्षणपत्नीले भनेकी थिइन्, ‘एउटा पानी फोटो भए नि कति मन राख्न हुँनो हो ।'

भएजति फोटो दुईचार पालि गरेर गाउँकै नेताले लगेका थिए, सहिदको किताबमा छाप्ने भन्दै । तर, त्यो फोटो छापिएर सहिद परिवारकहाँ कहिल्यै पुगेन । कति फोटो घरमा छापा मार्न जाने सुरक्षाकर्मीले लगे ।

फोटो फिर्ता गरिदिन भन्दै आकर्षणपत्नी गाउँका माओवादी नेताकहाँ धाइन् । पहिलेपहिले त फलानो कमरेडसित छ भने ।
त्यसपछि ?
हरायो भने ।

सुरक्षाकर्मीकहाँ माग्न जाने कुरै भएन ।

त्यसपछि ?
सम्झना आउँदा हेर्ने एउटा फोटोसमेत बचेन ।

‘अब फोटोको के काम सर र मेडमहरूलाई । उनको परिवारसित एकप्रति पनि छैन । कम्तीमा यै फोटो हेरेर मन बुझानन्', यति भनेर आकर्षणको फोटो झिक्न सरासर गए, ‘गारोपिरो औसरमाफ है ।'
सहिद, बेपत्ता र घाइते दुब्लाउँदै आफ्नो परिवारमै सीमित भएका थिए ।

फोटो झिक्न जाँदा सेना÷पुलिससहित केही सरले रोक्न खोजे । तर, हेड सरले रोके ।
सञ्चारमाध्यमसामु कसरी प्रस्तुत हुने ? हेड सर जानकार थिए ।
फोटो झिके ।

फोटो पनि दुब्लाएको थियो जसरी तिनका परिवारका सदस्य दुब्लाएका थिए ।

फोटोलाई हेर्न सकेनन् ।
बाँध फुटाएर उनको आँसु निक्लन बल गरेपछि छिटोछिटो कार्यक्रमस्थलबाट बाहिरिए ।

न उनलाई कुनै सरले सम्झाउन खोजे न रोक्न खोजे न त उनका हेड सरले नै केही भने ।

बाहिरिएपछि उनको मनलाई पनि छोएर बतासले ‘अब कहाँ जान्छस्' भनेर सोधेजस्तो लाग्यो ।

‘दुखीका सपना फुलाउने बाटो, त्यसका अगुवा र त्यस्तो पार्टी कहीँ त भेटिएलान्', अनायास उनको मुखबाट बोली फुस्क्यो ।

बाहिरिएपछि पनि उनले आकर्षणको फोटो हेर्न सकेनन् । आँखालाई ‘आँसु नबगा' भनेर सम्झाउनसक्ने शक्ति उनले गुमाइसकेका थिए ।

त्यसैले फोटो एक झलक पनि नहेरी झोलामा राखे ।
दुईचार पाइला फालेपछि हेरे, बालसखा आकर्षणसित बच्पनमा बोलाउने ‘घाम नाना' त्यस दिनको काम सकेर फर्कंदै थिइन् । र, डाँडामाथि उभिएर ‘बादल भेना'ले पर्खिरहेका थिए ।

उनले ‘घाम नाना यता आऊ, बादल भेना उता जाऊ' भन्दै जाडो यामको रोल्पामा आकर्षणसित गाएको बच्पन सम्झिए । र, सम्झिए एउटा हातले सिँगान पुछ्दै, अर्को हातले कच्छा सिमल्दै आकर्षणसित बाजी लाग्दै घाम भेट्न दौडेको पनि ।

बच्पनसँगै न कच्छा सिमल्ने न उनको बायाँ हात थियो न त उनीसित बालसखा आकर्षण नै ।

त्यसपछि काठमाडौंका सडकमा गुडिरहेका गाडीको आवाजसित चप्पलको आवाजलाई खपाउँदै हिँडे ।

घाउ ढाकेको कपडालाई काठमाडौंको हावाले घरिघरि उडाउँदै जिस्क्याउँथ्यो ।

हिँड्दाहिँड्दै एकाएक गह भरियो । छचल्किएर आँखाको बाटो हुँदै केही थोपा आँसु भुइँमा झरे ।

कसैले देखेपछि के भन्लान् भन्दै दायाँ हातको बाहुलाले आँसु पुछे । त्यसपछि छिटोछिटो हिँडे ।

पाइलाको गति जति छिटो बढ्यो त्यति नै दुखी पनि जिउन पाउने नयाँ दिनको सपना पनि उनीसँगै हिँडेजस्तो लाग्यो । यद्यपि त्यो सपना पनि कमरेड ज्वार उर्फ बिर्खलाल घर्ती मगरजस्तै घाइते थियो ।
ईशारा
विदुर
विधवा
टुहुराटुहुरी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.