जहाँ मानिस मृत्यु कुर्छन्

जहाँ मानिस मृत्यु कुर्छन्

सावित्री खनाल, (६९) काशीमा मृत्यु कुरेर बसेकी छिन् । श्रीमान् बितेपछि निकै हतास र निरास बनिन् । एकजना छोरी थिइन् । विवाह गरेर ज्वाइँको घर पठाइन् । अरू आफन्तले वास्ता गरेनन् । माया गर्ने कोही नभएपछि उनी काशी १५ वर्षअघि काठमाडौं छोडेर काशी हिँडिन् । 'जीवनको उत्तराद्र्धमा मृत्युको पर्खाइले पनि सन्तोष नै दिएको छ', खनाल भन्छिन् । अहिले आफूजस्तै १५ जना वृद्धासँगै उनी नेपाली आश्रममा बसेकी छिन् । 'गंगाकिनारमा मर्न पाइयो भने मोक्ष मिल्छ भन्ने शास्त्रमै लेखेको छ', उनले भनिन्, 'त्यही भएर मर्नकै लागि काशीमा आएर बसेकी हुँ । कहिले दिन आउने हो थाहा छैन ।'

भोजपुरकी जमुना गौतम, (७५) पनि खनालसँगै बस्छिन् । कम कान सुन्ने उनका श्रीमान् र सन्तान छैनन् । दायाँबायाँ कोही नभएपछि उनलाई पनि नेपाल बस्न मन लागेन । रोजाइ बन्यो बनारस अर्थात् हिन्दुहरूको पवित्र धार्मिकस्थल काशी । गौतम भन्छिन्, 'दिनरात भजनकीर्तन गर्न पाइएको छ, गंगाकिनारको बास छ, अब जीवनमा योभन्दा अरू के नै चाहियो र ? '

बिहान ३ बजे उठ्नु, गंगास्नान गर्नु, नेपाली पशुपति मन्दिरमा हुने पूजामा सहभागी हुनु, विश्वनाथ महादेवको दर्शन गर्नु र शरीरले साथ दिए बिहानको आरतीमा पनि सहभागी हुनु, दिउँसोको भजनकीर्तनमा जानु गंगाकिनारमा 'मृत्यु कुरिरहेका'हरूको दैनिकी हुनेगर्छ ।

भारत वाराणसीको ललिताघाटस्थित नेपाली आश्रमको काशीबासमा बस्ने १५ वृद्धाहरू हिन्दु परम्पराअनुसार गंगाकिनारमा मृत्युवरण गरी त्यहीँ अन्त्येष्टि भए मोक्ष मिल्छ भन्ने सोच्छन् । तर, काशीमा 'मृत्यु कुरेर बस्ने' खनाल र गौतमजस्ता नेपालीहरूको संख्या हिजोआज निकै कम छ ।

रणबहादुर साहकी कान्छी पत्नी ललितत्रिपुरा सुन्दरीले बनारसमा निर्माण गरेको ललिताघाट र नेपाली मन्दिर अहिले पनि उस्तै छ । साम्राज्वेश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशालाको नामले गंगाकिनारमा अवस्थित यो जायजेथा नेपाल सरकारको हो । करिब दुई सय वर्षअघि निर्माण भएको आश्रममा अहिले काशीबास बस्ने १५ वृद्धा र संस्कृत विश्वविद्यालय पढ्ने उति नै संख्याका नेपाली विद्यार्थी बस्छन् । आश्रमले जीवनको उत्तराद्र्ध बिताइरहेका वृद्धा र जीवन सुरुवात गर्न अध्ययन गरिरहेका छात्रहरूलाई बसोबास तथा खानपानको सुविधा दिएको छ ।

आश्रममा सरकारले अहिले पनि खर्च पठाउँछ । नेपालबाट तीर्थाटनमा पुग्नेहरूका लागि बस्ने व्यवस्था पनि गरिएको छ । पशुपति मन्दिरको स्वरूप काठमाडौंकै जस्तो देखिन्छ । नेपाली काष्ठकलाको नमुना त्यहाँ पनि देख्न सकिन्छ । धर्मशालाका व्यवस्थापक रोहित ढकाल भन्छन्, 'काशी लाभको लागि बस्ने, संस्कृत पढ्ने र तीर्थव्रतमा आउने नेपालीलाई हामीले बास दिएका छौं । तर, विगतमा जस्तो काशीबासमा रहने नेपाली अब छैनन्भन्दा पनि हुन्छ ।' नेपालीका लागि मोक्षको आस, शिक्षा र तीर्थाटन विगतमा काशीबासका आधारस्तम्भ थिए । तर, आधुनिकता र नेपालमा शिक्षाको सहज पहुँचले त्यसमा क्रमश क्षयीकरण हुँदै गएको छ ।

ठठेरी गल्लीका धेरै घुम्ती पार गर्दै गंगाकिनारतर्फ तेर्सिएपछि पुगिन्छ विद्या धर्म प्रचारिणी नेपाली समितिले निर्माण गरेको नेपाली आ श्रम । दूधविनायक वाराणसीमा अवस्थित यो ठाउँमा नेपाली भेटिनु हिजो–आज आश्चर्यलाग्दो संयोग हुन्छ । 'केही दशकअघिसम्म नेपाली लवजले ठठेरी गल्ली गुञ्जन्थ्यो', समितिका प्रबन्धक रमेश अधिकारी भन्छन्, 'हिजोआज त यो गल्ली र आश्रममा नेपाली भेट्नु निकै गाह्रो छ ।' नेपालबाट बनारस जानेहरूलाई बस्नु परे त्यही आश्रममा गइदिन पनि उनी आग्रह गर्छन् ।

आश्रम पुग्ने नेपालीले दैनिक ७५ रुपैयाँ भारु तिरेर बस्न पाउँछन् । आफैं खाना बनाएर खाने प्रबन्ध छ । करिब डेढ सय वर्षअघि बनेको आ श्रममा एकैपटक एक सय मानिस अटाउने कोठा छन् । पहिले खचाखच भरिने आ श्रममा हिजोआज एकाध नेपालील मात्रै पुग्छन् । कोठा सधैंजसो खाली रहन्छ । प्रबन्धक अधिकारीका अनुसार, चन्द्रग्रहण र कात्तिक स्नान गर्न पुग्ने नेपाली पनि अहिले बनारसमा नगण्य हुन थालेका छन् ।


बनारस (काशी) को दशश्वमेध चौकमै मन्थलीका कुमार कार्कीले नेपाली होटेल चलाएका छन् । चौरस्ताबाटै देखिन्छ 'न्युस्टार नेपाली होटेल' लेखिएको बोर्ड । साँझ बिहान खचाखच भीड हुन्छ । तर, होटेलमा खानानास्ता गर्ने आगन्तुक चाहिँ नेपाली हुँदैनन् ।

केही दशकयता तेस्रो देश र भारतभित्रैबाट आउने आगन्तुकका कारण 'न्युस्टार' चलेको छ । नेपाली त फाट्टफुट्टमात्रै पुग्छन् । 'बनारसमा पहिलेझैं नेपालीको चहलपहल छैन', कार्कीले भने, 'म नेपाली भएकोले होटेलको नामको पछाडि नेपाली राखेको हुँ तर मेरो व्यवसाय विदेशीले चलाइदिएका छन् ।'

दशश्वमेध चौकबाट पुगिन्छ– गंगाकिनारका धेरै घाटसम्म । यहाँ हरेक साँझ हुने आरती बनारसकै आकर्षणमध्येको एक हो । आरतीमा देश–विदेशका तीर्थालु र पर्यटकको घुइँचो लाग्छ । सातजना बटुकले गर्ने कपुर, अग्नि र धुपको आरती मनमोहक देखिन्छ । यही चौकको एक छेउबाट विश्वनाथ मन्दिर पुगिन्छ । हिन्दुहरू विश्वनाथलाई पाउ र पशुपतिनाथलाई शिरको रूपमा पूज्ने गर्छन् ।

नेपालीका लागि मोक्षको आस, शिक्षा र तीर्थाटन विगतमा काशीबासका आधारस्तम्भ थिए । तर, आधुनिकता र नेपालमा शिक्षाको सहज पहुँचले त्यसमा क्रमशः क्षयीकरण हुँदै गएको छ ।

मानिसको बाक्लो आउजाउ हुने भएकैले व्यापार चल्ने हेक्का राखेर कार्कीका पिताले ९० वर्षअघि रामेछापबाट बनारस गई होटेल खोलेका थिए । पहिले त उनी साहुको होटेलमा काम गर्थे । पछि आफैंले खोले । कार्की भन्छन्, 'बुवाले नै जग्गा खरिद गरी घर बनाएर यहीँ होटेल सुरु गर्नुभयो । अहिले म चलाउँछु ।'
...
बागलुङका प्रकाश रेग्मी बनारसमा शास्त्री पढ्दै छन् । उनीसँगै प्रथम वर्षमै अध्ययन गर्ने काठमाडौंका पुरुषोत्तम खतिवडा सम्पूर्णानन्द विश्वविद्यालयका छात्र हुन् । नेपाली विद्यार्थीको आकर्षणको केन्द्र मानिने सम्पूर्णानन्दमा अहिले नेपाली विद्यार्थीको चाप छैन् । कुनैबेला यहाँ धेरै नेपाली विद्यार्थी पढ्ने गर्थे । नेपाली राजनीतिका अग्रज नेताहरूले पनि बनारसमै पढेका थिए । रेग्मीले भन्छन्, 'हाम्रो संकायमा मुस्किलले २० जना नेपाली विद्यार्थी छन् । अरूतिर पनि त्यति धेरै देखिँदैनन् । कतिपय त परीक्षा दिनमात्रै आउँछन् । छात्रवास र आश्रममा बसेर अध्ययन गर्ने झन् थोरै छन् ।'

कुनैबेला संस्कृत र अन्य विषय अध्ययन गर्न बनारस शैक्षिक राजधानी नै थियो । नेपाली विद्यार्थी 'डेरा–डन्डा' जमाएरै बनारस बस्थे । बनारस पढेर आएकाहरूको 'सानसौकत' समाजमा छुट्टै हुन्थ्यो । त्यहाँ बस्ने नेपाली विद्यार्थीका अनुसार, नेपालीका लागि कुनै बेला निकै चर्चित र गौरव मानिने काशी हिन्दु विश्वविद्यालयमा पनि अहिले नेपाली विद्यार्थी घटेका छन् । लगभग शिक्षाका लागि बनारस–आकर्षण आधाभन्दा धेरै घटिसकेको छ ।
...
पवित्र गंगानदीको सानिध्यमा रहेको यो सहर नेपालीका लागि पनि परापूर्वकालदेखि नै महत्त्वपूर्ण गन्तव्य हो ।
राणाविरुद्धको आन्दोलनको उठान यहीँबाट भयो । तर, अहिले काशीप्रति नेपाली आकर्षण क्रमशः घट्दो छ । साम्राज्वेश्र पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशालाका व्यवस्थापक रोहित ढकालको बुझाइमा नेपालमा गुरुकुल शिक्षाको उचित प्रबन्ध हुनु र आधुनिक शिक्षाका लागि विश्वविद्यालय थपिने क्रमले पनि काशीका नेपाली विद्यार्थी घटेका हुन् । भन्छन्, 'त्रिवेणी, चतरा, धरान आदि धेरै ठाउँमा यहाँकै जत्तिको पढाइ हुन थालेको छ । नेपालकै चर्चित धामहरूमा वृद्धा श्रम खुलेका छन् । यो सबै परिवर्तनले काशीप्रति नेपाली आकर्षण घटेको हो ।'

विद्या धर्म प्रचारिणी नेपाली समितिका प्रबन्धक रमेश अधिकारी बनारसमा औपचारिक रूपमा जाने नेपाली घटेको तथ्य सुनाउँछन् । भन्छन्, 'नेपालीका लागि मोक्षको आश, शिक्षा र तीर्थाटन विगतमा काशीबासका आधारस्तम्भ थिए । तर, त्यसमा क्रमशः क्षयीकरण हुँदै गएपछि काशीबास अहिले इतिहास जस्तै बन्न पुगेको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.