र्‍याफ्टिङ रफ्तार

 र्‍याफ्टिङ रफ्तार

स्विडेनकी जेनिया मारियाको नेपालसँगको साइनो बिछिट्टैको छ । चार वर्षअघि पहिलोपटक नेपाल आएकी जेनियालाई त्यसपछि नेपालले मोहनी लगायो ।

‘सगरमाथाको देश नेपालमा थुप्रै नदीनाला पनि रहेछन् । सानैदेखि र्‍याफ्टिङ खेलमा रमाउने मलाई यहाँको नदीले झनै मोहित बनायो । यहाँको नदीमा र्‍याफ्टिङ गर्दै हिमाल हेर्न पाउँदा स्वर्ग पुगेको अनुभूति हुन्छ', २७ वर्षीया मारिया भन्छिन् ।

हरेक वर्ष नदीको बहाव बढ्ने समयमा मारिया नेपाल आउने गरेकी छन् । विशेष गरी नेपालको त्रिशूली नदीमा उनलाई र्‍याफ्टिङ गर्न मन लाग्छ । त्रिशूलीमा र्‍याफ्टिङ गर्ने क्रममा यहाँका र्‍याफ्टर र खेलाडीको प्यारो मित्र बनिसकेकी छिन् मारिया ।

‘हरेक साल दुई/तीन महिना नेपाल बसेर त्रिशूलीजस्तै अरू नदीमा र्‍याफ्टिङ गरेर फर्कने गरेकी छु । नेपाली र्‍याफ्टरले जस्तो नदीमा बोट खियाउने क्षमता विश्वका कुनै देशमा छैनन्', मारिया भन्छिन् ।

मारिया नेपाली नदीमा र्‍याफ्टिङ गर्न रुचाउने साहसिक विदेशी प्रतिनिधि खेलाडीमात्र हुन् । मारियालाई जस्तै हजारौं विदेशीलाई नेपालका नदीनालाले लोभ्याउने गरेको छ ।

ओलम्पिक खेलकुदमा समावेश यस खेलको अभ्यास गर्न बर्सेनि हजारौंको संख्यामा विदेशी खेलाडी नेपाल आउने गरेको नेपालका चर्चित र्‍याफ्टर महेन्द्र थापाले बताए । ‘नेपालले आफ्नो सम्पदालाई नचिन्दा यसको महत्व ओझेलमा परेको हो । नेपालको पर्यटन व्यवसाय हिमालले धानेको भ्रम छ । तर, यहाँका नदीमा खेलिने साहसिक खेलमा रमाउने विदेशी र स्वदेशी कम छैनन्', ५५ वर्षीय थापा भन्छन् ।

थापाका अनुसार नेपाली र्‍याफ्टर प्राविधिक रूपले विश्वमै उत्कृष्ट मानिन्छन् । नेपाली र्‍याफ्टरले अहिले जापान, नर्वे, भारत, आइसल्याड, चीनलगायत देशको र्‍याफ्टिङ उद्योग धानेका छन् । ‘नेपाली नदीमा र्‍याफ्टिङ गाइड गर्नेमा अधिकांश युवा छन् ।

त्यसमाथि एकजना ‘खैरिनी गर्लफ्रेन्ड' नभएको कुनै युवा छैनन् । यो खेल र पेसामा लागेकाले विदेशमा समेत इज्जतका साथ राम्रो कमाइ गरिरहेका छन्', थापा भन्छन् । नेपालमा अहिले तीन सयको संख्यामा खेलाडी र्‍याफ्टर छन् ।

सबै र्‍याफ्टर युवा भएकाले एसियाली खेलकुद र ओलम्पिकमा समेत यस खेलमा सहभागी गराएर पदक जित्न सकिने थापाले बताए । सोलुखुम्बुका बासिन्दा थापाले सुरुमा सोलुखुम्बुमा पर्यटकको भरिया र गाइडको काम गर्दै आएका थिए । उनी पछि हिमाललाई चटक्कै माया मारेर नदीतिर झरे ।

लामो समयदेखि चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा र्‍याफ्टिङ खेल र व्यवसाय सञ्चालन गर्दै आएका थापासँग नेपालका सबै नदीमा र्‍याफ्टिङ गरेको अनुभव छ । ‘जस्तोसुकै भेल र छाल भए पनि मलाई डर लाग्दैन । मेरै बुटमा प्रशिक्षण गर्न रुचाउने खेलाडी र विदेशीलाई सेवा दिन नभ्याउँदा अलि खिन्न हुन्छु', उनी भन्छन् ।

सन् १९८१ देखि निरन्तर र्‍याफ्टिङ खेलमा रमाउँदै आएका थापा नेपाली र्‍याफ्टिङका भीष्मपितामहको नामले प्रख्यात छन् । थापाले साहसिक खेल र्‍याफ्टिङलाई व्यावसायिक रूपले अगाडि बढाउन सिन्धुपाल्चोकको भोटोकोसीमा सुकुटे बिच सञ्चालनमा ल्याएका छन् ।

नेपालमा सन् १९९६ देखि र्‍याफ्टिङ खेलको सुरुआत भएको हो । सरकारले हाल नेपालका १५ वटा नदीमा र्‍याफ्टिङ खेल सञ्चालनका लागि अनुमतिसमेत दिएको छ । तर, १० वटा नदीमा यो खेल खेलिँदै आएको छ । नेपालको त्रिशूली, भोटेकोसी, कर्णाली, सुनकोसी, मस्र्याङ्दी, कालीगण्डकी, सेती, राप्ती, भेरीलगायत नदी यस खेलका लागि विश्वकै उत्कृष्ट मानिन्छन् ।

ओलम्पिक खेलकुदमा समावेश र्‍याफ्टिङमा नेपालले पदक जित्ने सम्भावना रहेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष मनबहादुर न्यौपाने बताउँछन् । ‘प्रकृतिले नेपाललाई गरिखाउ भनेर दिएको छ तर नेतृत्व तहमा रहेका व्यक्तिले यस खेलको प्रवद्र्धन गर्न सकेका छैनन्', न्यौपाने भन्छन् ।

उनका अनुसार र्‍याफ्टिङलाई ओलम्पिक र एसियाड खेलमा सहभागी गराउन सरकार, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको पनि सहयोग आवश्यक छ । संघले सन् २०२० मा टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा नेपालबाट र्‍याफ्टिङ खेलको सहभागिताका लागि ओलम्पिक कमिटी अफ एसियासँग पहल गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.