स्टोनहेन्जः तीन फन्को

स्टोनहेन्जः तीन फन्को

युद्ध मैदान हो कि सार्वजनिक सडक ? ‘सावधान मिलिटरी ट्यांक पास हुने ठाउँ' लेखेको सूचनापाटी देख्नासाथ मुटुमा ढ्यांग्रो ठोक्यो । चलाइराखेको गाडीमा हत्तपत्त बे्रक लगाएर स्पिड घटाएँ ।

एकैछिनमा धुलो उडाउँदै नजिकैबाट ठूलो आवाजमा हेलिकनेप्टर बतासिँदै गयो । माथिल्लो भागको अगाडि र पछाडि ठूल्ठूला घुम्ने पखेँटा भएको, युद्धमा प्रयोग गरिने ‘चिनुक' हेलिकोप्टरलाई नजिकैबाट देख्दा मेरो सात्तै गयो ।

बेलायतको वेल्स राज्यमा सपरिवार केही दिन गर्मी बिदाको छुट्टी मनाएर घर फर्कंदै थियौं । दक्षिणी इङ्ल्यान्डका विल्टसायरको मैदानी क्षेत्रमा रहेको रहस्यमयी प्रागैतिहासिक वास्तुकला ‘स्टोनहेन्ज' अवलोकन गर्ने कार्यक्रम अचानकै बनेको थियो बाटैमा ।

मोटरवे छाडेर दुई लेनको बाटोमा गाडी दौडन थालेपछि फाट्टफुट्ट बस्ती देखिए । पर क्षितिजसम्म जोडिएका मलिला खेतका फाँटहरूले बहुरूप धारण गरेका थिए । कृषि औजार चलाउनेबाहेक अन्य खेताला थिएनन् ।

आधुनिक कृषियन्त्र अन्नबाली र मलिला माटोमा चलिरहेका थिए, अहो ! कहिले भित्रिन्छन् होला यस्ता प्रविधि हाम्रो मुलुकमा ? कृषिप्रधान देश भन्छौं । खै त आधुनिक कृषि प्रविधि र औजार ?

दैनिक हजारभन्दा बढी युवा काम र राम्रो आम्दानीको खोजीमा घरखेत बेचेर वा बन्धक राखेर त्रिभुवन विमानस्थलबाट बाहिरिन्छन् । गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव भएर खेत बाँझै रहन थालेको समाचार आइरहेको छ । बलियाबांगा युवा गाउँबाट पूरै रित्तिएपछि यस्ता आधुनिक कृषियन्त्र नभित्र्याई धरै छैन । बाहिरिने क्रम यसरी नै जारी रहने हो भने त्यो दिन पनि टाढा छैन ।

लगातार दुई घन्टाको ड्राइभिङपछि बल्ल गन्तव्य आइपुगेको जानकारी ‘स्याटलाइट नाभिगेटर'ले दियो । गाडी पार्क गरेर बाहिर निस्कँदा चर्को घामले तालुमा आक्रमण गर्‍यो । समरमा लाग्ने बेलायतको घामले कहिलेकाहीँ त नेपाललाई पनि बिर्साउँछ । यस्तै तातो घाम ताप्न पैसा खर्च गरेर एसिया र अफ्रिकातिर लाग्छन् बेलायतीहरू ।
...
अग्लाअग्ला चौडा चारपाटे ढुंगाको संरचना जसलाईं ‘स्टोनहेन्ज' भनिन्छ । चालीसको दशकको अन्त्यतिर कार्यालयमा भर्खर आएको कम्प्युटरको वालपेपरमा देखेको स्टोनहेन्ज अहिले मेरोसामु प्रत्यक्ष खडा थियो । समय र संयोगको दूरी निकै लामो रहेछ । स्टोनहेन्जलाई प्रत्यक्ष रूपमा हेर्न पच्चीस वर्ष कुर्नुपर्‍यो मैले ।

संसारभरका मानिसहरूका भीडमा हामी चार नेपाली अनुहार पनि मिसियौं । हरेक व्यक्ति आश्चर्यचकित भावले स्टोनहेन्ज हेर्दै थिए ।

भीडका मानिस स्टोनहेन्जलाई पृष्ठ भागमा पारेर वरिपरि चक्कर लगाउँदै फोटो लिँदै थिए । ती मानिस हेर्दा यस्तो लाग्थ्यो, सबैजना मोबाइल फोनको प्रदर्शनीमा आएका हुन् । समय बदलिएको छ, मानिसहरू प्रायः क्यामरा बोक्न छाडे । मोबाइल फोनबाटै फोटो खिच्छन् ।


हवन कुण्डको चक्कर लगाएझैं हामीले पनि गोलचक्कर लगाएर ढुंगाको त्यस अद्भुत संरचना हेर्‍यौं, फोटो खिच्यौं । त्यसरी चक्कर लगाउँदा थरीथरीका भाषा सुन्ने अवसर मिल्यो । तिनका कुरा कसरी बुझ्नु !

सिमेन्टको चौडा पिल्लरजस्ता देखिने स्टोनहेन्जमा अजंगका ढुंगा ताछेर ठड्याएइएको रहेछ । ती ढुंगा पाँच हजार वर्ष पुराना हुन् भनिन्छ । तर, त्यति पुराना हुन् भन्ने संकेत मैले कतै देखिनँ । ढुंगामा न कुनै लिपि कुँदिएको थियो, न कुनै चित्र वा आकृति खोपिएको ।


केही मानिसको मतअनुसार दैत्यहरूले स्टोनहेन्जको स्थापना गरेका हुन् । अन्य केहीको मतमा मर्लिन नामको जादुगरले आफ्नो जादुद्वारा यसको स्थापना गरेको हो । दैत्य र जादुगरमा विश्वास नगर्ने आधुनिक विचारका केही अनुसन्धानकर्ता स्टोनहेन्जलाई अर्कै ग्रहबाट आएका एलियनहरूले बनाएको हो भन्छन् ।

तर, पनि पुरानो होइन भनेर औंलो ठड्याउने कुनै आधार मसँग थिएन । पुरातत्वविद् र वैज्ञानिकले लामो अनुसन्धान र खोजबाट पत्ता लगाएको कुरालाई म सामान्य अवलोकनकर्ताले यस्तो होइन कसरी भन्नु ? त्यति पुरानो भएको विश्वास नलागे पनि विश्वास गर्न बाध्य थिएँ ।

ती ढुंगा एकआपसमा नजिकै चक्राकारमा ठड्याइएका थिए । जमिनमा गाडेर ठड्याइएका ती ढुंगा नौ मिटरसम्म अग्ला र बीस टनसम्मका रहेछन् । केही टुटफुट टुक्राहरू भुइँमा त्यसै लडिरहेका थिए । घर बनाउन सिमेन्टका पिल्लर ठड्याएर ठिक्क पारेजस्ता देखिने ती ढुंगामाथि बिम राखेजसरी नै झन्डै उत्रै आकारका ढुंगा सुताएर राखिएको थियो । झट्ट हेर्दा कुनै ठूलो भवन निर्माण गर्दागर्दै बीचैमा काम छाडिएको जस्तो देखिन्थ्यो ।

खेतीपाती हुने मलिलो समथर फाँटमा कसले र कुन प्रयोजनका लागि ल्याए होलान् ती ढुंगा ? त्यसको रहस्य अझैसम्म कसैले पत्ता लगाउन सकेको छैन । तर पनि वैज्ञानिक, पुरातत्वविद्, इतिहासकार र खगोलशास्त्रीका आआफ्नै तर्क छन् । कसका कुरा पत्याउनु ? तिनका तर्क र कथा सुनेर मजस्तै अन्य मानिस पनि अलमलमा परेका होलान् ।

स्टोनहेन्ज वरपर ढुंगाको कुनै पहाड देखिँदैन । ती अजंगका ढुंगा करिब बत्तीस किलोमटिर टाढाबाट त्यही ठाउँमा काँटछाँट गरेर ल्याइएको हो भन्ने वैज्ञानिक मान्यता छ । उतिखेर त्यत्रो भीमकाय ढुंगा त्यति टाढाबाट त्यहाँसम्म ल्याउनु आश्चर्यलाग्दो कुरा थियो । त्यो बेला न क्रेन थियो, न ढुवानी गर्ने यातायातको साधन । कसरी ल्याए होलान् त्यहाँसम्म त्यत्रा अजंगका ढुंगा ?

केही मानिसको मतअनुसार दैत्यहरूले स्टोनहेन्ज स्थापना गरेका हुन् । अन्य केहीको मतमा मर्लिन नामको जादुगरले आफ्नो जादुद्वारा यसको स्थापना गराएको हो । दैत्य र जादुगरमा विश्वास नगर्ने आधुनिक विचारका केही अनुसन्धानकर्ता स्टोनहेन्जलाई अर्कै ग्रहबाट आएका एलियनहरूले बनाएको भन्छन् ।

टाढासम्म फैलिएको त्यो चौडा भूमि रनवेजस्तै देखिन्छ । के त्यो समथर भूमिलाई एलियनहरूले उति बेला रनवेका रूपमा प्रयोग गरेका थिए ? निकै बेर त्यो समतल भूमिमा परसम्म नजर लगाउँछु । एलियनहरूको रनवे मासेर मानिसहरूले खेतीपाती पो गरेका हुन् त ?

चेप्टो र बक्राकार ‘यूएफओ' अर्थात् एलियनहरूको विमान पृथ्वीमा कैयौंपटक आएको र त्यसलाई देखेको भनेर कैयौंको दाबी छ । मैले पनि त्यस्ता समाचार बेलाबेलामा पढेको र सुनेको छु ।

तर, आजसम्म ‘यूएफओ' देख्ने सौभाग्य मिलेको छैन । उसो त हलिउडका धेरै फिल्ममा त्यस्ता विमान र एलियन देखेको छु । फिल्म हेरको भरमा एलियन र यूएफओको आकृति भण्डार भएको छ मेरो मस्तिस्कमा ।

एलियन भए÷नभएको पत्ता लगाउन अमेरिकाको सरकारी संस्था नासामा एउटा विभाग नै खडा गरिएको छ । वैज्ञानिकहरूको टिमले बीस वर्षभित्र अर्को ग्रहबाट आएका ती एलियनको सम्पूर्ण कुरा पत्ता लगाएरै छाड्ने प्रण गरेको छ ।

मानिसभन्दा धेरै बुद्धिमान र चलाख ठानिएका ती एलियनबारे वैज्ञानिक तथ्य आयो भने एलियनभन्दा मानिस नै बुद्धिमान ठहरिने भए । एलियन र पृथ्वीवासीको युद्ध भयो भने विभिन्न जात, धर्म र देशबीच चलेको वैमनष्य अन्त्य गरी एकजुट भएर एलियनविरुद्ध अवश्य लड्लान् । सायद त्यस दिन पृथ्वीवासी हुनुको गर्वमा मानिसले कुनै उत्सव मनाउलान् ।

रकेट र हवाईजहाज निर्माणको इतिहास लामो छैन । तर, इजिप्टको तीन हजार साल पुरानो ‘न्यु किङ्डम मन्दिर'को भित्तामा यूएफओका चित्रहरू पाइएको छ । त्यति पुरानो मन्दिरमा यूएफओको चित्र पाउनुले उति बेलैदेखि मानिस अर्को ग्रहका प्राणी पृथ्वीमा कुनै विमानद्वारा आउने गरेको कुरासँग परिचित रहेछन् भनेर मान्न सकिन्छ ।

अन्य ग्रहका प्राणीले विमान प्रयोग गरेको पृथ्वीका मानिसले देखेका थिए होलान् र त इजिप्टको मन्दिरमा त्यसको चित्र बनाइयो भनेर अनुमान लगाउँछु ।

केही इतिहासकारले स्टोनहेन्जलाई पाँच हजार वर्ष पुरानो मानव सभ्यताको अस्तित्व मानेका छन् । यसको वरपरको उत्खननमा थुप्रै मानव कंकालका टुक्रा फेला परेकाले त्यहाँ कुनै सामूहिक चिहान भएको वैज्ञानिकहरूले अनुमान गरेका छन् । त्यहाँ फेला परेका मानव कंकाललगायत अन्य वस्तु म्युजियममा हेर्ने अवसर मिलेको थियो । त्यहाँ भेटिएको सामूहिक चिहान स्टोनहेन्जको निर्माण गर्नेे कामदार र त्यस वरपरका अन्य मानिसको हुनसक्ने अनुमान गरिएको छ ।

स्टोनहेन्जमा केही नीला रङका ढुंगा पनि थिए । ती ढुंगामा कैयौं रोगलाई निको पार्ने शक्ति छ भनिन्छ । उतिखेर उपचारका लागि त्यस ठाउँमा मानिसहरू आए होलान् । रोग निको नभएर मरेपछि त्यतै समाधिस्थ गरियो होला । यहाँ भेटिएका कंकाल तिनै मानिसका होलान् भनेर तर्क गर्नेहरू पनि छन् ।

केहीले यो पारम्परिक धार्मिक कर्मकाण्ड गर्ने ठाउँ थियो भनेका छन् । तर, त्यसको पनि स्पष्ट प्रमाण फेला परेको छैन । तर, त्यहाँ फेला परेका पुराना भाँडाकुँडा, बन्चरो आदि सामग्रीले यस्तै कुराको संकेत गरेको मान्नेहरू धेरै छन् ।

स्टनोनहेन्जको ढुंगालाई वैज्ञानिकहरूले हरेक तरिकाले जाँचेका रहेछन् । ती ढुंगामा हिर्काउँदा एक विशेष प्रकारको ध्वनि निस्कन्छ रे । त्यसलाई उति बेला घन्टीको रूपमा प्रयोग गरिन्थ्यो रे । हरेक ढुंगाको गुञ्जन एक अर्कोभन्दा फरक रहेछ । यसलाई हिर्काउँदा धातुको घन्टीजस्तै आवाज आउँदो रहेछ । उति बेला यसलाई चर्च वा मन्दिरमा बजाइने घन्टीजस्तै प्रयोगमा ल्याइएको थियो होला भनेर अनुमान गर्छु ।
मलाई त्यसको ध्वनि जाँच्न, सुन्न र बडेमानका ढुंगा स्पर्श गर्न मन लागेको थियो । त्यहाँ पुगेर स्पर्श गर्न वा जाँच्न थाले पक्राउ परेर जेलको हावा खाइने डरले जाने आँट आएन ।

उतिबेलाका शासकहरूले आफ्नो शक्ति देखाउन र आफ्नो सीमा रेखांकनका लागि यसको निर्माण गरेका हुन् भन्ने अर्को तर्क छ । तर, यस्तो असम्भव लाग्ने काम शक्ति देखाउनकै लागि गरे होलान् ? यो पनि प्रश्न अगाडि आउँछ ।

केही खगोलशास्त्रीका अनुसार ठड्याइएका ती ढुंगालाई क्यालेन्डरको रूपमा प्रयोग गरिन्थ्यो । स्टोनहेन्जको पूरा स्मारकले सौर्य प्रणालीलाई प्रदर्शित गर्छ । कसैले यो वेधशालाका रूपमा थियो भनेका छन् । उनीहरूले यसको संरचनालाई अति जटिल मानेका छन् । उनीहरू यसलाई एक प्रागैतिहासिक कम्प्युटर भन्छन् ।

विज्ञानले जति नै उन्नति गरे पनि यसको रहस्य सुल्झाउन सकेको रहेनछ । यथार्थ कुरा पत्ता नलागेको यो प्राचीन स्मारकले रहस्यमयताका लागि नै प्रसिद्धि रहेछ । अरूले जे जे भने पनि अंग्रेजहरू यसलाई बेलायतको गौरव मान्छन् ।

दुई मिनेटमा दुई फन्को लगाउन सकिने स्टोनहेन्जलाई आधा घन्टा लगाएर तीन फन्को लगाएँ । जताबाट जति नै हेरे पनि कलाविहीन बडेमानका ढुंगाका खम्बाहरू ठिंग उभिएको मात्रै देखेँ । संसारभर ख्याति कमाएको स्टोनहेन्ज मेरो लागि प्रख्यात चित्रकारले बनाएको नबुझिने अब्स्ट्र्याक्ट चित्रझैं भयो । न तिनमा सुन्दरता देखेँ न कुनै प्राचीनता ।

बरु त्यसका बारेमा चलेका चर्चा, अनुमान र तर्कहरू मलाई बडा रोचक लागे । स्टोनहेन्जले मलाई आकर्षित गर्न नसके पनि अमेरिकाका राष्ट्रपति बाराक ओबामा त्यसलाई हेर्नकै लागि केही समयअघि बेलायत आएको समाचार टीभीमा हेरेको थिएँ । ओबामाले त्यहाँ पुगेर अनेक जिज्ञासा राखे । उत्तर सुनेपछि उनी रोमाञ्चित बने । र भने, ‘हाउ कुल इज दिस् ? '

समरमा रातको साढे ९ बजे अस्ताउने घाम साँझ ६ बज्दा पनि उस्तै तेजिलो छ । त्यहाँबाट कम्तीमा दुई घन्टा कारको तुफानी दौडाइपछि मात्र घर पुगिन्थ्यो । हेर्न, बुझ्न, सुन्न केही बाँकी रहेजस्तो लागेन । त्यसैले अबेर नगरी सटल बसमा फिर्ता आयौं । कार स्टार्ट गरेर विस्तारै अगाडि बढाएँ । परसम्म देखिने फराकिला फाँट आँखाबाट ओझेल भए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.