भाइकी दिदी

 भाइकी दिदी

हजुरबुवा, हजुरआमा, बुवा, काका सबै खुसी देखिनुभएको छ । किनकि परिवारमा नयाँ सन्तानको जन्म हुँदै थियो । आमा भने खुसी हुन सक्नु भएको थिएन । उहाँलाई डर थियो, सबैले आशा गरेको ‘छोरो' पाउने हो कि होइन भनेर ।

धेरै दिनदेखि पर्खिएको त्यो एउटा दिन पनि आयो । आमालाई सुत्केरी व्यथा लागेको दोस्रो दिनमा बच्चा जन्मियो । पहाडी गाउँ भएकाले अस्पताल लगिएन । घरैमा गाउँले सुडेनी महिलाले राम्रै सहयोग गरेका थिए ।

सन्तान जन्मिँदा सुखसँगै दुःख पनि थपियो । परिवारका सबैले आशा गरेको छोरो जन्मिएन । छोरी नै जन्मिए पनि परिवारका सदस्यहरूले खुसी त देखाए । तर आमालाई छोरो दिन नसकेकोमा दुःख लाग्यो । छिमेकी महिलाले घरमा लक्ष्मी भित्रिएको भन्दै बधाई दिए ।

एघारौं दिनमा न्वारान गरियो । नाम जुर्‍यो ‘लक्ष्मी' । तर पनि ‘छोरोले वंश धान्छ' भन्ने बुझेका हजुरबुवा, हजुरआमा, बुवा र काका कसैले पनि ‘लक्ष्मी' मा चित्त बुझाउनु भएन । लक्ष्मीकी आमाले परिवारबाट पहिले जस्तो माया पाउनै सक्नु भएन । पालनपोषण गर्दै आमाले लक्ष्मीलाई हुर्काउनु भयो ।

लक्ष्मी जन्मिएको वर्ष दिन पुग्दा पनि आमाले सासू (हजुरआमा) बाट गाली र हेलाँमात्र पाइरहनुभयो । सासूबाट पटकपटक गाली पाउनुभयो, ‘छोरो पाउली र वंशको बिडो थाम्ला, घरको इज्जत बढाउला भनेर कत्रो आस थियो । छोरी पाएर गर्नु गरी । नाकै काटी ।'

सासूका वचनले लक्ष्मीकी आमाको मन कुँडिएर आउँथ्यो । भक्कानो फुट्थ्यो । श्रीमान् पनि सासूकै कुरामा लागेर गाली गर्नुहुन्थ्यो । लोग्ने पनि आफ्नो कुरा सुन्दिने नभएपछि आमाको मन खुसी हुनै सकेन । दिन बित्दै गए । लक्ष्मी स्कुल जान थालिन् ।

घर, छिमेक र स्कुलमा समेत लक्ष्मीलाई ‘तिम्रो भाइ कहिले आउँछ ? ' भनेर जिस्क्याउन थालियो । उनी उल्टै सोध्थिन्, ‘मेरो भाइ नै छैन । कहाँबाट आउनु नि ? ' उनीहरू फेरि जिस्क्याउँथे, ‘आमाले ल्याउनुहुन्छ क्या ।' एक दिन घर फर्केपछि लक्ष्मीले आमालाई सोधिन्, ‘आमा, आमा । तपाईंले भाइ ल्याउनुहुन्छ अरे हो ? ' आमा बोल्नु भएन । जवाफ नआएपछि लक्ष्मी खेल्न थालिन् ।

जवाफ नपाएकी लक्ष्मीले अरूले भनेजस्तै आमाको पेट ठूलो देखिन् । ‘आमा, तपाईंको पेटमा मेरो भाइ छ हो? ', उनले सोधिन् । आमाले पनि हार्न नसकेर भन्नुभयो, ‘हो नानी, तिम्रो भाइ छ ।' लक्ष्मी खुसी भइन् । हजुरबुवा, हजुरआमा, बुवा र काका भने फेरि पनि ‘छोरी' नै जन्मिने हो कि भनेर चिन्ता गरिरहेका थिए ।

परिवारका कोही पनि लक्ष्मीकी आमासँग राम्रो मुखले बोल्नु भएको थिएन । अस्पतालका लागि टाढाको सहर पुग्नुपर्ने भएकाले ‘छोरा हुन्छ कि छोरी' भनेर थाहा पाउने उपाय पनि थिएन । लक्ष्मी जन्मिँदाभन्दा ठूलो पेट देखेकाले सबैले अड्कल काट्थे, ‘यसपालि लक्ष्मीको भाइ नै जन्मिन्छ ।'

अरूको अनुमान सुन्दा पनि लक्ष्मीकी आमालाई मनमनै शान्ति मिल्थ्यो । आमा एक्लै गुन्गुनाउनुहुन्थ्यो, ‘छोरो भयो भने त श्रीमान्, सासू, ससुरा र देवर सबैको माया पाउँथेँ नि ।'

सोमबारको दिन थियो । घरमा छरछिमेकबाट महिला र सुडेनी आएका थिए । तीन दिनदेखि बिरामी परेकी आमाले दोस्रो सन्तानलाई जन्म दिनुभयो । कुलमा छोरोको आगमन भएको भन्दै घरपरिवारमा खुसी फैलियो । एक कान, दुई कान हुँदै लक्ष्मीको भाइ जन्मिएको खबर गाउँभरि फैलियो ।

मावल गएकी लक्ष्मी पनि सोमबार साँझ मामासँग घर आइपुगिन् । घरमा धेरै मान्छे देखेर एकछिन अलमल परेकी उनलाई तुरुन्तै थाहा भयो, ‘भाइ जन्मिएछ ।' घर पुग्नासाथ लक्ष्मीलाई सबैले जिस्क्याए, ‘ऊ भाइकी दिदी पनि आइपुगिछ ।'

एकजना दुईजना हुँदै सबैले लक्ष्मीलाई ‘भाइकी दिदी' भनेर बोलाउन थाले । भाइ जन्मिनुअघि कसैले पनि उनलाई ‘लक्ष्मी' भनेर बोलाएका थिएनन् । आमा र अरूले ‘नानु' भनेर बोलाउँथे । ‘ओई, यता आइज, यस्तो काम गर्', मात्र भन्थे ।
घरमा भाइ जन्मिएपछि लक्ष्मी र उनकी आमाले पनि माया पाउन थाले ।

हिजोसम्म राम्रो मुखले नबोलाउने हजुरआमाले आमालाई माया गरेको देखेर लक्ष्मी पनि छक्क पर्थिन् । ‘आमा हजुरआमाले किन भाइलाई धेरै माया गर्नुभएको ? मलाई त गर्नु हुन्नथ्यो नि', लक्ष्मीले सोधिन्, ‘भाइ आएपछि तपाईं र मलाई पनि माया गर्न थाल्नुभएको हो ? ' आमाले टाउको मात्र हल्लाउनुभयो, केही बोल्नु भएन ।

लक्ष्मी खेल्न गाउँभरि जान्थिन् । दसैंको बेला थियो । भाइ जन्मिएकाले घरमा टीका लगाउन हुँदैनथ्यो । पिङ खेल्न पुगेका बेला छिमेकीका घरमा थुप्रै पाहुना आए । लक्ष्मी पनि मिठाई खान पाउने आसमा छिमेकीका घरमा गइन् । विजया दशमीको टीका र जमरा लगाएपछि पाहुनाहरू कौसीमा निस्किनु भयो ।

जामा लगाएर दुई चुल्ठी बाटेकी लक्ष्मी रूपमा पनि सुन्दर थिइन् । जसले भेटे पनि उनलाई बोलाइहाल्थे । पाहुनाहरूले पनि उनलाई छेउमा बोलाए र स्याउ, केरा खान दिए । ‘नानु, तिम्रो नाम के हो ? ', एकजना पाहुनाले सोध्नुभयो । उनले भनिन्, ‘भाइकी दिदी', उनको उत्तरले सबै हाँसे ।

पाहुना आन्टीले सोध्नुभयो, ‘तिम्रो नाम पो सोधेको त हामीले ।' लक्ष्मीले फेरि उही उत्तर दोहोर्‍याइन्, ‘भाइकी दिदी ।' उनको स्वाभाव गम्भीर किसिमको थियो । उनलाई आफ्नो नाम ‘लक्ष्मी' भन्नुपर्छ भनेर कसैले सिकाएका थिएनन् ।

छिमेकी अंकलले भन्नुभयो, ‘यिनी भाइ पाएदेखि खुसी छिन्, भाइलाई एकदमै माया गर्छिन् । एकछिन छोड्दिनन् । जसलाई पनि म भाइकी दिदी भन्छिन् ।' भाइ जन्मेकी दिन यहाँ आएर ‘म त आजदेखि भाइकी दिदी भएँ' भनेकी थिइन् । जतिपटक सोधे पनि पाहुनाले भाइकी दिदीको नाम सुन्नै पाएनन् ।

पाहुनालाई झनै खुल्दुली भयो । उहाँहरूले भाइकी दिदीलाई मिस्री, नरिवल दिएर फकाउनुभयो । तर पनि फेरि उही उत्तर आयो । टीका लगाउने घरका मानिसलाई पनि भाइकी दिदीको नाम थाहै रहेनछ । त्यत्ति नै बेला छोरी खोज्दै बुवा आउनुभयो । भन्नुभयो, ‘लक्ष्मी, घरमा काम छ । किन अल्मलिएकी ? लौ झट्टै आइज ।'

पाहुनाले भाइकी दिदीको वास्तविक नाम थाहा पाउनुभयो । उहाँहरूले एकै स्वरमा भन्नुभयो, ‘भाइकी दिदी, तिम्रो नाम यति राम्रो रहेछ । अबदेखि हामी त तिमीलाई लक्ष्मी भन्छौं है ।' लक्ष्मी रुन थालिन् । बुवाले घर लैजान लाग्नुभयो भनेर रोएकी होलिन् भनेर सबैले अनुमान गर्नुभयो ।

‘किन रोएकी ? ', बुवाले सोध्नु भयो । लक्ष्मीले आँसु पुछ्दै भनिन्, ‘मेरो नाम भाइकी दिदी नै हो ।' लक्ष्मीलाई खुसी बनाउन सबैले एउटै स्वरमा जिस्क्याउनु भयो, ‘भाइकी दिदी..., भाइकी दिदी... । भाइ चाहिँ खोइ ? ' लक्ष्मी रुन छोडिन् र मुस्कुराइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.