कोटेश्वर-कलंकी सडक विस्तारः ३९ महिनामा आधा काम
काठमाडौः कोटेश्वर-कलंकी खण्डको आठ लेनको चक्रपथ विस्तारको काम सुरु भएको ३९ महिनामा ४८ प्रतिशत मात्रै पूरा भएको छ । यो सडक चिनियाँ कम्पनी
संघाई कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । चिनियाँकम्पनी छिटो काम गर्नेमा चर्चित भए पनि यहाँचाहिँ काम सुस्त छ ।
सरकारले चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सनसँग सन् २०१२ मा सडक निर्माण सम्झौता गरेको थियो । चक्रपथ सुधार आयोजनाका इन्जिनियर रमेश दिष्टीले पछिल्लो समय कम्पनीले निर्माणकार्य तीव्र गतिमा अगाडि बढाएको जानकारी दिए ।
निर्माण कम्पनीले अहिले कलंकीको ‘अन्डर पास' र कोटेश्वर-एकान्तकुनासम्मको पाँच किलोमिटर सडक निर्माणमा बढी जोड दिएको छ । निर्माण कम्पनीले सुक्खा सिजनभित्रै कोटेश्वर-एकान्तकुना खण्डको पाँच किलोमिटर सडक पिच गर्ने तयारी गरेको छ । सडक कालोपत्रे गर्न कम्पनीले भक्तपुरको सल्लाघारीमा निर्माण सामग्री संकलन गरिसकेको छ । योसँगै एकान्तकुनासम्मको सडकखण्डमा पनि काम भइरहेको छ ।
कम्पनीले सन् २०१३ को जुनबाट काम थालेर ४० महिनामा सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सहमति गरेको थियो । सम्झौताअनुसार काम गर्न नसकेपछि सरकारले गत जुनमा १८ महिना समय थपेको छ ।
सरकारले बाधा अवरोध हटाउन नसकिएको तथा गत वर्ष भूकम्प र भारतीय नाकाबन्दीका कारण निर्धारित समयमा काम गर्न सम्भव नभएको भन्दै समय थपिएको स्पष्ट पारिरहेको छ । समय-समयमा आएका बाधा अवरोधले सडक निर्माणमा ढिला सुस्ती भएको हो', इन्जिनियर दिष्टीले भने, ‘अब भने कुनै असहज अवस्था नआएको र सरकारले बाधा अवरोध समयमै समाधान गरे १९ महिना भित्रै १० किलोमिटर सडक आठ लेनको हुनेछ ।'
कलंकीमा आठ सय मिटरको भूमिगत सडक
कम्पनीले कलंकी चोकमा बन्ने आठ सय मिटरको अन्डर पास (भूमिगत) सडक निर्माणको कामसमेत तीव्र गतिमा अगाडि बढाएको छ । संघाई कम्पनीले अहिले दुईवटा ड्रिलिङ मेसिनको सहायतामा अन्डर पास सडक निर्माण गरिरहेको छ । अगामी सुक्खा सिजनभित्रै कलंकीमा अन्डर पास रोड निर्माण गर्ने इन्जिनियर दिष्टी बताउँछन् ।
अन्डर पासबाट रिङ रोडमा गुड्ने सवारी कलंकी भाटभटेनी अर्थात खसी बजारको पुलबाट प्रवेश गरी बाफल पुरानो पुल नजिक निस्कनेछन् । बालाजुतर्फबाट आउने सवारी पनि सीधै अन्डर पास हुँदै खसी बजारमा निस्कनुपर्ने हुन्छ ।
कलंकी चोकमा जाने यात्रु खसी बजार र मकालु पम्पमा मात्रै झर्न पाउनेछन् । तर, बल्खु हुँदै थानकोट र कालीमाटीतर्फ जाने सवारीले भने दायाँ-वायाँ दुई लेनको बाटो प्रयोग गर्न पाउनेछन् । यस्तै सीतापाइला हुँदै कालीमाटी र थानकोटतर्फ जाने सवारीसाधनले पनि दुई लेनको साइट बाटो प्रयोग गर्न पाउँछन् । तर, रिङरोड हुँदै कलंकी पास हुने सवारीसाधनले माथिबाट गुड्न र यात्रु कलंकी चोकमा झार्न पाउँदैनन् । अन्डर पास सडक चार लेनको हुनेछ ।
कम्पनीले सन् २०१३ को जुनबाट काम थालेर ४० महिनामा सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सहमति गरेको थियो । सम्झौताअनुसार काम गर्न नसकेपछि सरकारले गत जुनमा १८ महिना समय थपेको छ ।
योसँगै निर्माण कम्पनीले एक पटकमा कलंकी-कोटेश्वर सडकखण्ड अन्तर्गतको १० किलोमिटर आठ लेनको सडक निर्माण गर्न नसक्ने बताएको छ । यो सडक चरणचरणमा बनाउने कम्पनीको भनाइ छ । कम्पनीले यसै सुक्खा सिजनसम्ममा कोटेश्वरदेखि एकान्तकुनासम्मको पाँच किलोमिटर सडकखण्डको काम सम्पन्न गर्ने भएको छ । यही सिजनामा एकान्तकुनादेखि कलंकीसम्मको आठ लेन सडक निर्माणकार्य पनि ५० प्रतिशत सक्ने प्रतिबद्धता गरिएको छ ।
‘सडक निर्माणमा सबैभन्दा महत्वपूर्ण काम पुल निर्माण र बाधा अवरोध नै हो' ,दिष्टीले भने, ‘निर्माण कम्पनीले अहिले सडकखण्डमा पर्ने खोलाको पुल र आकाशे पुल निर्माण लगभग सकिसकेको छ ।' आठ लेनको सडक निर्माणमा कुनै पनि समस्या छैन । काम तीव्र गतिमा भइरहेको छ ।
सडकखण्ड अन्तर्गत रहेको मनोहरा खोला, बल्खु खोला र कलंकी खसी बजार नजिकको खोलामा पुल निर्माण लगभग सकिएको छ । निर्माण कम्पनीले १० किलो मिटर सडकखण्डमा निर्माण हुने आकाशे पुलसमेत लगभग अन्तिम चरणमा पुर्याएको छ ।
सकारले आफ्नै लगानीमा सातदोबाटो र एकान्तकुनामा आकाशे पुल निर्माणको काम थालनी गरेको छ । अर्को एउटा भने बालकुमारीमा बनाउने कि बल्खु खोलामा बनाउने भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए । अब रिङरोड आसपासका वासिन्दाले १८ महिनाभन्दा बढी धुलो, धुवाँ र सडक जामको अवस्था भोग्न नपर्ने दिष्टीको भनाइ छ । निमार्ण कम्पनीले अहिले ६० जानभन्दा बढी चिनियाँ र नेपाली कामदार परिचालन गरी काम गरिरहेको छ ।
७० प्रतिशत रकम निकासा
सांघाईले सडक निर्माणको कामभन्दा बढी रकम निकास पाइसकेको छ । निर्माण कम्पनीले अहिलेसम्म ७० प्रतिशतभन्दा बढी रकम पाइसकेकोे छ । अबको केही समयमै उसले मुख्य काम सकिएको भन्दै २० प्रतिशतसमेत रकम लिने पाउनेछ । तर, काम भने ४८ प्रतिशत मात्रै भएको छ ।
कम्पनीले काम सुरु गरेको ३० दिनमा ५० र ६० दिनमा थप २० प्रतिशत रकम पाउने सम्झौतामा उल्लेख छ । सडकको मुख्य काम सकिएपछि अर्को २० र हस्तान्तरणको एक महिनापछि बाँकी १० प्रतिशत रकम दिइनेछ । यसअनुसार कम्पनीले ७० प्रतिशत रकम बुझिसकेको छ । यसको निर्माण लागत ३१ करोड २० लाख आरएमबी (चिनियाँ मुद्रा) हो ।
दायाँबायाँ सडक निर्माणमा अवरोध
आठ लेनको सडकमा यात्रु र सवारीसाधनले आफूखुसी जुनसुकै चोकबाट प्रवेश पाउँदैन । सरकारले सडकको सुरक्षा र धुलो रहित बनाउ भन्दै दायाँबायाँ निर्माण गर्न लागेको ६ मिटरको सर्भिस ट्र्याकमा भने स्थानीले अवरोध गरेका छन् । ‘यो सडक हाम्रै लागि हो भनेर स्थानीयले बुझ्न नसक्दा समस्या आएको हो',दिष्टीले भने, ‘समस्यमा नभएको एकान्तकुनादेखि नख्खु दोबाटो र मेगा अस्पतालदेखि नयाँबाटो चोकसम्मको ६ मिटरको सर्भिस सडक पिच भइसकेको छ ।'