डलरसँग खस्कियो नेपाली रुपैयाँ
काठमाडौं: अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर बलियो बनेसँगै नेपाली रुपैयाँ कमजोर बनेको छ । एक अमेरिकी डलरका लागि अब एक सय १० रुपैयाँभन्दा बढी खर्चनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरबराबर एक सय १० रुपैयाँ २६ पैसा बिक्रीमूल्य तोकेको छ ।
यसअघि २०७२ फागुन १४/१५ गते एक अमेरिकी डलर एक सय १० रुपैयाँ २८ पैसामा कारोबार भएको जानकारी नेपाल राष्ट्र बैंकले दिएको छ । त्यसयता यो बिन्दुमा पुगेको थिएन । चालू आर्थिक वर्ष २०६८/६९ मा एक अमेरिकी डलरबराबर ८१ रुपैयाँ ४३ पैसा थियो । पाँच वर्षको यो अवधिमा ३५.४० प्रतिशतले नेपाली रुपैयाँ अवमूल्यन भएको छ ।
अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको, रोजगारीका अवसर सिर्जना भएको र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने संकेत गरेसँगै डलरको भाउ बढ्न थालेको जानकारी नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले दिए । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएलगत्तै उनले व्यापारमैत्री नीति ल्याउने आँकलन गरिएको छ । भारतीय ठूला दरका नोटमा प्रतिबन्ध लागेपछि अमेरिकी डलरका तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै गएको छ । यी कारण पनि अमेरिकी डलर थप बलियो बन्न सहयोग पुगेको हो ।
एकातिर ब्याजदरका कारण डलर महँगो भइरहेको छ भने अर्कोतर्फ भारतमा पाँच सय र एक हजार दरको नोट प्रतिबन्धित छ । भारतीय ठूला दरका नोट नचलेपछि मुद्रा कमजोर भएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमयदर रहेकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर बनेको हो । एक साताको अवधिमा नेपाली रुपैयाँ डलरसँग करिब चार रुपैयाँको हाराहारीमा कमजोर भइसकेको छ । नेपाली रुपैयाँ पाँच वर्षमा ३५ प्रतिशतभन्दा बढीले अवमूल्यन भयो ।
भारतीय रुपैयासँग नेपाली रुपैयाँको स्थिर विनिमयदर हुनाले भारु कमजोर बनेपछि सोही अनुपातमा नेपाली रुपैयाँ पनि कमजोर भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए । 'अर्थशास्त्रको सिद्धान्तअनुसार खुला अर्थतन्त्रमा बजारमा माग र पूर्तिका आधारमा वस्तुको मूल्य निर्धारण हुने भए पनि नेपाली बजारमा भने भारतीय रुपैयाँको अधिमूल्य तथा अवमूल्यनको प्रभाव पर्छ', उनले भने, 'यो बजार पनि आर्थिक क्रियाकलापले निर्धारण गर्छ ।' तर अहिले भएको नेपाली रुपैयाँको अवमूल्यन नेपाली आर्थिक क्रियाकलापले नभई भारतीय रुपैयाँ अवमूल्यनका कारण भएको हो ।
पाँच वर्षको अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३५.४० प्रतिशतले अवमूल्यन भएको छ । युरोपेली देशमा आएको आर्थिक संकट, अमेरिकी डलरसँग भारतीय रुपैयाँ अवमूल्यन र विश्व बजारमा अमेरिकी डलरको माग उच्च हुँदा नेपाली मुद्राको अवमूल्यन भएको हो । गत साउनमा प्रतिअमेरिकी डलरबराबर एक सय ६ रुपैयाँ ७२ पैसा रहेकामा यस अवधिमा आउँदा तीन रुपैयाँ ५४ पैसाले अवमूल्यन भएको छ ।
आर्थिक वर्ष २०६८/६९ मा एक अमेरिकी डलरबराबर ८१.४३ नेपाली रुपैयाँ रहेकोमा यस आवको यो अवधिसम्म आइपुग्दा एक सय १०.२६ रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
यस अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँमात्र होइन, अन्य परिवत्र्य मुद्रा पनि खस्कँदै गएको जानकारी राष्ट्र बैंकले दिएको छ । नेपालमा खुला बजार अर्थतन्त्रको अभ्यास भए पनि भारतीय रुपैयाँसँग स्थिर विनिमयका कारण यहाँ मूल्य वृद्धि भई नेपाली रुपैयाँको अवमूल्यन भएको हो । ‘त्यसमाथि पनि हाम्रो आयातित अर्थतन्त्र भएको मुलुकमा यसको असर त पर्ने नै भयो', पौडेलले भने, 'अर्थशास्त्रमा उतारचढाव नभएको स्थिर बजारलाई राम्रो मानिन्छ ।'
डलरको भाउ बढेपछि आयात महँगो पर्ने अर्थात् मूल्य वृद्धि हुने, विदेशी ऋण भुक्तानी गर्दा बढी रुपैयाँ खर्चनुपर्नेलगायत असर देखिएको छ । विदेशमा काम गर्ने र निर्यातकर्तालाई भने फाइदा पुग्नेछ ।