अदिचीले देखेको अमेरिका
पुस्तक : अमेरिकाना
लेखक : चिमामान्डा
न्गोजी अदिची
विधा : उपन्यास
मूल्य : ८.९९ डलर
चिमामान्डा न्गोजी अदिची, उनको पूरा नाम । नाइजेरियाको मध्यमवर्गीय इबो सम्प्रदायमा उनको जन्म । त्यहीँको न्सुका विश्वबिद्यालयमा पढिन् । १९ वर्षमै अमेरिका पुगिन् । अमेरिकामा कालो छालाकै कारण क्रमागत विभेद भोगिन् । अनि तिनै निजी अनुभवलाई लेखाइका कच्चा पदार्थ बनाउन थालिन् । अदिची मूलतः कथावाचक ठान्छिन् आफूलाई ।
‘पर्पल हिबिस्कस्’ उपन्यासमार्फत् सिर्जनात्मक लेखनमा छिरिन् उनी । नाइजेरियाबाट छुट्टिने घोषणा गर्दै पश्चिमी राज्य वायर्फाले संस्थापनसँग गरेको केही वर्षको लडाइँ र अस्थिरतामा आधारित उनको ऐतिहासिक उपन्यास ‘हाफ अफ येल्लो सन’ को प्रकाशनपछि उनको प्रसिद्धि अझ फैलियो । उनको पछिल्लो उपन्यास हो ‘अमेरिकाना’ । छापिएको तीन वर्षपछि पनि उत्पन्न ‘डिस्कोर्स’को तरंग कम भएको छैन ।
इफेमेलु र ओविन्जेबीचको प्रेम प्रसंगको केन्द्रमा उपन्यासका घटना घुम्छन् । कलेज जीवनदेखि नै प्रेममा डुबेको जोडी विश्वबिद्यालयको पढाइ सकेपछि आ–आफ्नै सपना पछ्याउँदै अलग भूगोलमा विचरण गर्न पुग्छन्, इफेमेलु अमेरिका र ओविन्जे बेलायत । नयाँ परिवेशमा इफेमेलुले अनेकन हण्डर खान्छे तर रंगीन सपना बुन्न छाड्दिन ।
प्रेमी फेर्दै भिन्न भूगोलमा स्वतन्त्र बाँच्नुको थोरै मजा पनि लिन खोज्छे । घरि–घरि अलिक अस्थिर देखिन्छ, उसको चरित्र । अर्कोतिर बेलायतमा ‘लास्टै’ दुःख पाउँछ ओविन्जे । चरम अपमान र यातनापछि नाइजेरिया फर्काइन्छ उसलाई, ‘इल्लिगल इमिग्रेन्ट’को रूपमा । स्वदेशमा तेलको व्यापार सुरु गर्छ र नामी ‘बिजनेस टाइकुन’मा दरिन्छ ।
उपन्यासमा प्रेम र यौनका प्रसंग त सहायक मात्र हुन् । यसले उठाएका मुद्दा धेरै गम्भीर छन् । बदलिँदो परिवेशमा रंगभेद कसरी आम अमेरिकी जीवनमा देखिन्छ, यसको दह्रो चित्रण छ । पात्र इफेमेलु उपन्यासमा हावी छ । अमेरिका बस्दाबस्दै ‘ब्लग’ खोलेर उसले अमेरिकीमाझ व्याप्त रंगभेदी चरित्रबारे लेख्छे । केयरटेकर बनेर जीवन धानिरहँदा आफ्नो पहिचान खोज्न थाल्छे ।
विभिन्न मोडमा भेटिएका दुई गोरे प्रेमीमार्फत् अमेरिकाको भित्री ‘फेब्रिक’ बुझ्छे, जुन अति नै घिनलाग्दो, कठोर र विभेदकारी छ । ‘ह्वाइट सुप्रिमेसी’को फूर्ति दिने पहिलो प्रेमी र कालाहरूप्रति सहानुभूति राख्ने (समभाव होइन), दोस्रो प्रेमी मात्र होइनन्, अरू कैयौं पात्र छन्, जो मोड–मोडमा छालाको रंगका आधारमा इफेमेलुजस्ता पात्रलाई हियाउँछन् । अनि, उपयोग गर्न खोज्छन् । पहिलो प्रेमीसँग रेस्टुराँमा खान जाँदा गोरे प्रेमीले खातिरदारी पाउँछ, अनि इफेमेलुले अपमान ।
दोस्रो प्रेमी अमेरिकी चुनावमा बाराक ओबामाले जितेकामा खुसी त हुन्छ । तर, अफ्रिकीप्रतिको हेयभाव लुकाउन सक्दैन विद्वताको कलेबरभित्र पनि । आजित भएर एउटा डिनर पार्टीमा ऊ चिच्याउँछे, ‘नाइजेरियामा बसुन्जेल छालाको रङ यति बिझाउने विषय हो भन्ने मलाई थाहा थिएन । अमेरिका आएपछि मात्र म काली रहेंछु भन्ने थाहा पाएँ ।’ राल्फ एलिसनले वर्षौं पहिले ‘दी इन्भिजिबल म्यान’ मा आख्यानकृत गरेका विभेद र अपमानका गाथा कहाँ अतिरञ्जित रहेछन् र ? अमेरिकीलाई रंगभेदी भन्ने कि नभन्ने त अब ?
बहुसांस्कृतिकवाद, विश्वव्यापीकरण, बहुलता, विविधता जे–जे जामा पहिरिए पनि पश्चिमीहरूको अन्तर्यमा रहेको एकतर्फी सोच, सजातीय चाहना मुखरित हुँदैछ क्रमशः । चाहे त्यो बेलायतको युरोपियन युनियनबाट बहिर्गमन प्रकरण होस् या डोनाल्ड ट्रम्पजस्ता श्वेत राष्ट्रवादी एजेन्डाधारीको उदय होस् या फ्रान्सकी राष्ट्रपति उम्मेद्ववार मेरिन ल पेनको पक्षमा बढ्दो जनमत होस् या अन्य यस्तै प्रकाश्य/नेपथ्य घटनाक्रमहरू ।
पछिल्लो समयमा अमेरिकामा भइरहेका काला जातिमाथिको आक्रमण र उनीहरूको हत्या अमेरिकी मूलधारमा रहेको चरम रंगभेदी सोचको उपज हो भनेर किन नभन्ने ? यस अर्थमा ‘प्रोफेटिक’ लाग्छ उपन्यास । चिनुवा अचेवेलाई लेखन आदर्श मान्छिन् अदिची । तर, बदलिंदो परिप्रेक्ष्यमा छालाको रङमा मात्र सीमित देख्दिनन् उनी अफ्रिकी पहिचान ।
‘कपाल कसरी बाटिएको छ त्यो शैली आफैंमा एउटा पोलिटिकल स्टेटमेन्ट हो,’ भन्छिन् उनी । त्यसैले होला उपन्यासभर इफेमेलुलगायत पात्रको केश विन्यासको चर्चा छ । अफ्रो, ड्रडेलक्सजस्ता प्रचलित हेयरस्टाइलले अहिलेको ‘ग्लोबलाइज्ड कन्टेक्स्ट्’मा अलग अफ्रिकी पहिचान थपेको हामी सबैले देखेकै छौं । संवादमा प्रयुक्त लवज अर्को पक्ष हो उपन्यासको । पहिले–पहिले अमेरिकी लवजमा बोल्न मन पराउने इफेमेलु पछि नाइजेरियाली पाराको अंग्रेजी बोल्छे । अमेरिकी भीडमा पहिचानविहिन बनी हराउन मन पर्दैन उसलाई । यो ‘सुप्रिमेसी’ विरुद्वको अलग विद्रोह हो अदिचीको ।
मोटोपना पनि दृष्टिगोचर विम्ब हो उपन्यासमा । इफेमेलु आइसक्रिम किन्न लाइनमा बसिरहेकी हुन्छे । भ्यात्ले कालीले किन मरिहत्ते गर्या होला आइसक्रिम खान ? उसलाई लक्ष्य गर्दै यस्तै आशयको व्यंग्य कस्छ, एउटा अपरिचत अमेरिकी । तर, नाइजेरियाली समाजमा मोटोपन समस्या होइन । त्यहाँको सिनेमा उद्योग नलिउडमा यस्ता महिला पात्र दर्शकद्वारा धेरै रुचाइएका छन् । मोटोपनप्रति वितृष्णा राख्ने एकतर्फी अमेरिकी हेराइको विपक्षमा देखिन्छिन् अदिची ।
नाइजेरियालीहरूले अमेरिका बसेर स्वदेश फर्केकाहरूलाई सम्बोधन गर्ने शब्द रहेछ, अमेरिकाना । इफेमेलु पनि अन्तिममा अमेरिकी ‘ल्याभिस लाइफ’ छाडेर नाइजेरिया फर्किन्छे । उसलाई पनि तिनै अमेरिकानाको दर्जामा राखिन्छ, हेलाहोचो सहनुपर्छ आफ्नै भनेकाहरूबाट समेत । स्वदेशीबाट पाएको पराइ व्यवहारले इफेमेलुलाई निकै बिझाउँछ ।
यसरी अदिची अमेरिकी या बेलायती मात्र होइन, स्वदेशीहरूका विकृत मानसिकतामाथि पनि प्रहार गर्न चुकेकी छैनन् । प्रमुख पात्रको स्वदेश फिर्ती उपन्यासको गजबको ‘टर्निङ पोइन्ट’ हो र सशक्त बिम्ब पनि । युरोप, अमेरिकामा सन्तान पठाएकामा सामाजिक हैसियत उकासिएको ठान्ने हाम्रै प्रवृत्तिमाथिको गतिलो प्रहार हो यो । अदिचीले उपन्यासमा आफ्नै जीवनका धेरै पक्ष घोलेकी छन् ।
लेखन धेरै कोणबाट ‘अटोबायोग्राफिकल’ छ । उपन्यास नाइजेरिया, अमेरिका र बेलायतमा शब्दांकित छ, जसलाई ‘अ कम्प्लिट मोजाइक लोकेसन’ भन्न सकिन्छ । वर्णनशैली झिंझो लाग्दैन । नियमित अन्तरालमा पाइने हास्यव्यंग्यले पठनमा आनन्द थपिन्छ । तीन महादेशका विविध गाथालाई टपक्क टिपेर रचिएको दिमाग रन्थनाउने उपन्यास पनि हो अमेरिकाना ।
प्रतिक्रिया दिनुहोस !