अदिचीले देखेको अमेरिका

अदिचीले देखेको अमेरिका

पुस्तक   :    अमेरिकाना
लेखक    :    चिमामान्डा
                न्गोजी अदिची
विधा      :   उपन्यास
मूल्य      :   ८.९९ डलर

चिमामान्डा न्गोजी अदिची, उनको पूरा नाम । नाइजेरियाको मध्यमवर्गीय इबो सम्प्रदायमा उनको जन्म । त्यहीँको न्सुका विश्वबिद्यालयमा पढिन् । १९ वर्षमै अमेरिका पुगिन् । अमेरिकामा कालो छालाकै कारण क्रमागत विभेद भोगिन् । अनि तिनै निजी अनुभवलाई लेखाइका कच्चा पदार्थ बनाउन थालिन् । अदिची मूलतः कथावाचक ठान्छिन् आफूलाई ।

‘पर्पल हिबिस्कस्’ उपन्यासमार्फत् सिर्जनात्मक लेखनमा छिरिन् उनी । नाइजेरियाबाट छुट्टिने घोषणा गर्दै पश्चिमी राज्य वायर्फाले संस्थापनसँग गरेको केही वर्षको लडाइँ र अस्थिरतामा आधारित उनको ऐतिहासिक उपन्यास ‘हाफ अफ येल्लो सन’ को प्रकाशनपछि उनको प्रसिद्धि अझ फैलियो । उनको पछिल्लो उपन्यास हो ‘अमेरिकाना’ । छापिएको तीन वर्षपछि पनि उत्पन्न ‘डिस्कोर्स’को तरंग कम भएको छैन ।

इफेमेलु र ओविन्जेबीचको प्रेम प्रसंगको केन्द्रमा उपन्यासका घटना घुम्छन् । कलेज जीवनदेखि नै प्रेममा डुबेको जोडी विश्वबिद्यालयको पढाइ सकेपछि आ–आफ्नै सपना पछ्याउँदै अलग भूगोलमा विचरण गर्न पुग्छन्, इफेमेलु अमेरिका र ओविन्जे बेलायत । नयाँ परिवेशमा इफेमेलुले अनेकन हण्डर खान्छे तर रंगीन सपना बुन्न छाड्दिन ।

प्रेमी फेर्दै भिन्न भूगोलमा स्वतन्त्र बाँच्नुको थोरै मजा पनि लिन खोज्छे । घरि–घरि अलिक अस्थिर देखिन्छ, उसको चरित्र । अर्कोतिर बेलायतमा ‘लास्टै’ दुःख पाउँछ ओविन्जे । चरम अपमान र यातनापछि नाइजेरिया फर्काइन्छ उसलाई, ‘इल्लिगल इमिग्रेन्ट’को रूपमा । स्वदेशमा तेलको व्यापार सुरु गर्छ र नामी ‘बिजनेस टाइकुन’मा दरिन्छ ।

उपन्यासमा प्रेम र यौनका प्रसंग त सहायक मात्र हुन् । यसले उठाएका मुद्दा धेरै गम्भीर छन् । बदलिँदो परिवेशमा रंगभेद कसरी आम अमेरिकी जीवनमा देखिन्छ, यसको दह्रो चित्रण छ । पात्र इफेमेलु उपन्यासमा हावी छ । अमेरिका बस्दाबस्दै ‘ब्लग’ खोलेर उसले अमेरिकीमाझ व्याप्त रंगभेदी चरित्रबारे लेख्छे । केयरटेकर बनेर जीवन धानिरहँदा आफ्नो पहिचान खोज्न थाल्छे ।

विभिन्न मोडमा भेटिएका दुई गोरे प्रेमीमार्फत् अमेरिकाको भित्री ‘फेब्रिक’ बुझ्छे, जुन अति नै घिनलाग्दो, कठोर र विभेदकारी छ । ‘ह्वाइट सुप्रिमेसी’को फूर्ति दिने पहिलो प्रेमी र कालाहरूप्रति सहानुभूति राख्ने (समभाव होइन), दोस्रो प्रेमी मात्र होइनन्, अरू कैयौं पात्र छन्, जो मोड–मोडमा छालाको रंगका आधारमा इफेमेलुजस्ता पात्रलाई हियाउँछन् । अनि, उपयोग गर्न खोज्छन् । पहिलो प्रेमीसँग रेस्टुराँमा खान जाँदा गोरे प्रेमीले खातिरदारी पाउँछ, अनि इफेमेलुले अपमान ।

दोस्रो प्रेमी अमेरिकी चुनावमा बाराक ओबामाले जितेकामा खुसी त हुन्छ । तर, अफ्रिकीप्रतिको हेयभाव लुकाउन सक्दैन विद्वताको कलेबरभित्र पनि । आजित भएर एउटा डिनर पार्टीमा ऊ चिच्याउँछे, ‘नाइजेरियामा बसुन्जेल छालाको रङ यति बिझाउने विषय हो भन्ने मलाई थाहा थिएन । अमेरिका आएपछि मात्र म काली रहेंछु भन्ने थाहा पाएँ ।’ राल्फ एलिसनले वर्षौं पहिले ‘दी इन्भिजिबल म्यान’ मा आख्यानकृत गरेका विभेद र अपमानका गाथा कहाँ अतिरञ्जित रहेछन् र ? अमेरिकीलाई रंगभेदी भन्ने कि नभन्ने त अब ?

बहुसांस्कृतिकवाद, विश्वव्यापीकरण, बहुलता, विविधता जे–जे जामा पहिरिए पनि पश्चिमीहरूको अन्तर्यमा रहेको एकतर्फी सोच, सजातीय चाहना मुखरित हुँदैछ क्रमशः । चाहे त्यो बेलायतको युरोपियन युनियनबाट बहिर्गमन प्रकरण होस् या डोनाल्ड ट्रम्पजस्ता श्वेत राष्ट्रवादी एजेन्डाधारीको उदय होस् या फ्रान्सकी राष्ट्रपति उम्मेद्ववार मेरिन ल पेनको पक्षमा बढ्दो जनमत होस् या अन्य यस्तै प्रकाश्य/नेपथ्य घटनाक्रमहरू ।

पछिल्लो समयमा अमेरिकामा भइरहेका काला जातिमाथिको आक्रमण र उनीहरूको हत्या अमेरिकी मूलधारमा रहेको चरम रंगभेदी सोचको उपज हो भनेर किन नभन्ने ? यस अर्थमा ‘प्रोफेटिक’ लाग्छ उपन्यास । चिनुवा अचेवेलाई लेखन आदर्श मान्छिन् अदिची । तर, बदलिंदो परिप्रेक्ष्यमा छालाको रङमा मात्र सीमित देख्दिनन् उनी अफ्रिकी पहिचान ।

‘कपाल कसरी बाटिएको छ त्यो शैली आफैंमा एउटा पोलिटिकल स्टेटमेन्ट हो,’ भन्छिन् उनी । त्यसैले होला उपन्यासभर इफेमेलुलगायत पात्रको केश विन्यासको चर्चा छ । अफ्रो, ड्रडेलक्सजस्ता प्रचलित हेयरस्टाइलले अहिलेको ‘ग्लोबलाइज्ड कन्टेक्स्ट्’मा अलग अफ्रिकी पहिचान थपेको हामी सबैले देखेकै छौं । संवादमा प्रयुक्त लवज अर्को पक्ष हो उपन्यासको । पहिले–पहिले अमेरिकी लवजमा बोल्न मन पराउने इफेमेलु पछि नाइजेरियाली पाराको अंग्रेजी बोल्छे । अमेरिकी भीडमा पहिचानविहिन बनी हराउन मन पर्दैन उसलाई । यो ‘सुप्रिमेसी’ विरुद्वको अलग विद्रोह हो अदिचीको ।

मोटोपना पनि दृष्टिगोचर विम्ब हो उपन्यासमा । इफेमेलु आइसक्रिम किन्न लाइनमा बसिरहेकी हुन्छे । भ्यात्ले कालीले किन मरिहत्ते गर्‌या होला आइसक्रिम खान ? उसलाई लक्ष्य गर्दै यस्तै आशयको व्यंग्य कस्छ, एउटा अपरिचत अमेरिकी । तर, नाइजेरियाली समाजमा मोटोपन समस्या होइन । त्यहाँको सिनेमा उद्योग नलिउडमा यस्ता महिला पात्र दर्शकद्वारा धेरै रुचाइएका छन् । मोटोपनप्रति वितृष्णा राख्ने एकतर्फी अमेरिकी हेराइको विपक्षमा देखिन्छिन् अदिची ।

नाइजेरियालीहरूले अमेरिका बसेर स्वदेश फर्केकाहरूलाई सम्बोधन गर्ने शब्द रहेछ, अमेरिकाना । इफेमेलु पनि अन्तिममा अमेरिकी ‘ल्याभिस लाइफ’ छाडेर नाइजेरिया फर्किन्छे । उसलाई पनि तिनै अमेरिकानाको दर्जामा राखिन्छ, हेलाहोचो सहनुपर्छ आफ्नै भनेकाहरूबाट समेत । स्वदेशीबाट पाएको पराइ व्यवहारले इफेमेलुलाई निकै बिझाउँछ ।

यसरी अदिची अमेरिकी या बेलायती मात्र होइन, स्वदेशीहरूका विकृत मानसिकतामाथि पनि प्रहार गर्न चुकेकी छैनन् । प्रमुख पात्रको स्वदेश फिर्ती उपन्यासको गजबको ‘टर्निङ पोइन्ट’ हो र सशक्त बिम्ब पनि । युरोप, अमेरिकामा सन्तान पठाएकामा सामाजिक हैसियत उकासिएको ठान्ने हाम्रै प्रवृत्तिमाथिको गतिलो प्रहार हो यो । अदिचीले उपन्यासमा आफ्नै जीवनका धेरै पक्ष घोलेकी छन् ।

लेखन धेरै कोणबाट ‘अटोबायोग्राफिकल’ छ । उपन्यास नाइजेरिया, अमेरिका र बेलायतमा शब्दांकित छ, जसलाई ‘अ कम्प्लिट मोजाइक लोकेसन’ भन्न सकिन्छ । वर्णनशैली झिंझो लाग्दैन । नियमित अन्तरालमा पाइने हास्यव्यंग्यले पठनमा आनन्द थपिन्छ । तीन महादेशका विविध गाथालाई टपक्क टिपेर रचिएको दिमाग रन्थनाउने उपन्यास पनि हो अमेरिकाना ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.