किवीमा फल्छ सम्पत्ति
घरछेउको झुसे फलले सम्पत्ति फलाउ“छ भन्ने भीमेश्वर १० का श्यामबहादुर खड्काको कल्पनामा पनि थिएन । त्यही झुसे फल किवीले उनलाई नसोचेको प्रतिफल दियो । २०४१ सालतिर लामोसाँघु–जिरी सडक निर्माणका लागि आएका स्विस इन्जिनियर जेएफ म्यासीले उनको करेसाबारीको सदस्यका रूपमा भि हुन्, त्यसलाई । म्यासी उनको घरमा डेरा बस्थे ।
लामो समय खड्का परिवारको चासोमा परेन किवी, चराचुरुंगीले नै स्वाद लिए । दोलखा र रामेछापमा स्विस परियोजनामै कार्यरत खगेन्द्र सिग्देल एक अपराह्न खड्काको घर आए र उनैले त्यसको महत्व सुझाए । भने, ‘तपाईंहरूलाई विदेशीले सुन छाडेर गएछन् ।’सिग्देलमार्फत् नै ०५२ सालतिर पहिलो पटक काठमाडौं कालामाटीस्थित तरकारी तथा फलफूल बजारमा ४५ किलो किवी पुग्यो ।
बिक्रीबाट आयो आठ हजार । त्यसपछि नै हो, खड्का परिवारले त्यसलाई व्यावसायिक खेतीमा परिणत गरेको । खड्कालाई गाउँलेले अहिले ‘किवी बाजे’को उपनाम दिएका छन् । हौसिएका उनले त्यसको नर्सरी नै चलाएका छन् । समुद्र सतहबाट एक हजार दुई सयदेखि दुई हजार चार सय मिटरसम्म किवी खेती हुन्छ । चिसो हावापानीमा फल्ने त्यसका लागि बढी पानी आवश्यक हुन्छ ।
फलबाट भिटामिन ‘सी’ र खनिज पदार्थ पाइन्छ । मुटु, क्यान्सर, रक्तचाप, दम र मधुमेहका रोगीलाई समेत फाइदाजनक छ । बालबालिकालाई चिसो तथा रुघाखोकीबाट बच्न मद्दत गर्ने चिकित्सकहरू बताउँछन् । १० वर्षे सशस्त्र द्वन्द्वबाट फर्किएका झ्याँकुका निमा मोक्तान तीन वर्षयता व्यावसायिक किवी खेतीमा लागेका छन् । आर्थिक समृद्धिको माध्यम कृषि नै बन्ने निष्कर्ष उनको छ ।
दुई सयभन्दा बढी किवीका बोट हुर्काएका छन् । वाईसीएल नेपाल जिल्ला उपाध्यक्ष विष्णु पाख्रिनले पनि मोक्तानकै सिको गरेका छन् । दुई वर्षयता जुँगुमा डेढ सय बिरुवा लगाएका छन् । जिरीको मालिका कृषक पासाङ तेजिङ शेर्पाले त एक हजार एक सय बोट पुर्याइसके । जिरी बजारका वलक जिरेलले चार सय, सोही ठाउँका किरण खड्काले तीन सय, लादुकका श्यामराजा खड्काले तीन सय बिरुवा रोपेका छन् ।
बोच गाविसमा त एक घर १० किवीको अवधारणा लागु भएको छ । झुले गाविसका कृषक पनि व्यावसायिक खेतीमा तानिएका छन् । शिक्षक कुलबहादुर घिसिङ तीन वर्षयता कक्षा सकिएपछि किवीको स्याहारमा व्यस्त देखिन्छन् । राजधानी पुर्याएर बिक्री गर्ने जिम्मा छोरालाई दिएका छन् । वरिष्ठ कृषि विकास अधिकृत नारायणकुमार श्रेष्ठका अनुसार सुन्तला र जुनार खेती मासिंदै जाँदा कृषक नयाँ फलतिर आकर्षित् भएका हुन् ।
पाँच सयभन्दा बढीले एक सय ५० हेक्टरमा व्यावसायिक खेती थालेका छन् । कृषकलाई अनुदानमा बिरुवा वितरण गर्न थालिएको छ । गत वर्ष दुई टन रहेको उत्पादन यस वर्ष १० टनभन्दा बढी हुने श्रेष्ठको अनुमान छ । प्याकेजिङ र ग्रेडिङमा कृषकलाई प्रोत्साहन गर्न थालिएको उनको भनाइ छ । रोपेको ४० वर्षसम्म फल दिने भएकाले किसानका लागि लाभदायक रहेको श्रेष्ठ बताउँछन् ।
‘किवी बाजे’को एउटै बोटले ७२ किलोसम्म उत्पादन दियो । सप्रिएका बोटबाट कम्तीमा ३० किलो किवी फल्ने उनी बताउँछन् । बजारको माग धान्न हतारमा फल टिपेर बजारमा पठाउँदा स्वाद बिग्रिन थालेका अगुवा कृषक चिन्तित छन् । जबकि, टिपेको तीन महिनासम्म किवी बिग्रिंदैन ।
सरकारले किसानका नाममा बजेट छुट्याउने गरे पनि यस्ता लाभदायक व्यावसायिक खेतीमा ध्यान नदिएको जिल्लाका कृषकको भनाइ छ । कृषि उपजको बिक्री वितरण प्रणाली सरकारले व्यवस्थित गरिदिए मात्र पनि जीवनस्तरमा पाँच वर्षमै परिवर्तन आउने अगुवा कृषक खड्का बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !