सिम्रिकले ल्यायो बेलकाे नयाँ हेलिकोप्टर

सिम्रिकले ल्यायो बेलकाे नयाँ हेलिकोप्टर

काठमाडौंः निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले अमेरिकी कम्पनीको बेल हेलिकोप्टर भित्र्याएको छ । मंगलबार बेलुका काठमाडौंमा अवतरण गरेको अत्याधुनिक प्रविधिको उक्त हेलिकोप्टरबारे सिम्रिक एयरले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

सिम्रिकले ल्याएको नयाँ हेलिकोप्टर अत्याधुनिक प्रविधियुक्त, नेपालको पर्यटन सेवामा निकै उपयोगी भएको सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए ।

उनका अनुसार नेपालमा हेलिकोप्टर उद्दार, खाद्यान्न ढुवानी, पर्वतीय दृष्यावलोकन, विकास निर्माण, सर्वेक्षणका काममा प्रयोग हुँदै आएको छ । सोही सेवालाई दृष्टिगत गरेर विविध क्षेत्रमा सेवा दिने उद्देश्यले सिम्रिकले बेल ४०७ जीएक्सपी नामक अत्याधुनिक प्रविधिको एउटा हेलिकोप्टर थपेको हो । नयाँ हेलिकोप्टर थप भएसँगै सम्रिका चार हेलिकोप्टर छन् ।

हाल सिम्रिकसँग युरोपेली कम्पनी एयरबस हेलिकोप्टर्सको एएस ३५०, बीथ्री नामका दुई वटा र सोही कम्पनीकै बी २ नामक एउटा हेलिकोप्टर छ । बी २ हेलिकोप्टर तीन महिना अगाडि मात्रै भित्रिएको हो । नयाँ हेलिकोप्टर विमानस्थल परिसरमा नै एसेम्बल भइरहेको छ ।

यसलाई अबको दुई सातापछि सञ्चालनमा ल्याउने सिम्रिक एयरका महाप्रबन्धक दिलबहादुर वलीले बताए । उनका अनुसार सिम्रिकले भित्र्याएको बी २ करिब १७ करोड रुपैयाँको हो भने मंगलबार भित्रिएको बेल ३५ करोडको हो । उनका अनुसार सिम्रिकले तीन महिनामा करिब ४७ करोड खर्च गरेर दुई वटा हेलिकोप्टर ल्याएको छ ।

उनका अनुसार दुई वटा हेलिकोप्टर नियमित उडानमा रहेको र थप दुई वटाले पनि उडान भर्ने हुँदा सिम्रिकसँग अब चार हेलिकोप्टर सञ्चालनमा छन् । सिम्रिकले भित्रयाएको बेल नेपालकै पहिलो ल्यास ककपिट भएको, प्रविधिको सहायता तथा आँखैले हेरेरै उडान गर्न सकिने (आईएफआर तथा भीएफआर), २० हजार फिटसम्म उडान गर्न सकिने, रोल्स रोयसको इन्जिन भएको, कव सिटिङ कन्फिगेरेसनमा ६ जना यात्रुसहित एक पाइलटको सिट क्षमता भएको सिम्रिकका क्याप्टेन सिद्धार्थ गुरुङले बताए ।

उनका अनुसार नेपालमै पहिलोपटक रेस्क्यु हेलिकोप्टर सञ्चालन गरेको सिम्रिकले ल्याएको यो हेलिकोप्टर हाल नेपालमा भित्रिएको हेलिकोप्टरको तुलनामा सबैभन्दा आधुनिक हो । यसमा आधुनिक सुविधासहितका अन्य सेवा पनि छन् ।

११ सय ६० केजी भारबहन क्षमता भएको हेलिकोप्टर क्याप्टेन सिद्धार्थजंग गुरुङ, क्याप्टेन क्रिस्टोफर र इन्जिनियर प्रचन्ड मल्लले सिंगापुरबाट मलेसिया, थाइल्यान्ड, म्यान्मार, बंगलादेश हुँदै काठमाडौं ल्याएका थिए ।

२०५८ सालमा स्थापना भएको सिम्रिकले एमआई १७ नामक रसियन हेलिकोप्टरबाट सेवा सुरु गरेको थियो । एमआई १७ हेलिकोप्टर २४ सिट क्षमताको ठूलो हेलिकोप्टर थियो । दुई वटा बीके ११७ हेलिकोप्टर पनि सञ्चालनमा थिए ।

यी दुवै हेलिकोप्टरलाई विस्थापन गरी सिम्रिकले नेपालको भू-बनोट सुहाउँदो र नेपाली पर्यटन अनुकूल एस ३५० बीथ्री ई ल्याएको हो । हाल सञ्चालनमै रहेका यी हेलिकोप्टरसँगै बेलमार्पmत थप सेवा दिने सिम्रिक एयरले जानकारी दिएको छ ।

नयाँ हेलिकोप्टर थप गरेसँगै सिम्रिकले एक महिनाभित्रमै पोखरालाई पनि स्थायी स्टेसन बनाएर सेवा विस्तार गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.