पढाउनै पुगेन
मनोविद् डा.करुणा कुँवर यौनका विषयमा परामर्श दिने गर्छिन् । उनीसँग विभिन्न उमेर समूहका मानिस अनेक यौन जिज्ञासा लिएर पुग्छन् । अचेल उनीसमक्ष बालबालिकाकासँग जोडिएका यौन जिज्ञासा लिएर अभिभावकहरू समेत पुग्ने गरेका छन् । परामर्श लिन पुगेकी बानेश्वरकी एक गृहणीको समस्या यस्तो रहेछ ।
उनकी छोरी आठ वर्षकी भइछन् । ती बालिका सधैं आमालाई ‘मेरो बुबु हजुरको जत्रो कहिले हुन्छ मामु’ भनेर हैरान पार्दिरहिछन् । उनले ‘ठूली भएपछि’ भनेर जवाफ दिंदी रहिछन् तर ‘म कैले ठूली हुन्छु’ भन्ने जिज्ञासा दोहोर्याएर हैरान पार्दिरहिछन् । लाजिम्पाटका अर्का एक अभिभावक दम्पतीलाई पनि १३ वर्षे छोराले मोबाइलमा नांगा तस्बिर हेरेर दिक्कै बनाएछन् । लुकीलुकी नांगा तस्बिर हेरेको देखेपछि आमाले गाली गरिछिन् ।

‘के हेरेर बसेको ?’ आमाले निकै केरकार गरेपछि ती बालकले ‘सुसु गर्ने ठाउँमा चिलाउने, पोल्ने र रातो भएकाले अरूकोमा पनि त्यस्तै हुन्छ कि’ भनेर हेरेको भन्ने जवाफ दिएछन् । आमाबाबुले त्यसपछि उनलाई चिकित्सककहाँ लगेछन् । चिकित्सकले बढ्ने उमेरमा यस्तो हुन्छ, चिन्ता मान्नु पर्दैन, यी सबै यौन आरम्भका लक्षणहरू हुन् भनेर फर्काइदिएछन् ।
यी दुई बालबालिकालाई जस्तै अरूलाई पनि आफ्नो यौन र प्रजनन अंगको विकासबारे चासो अनि केही समस्या हुनसक्छ । तर, यसबारे आवश्यक शिक्षाको अभावमा बालबालिकाहरू न आफ्नो जिज्ञासा राख्न सक्छन्, न त समस्या नै भन्न सक्छन् । केही पत्रपत्रिका, टेलिभिजन र रेडियोले यौनसम्बन्धी जिज्ञासा राख्ने कार्यक्रम सञ्चालन गरेका छन् ।
यद्यपि, तिनमा आठदेखि १५ वर्षसम्मका बालबालिकाको समस्या समेटिंदैन । सबै अभिभावकसँग यौनांगको विकासबारे ज्ञान र यौन समस्याबारे समाधान नहुन पनि सक्छ । यौनका बारे हामी जति कुरा लुकाउँछौं, त्यति नै बढी उत्सुकता केटाकेटीमा हुन्छ । यस्ता कुराहरूको सही जानकारी नदिंदा किशोरकिशोरीहरू आफ्नै वरिपरिबाट अरूले थाहा नपाउने गरी समाधान खोजिरहेका हुन्छन् । मनोविद् कुँवर भन्छिन्, ‘यौन अंगको विकास हुनुअघि नै बालबालिकामा यससम्बन्धी थोरै भए पनि ज्ञान दिनु आवश्यक छ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १६ वर्षको बीचमा यौवन अवस्था सुरु हुने गर्छ र दुईदेखि पाँच वर्षको अवधिबीचमा यौवन अथवा यौन अंगहरूको विकास हुने गर्छ । यो उमेरमा बालबालिकाको शरीरका कतिपय भागमा परिवर्तन हुँदै जान्छ । स्वभाव र जीवनशैलीमा समेत परिवर्तन आउँछ ।
स्त्रीरोग विशेषज्ञ डा. सविना सिंखडाका अनुसार जब बालबालिकामा यौनारम्भ हुन्छ, केटाहरूमा उचाइले गति लिने र अग्लो देखिने, काँधको चौडाइ निकै फस्टिने र टेस्ट्रोजनको प्रभावबाट शरीर निकै नै ठूलो देखिने, स्वर धोद्रो हुँदै जाने , काखी तथा लिंग वरिपरि रौं देखा पर्ने र लिंगको लम्बाइ बढ्दै जानेलगायत लक्षण देखा पर्छन् ।
‘केटीहरूमा इस्ट्रोजन नामक हर्मोनका कारण उचाइ बढ्दै जाने, स्तनहरू बढ्ने, काखी र यौन अंगहरूमा रौं देखापर्ने तथा महत्वपूर्ण कुरा भनेको नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकामा महिनावारी सुरु हुने गर्छ,’ उनी भन्छिन् ।उनका अनुसार महिनावारी हुँदा रक्तस्राव हुने गरेकाले कतिपय बालिका त डर पनि मान्छन् र यो डर पछिसम्म गएको हुँदैन ।
कसै–कसैलाई पहिलोचोटी महिनावारी भएपछि तीनदेखि ६ महिना नहुन पनि सक्छ । यस्तो भयो भने नडराई चिकित्सकको सल्लाह लिनुपर्छ । महिनावारी सुरु भएपछि गर्भाधान प्रक्रियाबारे थाहा हुनु त्यत्तिकै आवश्यक छ । मनोविद् डा. कुँवरका अनुसार यौन अंगको विकाससँगै यौनसम्पर्कसम्बन्धी ज्ञान किशोरीहरूलाई नहुँदा कतिपयले सेक्सको अनुभव लिन खोज्ने भएकाले कहिलेकाहीं गर्भ रहन गएर जटिल समस्या उत्पन्न हुने गर्छ ।
‘त्यसैले यौनांगको विकाससँगै यससम्बन्धी ज्ञान दिनु जरुरी छ,’ कुँवर जोड दिन्छिन् । यौन शिक्षाको आवश्यकता भए पनि स्कुल र कलेजमा यौन शिक्षाको छुट्टै अध्ययन हुँदैन । नमूना मच्छिन्द्र स्कुलमा जनसंख्या, वातावरण तथा स्वास्थ्य शिक्षा पढाउने शिक्षक करण बोहराका अनुसार कतिपय गैरसरकारी संस्थाका कर्मचारी कहिलेकाहीं यौनबारे कक्षा लिन आउने गर्छन् तर त्यो प्रभावकारी छैन ।
कक्षा ४ र ५ देखि भने सरकारले यौनको विषयलाई पाठ्यसामग्रीमा समावेश गरेको छ । कक्षा ४ र ५ का विद्यार्थीले आफ्नो स्वास्थ्य कसरी सफा सुग्घर राख्ने भनेर पढ्नु पर्छ । यसैगरी शरीरका हरेक अंगबारे कक्षा ४ र ५ मा जानकारी दिइएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीले जनसंख्या, वातावरण तथा स्वास्थ्य शिक्षामा यौन तथा प्रजनन अंगबारे पढ्नु पर्छ । उनी भन्छन्, ‘प्रजनन अंग र गर्भाधारण प्रक्रियाबारे पढाउँदा बालबालिकामा बढी उत्सुकता हुने गरेको पाउँछु । तर, जति सामाग्री छन्, पर्याप्त छैनन् ।’
प्रतिक्रिया दिनुहोस !