पढाउनै पुगेन

पढाउनै पुगेन

मनोविद् डा.करुणा कुँवर यौनका विषयमा परामर्श दिने गर्छिन् । उनीसँग विभिन्न उमेर समूहका मानिस अनेक यौन जिज्ञासा लिएर पुग्छन् । अचेल उनीसमक्ष बालबालिकाकासँग जोडिएका यौन जिज्ञासा लिएर अभिभावकहरू समेत पुग्ने गरेका छन् । परामर्श लिन पुगेकी बानेश्वरकी एक गृहणीको समस्या यस्तो रहेछ ।

उनकी छोरी आठ वर्षकी भइछन् । ती बालिका सधैं आमालाई ‘मेरो बुबु हजुरको जत्रो कहिले हुन्छ मामु’ भनेर हैरान पार्दिरहिछन् । उनले ‘ठूली भएपछि’ भनेर जवाफ दिंदी रहिछन् तर ‘म कैले ठूली हुन्छु’ भन्ने जिज्ञासा दोहोर्‌याएर हैरान पार्दिरहिछन् । लाजिम्पाटका अर्का एक अभिभावक दम्पतीलाई पनि १३ वर्षे छोराले मोबाइलमा नांगा तस्बिर हेरेर दिक्कै बनाएछन् । लुकीलुकी नांगा तस्बिर हेरेको देखेपछि आमाले गाली गरिछिन् ।

nirjala_2

‘के हेरेर बसेको ?’ आमाले निकै केरकार गरेपछि ती बालकले ‘सुसु गर्ने ठाउँमा चिलाउने, पोल्ने र रातो भएकाले अरूकोमा पनि त्यस्तै हुन्छ कि’ भनेर हेरेको भन्ने जवाफ दिएछन् । आमाबाबुले त्यसपछि उनलाई चिकित्सककहाँ लगेछन् । चिकित्सकले बढ्ने उमेरमा यस्तो हुन्छ, चिन्ता मान्नु पर्दैन, यी सबै यौन आरम्भका लक्षणहरू हुन् भनेर फर्काइदिएछन् ।

यी दुई बालबालिकालाई जस्तै अरूलाई पनि आफ्नो यौन र प्रजनन अंगको विकासबारे चासो अनि केही समस्या हुनसक्छ । तर, यसबारे आवश्यक शिक्षाको अभावमा बालबालिकाहरू न आफ्नो जिज्ञासा राख्न सक्छन्, न त समस्या नै भन्न सक्छन् । केही पत्रपत्रिका, टेलिभिजन र रेडियोले यौनसम्बन्धी जिज्ञासा राख्ने कार्यक्रम सञ्चालन गरेका छन् ।

यद्यपि, तिनमा आठदेखि १५ वर्षसम्मका बालबालिकाको समस्या समेटिंदैन । सबै अभिभावकसँग यौनांगको विकासबारे ज्ञान र यौन समस्याबारे समाधान नहुन पनि सक्छ । यौनका बारे हामी जति कुरा लुकाउँछौं, त्यति नै बढी उत्सुकता केटाकेटीमा हुन्छ । यस्ता कुराहरूको सही जानकारी नदिंदा किशोरकिशोरीहरू आफ्नै वरिपरिबाट अरूले थाहा नपाउने गरी समाधान खोजिरहेका हुन्छन् । मनोविद् कुँवर भन्छिन्, ‘यौन अंगको विकास हुनुअघि नै बालबालिकामा यससम्बन्धी थोरै भए पनि ज्ञान दिनु आवश्यक छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १६ वर्षको बीचमा यौवन अवस्था सुरु हुने गर्छ र दुईदेखि पाँच वर्षको अवधिबीचमा यौवन अथवा यौन अंगहरूको विकास हुने गर्छ । यो उमेरमा बालबालिकाको शरीरका कतिपय भागमा परिवर्तन हुँदै जान्छ । स्वभाव र जीवनशैलीमा समेत परिवर्तन आउँछ ।


स्त्रीरोग विशेषज्ञ डा. सविना सिंखडाका अनुसार जब बालबालिकामा यौनारम्भ हुन्छ, केटाहरूमा उचाइले गति लिने र अग्लो देखिने, काँधको चौडाइ निकै फस्टिने र टेस्ट्रोजनको प्रभावबाट शरीर निकै नै ठूलो देखिने, स्वर धोद्रो हुँदै जाने , काखी तथा लिंग वरिपरि रौं देखा पर्ने र लिंगको लम्बाइ बढ्दै जानेलगायत लक्षण देखा पर्छन् ।

‘केटीहरूमा इस्ट्रोजन नामक हर्मोनका कारण उचाइ बढ्दै जाने, स्तनहरू बढ्ने, काखी र यौन अंगहरूमा रौं देखापर्ने तथा महत्वपूर्ण कुरा भनेको नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकामा महिनावारी सुरु हुने गर्छ,’ उनी भन्छिन् ।उनका अनुसार महिनावारी हुँदा रक्तस्राव हुने गरेकाले कतिपय बालिका त डर पनि मान्छन् र यो डर पछिसम्म गएको हुँदैन ।

कसै–कसैलाई पहिलोचोटी महिनावारी भएपछि तीनदेखि ६ महिना नहुन पनि सक्छ । यस्तो भयो भने नडराई चिकित्सकको सल्लाह लिनुपर्छ । महिनावारी सुरु भएपछि गर्भाधान प्रक्रियाबारे थाहा हुनु त्यत्तिकै आवश्यक छ । मनोविद् डा. कुँवरका अनुसार यौन अंगको विकाससँगै यौनसम्पर्कसम्बन्धी ज्ञान किशोरीहरूलाई नहुँदा कतिपयले सेक्सको अनुभव लिन खोज्ने भएकाले कहिलेकाहीं गर्भ रहन गएर जटिल समस्या उत्पन्न हुने गर्छ ।

‘त्यसैले यौनांगको विकाससँगै यससम्बन्धी ज्ञान दिनु जरुरी छ,’ कुँवर जोड दिन्छिन् । यौन शिक्षाको आवश्यकता भए पनि स्कुल र कलेजमा यौन शिक्षाको छुट्टै अध्ययन हुँदैन । नमूना मच्छिन्द्र स्कुलमा जनसंख्या, वातावरण तथा स्वास्थ्य शिक्षा पढाउने शिक्षक करण बोहराका अनुसार कतिपय गैरसरकारी संस्थाका कर्मचारी कहिलेकाहीं यौनबारे कक्षा लिन आउने गर्छन् तर त्यो प्रभावकारी छैन ।

कक्षा ४ र ५ देखि भने सरकारले यौनको विषयलाई पाठ्यसामग्रीमा समावेश गरेको छ । कक्षा ४ र ५ का विद्यार्थीले आफ्नो स्वास्थ्य कसरी सफा सुग्घर राख्ने भनेर पढ्नु पर्छ । यसैगरी शरीरका हरेक अंगबारे कक्षा ४ र ५ मा जानकारी दिइएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीले जनसंख्या, वातावरण तथा स्वास्थ्य शिक्षामा यौन तथा प्रजनन अंगबारे पढ्नु पर्छ । उनी भन्छन्, ‘प्रजनन अंग र गर्भाधारण प्रक्रियाबारे पढाउँदा बालबालिकामा बढी उत्सुकता हुने गरेको पाउँछु । तर, जति सामाग्री छन्, पर्याप्त छैनन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.