मिलनविन्दु खोज्ने जिम्मेवारी

मिलनविन्दु खोज्ने जिम्मेवारी

संविधान संशोधनका मुद्दामा मुलुक यतिखेर विभाजित छ । एउटा कोणबाट संशोधनको प्रस्ताव आइरहँदा अर्को कोणबाट त्यसको कार्यान्वयनको कुरा उठेको छ । प्रष्ट हुनुपर्ने कुरा के हो भने, जुन दिन संविधान जारी भयो, यसको कार्यान्वयन त्यही विन्दुबाट सुरु भइसकेको छ । बेला–बेलामा हामीहरूले फरक खालका नारा लगाउँदै आएका छौं । कहिले संविधानसभाको नारा लगायौं । कहिले संविधान निर्माणको नारामा भुल्यौं ।

अहिले आएर संविधान कार्यान्वयनको रटानमा छौं । संविधानमा व्यवस्था भएको प्रणाली स्थापना गर्नु नै संविधान कार्यान्वयन हो । यद्यपि, संविधानको घोषणा नै यसको कार्यान्वयन हो । अहिलेको चालु व्यवस्था यही संविधानबाट भएको हो । बुझ्नुपर्ने कुरा यसको अर्को पाटोचाहिँ छ । त्यो के भने यसको निर्माण प्रक्रियादेखि नै केही कमीकमजोरी थिए ।

कमजोर पक्षलाई नसच्याइकन संविधान घोषणा भयो । एकैछिन एक वर्षअघिको संविधान निर्माणको क्षणलाई सम्झाैं । त्यसबेला कांग्रेस, एमाले र माओवादीले मधेशी दललाई अहिले संविधान मान्नुहोस्, यसमा भएका कमीकमजोरीलाई संशोधनको माध्यमबाट समाधान गराैंला भनेर आश्वस्त पार्न खोजेका थिए । उनीहरूले बारम्बार यस्तो प्रतिबद्धता दोहोर्‌याएका थिए । मधेशी दललाई आश्वस्त पार्न खोज्दै गर्दा संविधान जारी भयो । त्यसैले संविधान संशोधन र घोषणा एकैपटक आएका विषय हुन् ।

नयाँ संविधान अभ्यासमा गएपछि मात्र संशोधन हुने हो । अभ्यास गर्दै गर्दा कमीकमजोरी थाहा हुन्छ । यसले पार्ने समस्या बाहिर आउँछ । अरू बाटोबाट समाधान भएन भने मात्र ती विषयलाई सम्बोधन गर्न संशोधन गरिन्छ । यसो भनिरहँदा संविधान लागु हुनासाथ संशोधन हुँंदैन भन्ने छैन । अमेरिकामा संविधान बन्यो । अमेरिकी राज्यको दुई तिहाइले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउने व्यवस्था थियो । त्यतिबेला अमेरिकामा १३ राज्य थिए । अनुमोदनका क्रममा कतिपय राज्यले नागरिकको अधिकार छैन भनेर प्रश्न उठाए ।

त्यसपछि संशोधनबाट नागरिकको अधिकारसम्बन्धी व्यवस्था गरियो । भारतमा पनि संविधान लागु भयो । कानुनले सबैलाई समान हक दिएको थियो । दलितलगायत अल्पसंख्यक जातिलाई विशेष व्यवस्था गरिएको थियो । यो प्रावधान संविधानसँग बाझिएपछि ‘तर’ थपेर संशोधन गरियो । त्यसलाई सामाजिक क्रान्ति ल्याउने संशोधन भनिन्छ । दुवै देशका संविधानमा संशोधन घोषणा भएको एक वर्षभित्रै भएको छ ।

कहिलेकाहीं परिस्थितिले दीर्घकालीन संशोधनको बाध्यता जन्माउँछ । नेपालको संविधान संशोधनले पनि यसैको संकेत गरेको छ । केही मानिसले यो परिवर्तनलाई पचाउन सकेका छैनन् । संघीयतालाई नारा बनाइयो, जसलाई विभिन्न समुदायले अपहरण गरे । संघीयताको नारा लगाउन अहिले जनजाति हुनुपर्छ या मधेशी । संघीयताको विषयमा कुरा गर्न अरू जातिलाई योग्य मानिंदैन । मधेशी र जनजातिका विद्वानले मात्र संघीयताको विषयमा बहस गर्ने अधिकार भएजस्तो बनाइयो । यसको अर्थ हो, विद्वतालाई पनि जातिकरण गरियो । सामान्य बाहुन र पहाडे समुदायका मानिसलाई संघीयताविरोधी मान्न थालिएको छ ।

माओवादीले पछिल्लो समयमा संघीयताको मुद्दा उठाएका कारण पहाडकेन्द्रित राष्ट्रियता छैन भन्ने होइन। संघीयता त माओवादीले हिजो आन्दोलन सफल पार्नका लागि उठाएको नारा मात्र हो। यसको सिद्धान्तसँग उनीहरू कहिल्यै सहमत छैनन्।

जबकी, संघीयताको वकालत गर्नेमा हामी पहिलो पंक्तिमा थियौं । अहिले कुनै स्थान छैन । तर, हामीले हिजो संघीयताको पक्षमा जुन धारणा राखेका थियौं, त्यसमा दृढ छौ । संघीयता नेपाली समाजको आवश्यकता हो । नेपाली समाजमा भएको विविधताले द्वन्द्व ल्याउन सक्छ । त्यसको व्यवस्थापन गर्न सक्ने राजनीतिक संयन्त्र भनेको संघीयता हो । यसमा धेरै टाउको दुखाउनु आवश्यक छैन ।

त्यो विविधतालाई सम्बोधन गर्ने गरी संघीयताको मोडल तयार गर्नु पथ्र्यो । संघीयताको विषयमा व्यापक जनमत बन्नुअघि यसलाई संकुचन गर्ने काम भयो । राजनीतिक दलहरूले नै यसबारे व्यापक बहस हुन दिएनन् । संघीयता र राष्ट्रियतालाई दुई धु्रवमा राखियो । अहिले पनि संघीयताले राष्ट्रियतालाई कमजोर पार्छ भन्ने सोचबाट कतिपय दल बाहिर आउन सकेका छैनन् । मधेशी दलले उठाएको माग सम्बोधन हुने किसिमबाट संशोधनमा कठिनाइ आएको छ । यसको कारण पहाडकेन्द्रित राष्ट्रियता हो ।

एमाले प्रष्ट रूपमा पहाड केन्द्रित राष्ट्रियतालाई प्रश्रय दिन्छ । एमालेको आधार पनि पूर्वका पहाडी क्षेत्र हुन् । ०५१ सालमा एमालेलाई सोही राष्ट्रियताले पहिलो पार्टी बनाएको हो । अहिले पनि त्यही जगमा अडिएर बढेको छ । एमालेमा देखिनेगरी तथा कांग्रेस र माओवादीमा नदेखिने गरी पहाडकेन्द्रित राष्ट्रियताको सोच राख्ने नेताको कमी छैन । यो नेपालका कम्युनिस्ट पार्टीमा रहेको एउटा समस्या पनि हो । माओवादीले पछिल्लो समयमा संघीयताको मुद्दा उठाएका कारण पहाडकेन्द्रित राष्ट्रियता छैन भन्ने होइन । संघीयता त माओवादीले हिजो आन्दोलन सफल पार्नका लागि उठाएको नारा मात्र हो । यसको सिद्धान्तसँग उनीहरू कहिल्यै सहमत छैनन् ।

जसले जे खोजेको छ, त्यही कुरा गरेर जनसमर्थन जुटाउने माओवादी सोच थियो । त्यसैले उनीहरूले हरेक समस्याको रामवाण औषधी संघीयता भएको प्रचार गरे । संघीयता निर्माणको समयमा आएपछि माओवादीभित्रै द्वन्द्व सिर्जना भयो । उनीहरूले बहुलवाद मान्दैनौं भने । संवैधानिक समितिमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले यस्तो धारणा राखेका थिए । बहुलवाद संघीयताको जग हो । बिनाजगको घर बनाउने उनीहरूको कल्पना नारा मात्र भएको प्रष्ट भयो । विविधता नै बहुलवादमा टिकेको हुन्छ । संघीयताको नारा लगाउनेले नै संघीयता चाह“दैनन् भने अरूको के कुरा गर्ने ? कांग्रेस, एमाले त पहिल्यैदेखि यसको विपक्षमा थिए ।

संघीयताका लागि लोकतन्त्र पहिलो आधार हो । लोकतन्त्रबिना संघीयता बाँच्न सक्दैन । सोभियत संघमा पनि संघीयता थियो । कम्युनिजमभित्र रहेको त्यो संघीयता सोभियत संघको पतनसँगै सकियो । भारतको संघीयता लोकतन्त्रका आधारमा जोगिएको हो । संघीयताले गर्दा भारतलाई आजसम्म विखण्डन हुन नदिएको हो । त्यहाँ अहिले पनि विभिन्न खालका मत छन् । त्यसलाई फलाउने र फुलाउने काम त्यहीँभित्र भएको छ । त्यसैले संघीयताका विषयमा बुझ्ने र बुझाउने काममै कमजोरी भयो ।

अहिले हुने भनिएको संशोधनले पनि संघीयताको विषयमा धेरै केही होला भन्ने लाग्दैन । संविधान लागु भएर सरकार छोड्ने बेलामा कांग्रेसले संशोधन प्रस्ताव गरेको थियो । त्यसले कसैलाई छोएन । एमाले अध्यक्ष केपी ओली सरकारको पालामा पनि संशोधनको प्रयास नभएको होइन । त्यसभित्रको भारतलाई खुशी पार्ने चाहनाले बढी काम गर्‌यो कि भन्ने लाग्छ ।

भारतसँगको सम्बन्ध सहज होस् र मधेशी दल पनि प्रक्रियामा आउन् भन्ने चाहनाबाट संशोधन गर्न खोजियो । तत्कालीन परराष्ट्र मन्त्री कमल थापाले भारतलाई चार बुँदामा संशोधन गर्दैछौं भनेर ‘नन पेपर’ दिएको कुरा बाहिर आयो । यसले पनि उनीहरू भारतलाई खुशी पार्ने कुरामा बढी केन्द्रित भएको देखाउँछ ।

यो सरकार बन्दैखेरी मधेशी दलसँग सम्झौता भएको छ । उनीहरूका माग सम्बोधनका लागि संशोधन गर्ने सम्झौताको बाध्यता हो । मधेशी दलले समर्थन फिर्ता लि“दा पनि सरकार ढल्दैन तर अप्ठ्यारोमा पर्छ । राप्रपाको एकीकरणपछि सरकारलाई अलि सहज हुने देखिन्छ । संशोधनको विषयमा भने कमल थापाहरू एमालेसँग नजिक छन् । दुवै पहाड केन्द्रित राष्ट्रवादलाई एकीकरणको आधार मान्छन् ।

तराई मधेशमा ५० प्रतिशतभन्दा बढी जनसंख्या छ । आधा जनसंख्याको माग सम्बोधन नगरेर राष्ट्रियता बलियो हुन्छ ? एमालेले संशोधनको प्रक्रियामा सहभागी नहुने भन्यो । उसको जग नै पहाडकेन्द्रित राष्ट्रवाद भएकाले मधेशको विषयमा अडान राख्नु कुनै नौलो कुरा भएन । भारत र एमालेबीचको बढ्दो दूरीले पनि यहा“नेर उसलाई संशोधनको विपक्षमा उभिन बल दिएको छ ।

भारतसँग हाम्रो निकै ठूलो आत्मनिर्भरता छ । त्यसलाई अन्तर्निर्भरतामा बदल्नु जरुरी देखिन्छ । यसो गर्न सके मात्र हाम्रो भविष्य उज्वल छ । चीनसँगको निर्भरता बढाउने कुरा सुन्दा राम्रो लागे पनि व्यवहारमा निकै कठिन छ । यो भू–राजनीतिक अवस्था बुझेका मानिस एमालेमा पनि छन् । उनीहरूले पहाडकेन्द्रित राष्ट्रियताले हामीलाई कहाँ पुर्‌याउँछ भन्न थालिसकेका छन् ।

राजनीतिक भूगोल बदलिँदो छ । तराईको जनसंख्या बढ्दो छ । संविधान बनाउँदा पहाडको प्रतिनिधित्व निश्चित गरेर मात्र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गर्ने सोच आयो । सरकारले चाहेर पनि पहाडमा मानिस फर्काउन कठिन छ । राजनीति गर्ने मानिस काठमाडौं छाड्न नचाहेजस्तो सामान्य मानिस तराई छाड्न चाहँदैन ।

एक पक्ष संशोधनका नाममा कमासमेत परिवर्तन नगर्ने भन्छ, अर्कोपक्ष संशोधन नभए प्रक्रियामै आउँदैन भन्छ। यी दुईको मिलनविन्दु पत्ताा लगाउने काम सरकारको हो।

भोलि चुनाव होला । त्यो भनेको टाउको गन्ने काम हो । त्यतिबेला एमालेलाई पनि भोट चाहिन्छ । तराईबाट आउने भोट चाहिँदैन भन्न सक्ने अवस्थामा एमाले पनि छैन । त्यसैले एमालेको यो पछिल्लो अडान अल्पकालीन मात्र हो । अर्कोतर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल बढी आदर्शवादी भए । सबैको समर्थनमा संशोधन प्रस्ताव दर्ता हुने हो भने संसद्मा किन छलफल गर्नुपर्‌यो ? यो उनको आदर्श सोच मात्र हो । राजनीतिमा यस्तो सोचले काम गर्दैन ।
एमालेले के भन्छ भन्ने कुरामा आधारित भएर सरकार चल्ने होइन ।

सरकार आफ्नो काममा अगाडि बढ्नुपर्छ । मधेशका दलले पनि यसको विरोध गरेका छन् । अहिलेसम्म संशोधनको प्रस्ताव कस्तो होला भन्ने छैन । अहिलेको सबैभन्दा चोटिलो विषय सीमांकनको हो । अरू विषय गौण छन् । माथिल्लो सदनमा जनसंख्याका आधारमा मात्र प्रतिनिधित्व हुन्छ भन्ने छैन । न्यूनतम सिट तोकेर जनसंख्याका आधारमा माथिल्लो सदनमा प्रतिनिधित्वको व्यवस्था गर्न सके यो समस्या समाधान हुन्छ । नागरिकताको विषय पनि मिलाउन सकिन्छ ।

सीमांकनमा देखिएको विवाद समाधानको उपाय संसद्मा संशोधन प्रस्तावको दर्ता हुनु हो । यसमा सरकारले निकै विवेक पुर्‌याउनुपर्छ । सरकारले विवेकपूर्ण तरिकाले संशोधन प्रस्ताव दर्ता गरेपछि यो विषयमा छलफल सुरु हुन्छ । संशोधन प्रस्ताव कांग्रेसको जस्तो हुनु भएन । कांग्रेसले भूगोल र जनसंख्यालाई घटाएर जनसंख्या र भूगोल भनेर प्रस्ताव दर्ता गरेको थियो ।

यस्तो प्रस्ताव नआउने हो भने संसद्मा दर्तापछि नयाँ राजनीतिक वातावरण बन्छ । भाषागत खेलभन्दा परिणाम ल्याउने सोचका साथ आएको प्रस्तावमा मधेशी दलहरू लचिलो हुन थाल्छन् । एमालेले पनि थप संशोधनको प्रस्ताव ल्याउँछ । उसलाई यसो गर्न बाध्य बनाउनुपर्छ । यसो भयो भने मात्र चुनावको वातावरण बन्न सक्छ । यसरी आएको प्रस्तावको टुंगो लागेन भने निरन्तर प्रक्रियामा बसेर चुनावमा जानुपर्छ ।

अबको एक वर्षभित्र चुनाव नभए साँच्चै संवैधानिक संकट आउँछ । त्यसले हामी सबैलाई अप्ठ्यारोमा लैजान्छ । स्थानीय निकायको चुनावको कुरा छाडेर संविधान कार्यान्वयन गर्ने हो भने प्रदेश र संसद्को चुनावमा जानुपर्छ । प्रदेशको चुनावले कागजमा रहेको संघीयतालाई व्यवहारमा उतार्छ । यो भनेकै संविधानको कार्यान्वयन हुनु हो । स्थानीय निकायको पुनर्संरचनाका लागि हामीले आयोग बनाएका छौं । त्यो संवैधानिक आयोग हो । आयोग २ नम्बर प्रदेशमा छिर्न सकेको छैन ।

यसले पनि संविधान पूर्ण छैन भन्ने देखाउँछ । यसलाई पूर्णता दिने काममा दलहरूलाई विश्वासमा लिने काम सरकारको हो । सरकारको दायित्व भनेको मिलन विन्दु खोज्नु हो । अहिले संविधानको विषयमा दुईखाले विचार देखिए । एक पक्ष संशोधनका नाममा कमासमेत परिवर्तन नहुने बताउँदै आएको छ । अर्को पक्ष संशोधन नभए प्रक्रियामै आउँदिन भन्छ । यी दुईको मिलनविन्दु पत्ता लगाउने काम सरकारको हो । संविधान बनाउँदा भएका अल्पज्ञानका कारण स्थानीय निकायको चुनावमा हाम्रो ध्यान गएको छ । यसलाई रोकेर भए पनि प्रदेशको चुनावसम्म दलहरू एकै ठाउँ आउनुको विकल्प छैन ।
(राजनीतिशास्त्रका प्राध्यापक खनालसँग
कुराकानीमा आधारित)

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.