भेन्टिलेटर

 भेन्टिलेटर

ईश्वर नै भेन्टिलेटर बनेको थियो । सास रहनुको एउटा मसिनु त्यान्द्रो शरीरमा अल्झाएर मुढो झैं लमतन्न थिए हेडसर । बाहिर बस्ने आफन्त र कुरुवाहरूले त अझै आश मारेका थिएनन् ।
‘अब के हुन्छ डाक्टर साब ?’
‘केस क्रिटिकल हुँदैछ, भेन्टिलेटरले प्राण निस्कन दिएको छैन । केस हाम्रो नियन्त्रणभन्दा बाहिर गइसक्यो ।’
‘भन्नाले ?’
‘बिरामीको ‘ब्रेन डेथ’ भइसक्यो । अब कुनै ‘मिराकल’ भयो भने मात्र... ।’ जाँचमा उत्तर नआँउदा विद्यार्थी अन्योलमा परेझैं अन्योलमा थिए आफन्त ।
मलाई लाग्दै थियो– कुनै मिराकल होस् र हेडसरले आँखामा हेरेर भनून्, ‘म अझै पढाउन सक्छु तिमीहरूलाई ।’
‘यी हेडसरले किताब पढाए होलान् कि जीवन ? यतिधेरै जीवन बुझेर पनि उनको जीवनमा किन डेरा जमाउन आयो होला नैराश्यता ?’
म केही दिनदेखि सोचमग्न थिएँ । आखिर के कुराले बदलिएका होलान् हेडसर ?

Harimaya 0_1

१५ चैतका दिन । हिँड्दा–हिँड्दै हुरीबतास चलेपछि नजिकैको होटलभित्र छिरेँ सुत्त । हेडसर त्यही होटलको एउटा टेबलमा एक्लै बसेका थिए ।
‘ए सर पनि ! कस्तो हुरी चल्यो उडाउलै जस्तो ।’
झस्किँदै उनले भने, ‘हो र ! म त अघि नै छिरेको । जीवनमा यस्ता आँधी कति आए कति ! कति पटक उडाएर बगरमा फाल्यो, कति पटक आगोमा हाल्यो । म त अहिले त्यही आगो निभाउन बसेको यहाँ ।’
‘किन के भो र सर त्यस्तो ?’

उज्याला, शालीन हेडसर रातारात बदलिइरहेका थिए । उनी आगो निभाउन बसेको हभन्दै थिए । तर, मभित्र आगो बल्न सुरु गरेको थियो उनका कुराले ।
‘के थिएँ त्यो दिनमा, के भएँ यो दिनमा ! देखियो, भोगियो जिन्दगी । जीवनमा अब कुनै प्राप्तिको लोभ छैन मलाई । बस्, हिँड्दा–हिँड्दै यो परानले शरीर त्याग्न सकोस् । तर, अझै सासले धर्म छाडेको छैन ।’
सेताम्मे फुलेका हेडसर यसरी भावुक भएको देखेर मन तर्सियोे ।

‘सर, यस्तो कुरा गर्न सुहाएन हजुरलाई,’ लगत्तै फर्कियो मेरो मुखबाट जवाफ ।
‘इच्छा मृत्यु सम्भव हुन्थ्यो त म अहिले नै फुत्रुक्कै मरिदिन्थेँ ठाउँको ठाउँ,’ लामु सुस्केरा तानेर बोल्दै थिए हेडसर ।
‘तर, हजुरले धेरै बाँच्नु पर्छ ।’
‘केका लागि ?’
‘रिसले फन्फनिएर रात्ति“दै गएजस्तो गर्ने सूर्यले पनि भोलिपल्ट उदाउनै पर्छ । संसारलाई उज्यालो दिन ।’
‘म त मान्छे हुँ ।’
‘मान्छे त हामी हौं, जो अँध्यारोमा भौंतारिइरहन्छौं । तपाईं त सूर्य हो, हाम्रा लागि उज्यालो दिने ।’
मेरा सामुन्नेको शालीन सूर्य, प्रकाशपुञ्ज, आज आफ्नै उज्यालोमा पोलिइरहेका थिए, अथाह छटपटीमा ।

‘थाहा छ ! मेरो ठुली छोरी पनि सानुमा यसै भन्थी– तपाईं हुनुहुन्न भने घरमा घाम लाग्दैन । दिउँसै अध्याँरिन्छ । अहिले ऊ छैन यहाँ । उज्यालो खोज्न गए मेरा सन्तानहरू । घरबाट डेरा सरेर त्यो बिरानु देशमा । तर, मभित्र भने दुःख, रोग र आलस्यले डेरा जमाउन थालेका छन् । अघिल्लो साता साथी डक्टरकोमा गएको थिएँ, सबैकुरा बताएपछि उसले निद्राको औषधी खानुभन्दा सके एक पेग राम्रो रक्सी खाने सल्लाह दियो । खाएपछि म निदाउँछु पनि ।’
‘कति वर्ष हुनु भो सर ?’
‘भएँ नि मर्ने बेलाको, साठ्ठी पुगेसी के काम यो बुढो मान्छेको ? बाँच्न त प्रेम गर्नेहरू हुनु पर्याे नि घरमा ! मेरो त घर पुग्दा घर मात्र हुन्छ, मान्छे हुँदैनन्,’ बोल्दा–बोल्दै मेरो अनुहार हेरे उनले ।
मैंले ‘म छु नि सर’ भन्न खै किन किन सकिनँ !

‘साथी कति हुदाँ रै’छन् कति, बिद्यार्थी पनि कति–कति जीवनमा ! तर, पारिवारिक मामिलामा साथी र बिद्यार्थी काम लाग्दैनन् । आफ्नै छोराछोरी, आफ्नै बुढीले त छोड्छन्, अरूको के कुरा ?’ यति भनेर उनी अड्किए ।
‘गुरुआमा हुनुहुन्न र अहिले तपाईंसँग ?’
‘मुटुमा छन् सबै । तर, घरमा कोही छैनन् ।’
‘खाना कसले बनाउँछ त सरलाई ?’

‘कहिले बाहिरै खान्छु, खान मन नलाग्दा यत्तिकै सुत्छु । भोकभन्दा सुर्ता धेर लाग्छ, अचेल । हिँड्दा–हिँड्दै पुक्लुक्कै भए त ठिकै थियो, अधकल्चो भएँ भने पो सारो ।’
अमेरिका पुगेका परिवार सम्झेर एक्लै बा“च्नुको पीडाले भित्र–भित्रै सताएको रै’छ उनलाई ।
‘सर पनि जानुभ’को थियो नि अमेरिका हैन र ?’
‘हो, गएको थिएँ । छोरीले बच्चा जन्मिएपछि बोलाएकी थिई । तर, उनीहरूको काम गर्ने पालेजस्ता भयौं हामी । घर र बच्चा जिम्मा लगाएर हिँड्थे । न आफन्त, न छिमेकी, न कतै एक्लै जान सक्नु ! ओहोऽऽऽ बन्दीजस्तो जीवन कसरी बिताउन सकिन्थ्यो र ? काम गर्ने मान्छे राख्न महंगो हुनाले बा–आमालाई बोलाउँदा रै’छन् छोराछोरीहरूले,’ बोल्दा बोल्दै लामु सास फेरे हेडसरले ।
‘सरले राम्रै गर्नुभो नेपाल आएर !’

‘खै ! म आएँ, मेरी जीवनसाथी आउन सकिनन् । सायद मेरो मायाभन्दा छोरीको मायाले तान्यो उनलाई । बा गए पनि आमा बस्नु– भनी छोरीले पनि । मैंले कर गर्न सकिनँ । निक्कै सम्झिन्छु म उनीलाई,’ हेडसरका नियास्रिएका आँखा मेरा आँखामा ठोक्किए, तिर्खाएको बाछोले कुँडेमा हेरे जसरी । कुँडे आफैँ सरेर बाछो भएको ठाउँमा जान सक्दैन, बाछो बाँधिएको छ कुँडेसम्म आउन सक्दैन ।

गफ सकिएको थिएन तर हुरीबतास रोकियो । ‘ल म लागेँ । घरले मलाई कुरिरहेको छ । ल कुनै दिन फेरि भेटौँला,’ दाहिने हात उठाउँदै हेडसर निस्किए । प्रत्युत्तरमा मैंले दुवै हात जोडी रहेँ र कामना गरेँ, ‘सरको लामु आयु होस् ।’

उहाँको आयुको कुरा त थाहा भएन, रात भने असाध्यै लामो लाग्यो मलाई । रातभर हेडसरलाई नै देखिरहेँ । यी तिनै हेडसर हुन्, जो प्रजातान्त्रिक आन्दोलनमा लामो समय जेल बस्दा नि हेरस खाएका थिएनन् । तर, आज रक्सी खाए ! आफैं रक्सी विरोधी मान्छे । मान्छेहरू भन्थे – अफ्ठेरोसँग जुध्न त हेम सरसँग सिक्नुपर्छ । जीवनले कसरी र कुन बेला कोल्टे फर्किन्छ, थाहै नहुने रहेछ ।

बीबीएसको रिजल्ट आउन केही दिन बाँकी थियो । घरकै काममा समय बितिरहेको थियो । आमा बारीमा फर्सीको विरुवा सार्दै हुनुहुन्थ्यो, म मकै रोप्न बारी खन्दै थिएँ । बिहानैदेखिको चर्को घामले शरीर गलाउँदै थियो, त्यसमाथि भक्तिले ल्याएको खबरले झन् गलायो । म कोदालो बारीमै छाडेर अस्पतालतिर लागेको थिएँ । हेडसरका केही आफन्त अस्पताल बाहिर थिए । उनीहरू उभिएको ठाउँनजिकै बूढो शिरीषमा चारैतिर कलिला मुना पलाएको थियो । शिरीषको बोट र हेडसर उस्तै लागे ।

यी मुनामा फूल फुल्छन् होला के अब ? समुद्रमा उठेका छाल समुद्रमा बिलाएजस्तै मभित्र उठेका छालले मलाई नै भिजाउँदै थियो । लाग्दै थियो– मुनाहरूले फूल नै फुलाउन नसके पनि रुख बाँचेको अनुभूति भने गराइरहोस्, सरलाई भेट्न पाइरहियोस् । मनको कामनाले डोरिँदै अस्पतालभित्र छिरेँ । ढोकाछेउ ठूलो झ्याल थियो, भित्र बिरामी देखिन्थ्यो । मैंले भित्र नियालेँ । हेडसरको नाकमा मसिनो पाइप हालिएको थियो, मुखबाट अक्सिजन दिइएको थियो ।
शरीरभरी पाइप नै पाइप थियो । मलाई रुन मन लाग्यो । ढोकाबाट फुत्त दुई डाक्टर निस्किए । एकले अर्कोलाई भन्दै थिए, ‘ही इज डेड ।’
उनीहरू गफ गर्दै छेलिए तर मेरो आँशुले बाटो धमिलियो । एकछिन हेडसरलाई हेरिरहेँ । कुद्दै भित्र गएर उठाउन मन लाग्यो तर भित्र पस्न सकिनँ ।
अस्पतालको चौरीमा निस्किएँ । हेडसरका आफन्तहरू छुट्टै झुण्डमा उभिएका थिए । म त्यही झुण्डमा मिसिन गएँ । झुण्डमा हेडसरकी छोरी र जीवनसाथी पनि देखेँ ।
कलेजी पेन्ट र टी–सर्टमा आधा कपाल छाडेकी सरकी छोरीको रिस आँखाबाट प्रष्टै देखिएको थियो । उनी भन्दै थिइन्, ‘त्यही भएर देश आउन मन लाग्दैन । मान्छे आइपुग्दा पनि एयरपोर्टमा लगेज आइपुगेको छैन पो भन्छ ! कस्तो टेन्सन ! कस्तो नालायक सरकार ! अब सबै सामान पाइन्छ कि पाइँदैन ? पोहोर साल एक जना कलाकारको सामान यत्तिकै पचाए । मेरो पनि भएजति सबै सामान त्यहीँ थियो ।’

मेरो छातीमा ४० किलोको ढक राखेझैं भयो । बुबा भित्र भेन्टिलेटरमा सास फेर्न छाडेका थिए, छोरीलाई भने ‘लगेज’को ‘टेन्सन’ थियो । खै प्रेम, खै संवेदना ? खै अनुहार हेर्ने रहर ? मनमा घृणाको भाव पैदा भो उनीप्रति । हेडसरले केही दिनअघि भनेको सम्झिएँ, ‘माथ्लो गराको पानी तल्लो गरामा झर्छ तर तल्लो गराको पानी माथ्लोमा जाँदैन । माया पनि त्यस्तै हो । बाबु–आमाले जतिसुकै माया दिए पनि छोराछोरीले पूरापूर फर्काउन सक्दैनन् ।’

सायद, उनले आफ्नी छोरीलाई पढेका थिए । र, त त्यसो भनेका थिए । सरको छोरीको कुरा सुनिरहन नसकेर त्यहाँबाट निस्कने सौच्दै थिएँ । उनकै आवाज सुनियो, ‘डाक्टर सा’ब, आज यो भेन्टिलेटर ननिकालौं । सारै टेन्सन छ लगेजको कुराले, भोलि फ्रेस भइन्छ अनि निकालौँला । आज निकालियो भने थुप्रै लन्ठा पूरा गर्न सकिँदैन । थाकिएको छ, अबेर पनि हुन लाग्यो ।’

छोरीले त्यसो भन्दा पनि आमा बोल्न सकिरहेकी थिइनन्, उनी खुट्टाको बुढी औँलाले माटो कोट्याउ“दै थिइन् । सायद भन्दै होलिन् मनमनै, ‘अब तिमी पनि माटो हुन्छौ, म पनि कुनै दिन माटो हुन्छु ।’
‘डाक्टर सा’ब, एकचोटी हेर्न सक्छु म उनलाई ?’ प्रेम भरिएको आवाजले डाक्टरलाई अनुरोध गरेको स्वर कानैमा आयो गुरुआमाको मुखबाट ।
‘सक्नुहुन्छ जानुहोस् ।’

छोरी अघि भर्खर कोही आफन्तले थमाइदिएको एनसेलको सिम अमेरिकी मोबाइलमा राखेर कस–कसलाई फोन गरिरहेकी थिइन् । तर, आमा–छोरीलाई छाडेर डाक्टरको पछि लागिन् । डाक्टर अघिअघि, गुरुआमा पछिपछि आईसीयूभित्र छिरे । म झ्यालबाहिर उभिएँ ।

उनले हेडसरको दुवै गोडाका पैताला समाइन् र ढोगिन् । उनका आँखाबाट झरेको आँशु हेडसरको गोडामा तप–तप झरे । मैंले भेन्टिलेटर र हेडसर दुवैलाई नियालेँ । कतै सास फेरेको अझै देखिन्छ कि भनेर ! तर त्यो बेला न भेन्टिलेटर चलेको थियो, न त हेडसर चलमलाए । दुवै उस्तै निर्जीव ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.