बन्दुक बोकेकी सुन्दरी

बन्दुक बोकेकी सुन्दरी

टन्टलापुर घाम । रातमाटे जंगलको निर्जन र ठाडे उकालो । सिरानी गाउँका रैथानेहरू पनि यो उकालो भनेपछि तल दोभानको ठूलो ढुंगामा पाइला नराख्दै मास्तिर हेरेर आङ सिरिंग पार्छन् र ज्यान फतक्क गलेको अनुभूति गर्छन् । त्यसमाथि गृष्मकालीन यामको प्रचण्ड घामसँग जुधेर उकालो चढ्नु भनेको आगोको भुंग्रोमा पैताला राख्नुजत्तिकै हुन्छ । मानिसहरू त्यस क्षणलाई दन्त्यकथामा यमराजको यातना गृहभित्र भयंकर पाशविकता खेपिरहेझैं अनुभूत गर्छन् ।

पहिले-पहिले तोक्माले भारी अड्याउँदै तर्तरी पसिना चुहाएर यो उकालो उक्लिनेहरूको एउटा गजबकै लर्को लाग्थ्यो । अब त त्यस्तो लर्को हजुरबाले आँगनमा घाम ताप्दै नाति-नातिनालाई सुनाउने आफ्नो युगको कथा मात्र बन्न सक्छ । यद्यपि अहिले पनि बर्खामा बाढीले छेक्दा र गृष्मयाममा घामले पोल्दाबाहेकको बखत फाट्टफुट्ट तोक्माधारी भरियाहरू भेट्न पाइन्छन्, यो उकालोमा । तर, घनघोर बन्दै गएको जंगल र असुरक्षित हुँदै गएको समयका कारण बटुवाहरू यो उकालोमा हमेशा एक्लै हिँड्न चाहँदैनन् ।

आज कम्ब्याट ड्रेस लगाएका पाँच युवती र दुई युवक आङभरि उकुसमुकुस गर्मी बोकेर यही उकालो उक्लिरहेका छन् । मध्याह्नको चकमन्नता, घामको चरम उष्णता र जंगलको अस्वाभाविक निर्जनतासँग अभ्यस्त हुँदै उनीहरू अविराम लम्किरहेका छन् । उनीहरूका गोडा मेसिनका फित्ता घुमेझैं एकतमास घुमिरहेका छन् ।

नजिकै खोल्साबाट फागुखोला बगिरहेको छ एकतमास । त्यही फागुखोला साङ्ले छाँगाको छंगाछुर पहरोबाट वेगवान् गतिले तल हाम्फाल्दा आउने निरन्तर छङ्छङ्बाहेक उनीहरूको कानमा अरू कुनै आवाज छैन । मध्याह्नको चकमन्नताले हावालाई स्वात्तै निलिदिँदा गोब्रे सल्लाका ठूलठूला रूखहरू यस्तो स्थिर र शान्त भएका छन् कि मानौं, पृथ्वी आफ्नो कक्षमा एक छिन घुम्न छोडेर टक्क अडिएको छ ।

निरन्तरको ठाडो उकालो र त्यसपछि नागबेली तीनघुम्ती पार गरेर माथि जामुनको रूखमुनि पुग्दासम्म पनि बाटोमा उनीहरूको कसैसँग भेट भएन । दुई युवकको निम्ति यो उकालो बिरानो नभए तापनि फौजी टोलीका पाँच युवतीलाई भने यो एक प्रकारको सास्ती नै थियो । उनीहरूलाई जंगलको एकतमास निर्जनताले अत्यासलाग्दो बनाउँदै लगिरहेको थियो । यसकारणले कि आँखा तन्काएर हेर्दा पनि सिरानी गाउँको फाट्टफुट्ट घरबाहेक अरू केही नदेखिने त्यो नीरव जंगल मुर्दाजस्तै पल्टिएर सुतिरहेको थियो ।

सशस्त्र प्रहरीमा भर्ती भएका महिलाको यो टोली सायद पहिलो थियो । ६ महिनाअघि तालिम केन्द्रमा भर्ना भएका नौ जनामध्ये चार जना तालिम लिँदालिँदै भागिसकेका थिए । इन्स्पेक्टर रश्मिलाको यो टोली अक्सर सहज कार्यक्षेत्रमा मात्रै खटाइन्थ्यो । तर, युद्धविरामको सहज परिस्थिति र महिला जवानहरूको जिद्दीका कारण इन्स्पेक्टर रणवीर आज यो टोली लिएर सिरानी गाउँको गस्तीका निम्ति उकालो चढिरहेको छ ।

'ऊ...त्याँ हेर त, पोहोरसाल वैशाखाँ हामी एम्बुसमा परी घाइते भा'को ठाउँ त्यही हो ।', जामुनको रूखमुनि शीतलमा बस्दै रणवीरले माथिल्लो घुम्तीतर्फ औंल्याएर भन्यो । हठात् सबैले अनुहारलाई रणवीरको औंला सीधा घुम्तीतर्फ फर्काए । त्यहाँ पत्रे-ढुंगाहरू असरल्ल छरिरहेका थिए ।

'सर, मलाई त डर लागिरहेछ ।', अचानक शशिकला बोली ।

'फेरि यिनीहरूले एम्बुस पनि त थाप्न सक्छन् ।', सातजनाको सशस्त्र मण्डलीभित्रबाट कसैको सुस्त आवाज आयो ।
रणवीरले सबैको अनुहारमा एकैपल्ट डरलाग्दो दृष्टि फाल्यो । तत्काल उसको अनुहारको भाव परिवर्तन भयो र पच्चीसवर्षे तन्नेरी अनुहारमा साहस र वीरताको सहस्र भाव दगुर्‌यो ।

'तिमेरुलाई था'छ, यो युद्धविरामको बेला हो र हामी गस्तीमा हिँडिरहेका छौं । मुटुलाई दह्रो बनाओ । जसरी पनि आज सिरानी गाउँ पुगेर फर्किनुपर्छ ।', रणवीरले आदेशको लवजमा अन्तिम फैसला सुनाएझैं गर्‌यो ।

सबैले अनुहारलाई भुइँपट्टि फर्काए । वरिपरिका रूखहरूबाट उडेर आएका सल्लेवीरहरूले भुइँ छपक्कै थियो तर शशिकलाको अनुहार भुइँपट्टि फर्केन । उनका आँखाहरू तेज गतिमा रणवीरको अनुहारमा गएर ठोकिए । आगोको लप्का निस्केलाझैं लाग्ने उनका आँखा देखेर रणवीर झस्कियो । यसकारण कि उनको यो हेराइ अहिलेसम्मको सहकार्यमा पहिलो र अनौठो थियो ।

'भन, तिम्लाई के भयो ? '
'सर, असाध्यै तिर्खा लागिरे'छ ।'
'अलि माथि गएर खाउँला, यो जंगलमा धेरै बेर रोकिनु बुद्धिमानी हुँदैन ।'

सबैजना एकैपटक जर्‌याकजुरुक उठे र नेतृत्व गर्दै रणवीर अगाडि बढ्यो । तर, उसको मनलाई जिज्ञासाको मुस्लोले छोप्दै लग्यो । एकै छिनअघि शशिकलाको अनुहारमा देखिएको अनपेक्षित भावले उसलाई भित्रभित्रै डरलाग्दो बनाएको थियो । उमेरको हिसाबले भन्ने हो भने शशिकलाको अनुहारमा अविच्छिन्न जोश, जाँगर र रतिरागको रुमानी मुस्कुराहट नाचिरहनुपर्ने हो । अचम्म ! उनको अनुहारमा त शिथिलता, घृणा र तीव्र आक्रोश मिसिएको अनौठो भाव पो व्यक्त भइहरेको थियो ।
सशस्त्र फौजमा भर्ना हुनुअघि ऊ गाउँकै प्राथमिक स्कुलकी शिक्षिका थिई । अझ त्यसभन्दा अघि ऊ गाउँबाट एसएलसी पास गर्ने पहिलो छात्रा र त्यसपछिको पाँच वर्षचाहिँ क्याम्पस पढ्ने सहरी हाउभाउसहितकी सम्मोहित युवती ।

यौवनको कटमिरोता भनौं या बढ्दै गएको आक्रामक सहरी सभ्यता । कलेज पढ्दाको दिनहरूमा शशिकलालाई कसैले पनि गाउँकी युवती हो भनेर अड्कल लाउन सक्दैनथे । तर, निम्नवर्गीय परिवारमा हुर्केकी शशिकलाको कलेजका अन्तिम दिनहरू भने अत्यन्त कष्टप्रद रहे । मुलुकको सीपबिनाको शिक्षा र जागिरबिनाको जीवनले पनि उसलाई त्यो परिस्थितिमा पुर्‌याइदिएको थियो । त्यसमाथि प्रेम र जीवनसम्बन्धी उसको भ्रमले जीवनको खुड्किलोबाट निराशाको मैदानमा पछारिदियो । उसले जसलाई असल प्रेमीको नाममा सर्वस्व सुम्पी, त्यसो गरेर आफैंलाई धोका दिई र अन्ततः जीवनको रामराज्यबाट ऊ नराम्ररी पराजित भई ।

त्यसपछि जीवनदेखि विरक्तिएर ऊ गाउँ फर्की । लगत्तै मन बहलाउन गाउँकै स्कुलमा शिक्षिका भई ।
त्यसपछि मात्रै उसले जीवनलाई नजिकबाट नियाली । स्कुलको आँगनमा धुलिमाटी भई खेलिरहेका स-साना बच्चाहरूलाई जीवनको पाठ सिकाउन पाउँदा र गाउँका अनपढ बुढ्यौली अनुहारहरूसँग टुकी बाल्दै अक्षर खेलाउन पाउँदा ऊ आपूmलाई निकै गौरवान्वित महसुस गर्थी । अक्सर ऊ त्यतिबेला 'गाउँमा किन ढिला फर्किछु ? ' भन्ने सोचाइमा हराउँदै कलेजका अनुत्पादक दिनहरू सम्झेर पछुताउने गर्थी ।

गाउँको अवस्था बिस्तारै बिग्रिँदै गयो । उसले पढाउने स्कुलको हेडमास्टर तीनपल्ट अपहरणमा परे र करिब तीन महिना जति त स्कुलै बन्द भयो । सरकारी सुरक्षाफौजको पनि आँखाको तारो शिक्षकहरू नै बने । कहिलेकाहीँ त गाउँमा सरकारी सुरक्षाफौजको लुटपाट नै चल्थ्यो । अनाहकमा धेरैले उनीहरूबाट चुटिनुपथ्र्यो । विद्रोहीहरूलाई चन्दा र सेल्टर दिएको भन्ने उनीहरूलाई खास आरोप लाग्थ्यो ।
दिनहरू यसरी नै बितेर गए ।

यो बीचमा गाउँको हालत दु्रतगतिमा अस्वाभाविक बन्दै गयो । निर्भयताका साथ गाउँमा रहने र स्वच्छन्द जीवन डोर्‌याउने बाटाहरूमा असंख्य काँडाहरू उम्रिन थाले । हप्ताको एक दिनको तलब लेबी बुझाउनुपर्ने र आवश्यक पर्दा सुरक्षित सेल्टर दिनुपर्ने जागिरेहरूको नियति नै बन्न थाल्यो । यो, शशिकलाको ग्रामीण जीवन भोगाइप्रतिको अर्को कटु अनुभूति थियो ।
एक दिन अचानक शशिकला गाउँबाट हराई । त्यसभन्दा अगाडि नै उसको जीवनबाट ममतामयी आमाले हात हल्लाइसकेकी थिइन् र बुढ्यौलीले छोपेको उसको बुबाको शिथिल अनुहारमा दुःखका रेखाहरू बेस्सरी गड्दै गइरहेका थिए ।

त्यसपछि जीवन भोगाइको तेइसौं शिशिर बेहोर्दै गरेकी शशिकला अत्यन्तै मिल्ने तीनजना संगिनीहरूका साथ सशस्त्र तालिम केन्द्रमा देखा परी । हो, त्यही शशिकला आज सिरानी गाउँको गस्तीको निम्ति इन्स्पेक्टर रणवीरको पछिपछि रातमाटेको उकालोमा घामको प्रचण्ड तापसँगै जुध्दै छे ।
'सर, अब मरिन्छ क्यारे !'

तिर्खाले व्याकुल बनेकी शशिकलाले सालको पात हम्काउँदै भनी ।
रणवीरले सबैको अनुहार नियाल्यो । सबै अनुहारले शशिकलाको भनाइप्रति मौन स्वीकृति दिए । त्यतिन्जेल उनीहरू सातघुम्ती पार गरेर माथि पुगिसकेका थिए । सल्लाका बडेमान रूखहरू छाडेर सालको घना जंगल हुँदै अगाडि बढिरहेका उनीहरू अर्को ठूलो जामुनको रूखमुनि गएर सुस्ताए । नजिकै फागुखोला छङ्छङ् गरिरहेको थियो ।

एकै छिन नसुस्ताइकन हतार-हतार शशिकलाको साथ लागेर तीनजना युवतीहरू काटेर पलाएका सालका स-सना बुट्यान हुँदै फागुखोलातर्फ हानिए । अरू जवानहरू भने नजिकै जामुनको रूखमुनि एकै छिन सुस्ताउने मनसुवाले सालको पात हल्लाउँदै बेवारिस पल्टे ।

एकाएक शशिकलालाई पिठौलीको झाडीभित्रबाट सुम्निमाले चियाएर हेरिरहेको झैं लाग्यो । र, उसले लामो समयपछि भेट भएको आफ्नो संगिनीको किराँत अनुहारबाट माया र सद्भावको आँसु बगिरहेको कल्पना गरी । त्यतिन्जेल उसका आँखा पनि आँसुले भिजिसकेका थिए ।

पानी खाइवरी अनुहार पखाल्न अञ्जुलीभरि पानी उठाउँदै गर्दा शशिकला यस्तरी झस्किई कि केही माथिको चुलीडाँडाबाट कम्ब्याट ड्रेस लगाएका युवतीहरू उनीहरूतिर निशाना दागिरहेका थिए । उसले स्पष्ट चिनी कि निशाना दागिरहेका तीनजनामध्ये एउटी उसकै विनयी बालसखी सुम्निमा थिई ।

शशिकलाले सतर्क हुँदै आफ्ना साथीहरूतर्फ फर्केर हेरी । उनीहरू बन्दुक ढुङ्गामाथि राखेर हातगोडा पखालिरहेका थिए । तर, उसले आफ्ना प्रहरी जवान साथीहरूलाई नजिकै आइरहेको भीमकाय संकटको बारेमा जनाउसम्म दिन चाहिन । न त उसका हातहरू स्वचालितरूपमा बन्दुकतर्फ नै अघि बढे ।
ऊ विस्मित भई उभिरही ।

एकाएक उसका आँखा चुलीमा झाडीको सहारामा उभिरहेकी सुम्निमाको आँखासँग जुध्न पुगे । नीलो गल्फक्यापमा पाँचकुने तारा चम्किरहेको प्रिय बालसखीको अनुहारभित्र उसले आफ्नै चित्र देखी । आठ कक्षासम्म सँगै पढेकी सुम्निमाले आर्थिक अभावका कारण पढाइ छाडेकी थिई । सधैं कक्षामा प्रथम र दोस्रो हुने यी बालसखीहरू एकले अर्कालाई मन साट्न नपाएको थाहै नपाई पाँच वर्ष बितिसकेछन् । कलेज सिध्याएर फर्किंदा सुम्निमा जंगल पसिसकेकी थिई ।

'एइ ! शशि, कहिलेबाट लागिस् यो बन्दुक बोक्ने काममा ? ', कताकता उसलाई सुम्निमाले झाडीबाट चिच्याएर कराएझैं लाग्यो ।

'गाउँमा त तिमेरुले बसिखान द्या भए पो त हाउ ।' उसले मनमनै उत्तर दिएझैँ ठानी ।
'आम्मई, बन्दुक बोक्दा त कस्ती राम्री देखेकी नि हौ यावा ! लु भन् त, के म पनि तँजस्तै स्वा'की छु ।', सुम्निमाको स्वरझैं उसको कानमा गुन्जियो ।

'अहो, सुमी ! तँ त झन् स्वा'की छेस् । हेर न, कलेज पढ्न गए'सि तँसँग भेटै भएन ।', शशिकलाले आफ्नो मनको कुरा सुनाएको झैं सम्झी, 'सम्झ त सुमी, हामी सिम्ले पँधेराँ पानी लिन जाँदा चेपागाँडालाई माछा भन्ठान्थिस् हगि ? '
'के गर्ने त हाउ, आफू त पढ्न सकिएन ।', शशिकलालाई सुम्निमाको निन्याउरो अनुहार उसकै सामुन्ने प्रकट भएझैं लाग्यो ।

छ्याप्पछ्याप्प पानी चलिरहेको आवाजले साथीहरू अझै हातगोडा धोइरहेका छन् भन्ने बताइरहेको थियो । शशिकला भने माथि चुलीतिर फर्केर एकतमास टोलाइरहेकी थिई । तर अचानक माथि चुलीबाट उनीहरूतिर सोझिरहेका बन्दुकहरू गायब भए ।

एकाएक शशिकलालाई पिठौलीको झाडीभित्रबाट सुम्निमाले चियाएर हेरिरहेको झैं लाग्यो । र, उसले लामो समयपछि भेट भएको आफ्नो संगिनीको किराँत अनुहारबाट माया र सद्भावको आँसु बगिरहेको कल्पना गरी । त्यतिन्जेल उसका आँखा पनि आँसुले भिजिसकेका थिए ।

मनमा उर्लिरहेका बेगिन्ती बहलाई रोक्न नसकी शशिकला दौडिँदै पानीछेउ पुगी र अनुहारभरि पानी छ्यापी । ठीक त्यहीबेला अचानक एउटा विस्फोटको आवाज आयो । हतार-हतार आवाज आएको दिशातर्फ शशिकलाका साथीहरूले बन्दुक सोझ्याए । उसले पनि जबर्जस्ती बन्दुक सोझ्याएझैं गरी तर आकाशमा उडिरहेको धुवाँको मुस्लोबाहेक चुलीमा केही पनि देखिएन । चुलीमा एक प्रकारको नीरवता छायो ।

एकै छिनपछि रणवीरको नेतृत्वमा तीनजनाको टोली पनि बन्दुक सोझ्याउँदै देखापर्‌यो । लगत्तै युद्धविरामको समय भएकाले प्रतीरक्षात्मक रूपमा पछाडि हट्न कमान्डर रणवीरको आदेश आयो र सबै जना चुलीडाँडातर्फ बन्दुक सोझ्याउँदै सजगताका साथ जामुनको रूखतर्फ पछाडि हटे । आकाशमा अझै धुवाँ उडिरहेको थियो ।
गस्तीबाट फर्केपछि शशिकलालाई अलिनो अनुभूति भयो ।

साँझपख ऊ तालिम केन्द्रको हरियो भवनमाथि गई अबेरसम्म टोलाइरही । उसले त्यो साँझ खाना पनि खाइन । उसको टाउको बेस्सरी दुखिरहेको थियो । साँझ अबेर इन्स्पेक्टर रश्मिलाको निर्देशनमा महिला स्वास्थ्य टोली शशिकलाको जाँचको निम्ति आइपुग्यो । उसको शरीर अस्वाभाविकरूपमा तातिरहेको थियो ।

भोलिपल्ट अस्वस्थताको कारण देखाएर ऊ गस्ती र तालिम दुवैमा गइन । दिनभरि ओछ्यानमा पल्टिरहँदा उसको मथिंगलमा सुम्निमाबारे अनगिन्ती सोचाइहरू आए ।

'कस्ती सोझी र विनयी थिई सुम्निमा ! के उसले विवाह गरिहोली ? मोरी ! सानैमा घट्ट जाँदा लाहुरेसँग मात्रै विवाह गर्छु भन्थी । अहो ! समयले किन हाम्लाई विपरीत ध्रुवमा उभ्यायो ? '
अहँ, उत्तर कहीँ पनि थिएन ।

सिर्रसिर्र हावा चल्न सुरु गरेको त्यो साँझ आफूलाई सहज बनाउन ऊ तालिम भवनको छतमा गई । घाम डाँडापछाडि डुबेर बादलको अनुहारमा निन्याउरो याचना गरिरहेको थियो ।

'खबरदार !'

सेन्ट्रीको कर्कश आवाज हावाले बत्याउँदै उसको कानसम्म ल्याइपुर्‌यायो र साथमा सेन्ट्रीलाई साथ दिइरहेको कुकुरको चर्को भुकाइ पनि । तर, उसलाई केहीको पर्वाह थिएन । ऊ हातमा सानो एफएम रेडियो लिएर यताउति टहलिरही । चिसो उत्तरी हावा बेजोडसँग चल्न सुरु गर्दै थियो ।

समाचारको धुन बज्नेबित्तिकै उसले रेडियोलाई दायाँबाट बायाँ ढल्काई । तालिम केन्द्रपारिको डाँडाले कहिलेकाहीँ फ्रिक्वेन्सीमा असर पुर्‌याउँथ्यो ।
समाचारका लागि ऊ जिज्ञासु र शान्त भई ।

अस्वस्थताले शुष्क बनाएको उसको अनुहार क्लान्त देखियो । तर, जब एकाएक रेडियो नेपालबाट समाचार आयो, त्यसले उसको अनुहारमा भुइँचालो ल्याइदियो । ऊ अचानक अवाक् बनी । मानौं, रेडियो भयंकर आसुरी गर्जन गर्जिरहेको छ ।
'सुरक्षाफौजलाई लक्षित गरी प्रहार गर्न खोजेको ग्रिनेड हातैमा विस्फोट हुँदा सिरानी गाउँ इलाकाको रातामाटे जंगलमा आक्रमणकारी सुम्निमा राईको मृत्यु भएको समाचार छ ।'

हठात् शशिकलाको हातबाट रेडियो भुइँमा खस्यो । थर्थर काँपिरहेको हात अघि बढाउँदै उसले रेडियोलाई समात्न खोजी । उफ् ! रेडियो त झन् भयंकर राक्षसी गर्जन गर्जिंदै थियो । एकाएक उसलाई पीडाको पहाडले थिचेझैं भयो । उसका गालाबाट बर्बर्ती झरेका आँसुका थोपाहरूमा सुम्निमाको मायालु अनुहार छचल्कियो ।

'सुम्निमा ऽऽऽ !', ऊ बेस्सरी चिच्याई ।

उसलाई लाग्यो कि उसको चिच्याहट डाँडाकाँडा हुँदै माथि बादलसम्म पुगेको छ । घामले पोलेको निन्याउरो बादलमा सुम्निमाको चेहरा एकाकार भएझैं लाग्यो । उसले सोची कि त्यो बादलको अनुहारभित्रबाट सुम्निमाले रोएर भन्दै छे, 'तँ पनि हार्ने, म पनि हार्ने, कस्तो लडाइँ लड्दै छौं हगि शशि हामीले ? '
शशिकला रोइरही ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.