विभाजनको खेल
नखेल मनोविज्ञानसँग
-‘नेपथ्य' ब्यान्डको गीत ‘यानीमाया उहिले उहिले कास्की जाँदा' चर्चित छ । बागलुङ कास्कीका पुरानो गुरुङ भाका टिपेर बनाइएको । कास्की बैदाम ताल घुम्न जाने बेलामा बटौली बजारको चुरा र धागो चाहिएको वर्णन छ ।
-झलकमान गन्धर्वको चर्चित गीत ‘हे बरै'को अन्तिमतिर छ, ‘बटौलीको बजारमा दुई पैसाको लाहा छैन ।' लाहा चाहिन्थ्यो खाम बन्द गर्न । परदेशको लडाइँमा मरेको लाहुरेको खुटखबर नपाएको प्रसंगसँग जोडिएको छ बटौली बजारको लाहा । सन्दर्भ दोस्रो विश्वयुद्धको हो ।
-मुस्ताङका थकालीपुत्र हुन् भूपि शेरचन । चर्चित छ उनको कविता-भैरहवा । लाहुरे संस्कृतिसँग जोडिएको भैरहवा बजारको अर्थराजनीतिक सम्बन्ध लेखे त्यसमा । कान्छीहरूसँग मांसाहारी प्यारको सौदाबाजी गर्ने लाहुरेहरू प्रायः बागलुङ, पर्वतका मगर हुन्थे । बागलुङलाई लाहुरेहरूको जिल्ला त्यसै भनिएको होइन । ती मुस्ताङे थकालीपुत्रको घर अहिले पनि भैरहवा बजारमै छ । उनका सन्ततीले बेचे कुनै थोक व्यापारीलाई ।
-अनुखे अजा आउँथे मधेस (सायद कपिलवस्तु)बाट अर्घाखाँचीको ठाडामा तेल र तरकारी बेच्न । हजुरबुवाका समवयी देखिने हुनाले हामी अजा (हजुरबुवा) नै भन्थ्यौं । किराना पसल राखेका हुनाले हाम्रा हजुरबुवासँग उनको दोस्ती पनि थियो । उनी आउने दिन परवरको तरकारी पाक्थ्यो । सिजनमा कटहर पनि ल्याउँथे । बर्खायामको छुट्टी आउँदै गर्दा हामी उनीसँग ‘बल्छी
ल्याइदिने माग गथ्र्यौं ।
-सायद गण्डकीबाट ठाडा आएको हुनाले हो, गण्डके भनिन्थ्यो हामीलाई । नेवार भएकाले सहज अनुमान गर्न सकिन्छ, पुर्खा भने काठमाडौं उपत्यकाका तीनमध्ये कुनै राज्यका थिए । सम्भवतः ‘खाँची' राज्य हुँदादेखि नै हो त्यो बस्ती गुलजार नै थियो ।
त्यसैले पाल्पा पठाइएका खड्गशमशेर पहिले ठाडा गइबसेका थिए । उनले बनाएको पँधेराको पानी अझै खाँदैछन् स्थानीयवासी । बारुदखाना राखेकाले होला बारुदखान भनिन्छ अझै पनि त्यहाँ । ठाडाका नेवारहरूको दुईवटा पसल हुन्थ्यो, पूर्वपश्चिम राजमार्ग नबन्दासम्मः एउटा, पत्थरकोट (कपिलवस्तु) र अर्को ठाडामा । ‘खाँची' राज्य हुँदा नै मुखिया, जिम्वाल थिए त्यहाँका बेल्बासे थरी ।
-पत्थरकोट कुनै बेला निकै नै गुलजार बजार थियो । बजार देखेभोगेका भन्छन् ः दरबारे डाँडा (अर्घाखाँची)सम्म पुग्दा पनि बजारको हल्लाखल्ला सुनिन्थ्यो । यो गुलजार बजार कसरी विकाससँगै मासिँदै गयो र अहिले दुई जिल्लाको साँधमा चुपचाप इतिहास बनेर बसेको छ भन्ने व्याख्या गरेका छन् ‘नेपाल इन क्राइसिस'मा पश्चिमा लेखकहरूले ।
-पारि बुटवल भनिने पुरानो बुटवल बजारमा अझै छ एउटा ठूलो भाँडो । घ्यू खारिन्थ्यो त्यहाँ कुनै बेला । घ्यू बोकेर बटौली बजार जाने र नून किनेर आउने अनुभव सुनाउने बूढापाकाहरू अझै जीवित छन् । त्यही थियो टक छाप्ने साँचो र अड्डा पनि । टक्सार भनिन्थ्यो जसलाई ।
यी र यस्ता ऐतिहासिक सम्बन्धले नै हो सामाजिक मनोविज्ञानको निर्माण गर्ने । मानिस सम्बन्धहरूले बाँधिने प्राणी न हो आखिर । आर्थिक सम्बन्धले सांस्कृतिक सम्बन्ध बनाएको हुन्छ सँगसँगै राजनीतिक सम्बन्ध पनि, समाजविज्ञानमा चासो राख्ने जोकोहीलाई थाहा हुने सामान्यज्ञान हो यो ।
तर, सायद बुझेनन् ‘शीर्ष' नेताहरूले वा बुझ पचाए सत्तासीनहरूले । स्वार्थको सौदाबाजीले दृष्टि खाइदिन्छ आखिर, उदाहरण बनिबसेका महाभारतका धृतराष्ट्र छन् । त्यसैले नै ऐतिहासिक सामाजिक मनोविज्ञानसँग खेल्ने ‘जोखिम' उठाए । परिणामः अहिले बुटवलदेखि बागलुङसम्म टायर जलिरहेछ ।
सीमा कोर्ने इतिहास
‘ञाहाँ पाल्पा बुटौलतरफ तराइमा सिमानाबापत (सिमानाको विषयमा) तकरार लाग्याको (झगडा उठेको) ताहाँ पनी (तपाईंलाई पनि) मालुमै छ. आजकाल फिरंगीका (अंग्रेजका) पल्टनसमेत आई हाम्रा तरफका थानेदारलाइ धम्की देषाइ (देखाई) उठाउन्या र आफ्ना थाना राष्न्या काम गन्र्या डबल् (छाँट) गर्यो भन्या षबर आउँदा एताबाट श्रीमेहर पल्टनसमेत काजी भक्तवीर थापा र भैरव वीरभद्रजङ् कम्पनीसमेत सर्दार सम्शेर रानालाइ पाल्पा, दुर्गाबक्स कम्पनीसमेत काजी रणजित्कवरलाई पिउठाना जानाका मर्जि भयो र विदा भै हिंड्या.'
१८७१ जेठ १८ गते प्रधानमन्त्री जर्नेल भीमसेन थापा र उनका मुख्य सहायक रणध्वजको नामबाट बखतवारसिंहलाई लेखेको पत्रको अंश हो यो । (पन्त महेशराज, पूर्णिमा वर्ष १, अंक २) । पत्रले नै बुझाउँछ, सन्दर्भ अंग्रेजसँग लडाइँको हो । पत्र पठाइएको छ काठमाडौंबाट पाल्पा र प्यूठानमा सेनामा खटाइएको बेहोराको । किनभने बुटवल पाल्पाको मातहत थियो ।
पाल्पाका इतिहासकार निर्मल श्रेष्ठ भन्छन्, ‘पाल्पा खटिएर जाने हाकिमलाई चार टप्पाको कुत उठाउने अधिकार दिइएको थियो । चार टप्पाभित्रै पर्थे रूपन्देही र कपिलवस्तु पनि ।' त्यही कुतमा भएको थियो विवाद अंग्रेजसँग ।
अवधमा शासन जमाइसकेको अंग्रेजका तर्फबाट जनरल लड मिन्टोले विसं १८७० मा बुटवल र शिवराजमा आफ्नो हक लाग्ने बेहोराको पत्र पठाएका थिए नेपाल सरकारलाई । त्यही थियो नेपाल-अंग्रेज युद्धको बीउ ।
बुटवलमा भएको युद्धमा उजिरसिंह थापाको नेतृत्वमा नेपाल पक्ष विजय भयो । गर्वको त्यो इतिहास बोकेको जितगढी किल्ला अझै पनि यथावत् छ, बुटवलको तिनाउतीरमा । जितगढी एक किल्ला थियो जहाँ नेपाल पक्ष जितेको थियो । सम्भवतः त्यसैले पनि हो, यो ठाउँ उनीहरूका निम्ति बिझ्ने काँडा बनिरह्यो ।
अंग्रेजसँगको युद्धमा पराजयपछि अपमानजनक सुगौली सन्धिबाट सीमा खुम्च्याएर बस्नुपरे पनि नेपाल पक्षले त्यसपछि कहिल्यै पनि सीमा बढाउने मौका खोजेन । पछि थपिएका पश्चिमका चार जिल्ला (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) तत्कालीन सैनिक विद्रोह दबाउन सन् १८५७ मा अंग्रेजलाई सहयोग गरेकाले बक्सिस पाएका हुन् जंगबहादुर राणाले ।
पहिलो संविधानसभामै खाका कोरिएको १४ प्रदेशको गुह्यमा थियो जातिगत प्रभुत्व । संविधानसभाको दोस्रो निर्वाचनमा त्यो मत पराजित भयो । ‘एक मधेस, एक प्रदेश'को मुद्दा विवादमा परेपछि न्युट्रलाइज गरिएको थियो ‘एक मधेस, दुई प्रदेश'को नाममा । त्यो पनि विवादमा पर्यो । सहज सफल हुन सकेन ।
दुई ठूला देशको बीचमा शान्त रहने प्रयास गर्दागर्दै पनि अशान्त बनाई सम्भवतः विखण्डनको कुत्सित योजना पूरा गर्ने अभियानको अर्को एउटा बिन्दु बनाइएको छ यो सीमा कोर्ने ऐतिहासिक स्थललाई ।
पुरानो हो सम्बन्ध
अंग्रेजसँगको युद्धमा बक्सिस पाएको होइन तराई खण्ड पहाडी भूभागले । इतिहासकार श्रेष्ठ भन्छन्, ‘बुटवल र भैरहवा (त्यति बेला बेथरी) कहिल्यै पनि पाल्पाली सरहदभन्दा बाहिर रहेन ।' त्यसैलाई पुष्टि गर्छन् अर्का इतिहासकार महेशराज पन्तले पनि । लेख्छन्, ‘पाल्पा राज्य तराईमा पनि फैलिएको थियो । यसकारण पाल्पा राज्य धनी थियो ।' (पूर्णिमा, वर्ष ७, अंक १)
त्यतिमात्र होइन सन् १७८६ अघिसम्म गुल्मी राज्य र पाल्पा राज्यबीच मट्का तालुकको स्वामित्वबारे विवाद भइरहन्थ्यो । गोरखपुरदेखि बुटवलसम्म फैलिएको मट्का तालुक अन्तर्गत १८/१९ तप्पे थिए । (एम. बनार्डो, मधेसः समस्या र सम्भावना, सोसल साइन्स बहाः सन् २००६)
इतिहासकार श्रेष्ठ भन्छन्, रूपन्देही, कपिलवस्तुजस्ता तराईका जिल्लालाई पहाडसँग छुट्ट्याउनुको उद्देश्य इतिहास मेट्ने चालबाजी हो ।
इतिहास कसरी पनि जोडिन्छ भने लुम्बिनीमा अशोक स्तम्भ भेट्टाएको खड्गशमशेरले हो । त्यसपछि मात्र आइपुगेका थिए फ्युरर । र, लुम्बिनीको कृत्रिम रूप भारतमा बनाइएको छ भन्ने प्रचारमा आएकै हो । भारतीय शासकहरूले पटकपटक लुम्बिनी भारतमा छ भनेर दावा पनि गरेकै हो । खड्गशमशेर बडाहाकिम थिए पाल्पाका, जगजाहेर नै हो ।
अर्थको जालो
इतिहासकार श्रेष्ठ एक लेखमा लेख्छन्, ‘संवत् १९५२/५३ सालसम्म निकासी पैठारीमा ठेक्का (कुतुवा) अर्थात् दरबन्दी केही नभएको माल हेरी यसको यति पैसाको दरले यति पैसा बुझाउनू भन्ने व्यवस्था र टाडावाल राँकीहरूलाई मंसिरदेखि चैतसम्म गौंडाबाट तैनाथवालाले दरखास्त पठाई लौ तिमीहरू हाम्रो बजार (बुटवल बजारको सन्दर्भ) गुल्जार गर्न आउनू भन्ने आदेश भएपछि तिनीहरू दुकान थाप्न आउँथे ।
यस्तो व्यवस्थालाई परिवर्तन गरी संवत् १९७० सालमा तराई सिमानामा बजार अड्डाको व्यवस्था भयो । बजार अड्डाको मातहतमा नाका नाकामा छोटी बजार अड्डा खुले । सुरुमा बजार अड्डाको हाकिमले यति आम्दानी पुर्याऊँला भनी कबुल गर्नुपथ्र्यो । पछि बजार अड्डाबाट राजस्व बढाउने र निश्चित राख्ने उद्देश्यले त्यस बेला सरकारले बजार अड्डा बढाबढ गरी ठेक्कामा दिन थाल्यो ।'
प्रसंगमा आएको गौंडा पाल्पा हो । तैनाथवाला पाल्पाका हाकिम हुन् ।
टोनी हागनको पुस्तक ‘नेपालको चिनारी'मै दिइएको एक नक्सामा भोटदेखि भारतसम्म जोड्ने व्यापार मार्गहरू देखाइएको छ । उस्तै खालको नक्सा छ बाबुराम भट्टराईको विद्यावारिधि शोधपत्रमा आधारित पुस्तकमा पनि ।
अर्थात् अर्थको जालोले जेलिएको छ मनाङदेख मर्चवारसम्म । संविधान संशोधनका लागि प्रस्तावित क्षेत्र नं. ४ मा पर्छन्ः कालीगण्डकी ए (स्याङ्जा), तातोपानी प्रथम र द्वितीय (म्याग्दी), मस्र्याङ्दी (तनहुँ), पोखरा सेती (कास्की), मोदीखोला (पर्वत), झिम्रुक (प्यूठान) आदि जलविद्युत् आयोजनाहरू । नवलपरासीमा रहेको गण्डक बाँधको सुविधासम्म पर्ला प्रस्तावित क्षेत्र नं. ५ को हिस्सामा ।
प्रस्तावित क्षेत्र नं. ५ का जिल्लाहरू धान उत्पादनका लागि कहलिएका हुन् । त्यहीँ छन् औद्योगिक क्षेत्र पनि । क्षेत्र नं. ४ लाई त्यो सुविधा छैन । न त सहज हुनेछ लुम्बिनी घुम्न आउनेलाई मुस्ताङसम्म पुग्न ।
ऐतिहासिक रूपमै अर्थको जालोले जेलिएको क्लस्टरलाई दुई प्रदेशमा बाँडेर सीमा र करको नयाँ जोखिम थोपर्ने बुद्धि नेपाली त पक्कै होइन ।
मुद्दा जातीय, अपूरो पहिचान
पहिलो संविधानसभामै खाका कोरिएको १४ प्रदेशको गुह्यमा थियो जातिगत प्रभुत्व । संविधानसभाको दोस्रो निर्वाचनमा त्यो मत पराजित भयो । ‘एक मधेस, एक प्रदेश'को मुद्दा विवादमा परेपछि न्युट्रलाइज गरिएको थियो ‘एक मधेस, दुई प्रदेश'को नाममा । त्यो पनि विवादमा पर्यो । सहज सफल हुन सकेन ।
जसरी पनि जातिगत प्रभुत्वलाई स्थापित गर्ने माओवादी अभ्यास संविधानमा देखा पर्यो । संविधानलगत्तै नाकाबन्दी बेहोर्नु परेकाले हुनसक्छ, धेरैको ध्यानमै गएन । यो संविधान संशोधन प्रस्तावले सतहमा ल्याइदिएको छ । प्रस्ट छ, क्षेत्र नं. ४ लाई मगराँत र क्षेत्र नं. ५ लाई थरुहट बनाउन खोजिएको हो ।
बीचबाट बाँडिएको नवलपरासी र पूर्वी भेग गाभिएको रुकुमको हिसाब नगर्दा पनि क्षेत्र नं. ४ मा मगर जातिको जनसंख्या अगाडि आउँछ भने ५ मा थारू जातिको (हेर्नुहोस् टेबल) । तर, दुवै बाहुल्यता कुनै जातिको उम्मेदवारलाई एक्लै बहुमत पुर्याउने गरी भने पक्कै होइन । मसिनोसँग हेर्ने हो भने १७ जिल्ला समेटिएको क्षेत्र नं. ४ का सात जिल्लामा मात्रै मगर जातिको बाहुल्य छ ।
६ जिल्ला समेटिएको क्षेत्र नं. ५ का दुई जिल्लामा मात्रै थारू जातिको बाहुल्य छ । अर्थात् जातिगत जनसंख्याका आधारमा ‘पहिचान' सुनिश्चित गर्न खोजिएको हो भने पनि त्यो अपूरो हुनेछ । शक्ति र सामथ्र्यका अन्य आधारमा त सायद ध्यान नै दिएनन् विचारकहरूले ।
‘एक मधेस, दुई प्रदेश' गराउने अभ्यास पनि देखिन्छ यसमा; जसको पछाडि लुकेको छ मधेस टुक्य्राउने अर्को स्वार्थ । त्यो खेल नयाँ होइन, पुरानै हो । यसै भन्छन् लेखक सौरभ । २०१८ सालमा पश्चिमका चार जिल्ला भारतमै गाभ्नुपर्छ भनेर आवाज उठाउने चारजना पक्राउ परेको सम्झन्छन् उनी । ‘अहिले त झन् नेपाली शिखण्डी नै तयार छन् । विभाजनको खेल चलेकै छ', सौरभ भन्छन् ।
१७ वटै जिल्लामा मगर जातिको बाहुल्य सात जिल्लामा मात्रै देखिन्छ ।
स्रोतः ‘पपुलेसन मोनोग्राफ, भोल्युम २, केन्द्रीय तथ्यांक विभाग, २०१४, काठमाडौं