अझै अविश्वासिला बालोटेली

अझै अविश्वासिला बालोटेली

कुनै प्राचीन मूर्तिझैं ठिंग उभिएका । ट्याटुले रंगिएको सुगठित शरीर । पोल्यान्डको वारसस्थित राष्ट्रिय स्टेडियममा सन् २०१२ को युरोकप फुटबलको सेमिफाइनलमा जर्मनीविरुद्ध व्यक्तिगत दोस्रो गोल गरेपछि मारियो बालोटेलीको 'सेलेब्रेसन'ले इटालीका समर्थकलाई जुरुक्कै उचालेको थियो । उनकै दुई गोल मद्दतमा इटाली उपाधि दाबेदार जर्मनीलाई २-१ गोलले पराजित गर्दै युरो फाइनलमा पुग्यो ।

फाइनलमा स्पेनसँग ४-० गोलको भारीअन्तरले पराजित भएपछि इटाली उपाधिबाट बञ्चित बन्यो । तर प्रतियोगिता र विशेषगरी जर्मनीविरुद्धको त्यही गोलले बालोटेलीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सबैको मनपर्ने फुटबलर बनायो । रातारात उनका 'फ्यान'को संख्यामा वृद्धि भयो । उनी सबैले हेर्न चाहने र रुचाइने फुटबलर बने । बालोटोलीले त्यही प्रतियोगिताबाट हो, सुपर मारियोको उपनाम पाएको पनि ।

तर, त्यसको वर्ष दिनभित्रै सुपर मारियो एकाएक 'फ्लप' भए । उनले आप्नो पुरानो क्रेज गुमाउँदै गए । विस्तारै फ्यान, आफ्नै टोली र प्रशिक्षकको माया पनि पाउन छाडे । त्यसको मतलब युरो २०१२ को सशक्त प्रदर्शनको दुई वर्षपछि नै बालोटेलीका लागि राष्ट्रिय टोलीमा स्थान बनाउन मुस्किल देखियो । किन त ?

छोटो समयमा युरोपका प्रिमियर लिग, इटालियन सिरी ए तथा फ्रोन्सेली लिग वानजस्ता प्रतिष्ठित लिग खेल्ने अवसर पाएका बालोटेली आफ्नो खेलले भन्दा पनि विभिन्न हर्कतले चर्चामा आउने स्ट्राइकर हुन् । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी, लिभरपुल तथा इटालियन सिरी ए क्लब इन्टर मिलान र एसी मिलानबाट व्यावसायिक फुटबल खेलिसकेका बालोटेली यस्ता हर्कत गर्थे, इङ्लिस मिडियाहरूमा आउने उनको कुनै पनि समाचारको लिडमा 'विवादास्पद छविका स्ट्राइकर'को 'ट्याग' छुटेन ।

झन्डै पाँच वर्ष (तीन वर्ष म्यान्चेस्टर सिटी तथा दुई वर्ष लिभरपुलमा) इङ्ल्यान्डमा बिताएका बालोटेली सधैं अखबारका गुलाबी पृष्ठहरूमा छाइरहे । खेलकुदका समाचारहरू उनैका मसालेदार खबरले भरिन्थे । बालोटेली कतिसम्म हर्कत गर्थे भने उनी आफ्नै घरको बाथरुममा बसेर पटका पड्काउँथे र आफ्नै घरमा आगो लगाउँथे । उनी थरीथरीका कार किन्थे । ती कारका पछाडिको सिटमा लाखौं रकम राख्थे र सहर डुल्थे । बजारमा ती पैसा लगेर नचिनेका मान्छेहरूलाई बाडिदिन्थे । प्रहरीले प्रश्न गर्दा उनी अचम्मका उत्तर दिन्थे, 'बिकाउज आई एम रिच ।' (अर्थात् म धनी छु । त्यसैले मैले यसरी पैसा बोकेर हिँड्न पाउनुपर्छ ।)

उनी लन्डनको सडकमा आफ्नो गाडी जथाभावी 'पार्क' गर्थे । ट्राफिक नियम मिचेरै स्पीडमा गाडी कुदाउँथे । त्यसैले त इङ्ल्यान्ड प्रहरीले उनको गाडी २७ पटक नियन्त्रणमा लिएको थियो । उनी यत्तिसम्म छट्टु काम गर्थे, डार्टको सानासाना तिखो भालाले आफ्ना जुनियर खेलाडीहरूलाई प्रहार गर्थे । त्यही कारण उनले तीन लाख पाउन्ड जरिवाना नै तिरे ।

उनी सन् २०१० अक्टोबर १ तारिख इटालीको उत्तरी सहर ब्रेस्सियास्थित महिलाहरूको एउटा जेल घरमा गाडी लिएरै पुगेका थिए । जेल अधिकारी र मिडियाको सोधखोजमा उनले भनेका थिए- उनी जेलभित्रका महिलालाई हेर्न त्यहाँ पुगेका थिए । त्यसैले पनि बालोटेली सधैं इङ्लिस मिडियाका लागि बिक्ने समाचार स्रोत बन्थे । एकपटक त एसी मिलानमा छँदा उनी अन्तर्वार्ताका लागी इन्टरमिलानको जर्सी लगाएरै पुगेका थिए, जबकि इटालीमा यी दुई मिलान क्लब एकअर्काका कट्टर प्रतिद्वन्द्वी हुन् ।

बालोटेलीले सधैं खराब हर्कतमात्रै पनि गरेनन् । सन् २०११ मा एक दिन उनी म्यान्चेस्टर सिटीको टे«निङ मैदानमा थिए । अन्य सहकर्मीसँगै उनी पनि अभ्यास गरिरहेका थिए । तर अभ्यास मैदानबाहिर केही विद्यार्थी आफ्नो कक्षा नै त्यागेर बालोटेलीलाई हेर्न कुरिरहेका थिए । जब बालोटेलीले थाहा पाए, उनले ती विद्यार्थीलाई आफ्नो अटोग्राफमात्रै दिएनन्, ती विद्यार्थीलाई आफ्नो कारमा राखेर विद्यालयसम्म छाडिदिए । प्रिन्सिपल विद्यार्थीलाई गाली गर्न खोज्दै थिए । तर, बालोटेलीले नै हो विद्यार्थीलाई गाली नगर्न प्रिन्सिपललाई मनाएको । बालोटेलीले यसरी माया देखाए कि उनले ती विद्यार्थीका अभिभावकलाई समेत विद्यार्थीले कक्षा छाडेको सुनाइ दिएनन् ।

बालोटेलीलाई म्यान्चेस्टर सिटीमा आफ्ना पूर्वप्रशिक्षक रोबर्टो मान्सिनीले नै भित्र्याएका थिए, सन् २०१० को अगस्ट १२ मा । मान्सिनी उनै प्रशिक्षक हुन्, जसले बालोटेलीलाई इटालियन सिरीएमा पहिलो पटक अवसर दिएका थिए, इन्टर मिलानबाट । त्यो पनि पहिलो रोजाइकै टोलीबाट । तर, आफ्नो करिअरको मार्गदर्शक म्यानसिनीसँगको सम्बन्ध नै बालोटेलीको करिअरमा बाधा बनेर आइदियो ।

इत्तिहाद स्टेडियममा प्रशिक्षक म्यानसिनी बालोटेलीका केही हर्कतले चिढिएका थिए । आफ्नो टोलीको नियमित एक अभ्यास खेलका क्रममा बालोटेलीले अन्य सहकर्मीलाई खराब ट्याकल गरिदिए, जसबाट प्रशिक्षक मान्सिनी निक्कै रिसाए । मान्सिनीले मैदानमै बालोटेलीलाई छातीमा समातेर गाली गरेको तस्बिर नै सार्वजनिक भएको छ ।

सन् २०११ को सिजनमै युरोपा लिगअन्तर्गत रसियन टोली डाइनामो किभविरुद्धको प्रतिस्पर्धामा अनावश्यक ट्याकल गर्दै रातो कार्ड बेहोरेपछि म्यानसिनी र बालाटेलीविच झगडा भएको थियो । सोही खेलबाट फर्कने क्रममा मान्सिनीले बालोटेलीलाई प्लेनमा आफ्नो सुट्केसले प्रहार गरेका थिए । सोही वर्ष अमेरिकामा एल ए ग्यालेक्सीविरुद्ध भएको मैत्रीपूर्ण खेलका क्रममा बालोटेली गोलबाट निक्कै नजिक थिए ।

तर, उनले त्यही बललाई अनावश्यक तरिकाले खुट्टा घुमाएर प्रहार गरेपछि बल गोल पोस्टलाई निक्कै टाढा छाडेर बाहिरिएको थियो । त्यसपछि प्रशिक्षक मान्सिनीले बालोटेलीलाई तत्कालै परिवर्तन गरिदिए ।

त्यहीबाट सुरु भएको प्रतिद्वन्द्विताले मान्सिनीले सन् २०१२ को सिजन बालोटेलीलाई अवसर दिएनन् । उनी तयारी गर्थे । तर, प्रशिक्षक मान्सिनीको मन जित्न सक्थेनन् । उनी त्यही वर्ष आफ्नो देश फर्किए, एसी मिलानसँग अनुबन्ध हुँदै ।

मिलानमा उनको प्रदर्शन सन्तोषजनक रह्यो । उनले १३ औं खेलबाट १२ गोल गरे । तर उनी त्यही एक सिजनपछि सन् २०१४ मा फेरि इङ्लिस क्लब लिभरपुलमा फर्किए । लिभरपुलमा उनको प्रदर्शन खस्कियो । लिभरपुलका लागि २८ खेल खेल्ने क्रममा उनले मात्र चार गोल गरे । प्रदर्शन खस्किएपछि लिभरपुलले बालोटेलीलाई लोनमा फेरि एसी मिलान फर्काइदियो । हाल उनी फ्रान्सेली क्लब निससँग आबद्ध छन् ।

यसै सिजन निससँग आबद्ध भएका उनले उत्कृष्ट प्रदर्शन पनि दिइरहेका छन् । निसमा उनको प्रदर्शनलाई हेर्ने हो भने बालोटेली फेरि आफ्नो पुरानै 'फर्म' मा फर्केको भान हुन्छ । उनकै प्रदर्शनमा निसले यो सिजन आफूलाई उपाधिको बलियो दाबेदारको रूपमा प्रस्तुत गरेको छ । बालोटेली एक्लैले निसका लागि ६ खेलबाट ६ गोल गरेका छन् । बालोटेलीले पछिल्लो समय आफ्नो खेलसँगै व्यवहारमा पनि व्यापक सुधार गरेका छन् । आज भोलि उनी सहकर्मीसँग झगडा गर्दैनन्, प्रशिक्षकसँगको दुश्मनीमा पनि छैनन् । उनले खेलेका खेलमा पहिलो रोजाइमै अवसर पनि पाइरहेका छन् ।

तर क्लब स्तरमा फेरिएको उनको छविले इटालियन राष्ट्रिय टोलीका प्रशिक्षक जियन पिइरो भेन्तुरालाई भने अझै प्रभावित पार्न सकेको छैन । क्लबका लागि पहिलो रोजाइमा पर्न थालेका उनी राष्ट्रिय टोलीका लागि भने छनोट चरणमै रोकिएका छन् । प्रशिक्षक भेन्तुरा राष्ट्रिय टोलीमा स्थान सुरक्षित गर्न बालोटेलीले मैदान बाहिरको व्यवहारमा समेत अझै व्यापक परिवर्तन गर्नुपर्ने तर्क गर्छन् । 'बालोटेली राष्ट्रिय टोलीमा नहुनुमा कुनै प्राविधिक कारण छैन', भेन्तुरा भन्छन्, 'उनीसँग उत्कृष्ट कला छ । उनको प्राविधिक क्षमतामा कसैले पनि प्रश्न उठाउन सक्दैन । तर उनलाई राष्ट्रिय टोलीमा समावेश नगरिनुमा हजारौं पक्षहरू छन् । जसमा मैदानबाहिरको व्यवहार मुख्य छन् ।'

भेन्तुरा गत जुलाई १० मा सम्पन्न भएको युरोकप पछि इटालीको राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त भएका हुन् । त्यसअघिका प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा समेत बालोटेलीले राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएनन् । अन्तिम पटक २०१४ को विश्वकपमा इटालियन टोलीमा समावेश भएयता उनले राष्ट्रिय टोलीको जर्सी पहिरीने अवसर पाएका छैनन् ।

व्यावसायिक करिअरमा जस्तै यी २६ वर्षीय स्ट्राइकरले आफ्नो बाल्यकालमा पनि विभिन्न अड्चन बेहोरेका छन् । उनको बाल्यकाललाई पश्चिमा सञ्चार माध्यमहरू 'डिफिकल्ड अपब्रिङगिङ' को रूपमा चित्रण गर्छन् । अफ्रिकन राष्ट्र घानाका बालोटेली इटालियन सहर पालेर्मोमा हुर्किए । बालोटेलीको वास्तविक नाम बारउआ हो । पेटको समस्याबाट ग्रसित उनी बाल्यकालमा लामो समय अस्पताल बसेका छन् । उनका अभिभावक बेचिएका दास थिए ।

१९९० ताका आर्थिक अवस्थामा सुधार आएपछि बालोटेलीका अभिभावक इटालीको औद्योगिक सहर ब्रेससिया सरेको थियो, जहाँ उनीहरूले रोजगारी पाउने सम्भावना बढी थियो । ब्रेससियामा पनि बालोटेलीको परिवार अर्को एक परिवारसँग एउटै कोटा 'सेयर' गरेर बस्थो ।

तर बालोटेलीलाई क्यान्सेसियो सहरका एक परिवारले पालनपोषण गर्ने जिम्मेवारी लियो । बालोटेली थरका परिवारले पालनपोषण गरेका कारण उनको थर पनि बालोटेली रहेको हो । बालोटेलीले सन् २००८ मा मात्रै इटालीको नागरिकता प्राप्त गरेका हुन् । त्यसपछिमात्रै उनी इटालीको आधिकारिक नागरिक बनेका हुन् ।

बालोटेली प्रायः विपक्षी दर्शकबाट दुव्र्यवहारमा पर्ने गरेका छन् । श्यामश्वेत वर्णका यी स्ट्राइकरलाई विपक्षीहरू 'बादर'को संज्ञा दिन्छन् । त्यसैले उनलाई उत्तेजित बनाउन विपक्षी समर्थकहरू मैदानमै उनका लागि केरा फ्याकिदिन्छन् । सायद आफ्नो रंगभेदी सम्बन्ध र बाल्यकालको भोगाइले पनि हुन सक्छ, बालोटेली पनि त्यस्तो व्यवहार गर्ने विपक्षी दर्शकको कडा प्रतिकार गर्छन् ।

त्यसले पनि उनलाई विवादमा तान्ने गरेको छ । यद्यपि भेन्तुराले भने जस्तै बालोटेलीले राष्ट्रिय टोलीका लागि खेल्ने सम्भावना अझै प्रशस्तै छ । उनी राष्ट्रिय टोलीमा फर्कन सक्छन् । उनका फ्यानहरू त्यसकै पर्खाइमा छन् ।
एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.